site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भैरवजी

नारायणबहादुर सिंह


यता केही दिनदेखि मैले भैरवजी (उहाँलाई म भैरवजी नै भन्थेँ र उहाँ मलाई माड्साब भन्नुहुन्थ्यो) लाई असाध्यै सम्झन थालेको छु । भैरवजी बित्नुभएको ६ वर्ष भैसक्यो । अहिले उहाँलाई मैले झलझल सम्झनु अकारण हुन सक्तैन तर स्पष्ट कारणचाहिँ म आफैले पनि बुझ्न सकेको छैन । भैरवजी बहुलाउनुभयो भन्ने गरिन्छ । यस कुरामा मलाई चाहिँ ठ्याम्मै एकीन छैन । भैरवजीले १९ गते राति आत्महत्या गर्नुभयो । असोज ९ गते, २०३३ मा उहाँ कार्यालयमा उपस्थित हुनुहुन्थ्यो – स्वस्थ र स्वाभाविक रूपमा ।

भैरवजीको निधनपछि ‘रचना’ले उहाँको स्मृतिमा दुई खण्डमा भैरव अर्याल अङ्क प्रकाशित गरेको छ २०३८ सालमा आएर तर रचना सम्पादक रोचक घिमिरेले २०३४ सालतिरै यी अङ्कहरू प्रकाशित गर्ने काम थालिसक्नुभएको थियोजस्तो लाग्छ । दोस्रो अङ्क भैरव स्मृति खण्डमा केशवराज पिँडालीसमेत २७ जनाले लेखेको संस्मरण छन् । रोचकजीले मलाई पनि केही लेखिदिन भन्नुभएको थियो । लेख्न सकिनँ वा भनौँ लेखेर पूरा गर्न सकिनँ । संयोगको कुरा, यही माघ २७ गते साँझ पुराना फाइलहरू पल्टाउँदा प्रस्तुत अपूरो लेख फेला प¥यो । उहाँका सम्बन्धमा अरूतिर कहीँकतै मैले केही लेखिनँ । कारण म भन्न सक्तिनँ । ‘रचना’का लागि लेख्न थालेको यो लेख पनि अपूरै छ । अपूरै भए पनि एक शब्द पनि फेरफार नगरी यसलाई छाप्न मन लाग्यो । अहिले भैरवजीलाई झलझल सम्झिन्छु । कारण फेरि पनि भन्छु, स्पष्ट छैन । यस लेख (२०३४ सालतिर लेखिएको) को अन्तिम वाक्य छ– ‘हामी त एउटा डुब्न लागेको डुङ्गाका सहयात्रीजस्ता थियौँ ।’ यस वाक्यमा ध्वनित सङ्केत नै सम्भवतः अहिले मैले भैरवजीलाई यसरी सम्झिन थालेको कारण हुन सक्छ । भैरवजी र ममा एउटा अन्तर थियो, छ । उहाँ सबै कुरा आफ्नै मनमा गुम्स्याउनुहुन्थ्यो, म त्यसरी कुनै कुुरा     (नितान्त वैयक्तिक कुरासमेत)लाई आफैभित्र गुम्स्याउन्नँ ।

Dabur Nepal
NIC Asia

भैरवजी ‘गोरखापत्र का अन्तिम वर्षहरू निश्चय नै सुखकर थिएनन् । त्यत्रो वर्षसम्म लेख रचनाको सम्पादन गर्नुभएका भैरवजीको पछिल्लो हैसियत एउटा नौसिन्दाको जस्तै भएको थियो । उहाँमाथि कुनै ‘हाकिम’ को हैकममा काम गर्नुपर्ने वाध्यता आइपरेको थियो । भैरवजीले धेरैलाई कवि कथाकार बनाउनुभएको थियो, तर पछिल्लो समयमा आएर तिनैमध्ये कतिले ‘छडके’ हान्न थालेका थिए । हाम्राबीच दही चिउरेहरूको कमी छैन । मैले लेखेको प्रस्तुत लेखमा उल्लेख भएका घटनामा ६ वर्षयता आएर खास परिवर्तनहरू भएका छैनन् । उही धरातल हो, उही नियतिहरू हुन् । भोगाइ उस्तै हुन् । भन्न सकिने धेरै कुरा छन्, तर भैहाल्यो । (ले.)

लेखांश प्रस्तुत छ–

आज म भैरवजीलाई सम्झने चेष्टा गर्दै छु ।

वास्तवमा मलाई चेष्टा गर्नुपरेको छ । भैरवजी मर्नुभएपछि म पहिलो पल्ट उहाँका सम्बन्धमा केही लेख्न बसेको छु । हुन त यो कर होइन, अनिवार्यता वा आवश्यकता होइन । बरु यी पङतिकारहरूलाई लेख्नु पनि मात्र एउटा औपचारिकता हो । औपचारिकता बनावटी हुन्छ, बिल्कुल कृत्रिम । यस्तो कृत्रिमतालाई स्वाङ भने पनि हुन्छ । स्वाङमा ढोङ ध्वनित हुन्छ । हामीहरू ढोँगीभन्दा बढ्ता अरू छौँ नै के र !

के अर्थ ?

म आफैँलाई प्रश्न गर्छु । भैरवजीका सम्बन्धमा यी पङतिहरू लेख्नुको के अर्थ ? जसको कुनै अर्थ हुँदैन, त्यसलाई हामी अर्थहीन भन्छौँ, निरर्थक कुरा । भैरवजीका सम्बन्धमा म सबै सत्य कुरा लेख्न सक्तिनँ । म डराउँछु । मरेको मानिसको निन्दा गर वा स्तुति, उसले प्रतिवाद गर्दैन । तर, भैरवजीका सम्बन्धमा लेख्ता अरू धेरै कुरा, अरू धेरै मानिस तानिन सक्छन् । कति कटु (सत्य भए पनि कटु) कुरा पनि लेख्नुपर्ने हुन्छ । त्यसैले यस्ता सबै कुरा लेख्नुको अर्थ हुन्छ– म धेरैको कोपभाजन हुनेछु । स्वभावतः म डराउँछुु । त्यसो हुँदा असत्य वा अर्धसत्य लेख्नुको के अर्थ हुन सक्छ र ?

यो पहिलो पटक होइन ।

यसअघि पनि ३÷४ पल्ट म लेख्न बसेको हुँ । कुनै बेला केवल शीर्षक लेखेर छाडेको छु । कुनै बेला ८÷१० पंक्ति लेखेर छाडेको छु । किन ? किनभने म सत्य लेख्न सक्तिनँ । वास्तवमा यस्ता कुरामा सत्य पनि के हुन सक्छ र ? सत्य लेख्नुमा पनि कहिलेकाहीँ लेख्नेको अहम्, लेख्नेको दुर्बलता, लेख्नेको हिपोक्रेसीबाहेक अरू केही झल्किँदैन । म पनि के कम हिपोक्र्याट छु र ? मैले पनि पाखण्डको मुकुण्डो भिरेको छु ?

०००

२०३३ साल । असोज २१ गते । कुन बार थियो– अहिले झट्ट सम्झना भएन ।

बिहानको साढे दश एघारको समय थियो । भारतजी (गोरखापत्रका सम्पादक भारतदत्त कोइराला) को कोठा । टेलिफोनको घन्टी बज्छ । म उठाउँछु । वासुदेव लुइँटेल बोल्दै हुनुहुन्थ्यो । पुरुलाई खोज्नुभएको रहेछ । भैरवजीको सम्बन्धमा सोधखोज गर्नुभयो । मेरो सोझो उत्तर थियो– “किन, के भयो र ? ठीकै छ । अहिले रुघा, खोकी, ज्वरो छ रे । दुइचार दिनपछि आउनुहोला ।” जुन घटित भवितव्यको भन्को पाएर वासुदेवजीले फोन गर्नुभएको रहेछ– त्यसको मैले लखसम्म काट्न सकिनँ ।

पन्द्र बीस मिनेटपछि फेरि घन्टी बज्छ । यस पटक भारतजीले फोन उठाउनु भयो । म कुरामा अलमलिएको थिएँ । भारतजीले भन्नुभयो, “भैरवजीको लास फेला परेछ...”

“लास.....! भैरवजी मर्नुभयो ? भैरवजी हुनुहुन्न ।”

“भैरवजी मर्नुभयो । भैरवजी हुनुहुन्न ।”

भक्कानो फुट्छ । धुरुधुरु होइन । म भक्कानो छाडेर रुन्छु ।

कसैले विश्वास गर्छ, गर्दैन– म भन्न सक्तिनँ । मलाई जन्म दिने बाउ मर्दा म रोइनँ । मन रोएको हुँदो हो, तर मेरा आँखामा एक थोपा आँसु थिएन ।

भैरवजी मर्दा मलाई भक्कानो छाडेर रुन मन लाग्यो । म रोएँ ।

आजसम्म मैले धेरै पटक त्यसरी मैले रुनुको अर्थ खोजेको छु ।

म किन रोएँ ? भैरवजीको मायाले, भैरवजीको स्नेहले ?

कथापि होइन । मैले त्यसो भन्नु सबभन्दा झूटो कुरा हुनेछ ।

अनि किन त ?

०००

भैरवजीले आत्महत्याको जुन नियतिलाई अँगाल्नुभयो– त्यसको केही समय अघिदेखि बारम्बार षड्यन्त्रको कुरा गर्न थाल्नुभएको थियो । जहिले पनि एकान्त हुँदा त्यही षड्यन्त्रको कुरा उठाउनुहुन्थ्यो । बारम्बार भन्नुहुन्थ्यो, “माड्साब, यो षड्यन्त्र म र तपाईंका विरुद्ध रचिँदै छ ।”

कुन षड्यन्त्र थियो त्यो, जसले उहाँको मन–मस्तिष्कलाई त्यस्तरी आन्दोलित पारिराखेको थियो । कसले रचेको त्यो षडयन्त्र ? मलाई कहिल्यै स्पष्ट भएन । कारण के पर्यो भने मैले कहिले पनि त्यस कथित षड्यन्त्रबारे जान्ने चेष्टा गरिनँ । तर, षड्यन्त्रको त्यस कुराले मलाई पनि अज्ञात भय र आशङ्काले अवश्य गाँजेको हुनुपर्छ । त्यो षड्यन्त्र मेराविरुद्ध पनि हो भन्ने कुरालाई भैरवजीले धेरै पटक दोहो¥याउनुभएको थियो । त्यसबारे स्पष्ट जानकारी लिन मैले नचाहनुमा स्पष्टतः ती कुरा सुनेर म आफूलाई आत्मपीडाको शिकार पार्न चाहन्नँ थिएँ, जसको अर्थ थियो– त्यस षड्यन्त्रको भयले मलाई पनि सम्पूर्ण निलिसकेको थियो । षड्यन्त्रको त्यस यथार्थ (यो कुनै यथार्थ थियो वा थिएन अझै भन्न सक्तिनँ) को सामना गर्ने सामथ्र्य मैले पनि आफूमा पाउन सकेको थिइनँ ।

०००

एक दिन । कुनै दिन । कुन दिन भनेर ठोकुवा गर्नुको अब त कुनै प्रयोजन पनि छैन । बस् एक दिन । कुनै दिन । अफिसबाट सँगै निस्केका थियौँ । प्रायः सँगै निस्कन्थ्यौँ । पारस होटलनिर आइपुगेपपछि भैरवजीले भन्नुभयो, “एकै छिन ! पाँच मिनेटमा आउँछु ।”

उहाँ बायाँ लाग्नुभयो । संयोगले एक जना परिचितसँग भेट भयो । म कुरामा अलमलिएँ । पाँच, दश, पन्ध्र, बीस मिनेट । भैरवजी आउनुभयो । म आफ्नो परिचितसँग छुट्टिएँ । भैरवजी र म इन्द्रचोक असनतिर लाग्यौँ ।

मैले कुनै अन्तर देखेको थिइनँ । स्पष्ट थिएन । आँखाले केही खोजेका थिए । म भन्छु, “अघि त लुगा अलि मैलै थियो नि !”

भैरवजी मुुसुक्क हाँस्नुभयो । यस्ता बेलामा उहाँको मन मुखमा देखिन्थ्यो । उहाँको त्यो मन शायद मैले कहिल्यै पढ्न सकिनँ । भन्नुभयो, “हो, फेरेर आएको ।”

वास्तवमा उहाँले पसलमै (सफाइ धुलाइ कार्यालय) मैलो लुगा फेरेर धोएको सुकिलो लुगा लगाएर आउनुभएको थियो । भन्नुभयो, “के गर्ने माड्साब, जम्मा दुई जोर लुगा छन् । घरमा धुने र धोएर फेर्ने कुरा गाह्रो छ । त्यसैले लुगा फेरेर मैलो लुगा पसलमै छाडेर आएँ ।”

सहज र स्पष्ट कुरा थियो ।

यी कुराहरू लेखेर मैले मेरा मरिसकेका साथीलाई होच्याउन खोजेको होइन, उहाँलाई नङ्ग्याउन खोजेको होइन । स्वयम् पनि नाङ्गिन चाहन्छु म । भैरवजी एउटा साह्रै साँघुरो संसारमा बाँच्नुभएको थियो– पीपी पापाको संसारमा । भैरवजीले ६ थान छोराछोरी छाडेर जानुभएको छ । कम्तिमा ६ जोड २ = ८ पेट थिए उहाँको । कलम घोटेर बाँच्नेले आठ वटा पेट भरेर बाँच्नुलाई एउटा पुरुषार्थ मानिनुपर्छ । उहाँ अरूका लागि बाँच्नुभएको थियो । वास्तवमा हामी सबै अर्काका लागि बाँचेका छौँ । हामी जस्ताले हामी देशका लागि बाँचेका छौँ, समाजका लागि बाँचेका छौँ भन्नुजस्तो झूट अरू केही हुन सक्तैन । स्वयम्मा हाम्रो अस्तित्व के छ र ? भैरवजी जे जति बाँच्नुभयो र जुन धरातललाई टेकेर उहाँ बाँच्नुभएको थियो– म पनि आज त्यस्तै धरातललाई टेकेर बाँचेको छु । यस्तो धरातललाई टेकेर बाँच्ने आज हामी धेरै छौँ ।

भैरवजी एउटा घटनालाई प्रायः सुनाउनुहुन्थ्यो— एक पटक उहाँले मन्त्री (सहायक, राज्य वा पुरैमध्ये एक) नामधारी एक जना (स्त्रीलिङ्गी)का लागि भाषण लेख्नु्भयो । यो भाषण जुन समारोहमा पढिएको थियो, त्यसको रिपोर्ट गर्ने जिम्मा संयोगले उहाँमा नै पर्न गयो । त्यसै भाषणको समाचार उहाँले नै लेख्नुभयो । अर्को दिन समाचार छापियो । त्यस दिन फेरि उहाँलाई नै त्यसै आधारमा सम्पादकीय लेख्नुपर्यो ।

कुनै अपवाद होइन । भैरवजीलाई मात्र भएको अनुभव होइन । हामीजस्ता धेरैलाई यस्ता धेरै अनुभव भएको हुनुपर्दछ ।

बुद्धि र विद्वताको सुक्रिबिक्री हुने हाम्रो जस्तो परिस्थितिमा यस्ता सबै कुरा सम्भव छन् । लेखक बुद्धिजीवीहरू ठगिने, शोषित हुने यस्ता उदाहरणहरू सामान्यजस्तै छन् ।

भैरवजी आज हुनुहुन्न । त्यसैले उहाँलाई कसकसले, कसरी र कुन रूपमा शोषण गरेका थिए भन्ने मैले देखेका र मलाई लागेका कुराहरूलाई यहाँ उधिनेर ती बाँच्नेहरू (जसमध्ये केहीको अनुग्रहको अपेक्षा मलाई पनि रहनेछ) को कोपभाजन हुने आँट म गर्न सक्तिनँ । बाँच्ने उपक्रममा एउटा दुर्बल मानिसले सधैँ आफ्ना स्वाभिमान र आस्थामा टाँस्सिएर बाँच्न सक्तैन, उसलाई त्यसरी बाँच्न पनि दिइँदैन ।

सङ्क्षेपमा भन्छु—

भैरवजीलाई बाँच्न धेरैले आड पनि दिएका थिए । तर, उहाँलाई यस्तो आड दिनेहरूभन्दा निचोर्नेहरू धेरै थिए । उहाँलाई यसरी निचोर्नेहरूमा हामी धेरै छौँ– व्यक्ति, संस्था, समाज सबै पर्छन् यसमा ।

०००

२०१७ साल । अन्तिम महिनातिर हुनुपर्छ ।

गोरखापत्र छापाखानामा तलमाथि गर्दा (पुरानोचाहिँ घरको) तल्लो तलाको बरण्डा हुँदी एक जना सुसेसुसे, दुब्लेदुब्ले तर अग्ले ख्याउटे मानिसलाई अक्सर देख्ने गर्थेँ । मैलोमैलो, खुइलिएकोजस्तो बुसर्ट र प्यान्ट । लुगा न हो, बेलाबेलामा फाट्छ । फेरिन्छ । तर, एउटा कुरालाई भने टड्कारो सम्झन्छु । उसका कस्ताकस्ता, मात लागेका आँखा र उसका बाक्ला बटारिएका आँखीभौँ । यी कुरा– आँखा र आँखीभौँलाई अझै सम्झिन्छु ।

भैरवप्रसाद अर्याल । भैरव अर्याल । भैरवजी ।

भैरवजीले २०१८ सालमा गोरखापत्रमा प्रवेश गर्नुभएको थियो । त्यसपछि आफ्ना र उहाँका अनुपस्थिति (बिदा र विदेशाटनजस्ता) बाहेक चौध वर्ष सँगै काटेका हौँ । चौध वर्षपछि राम वनवासबाट फर्केका थिए । भैरवजी पनि चौध वर्षपछि वनवासबाट फर्किनुभयो, फेरि आउँदै नआउने गरी । संसारमा एक्लो बाँच्नु पनि एक अर्थमा वनवास नै हो । भैरवजी एक्लो बाँच्नुभएको थियो । हामी पनि एक अर्थमा एक्ला एक्लै बाँचेका छौँ ।

०००
भैरवजीसँग मेरो कुनै आत्मीयता थिएन, किनभने यस्तो कुनै आत्मीयता थियो भन्ने दावा गर्ने स्थितिमा म आफूलाई पाउँदिनँ । हामी त एउटा डुब्न लागेका डुङ्गाका सहयात्रीजस्ता थियौँ ।

(भैरव पुरस्कार गुठीद्वारा प्रकाशित तथा रोचक घिमिरेद्वारा सम्पादित ‘शाश्वत व्यङग्यशिल्पी’ पुस्तक बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro