site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली भारोत्तोलनको स्वर्ण युग, १४ वर्षमा ९ ‘गोल्ड मेडल’

काठमाडौं । उकाली-ओरालीसँगै भारी बोक्ने नेपालीको दैनिकी भएकाले पनि होला धेरैजसोले भारोत्तोलनलाई नेपालको परिवेश सुहाउने खेलका रुपमा व्याख्या र विश्लेषण गरे । तर, दैनिक जीवनमा भारवहन गर्नु र प्रतियोगिताको प्रतिस्पर्धामा भारवहन गर्नुमा निकै फरक हुन्छ । प्रतियोगितामा भार वहन गर्दा आफ्नै नियम हुन्छ । तोकिएको परिधिभित्र बाँधिएको हुन्छ । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको लामो समयसम्म पनि नेपालले भारोत्तोलन विधामा स्वर्ण पदक जित्‍न नसक्नुलाई विडम्बना मान्‍न सकिन्छ । नेपाली भारोत्तोलकले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको करिब २८ वर्षपछि स्वर्ण पदक हासिल गरेको थियो । यसअघि भारोत्तोलनले अन्य पदक नजितेको भने होइन ।

सन् १९८३ मा सिरियामा आयोजना भएको एसियान भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट सुरेन्द्र हमालले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा हमालले ६७.५ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्दै थिए ।

Dabur Nepal

हमालले आफ्नो तौल समूहमा स्न्याचतर्फ १०७.५ केजी भार वहन गरेका थिए । स्न्याचमा सिरियाका खेलाडीलाई २.५ केजी तौलले पछि पार्दै उनले नेपालका लागि कास्य पदक जिते । त्यो पदक हमालका लागि मात्र नभई नेपालकै पहिलो अन्तर्राष्ट्रिय पदक थियो । हमालले जितेको कास्य नेपाली भारोत्तोलन इतिहासको पहिलो अन्तर्राष्ट्रिय पदक बन्यो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको पाँच वर्षपछि पदक जित्‍न सुरु गरेको हो ।

गोल्डेन (स्वर्ण) युग
सन् १९७८ देखि २००६ सम्म भारोत्तोलनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । अन्तर्राष्ट्रिय यात्राको २८ वर्षमा नेपाली भारोत्तोलकहरूले थुप्रै पदक जिते । तर, भारोत्तोलनमा स्वर्ण युगको सुरुवात भने हुन सकेको थिएन ।

सन् २००६ मा भएको दसौं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली भारोत्तोलक टोली श्रीलंकाको कोलम्बो पुगेको थियो । पहिलो संस्करणको सागदेखि (छैटौं सागबाहेक) सहभागिता जनाउँदै आएको भारोत्तोलन संघले यसपटक पनि निकै उत्साहसाथ आफ्ना खेलाडीलाई श्रीलंकाको कोलम्बो पुर्‍याएको थियो । यसअघि साग संस्करणमा नेपाली भारोत्तोलनले २२ रजत र ८२ कास्य पदक जित्दा स्वर्ण भने जित्‍न सकेको थिएन । तर, दसौं सागमा भने नेपाली खेलाडीले भारोत्तोलनमा अन्तर्राष्ट्रिय स्वर्ण पदकको चाहना पूरा गर्‍यो ।

दसौं सागमा नेपालका लागि कमल अधिकारीले भारोत्तोलनमा स्वर्ण पदक जिते । उनले ६९ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तु गर्दै ऐतिहासिक स्वर्ण पदक जितेका थिए । अधिकारीले स्न्याचमा ११३ केजी तौल भार वहन गरेका थिए । त्यस्तै क्लिन एन्ड जर्कमा १५३ केजी भार वहन गर्दै समग्रहमा २६६ केजीसहित नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले पाकिस्तानका खेलाडीलाई एक केजी तौलले पछि पार्दै स्वर्ण जितेका थिए ।

त्यो उनका लागि मात्र नभई नेपाली भारोत्तोलन इतिहासकै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । यहीबाट नेपाली भारोत्तोलनले आफ्नो स्वर्णिम युगको सुरुवात गर्‍यो । 

१४ वर्षमा ९ स्वर्ण
२००६ मा कमल अधिकारीले भारोत्तोलनका लागि ऐतिहासिक स्वर्ण पदक जितेपछि त्यसयता नेपाली भारोत्तोलनले अफिसियल प्रतियोगितामा ९ स्वर्ण पदक (गोल्ड मेडल) जितेको छ । नेपाली भूमिमा आयोजना भएको १३औं सागमा भारोत्तोलनले थप दुई स्वर्ण पदक जित्दा अन्य अफिसियल गेममा भने ६ स्वर्ण जितेको छ ।

१३औं सागमा भारोत्तोलनतर्फ नेपालका लागि सन्जु चौधरी र विकास थापाले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । त्यस्तै २०१२ मा नेपालगन्जमा भएको प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण पदक जितेको थियो । 
भारोत्तोलनको १४ वर्षे स्वर्णिम युगमा हालसम्म ९ स्वर्ण पदक जितेको छ । सागमा मात्रै भारोत्तोलनले हालसम्म स्वर्णसहित १२६ पदक नेपाललाई दिलाएको छ । तर, भारोत्तोलनले छैटौं र ११औं सागमा सहभागिता जनाउन पाएको थिएन ।

अन्य आमन्त्रित प्रतियोगितामा नेपाली भारोत्तोलकहरूले थप ६ स्वर्ण पदक जितेका छन् । अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भने ज्योति पौडेल र भरत साउँदले समान तीन-तीन स्वर्ण पदक जितेका थिए ।

स्वर्ण युगको ऐतिहासिक ‘गोल्ड मेडल’
दसौं सागमा ऐतिहासिक स्वर्ण जितेको भारोत्तोलनले १३औं सागमा पनि महिलातर्फ स्वर्ण पदक जितेको थियो । पोखरामा भएको १३औं सागमा नेपाली खेलाडी सन्जु चौधरीले स्वर्ण जित्दै नेपाली भारोत्तोलनको साग इतिहासमा स्वर्ण जित्‍ने पहिलो नेपाली महिला खेलाडी बनिन् ।

तर, नेपाली भारोत्तोलन खेलको इतिहासमा महिलातर्फ स्वर्ण जित्‍ने पहिलो महिला खेलाडी भने तारादेवी पुन हुन् । उनले नेपालगन्जमा भएको प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

च्याम्यिनसिपमा तारादेवीले ६९ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ६३ तथा क्लिन एन्ड जर्कमा ९० केजी तौल भार वहन गर्दै महिलातर्फ भारोत्तोलन इतिहासकै पहिलो स्वर्ण पदक जितेकी थिइन् ।

सागमा भने कुनै पनि नेपाली महिला भारोत्तोलक खेलाडीले स्वर्ण जित्‍न सकेको थिएन । १३औं सागमा सन्जुले ५९ केजी तौल समूहमा महिलातर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ७४ केजी तौल भारवहन गरेकी थिइन् । त्यस्तै क्लिन एन्ड जर्कमा ९७ केजी भार वहन गर्दै सागमा नेपालीलाई ऐतिहासिक स्वर्ण पदक दिलाइन् ।

“खेलाडीले जित्नकै लागि खेल्ने हो । तर मेरो हकमा भने म स्वर्ण पदक नै जित्छु भन्‍ने थिएन । कुनै न कुनै पदक जित्छु भन्‍ने सोचेको थिएँ,” सन्जुले भनिन्, “म पहिलोपटक सागको अनुभव बटुल्दै थिएँ । नेपाली टोलीमा म सबैभन्दा जुनियर खेलाडी पनि थिएँ । नयाँ पनि थिएँ । त्यसैले मैले सागलाई पहिलो अनुभवका रुपमा लिएँ । मिहिनेतको फलले स्वर्ण जितें ।”

१३औं सागका लागि सन्जुसहितको केही खेलाडीको टोली एक महिना कोरिया प्रशिक्षण गरेका थिए । सन्जुसँग ६ जना खेलाडीले कोरिया प्रशिक्षण गरेका थिए भने अन्य १२ खेलाडीले उज्बेकिस्तानमा प्रशिक्षण गरेका थिए । उमेर बढ्दै गएपछि सन्जुले आफ्नो नियमित खेल्दै आएको तौल समूह पनि परिवर्तन गरेकी थिइन् ।

“मैले यसअघिका सबैजसो प्रतियोगितामा ५५ केजी तौल समूहमा खेल्दै आएकी थिएँ । तर, उमेरसँगै शरीरको तौल पनि बढ्दै गएपछि सागमा ५९ केजी तौल समूहमा खेलेँ । म पहिलोपटक ५९ केजी तौल समूहमा खेल्दै थिएँ,” उनले भनिन्, “यो नै मेरा लागि चुनौती थियो । तर, शरीरको तौल बढेकाले सक्छु भन्‍ने पनि थियो । गुरुहरूले पनि भारोत्तोलकहरूले तौल घटाएर खेल्नु हुँदैन । आफ्नो तौल बढी हुँदा भार पनि त्यति नै वहन गर्न सकिन्छ भन्‍ने सल्लाह दिएपछि ५९ केजी तौल समूहमा खेलेँ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro