काठमाडौं । बिहान चारै बजे निन्द्राले छोड्छ, उनलाई । छोराछोरी र श्रीमान् सुतेकै हुन्छन् । उठेर डालीमा गहुँ, कोदो मिसाएर र्याइँर्याइँ हाते जाँतो घुमाइरहन्छिन्, दिनदिनै ।
परिवारलाई खाना खुवाउन हतारो हुन्छ, उनलाई । दैनिक ४ बजे जाँतोमा पिठो पिसिरहेकै अवस्थामा भेटिन्छिन् । उनी हुन्, हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर–१, जैरकी बास्कली कार्की । यस गाउँका अधिकांश महिलाको दैनिकी बास्कलीको जस्तै छ । जैरमा मिल छैन । धान कुट्ने र पिठो पिस्ने मिलको व्यवस्था नहुँदा महिलालाई सास्ती छ ।
“बिहानको समयमा निन्द्राले त च्याप्छ नै तर के गर्नु, बाध्यताले न उठी नहुने,” उनले भनिन्, “बिहानै उठेर खानाको लागि पिठो पिसिएन भने चुल्होमा आगो बल्दैन । छोराछोरी सातै बजे भोक लाग्यो, भोक लाग्यो भनिहाल्छन् !” आफूले मिलको नामै यसअघि नसुनेको उनको भनाइ छ । “दिनभर खेतबारीको काम गर्न जानुपर्छ । खेतबारीबाट (अपराह्न) ४ बजे नै फर्किनुपर्छ,” उनले भनिन्, “श्रीमान्लाई गाईवस्तुको सेवा गर्दै ठिक्क हुन्छ । आफू एक्लैले सबैतिर भ्याउनुपर्छ ।”
यहाँ घरहरू होचा–होचा गुम्म परेका छन् । धुवाँको सकससमेत उनीहरुले खेप्नुपर्छ । किनकि, ग्यास छैन । खाना दाउरामै पकाउने हो । खेतबारीबाट आएर फेरि उनी बेलुकाको खानाको सुरसारमा जुट्छिन् । बिहानजस्तै बेलुकीपख पनि ओखलमा जान्छिन् । एक घान धान कुट्न दुई घण्टाजति लाग्छ । पालो कुर्नुपर्छ ।
धान कुटेर चामल निकाल्दा ढाड दुख्छ । हातमा ठेला उठ्छ । उनी भन्छिन्, “क्या अर्नु, ज्यानले त सुविधा खोज्थ्यो । खाना नखाइ अरू काम गर्नै पाइँदैन । कुट्नै पर्यो, पिस्नै पर्यो ।”
समस्या बास्कलीको घरको मात्रै होइन, गाउँभरिकै महिलाहरूले पिठो पिस्ने र धान कुट्ने यसरी नै हो । स्थानीय ककौ कार्की भन्छिन्, “बिहान–बेलुका खाना बनाउँदा–बनाउँदै खेतबारीको काम गर्न भ्याइ–नभ्याइ हुन्छ । ज्यानले कहिल्यै सुख नपाउने भयो । पहिलाजस्तो थियो, अहिलेपनि उही समस्याले पिरोलिरहेको छ, गाउँका महिलालाई । खाना बनाउँदा दाउरामै बनाउनुपर्छ । घरभित्रको दाउराको धुवाँले निसासिन्छौं ।”
खोकी लाग्छ । दमको ‘बिराम’ हुन्छ । सासको धड्कन बढेर आउँछ, उनीहरुको भोगाइ छ । “धान कुट्दा ढाड दुख्छ । गहुँ, कोदो पिस्दा हातमा ठेला उठ्छ । खाना बनाउँदा धुवाँले सास फेर्न गाह्रो हुन्छ,” उनले भनिन्, “यसरी रोगले थलिनुभन्दा मर्नु निको !”
गाउँमा गहुँ, कोदो पिस्न पानीघट्ट छैन । पानीघट्ट चलाउन पानी पुग्दैन । खेतीपाती पनि आकाशकै पानीमा भर पर्नुपर्छ । “अर्को गाउँको पानीघट्टसम्म पुग्न चार घन्टाको बाटो हिँड्नुपर्छ । चार घन्टा आउन–जाँदा गर्न दिन ढल्छ । तैपनि, पानीघट्ट पिसिदिने घट्टालालाई एक भाग पिठो छाडेर आउनुपर्छ । घरको काम गर्नै पाइँदैन । मिल आएर हामीले चलाउन पाउने आशा मरिसकेको छ,” ककौले आफ्नो कष्ट सुनाइन् ।
यहाँ पहिलोपटक आर्थिक वर्ष २०७३–७४ मा बजेट छुट्ट्याएर मिल ल्याइएको थियो । तर, विडम्बना छ महिना नचल्दै बिग्रियो । सर्केगाड–१ का अध्यक्ष गोकुल बुढाले सो आर्थिक वर्षमा स्थानीय मक्क बमको अध्यक्षतामा मिल व्यवस्थापन समिति गठन गरी वडा कार्यालयबाट आठ लाख रूपैयाँ छुट्ट्याएको जानकारी दिए ।
उनले भने, “मिल गाउँमा ल्याइ पुग–नपुग छ महिनासम्म चलाएर बिग्रियो । मिल व्यवस्थापन समितिलाई पहल गर्दा व्यवस्थापन गर्छौं भने । तर, गरेनन् ।” आउँदो आर्थिक वर्ष गाउँपालिकामा पहल गरेर मिल व्यवस्थापन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।