site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्याराथन धावक पार्की भन्छन्- अबको लक्ष्य रेकर्ड ब्रेक

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । सागमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्की अर्को वर्ष जापानमा हुने ओलम्पिकका लागि छनोट भएका हुन् ।

शनिबार भएको छैटौं नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा हेरिएको थियो । सोही प्रतियोगितामा च्याम्पियन बन्दै पार्की ओलम्पिकका लागि एथ्लेटिक्समा छनोट भएका हुन् । उनले आर्मीका कृष्ण बस्नेतलाई पछि पार्दै नेपालगन्ज म्याराथनमा च्याम्पियन बनेका थिए । पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । जुन नेपालमा भएका म्याराथनहरुमा कुनै पनि खेलाडीले दौड पूरा गरेको यो छोटो समय हो । 

यो उपलब्धि लकडाउनका बेला पनि निरन्तर प्रशिक्षण गरेको फल भएको पार्कीले बताए । उनले लकडाउनका बेला कुनै पनि दिन आफूले प्रशिक्षण नछोडेको बताए । “हामी विभागीय खेलाडी भएका करण महामारीबीच ड्युटीका लागि स्टेन्डबाई थियौं । हाजिर गर्न सधैं कार्यालय पुग्नै पर्थ्यो । तर, सागमा स्वर्ण पदक विजेताका हिसाबमा ड्युटीमा भने संगठनले खटाएको भने थिएन,” पार्कीले भने, “यस्ता महामारी विगतमा पनि नआएका भने होइनन् । म ड्युटीका लागि स्टेन्डबाई भए पनि प्रशिक्षणका लागि नियमित समय मिलाएको थिएँ । मैले आजका दिनसम्म प्रशिक्षण रोकेको छैन ।”

उनले लकडाउनकै बीचमा आफूले आफूलाई दुईपटक परीक्षण गर्दा दुईपटक समयमा सुधार आएको बताए । उनले प्रशिक्षक र आफू विभागीय टिममा भएका कारण महामारीमा पनि प्रशिक्षण गर्न सहज भएको बताए । उनले एक-दुई साताअघि मात्र प्रतियोगितामा सहभागिता हुन बोलाउने नेपाली खेलकुदको संस्कृति भएकाले आफू स्वयंले दैनिक रुपमा प्रशिक्षण गर्न आवश्‍वयक भएको बताए ।

लकडाउनमा गरेको निरन्तर प्रशिक्षणले आफ्नो लयमा अझै सुधार आएको उनी सुनाउँछन् । लकडाउनका बेला स्वस्थ वातावरण र खुला सडक बाटोले आफूलाई दैनिक प्रशिक्षण गर्न झनै सहज भएको पार्कीले बताए । 

अबको लक्ष्य कीर्तिमानतर्फ
उनले अब आफ्नो लक्ष्य कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको कीर्तिमान भङ्‍ग गर्नु रहेको बताए । “अब मेरो लक्ष्य एउटै छ । १३औं सागपछि म्याराथन हस्ती भनेर चिनिने वैकुण्ठ मानन्धरको कीर्तिमान भङ्‍ग गर्नु हो । उहाँले पनि आफू रहुन्जेल त्यो रेकर्ड कसैले ब्रेक गरुन् भन्‍ने चाहनुभएको छ । मेरो चाहना पनि त्यही हो । म गर्नु सक्छु पनि,” उनले भने ।

मानन्धरले अन्तर्राष्ट्रिय म्याराथनमा २ घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै आफ्नो नाममा राष्ट्रिय कीर्तिमान राखेका थिए । सोही कीर्तिमान २०२१ भित्र आफ्नो नाममा राखिसक्ने लक्ष्य रहेको उनी सुनाउँछन् । पार्कीले २०२१ मा दुबई वा भारतमा आयोजना हुने म्याराथनमा सोही कीर्तिमान ब्रेक गर्दै आफ्नो नाममा राख्‍ने लक्ष्य भए पनि हाल नेपालगन्ज म्याराथनमा दौडेकाले अब यो लक्ष्य ओलम्पिकमा पूरा गर्ने बताए । उनले अब तीन महिना विश्राम गर्नुपर्ने भएकाले अबको यात्रा ओलम्पिक भएको बताए ।

“२०२१ भित्र नै वैकुण्ठ सरको कीर्तिमान आफ्नो नाममा गरिसक्ने लक्ष्य थियो,” उनले भने, “त्यसैका लागि मैले ११ महिनाको तालिका बनाएर प्रशिक्षण पनि त्यहीअनुसारको गरिरहेका थिए । तर, नेपालगन्ज म्याराथनमा सहभागी भएकाले अबको यात्रा ओलम्पिक हुनेछ । यसबीच भएका यी प्रतियोगितासँग यो लक्ष्यको कुनै सम्बन्ध रहने छैन । किनभने त्यसलाई तयारीका रुपमा लिएको छु । लक्ष्य त्यही हुनेछ । ओलम्पिक होस् वा एसियन गेम्स् ।”

उनले थपे, “वैकुण्ठ गुरुको कीर्तिमान (दुई घण्टा १५ मिनेट) ब्रेक गर्नु भनेको एसियन गेम्समा पदक जित्नु हो । दुई घण्टा १२ देखि १३ मिनेटमा एसियन गेम्सका स्वर्ण पदक जित्‍न सकिन्छ । अब वैकुण्ठ गुरुको कीर्तिमान ब्रेक गर्न २ घण्टा १४ मिनेटमा दौड पूरा गर्नुपर्ने हुन्छ । त्यस्तैले त्यो टाइम भनेको ओलम्पिक र एसियन गेम्सको तयारी पनि हो ।” 

उनले अब ओलम्पिक र एसियन गेम्समा सहभागिता मात्र नभई पदकको दाबेदारका हिसाबमा नेपालको चुनौती प्रस्तुत गर्ने बताए । अहिलेसम्म राष्ट्रिय कीर्तिमान र सहभागिताका लागि मात्र ओलम्पिक र एसियन गेम्समा सहभागिता हुने परम्पराको अन्त्य गर्ने उनको भनाइ छ ।

१३औं सागमा ५ किलोमिटरमा स्वर्ण जितेका उनले मिडिल अडरको दौड छाडेको बताए । उनले म्याराथनमा मात्र कीर्तिमान भएकाले त्यो ब्रेक गर्न आफूले मिडिल अडरको दौड छाडेको बताए । आफू जन्मिनुभन्दा दुई वर्षअगाडि बनेको कीर्तिमान ब्रेक गर्नु आफ्ना लागि पनि कोसेढुङ्‍गा नै साबित हुने उनको बुझाइ छ । 

सन् २००६ मा श्रीलंकामा भएको दसौं सागमा नेपालका लागि धावक राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । तर, त्यसको केही दिनपछि उनको त्यो पदक खोसिन पुग्यो । राजेन्द्रले प्रतिबन्धित शक्तिवर्द्धक औषधि प्रयोग गरेको भन्दै उनको पदक खोसिएको थियो । 

राजेन्द्रपछि सागको ५ हजार मिटर दौडमा नेपालका कुनै पनि खेलाडीले स्वर्ण जित्‍न सकेका थिएनन् । तर, घरेलु भूमिमा भएको १३औं पार्कीले ५ हजार मिटर दौडमा सागमा भएको स्वर्ण खडेरीको अन्त्य गरे । उनले १४ वर्षपछि सागमा खोसिएको ५ हजार मिटर दौडको स्वर्ण फिर्ता ल्याएका थिए । पार्कीले ५ हजार मिटर दौड १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro