काठमाडौं । चाबहिल चोक प्रायः अव्यवस्थित देखिन्छ । सवारीको चाप थेगिनसक्नु हुन्छ । ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीको व्यस्तता बढी हुन्छ । पैदलयात्री निस्फिक्री देखिन्छन् । गन्तव्यमा पुग्न सधैंको हतारो हुन्छ । आकाशेपुलकै ठिकमुनिबाट बाटो काटिरहेका हुन्छन्, पैदलयात्री । सामुन्ने ट्राफिक प्रहरी । धुवाँ–धुलो त्यत्तिकै देखिन्छ । दृष्य असहज । तर, वास्तविकता हो यो ।
चाबहिल चोकमा आकाशेपुल हुँदाहुँदै पनि अधिकांश पैदलयात्री आकाशेपुलबाट बाटो काट्दैनन् । नयाँबसपार्क, पुरानो बसपार्क र साँखु सडकखन्डको रूटमा पर्ने चाबहिल चोकमा मानिसको दैनिक चाप बढ्दो देखिन्छ । ज्यान जोखिममा राखेर जथाभावी सडक पार गर्छन्, यात्री ।
“ट्राफिक अगाडि हेरिरहेका हुन्छन्, यात्री असुरक्षित सडक पार गरिरहेका हुन्छन्,” चोकका स्थानीय भन्छन् ।
स्थानीय मनिष लामाकाअनुसार दैनिक चाबहिल चोकमा चारदेखि पाँचजना ट्राफिक प्रहरी खटाइएको हुन्छ । ट्राफिक भएपनि यात्रीलाई बाटो काट्न पुल देखाएको आफूले कहिल्यै नदेखेको उनले बताए ।
“मोटरसाइकल चालक जथाभावी बाटो काट्छन् । चोकमा आकाशेपुल बनेको धेरै भएको छैन,” उनले भने, “आकाशेपुल नहुँदा असुरक्षित महसुस हुन्थ्यो । अहिले पुल हुँदा पनि पुलबाट बाटो काट्न मान्दैनन् । पुल बनेको छ । तर, अर्थ न व्यर्थजस्तै ।”
ट्राफिक व्यवस्थापन कसिलो नभएको स्थानीय बताउँछन् । पुलअगाडि व्यस्त बीचसडकबाट बाटो काट्दा कतिखेर के हुन्छ, थाहा हुँदैन । बौद्धमा बस्दै आएका कालिकोटका जयदीप सञ्जेल गाउँबाट गोंगबु बसपार्क हुँदै बौद्ध जान चाबहिल चोकमा झरे । उनको पछाडि ठूलो भारी थियो । उनले बीचसडकबाटै बाटो काटे । जसोतसो सडक पार गरी बौद्ध जाने रूटमा पुगे ।
भारी बिसाउँदै उनले भने, “आकाशेपुल रत्नपार्कको रूटमा बनाइएछ ! यत्रो भारी बोकेर रत्नपार्कको रूटसम्म जान समय लाग्छ । त्यहाँसम्म लैजान कठिन हुन्छ । पुलसम्म जाँदा यताबाट पारि पुगिन्छ ।” समस्या चाबहिल चोकको मात्र होइन, काठमाडौंका अधिकांश आकाशेपुलबाट बाटो काट्दैनन्, यात्री ।
रत्नपार्कको पुरानो बसपार्कमा पनि मानिसको उत्तिकै चाप हुन्छ । यात्री जथाभावी सडक पार गर्न हतारिन्छन् । यहाँ एकजना जापानी स्वयंसेवक ट्राफिक खटिएका भेटिन्छन् । यात्रीलाई आकाशेपुलबाट मात्रै बाटो काट्न उनी उत्प्रेरित गर्छन् ।
“आकाशेपुलबाट मात्रै बाटो काटौं, अकालमा ज्यान नगुमाऔं,” उनी भन्छन् । उनी हुन्, जापानी रिटायर ट्राफिक सिरोशावा गुची । उनले नेपालमा ट्राफिक स्वयंसेवक भएर काम गरेको चार भयो । नेपालका ट्राफिक प्रहरीसँग सहकार्य गरेर काम गर्छन् । नेपाल बस्दा–बस्दै नेपाली भाषा पनि बोल्ने भएका छन्, उनी ।
उनकाअनुसार नेपालमा ट्राफिक प्रहरीको काम गर्न साह्रै गाह्रो छ । विदेशमा जस्तो छैन । सबैखाले गाडीको एउटै सडक छ । “सवारी रोक्ने कि मान्छे ?” उनी प्रश्न गर्छन्, “अनि, यहाँ दुर्घटना नभए कहाँ हुन्छ ?”
जथाभावी सडक पार गर्दा यात्री असुरक्षित हुन्छन् । दुर्घटनाको जोखिम हुन्छ । पहिला सचेतना कक्षा हुन्थ्यो । विभिन्न माध्यमबाट ट्राफिकसम्बन्धी जानकारी दिइन्थ्यो, अहिले त्यो शून्यजस्तै छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवकाअनुसार सडक विभागले पैदलयात्रीको सुरक्षाका लागि काठमाडौंका २९ ओटा ठाउँमा आकाशेपुल बनाइदिएको छ ।
“आकाशेपुल बनेपछि दुई–चार मिनेट हिँडेर भएपनि पुलबाटै सडक पार गर्नुपर्छ,” उनले भने, “आकाशेपुल हुँदा–हुँदै असावधानीरूपमा सडक पार गर्दा अकालमा ज्यान गमाउनुपरेका कैयौं घटना छन् ।” ट्राफिक सचेतनाका लागि ठाउँ–ठाउँमा ब्यानर, पम्प्लेट, पोस्टर टाँसिएको उनी बताउँछन् ।
तत्काल विश्वमा फैलिरहेको कोरोनाभाइरसको जोखिमका कारण ट्राफिक कार्यक्रम गर्न नसकिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । “स्वास्थ्य सावधानी अपनाएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले केही मात्रामा असहज भएको छ,” उनले भने, “महामारीको बेलामा ट्राफिक प्रहरीलाई सबैतिर परिचालन गरेका छौं ।”
आकाशेपुल तथा जेब्राक्रसिङ टाढा भएपनि दुई–चार मिनेट हिँडेर सम्बन्धित ठाउँबाट मात्रै सडक पार गर्न महाशाखाको अनुरोध छ ।