site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लयमा रहेका आशिष किन परेनन् टिममा ?

काठमाडौं । लामो समयको कोरोनाकालपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टोलीलाई सहभागी गराउने प्रयास गर्‍यो । बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मिति तय गर्दै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि दसैँको भोलिपल्ट काठमाडौं बोलायो । बोलाइएका सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी भए ।

नेपालमा एक साता बन्द प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीको दुईपटक कोरोना परीक्षण गरिएको थियो । पहिलोपटकको कोरोना परीक्षणमा पाँच खेलाडीलाई कोरोना संक्रमण देखिँदा दोस्रो परीक्षणमा थप दुई खेलाडीमा संक्रमण देखियो । मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नुअघि भरपर्दा मिडफिल्डर रोहित चन्द चोटका कारण खेल्न नसक्ने भएपछि टोली बाहिरै रहे । उनीलगायत आठ खेलाडी विभिन्न कारण बंगलादेश भ्रमणबाट वञ्‍चित भए । बन्द प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीबाट आठ खेलाडी बंगलादेश जान नसक्ने भएपछि २६ खेलाडी बंगलादेश जानुपर्ने हो । तर, यहाँ नयाँ अनुहारलाई टोलीमा राख्दै २५ खेलाडीसहितको नेपाली टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दुई खेलका लागि बंगलादेशतर्फ लाग्यो ।

त्यसअघि २६ जनाबाट खेलाडी छनोट गर्दा एक खेलाडी मात्र टोलीबाट बाहिरिएका थिए । छनोटमा २६ खेलाडीबाट बाहिरिने एक्ला खेलाडी हुन स्ट्राइकर आशिष लामा । स्ट्राइकरको अभाव रहेका बेला सबैभन्दा लयमा रहेका स्ट्राइकर नै टोलीबाट बाहिरिनु नेपाली फुटबलका लागि आफैंमा दुखद हो ।

आशिष गत वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष गोलकर्ता हुन् । उनले लिगका १३ खेलमा ९ गोल गरेका थिए । लिगका दौरान हेडिङमा सबैभन्दा चुस्त देखिएका आशिष बक्सभित्र पनि त्यति नै चतुर थिए । बक्स बाहिर पनि प्रहार गर्न माहिर आशिष पुनः एकपटक राष्ट्रिय टोलीको जर्सीको प्रतीक्षमा थिए । तर, उत्कृष्ट हुँदा-हुँदै पनि उनी टोलीबाट विनाकारण बाहिरिने एक्ला खेलाडी बने ।

सबैभन्दा लयमा देखिएका स्ट्राइकर आशिषलाई नेपाली फुटबल टोलीमा भरपूर प्रयोग गर्न सक्ने अवस्था थियो । लिगमा उत्कृष्ट देखिएका आशिषको लयलाई बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा मापन गर्ने सुन्दर अवसर थियो । यो खेलमा उनको लय मापन गर्दै आउने खेलका लागि राष्ट्रिय टोलीमा आशिषको भविष्य निर्धारण हुन सक्थ्यो । तर, राष्ट्रिय टोलीको जर्सीको पर्खाइमा रहेका आशिषको सपना पुनः केही पर धकेलिएको छ ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि स्ट्राइकरमा भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र विमल रानालाई टोलीमा समावेश गरिएको थियो । टोलीमा रहेका भरत र विमल इन्जर्ड (घाइते) थिए । इन्जर्ड रहेका भरत लयमा थिएनन् भने उनले पछिल्लो खेलहरुमा राष्ट्रिय टोलीका लागि गोलसमेत गर्न सकेका थिएनन् । भरतले पछिल्लो समय राष्ट्रिय टोलीका लागि ६ सेप्टेम्बर २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानाविरुद्ध गोल गरेका थिए । भुटानलाई ४-० ले पराजित गरेको खेलको ७९औं मिनेटमा भरतले गोल गर्दै उनले राष्ट्रिय टोलीका लागि आफ्नो दसौ‌ गोल गरेका थिए ।

त्यस्तै अर्का स्ट्राइकर नवयुग र जर्ज प्रिन्स पनि लयमा थिएनन् । नियमित टोलीमा स्थान बनाउँदै आए पनि नवयुगले स्कोर गर्न भने सकिरहेका थिएनन् । उनले पनि पछिल्लो समय २०१८ को साफमा गोल गरेका थिए । बंगलादेशविरुद्धको खेलमा नेपालले २-० को जित निकाल्दा नवयुगले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । यो राष्ट्रिय टोलीका लागि गरेको नवयुगको छैटौं गोल हो ।

त्यस्तै विमल र जर्ज प्रिन्सले भने हालसम्म नेपाली टोलीका लागि कुनै गोल गर्न सकेका छैनन् । लिगका सुरुवाती केही खेलमा गोल गरेका विमलले त्यसपछिका खेलमा भने गोल गर्न सकेका थिएनन् । यता जर्ज प्रिन्स भने लिगका पूरै खेलमा लयबाहिर थिए । तर, लिगका दौरान आशिष प्रशिक्षकहरुले मूल्याङ्कन गरेका स्ट्राइकरमध्येका पहिलो थिए । उनको टोलीले राम्रो प्रदर्शन गर्न नसके पनि लिगमा उनले भने स्कोर गरिरहेका थिए ।

मैत्रीपूर्ण खेलमा लागि अर्का भरपर्दा युवा स्ट्राइकर विमल घर्तीमगर र अभिषेक रिजाल पनि टोलीमा थिएनन् । दुई उत्कृष्ट स्ट्राइकर टोलीमा नहुँदा उनको स्थानमा आशिषलाई प्रयोग गर्न सकिने थियो । तर, बन्द प्रशिक्षणका क्रममा आशिषका रुममेट अभिषेकलाई कोरोना देखिएपछि उनलाई पनि बंगलादेश टुरबाट बाहिर राखिएको थियो । आशिषको दुवैपटकको कोरोना परीक्षण भने नेगेटिभ आएको थियो ।

यता कोरोना संक्रमित खेलाडी गोलरक्षक विकेश कुथूका रुममेट विकास खवास भने टोलीमा सहभागी भए । बन्द प्रशिक्षणका क्रममा रुममेटलाई कोरोना संक्रमण देखियो भन्दै बंगलादेश टुरबाट आशिष रोकिँदा विकास किन रोकिएनन् भन्‍ने विषयले अर्को प्रश्‍न उठाएको छ । बंगलादेश जानुअघि गरिएको कोरोना परीक्षणअघि विकेशलाई ज्वरो आएको थियो । विकेशलाई ज्वरो आएको भन्दै परीक्षण गरिएको एक रातअघि छुट्टै कोठामा राखिएको थियो । कोरोना परीक्षणअघि एक रात विकेशलाई छुट्टै रुममा राखिएको भन्दै विकासलाई टोलीमा समावेश गरिएको थियो । तर, त्यही अवस्थामा आशिषले भने अवसर पाएनन् ।

फुटबल विश्लेषक सन्जीव मिश्रले मेडिकल टिमले नै टोलीबाट बाहिर राखेकाले अवसर नपाएको बताए । “उनी एउटै बेडमा सुतेका, एउटै थालमा खाएका अर्का स्ट्राइकर अभिषेक रिजाललाई कोरोना संक्रमण भएको थियो । अनि मेडिकल टिमले आशिषलाई शत्‌प्रतिशत कोरोना संक्रमण हुने ठोकुवा गरेपछि उनलाई टोलीबाट बाहिर राखिएको थियो,” मिश्रले भने । तर, त्यसपछिको परीक्षणमा पनि आशिषलाई संक्रमण देखिएको थिएन । एक साता होटेलको क्‍वारेन्टिनमा बसेपछि गरिएको परीक्षणमा आशिषको रिपोर्ट नेगेटिभ आएको थियो ।

“आशिष मिहिनेती खेलाडी हो । ऊ राम्रो छ । उसलाई अर्को विकल्पको स्ट्राइकरका रुपमा कोचले प्रयोग गर्न सक्थे । किन भने लिगमा ऊ विदेशी प्रशिक्षकको नजरमा परेको खेलाडी थियो,” मिश्रले भने, “हामीले आशिषलाई मैत्रीपूर्ण खेलमा प्रयोग गर्न सक्थ्यौं । यस खेलमा प्रशिक्षकले उनको लिगको प्रदर्शनलाई मापन गर्दै अर्को खेलमा लागि तयार गर्न सकिने थियो । तर, त्यसो हुन सकेन । उनी टोलीमा भएको भए खेल परिवर्तन हुन पनि सक्थ्यो । अर्को कुरा कोचले पनि एक नयाँ खेलाडी र नयाँ स्ट्राइकरलाई प्रयोग गर्न सक्थे ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro