site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करीदेखि वैदेशिक व्यापारका माध्यमबाट भित्रिन्छ हुन्डी

काठमाडौं । नेपालमा वैधानिक च्यानल भए पनि अवैधानिक च्यानलबाट ठूला मात्रामा विप्रेषण भित्रिने गरेको सरोकारवाला निकायले पनि बताउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकका विभिन्‍न तथ्यांकले पनि अनौपचारिक माध्यमबाट ठूलो कारोबार हुने गरेको देखाउँछ । यही साता मात्रै काठमाडौंबाट एक करोड हुन्डीको रकमसहित कारोबारी पक्राउ परे । 

कुनै पनि सरकारी निकायले अनौपचारिक माध्यमबाट कति विप्रेषण नेपाल भित्रिन्छ भन्‍ने अध्ययन गरेको देखिँदैन तर नेपालको भुक्तानी सन्तुलनको तथ्यांक हेर्दा अर्बौं रकमको विवरण खुलेको देखिँदैन । विभिन्‍न तथ्यांकले भने नेपालमा ठूलो मात्रमा हुन्डीको कारोबार हुने देखाउँछ । 

चीनको वुहान सहरबाट सुरु भएको कोभिड-१९ महामारीले विश्‍व आक्रान्त बनेको छ । यसले गर्दा विश्‍वभरका मुलुकहरुको आर्थिक वृद्धि नकारात्मक बनेको छ भने ठूलो मात्रामा रोजगारी कटौती भएको छ । तर यस्तो विषम् परिस्थतिमा पनि नेपालमा भित्रिने रेमिट्यान्समा भने खासै प्रभाव परेको छैन । कोभिड सुरु भएसँगै नेपाल राष्ट्र बैंकले नै गत आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स २० प्रतिशतसम्मले घट्न सक्ने अनुमान गरेको थियो । तर आर्थिक वर्ष सकिँदा नेपाली मुद्रामा रेमिट्यान्स ०.५ प्रतिशतले मात्रै घटेको तथ्यांक नेपाल राष्ट्र बैंकले नै सार्वजनिक गर्‍यो ।

कोभिड १९ ले गर्दा आयात घटेको र आयातमा कमी आउँदा हुन्डी पनि घटेकाले औपचारिक माध्यमबाट आउने रेमिट्यान्समा कोभिडको प्रभाव नदेखिएको राष्ट्र बैंककै आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् । तर वार्षिक कति रेमिट्यान्स हुन्डीमार्फत आउँछ भन्‍ने यकिन तथ्यांक भने नभएको डा. भट्टको भनाइ छ । 

नेपालको भुक्तानी सन्तुलनको वार्षिक विवरणले भने विवरण नखुलेको अन्तर्राष्ट्रिय कारोबार हुने गरेका देखाउने उनको भनाइ छ । गत आर्थिक वर्षको नेपालको भुक्तानी सन्तुलनको विवरण हेर्दा ६२ अर्ब ६८ करोड विवरण नखुलेको कारोबार भएको उनले बताए । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा ९६ अर्ब ६९ करोड त्यस्तो कारोबार भएको तथ्यांक देखिन्छ । त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा एक अर्ब १३ अर्ब ८९ करोड त्यस प्रकारको कारोबार रहेको देखिन्छ । 

कोभिड १९ को प्रभावले आयात घटेको र आयात घटेसँगै अघिल्लो वर्षको तुलनामा गत वर्ष भुक्तानी सन्तुलनमा विवरण नखुलेको कारोबार पनि घट्नु र कोभिडले विशवाव्यापी रुपमा अर्थतन्त्रमा प्रभाव परेर रोजगारी कटौती हुँदासमेत वैधानिक च्यानलबाट आउने रेमिट्यान्समा प्रभाव नपर्दा वैदेशिक व्यापारमा हुन्डीको प्रयोग हुने गरेको प्रस्ट देखिन्छ । 

यसरी विररण नखुलेको सबै कारोबार हुन्डीमार्फत नै भयो भन्‍ने अवस्था नभए पनि यसको ठूलो हिस्सा भने हुन्डी नै हुनसक्ने उनको भनाइ छ । नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा पनि हुन्डी विभिन्‍न माध्यमबाट भित्रिने बताउँछन् । भुक्तानी सन्तुलनमा देखिएको विवरण नखुलेको कारोबार पूर्ण रुपमा हुन्डी नै हो भन्‍ने अवस्था नभए पनि एउटा क्षेत्र त्यो हुनसक्ने उनको भनाइ छ । 

प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक सहायता तथा ऋण, आयात, निर्यातको तथ्यांकमा त्रुटि भए त्यस्तो फरक परेको तथ्यांक पनि त्यसैमा देखिने उनको भनाइ छ । त्यस्तै नेपाल खुला बोर्ड भएकाले भारतीयले नेपालमा आएर भारतीय मुद्रामा कुनै वस्तु तथा सेवा खरिद गरेर जान्छ र त्यस्तो मुद्रा बैंकिङ च्यानलमा आउँछ भने त्यस्तो रकम पनि विवरण नखुलेको कारोबारका रुपमै  जनाइने उनले बताए । 

नेपालको वैदेशिक व्यापारका जानकारहरु आयातको माध्यमबाट हुन्डीको कारोबार हुने दाबी गर्छन् । व्यापारीहरुले वस्तु तथा सेवा आयात गर्दा उक्त वस्तुको मूल्यबराबर मुद्रा नेपालबाट नलगी वैदेशिक रोजगारीमा रहेकाबाट भुक्तानी गरेर उनीहरुको आफन्तलाई यता भुक्तानी गर्ने प्रक्रिया नै सबैभन्दा ठूलो हुन्डीको सञ्‍जाल भएको उनीहरुको बुझाइ छ । यसबाहेक सुन तस्करीमा समेत हुन्डीको प्रयोग हुने राष्ट्र बैंककै अधिकारीहरु पनि बताउँछन् ।

नेपालको भुक्तानी सन्तुलनको तथ्यांक मात्रै नभएर राष्ट्र बैंकले नै गरेको एक अध्ययनले भने वैदेशिक व्यापार नै हुन्डी कारोबारको सबैभन्दा ठूलो माध्यम भएको देखाउँछ । नेपाल राष्ट्र बैंकले २०७३ मा गरेको आयातको भुक्तानी प्रवृत्तिसम्बन्धी अध्ययनले पनि वैदेशिक व्यापारमा हुन्डीको प्रयोग हुने गरेको देखाउँछ । नेपालमा विभिन्‍न समयमा गरिएका अध्ययनहरुले अनौपचारिक व्यापारसमेत हुने गरेको देखाएको राष्ट्र बैंक उक्त प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष ०६४/६५ देखि ०७२/७३ सम्मको नेपाल र भारत भन्सार तथ्यांकको विश्लेषणबाट नेपालको भन्सारमा अभिलेख भएको भारततर्फको निर्यात र सोही समयमा भारतको भन्सारमा अभिलेख भएको नेपालबाटको आयातमा औसत ४ प्रतिशत भिन्‍नता रहेको देखिन्छ । 

तर नेपालको भन्सारमा अभिलेख भएको भारतबाटको आयात र भारतको भन्सारमा अभिलेख भएको नेपालतर्फको निर्यातको भिन्‍नता औसत ३५.५ प्रतिशत रहेको देखिन्छ । नेपालमा भारतबाट भएको आयातको तथ्यांक र भारतले नेपालमा गरेको निर्यातको तथ्यांकमा यति ठूलो अन्तर हुनुले नेपालमा हुने आयातमा अनौपचारिक माध्यमबाट भुक्तानी हुने गरेको प्रस्ट देखिन्छ । त्यो माध्यम भनेको हुन्डी नै भएको जानकारहरु दाबी गर्छन् । 

कसरी हुन्छ हुन्डी कारोबार ?
राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री थापा नेपाल दुई ठूला र विकसित छिमेकी मुलुकको बीचमा रहेको र दक्षिणतर्फ खुला सीमा हुँदा व्यापारीहरुले अनौपचारिक व्यापार तथा तस्करीका लागि हुन्डीको कारोबार हुने बताउँछन् । हुन्डीको अर्को कारण मुलुकको कमजोर सुशासन व्यवस्था रहेको थापाको भनाइ छ । 

“केही वर्षयता पाम आयल र सुनको व्यापार, पाम आयल प्रोसेसिङ नै गरेर भारत पठाउनेजस्ता काम पनि भइरहेको छ, ठूलो देशका बीचमा रहेको सानो स्वतन्त्र राष्ट्रको रुपमा चालेका कदमका 'लुपहोल'लाई प्रयोग गरेर यस्ता अनौपचारिक कारोबार हुने प्रवृति नेपाल मात्रै नभएर नेपालजस्ता अन्य देशमा पनि हुन्छ,” उनले भने । 

नेपालमा कति प्रतिशत औपचारिक च्यानलबाट रेमिट्यान्स आउँछ भन्‍ने कुनै औपचारिक अध्ययन नभए पनि नेपाल राष्ट्र बैंकको अनुसान्धान विभागले २०७३ मा गरेको अध्यनमा नेपालको भन्सार विभागको भारतसँगको आयात तथ्यांक र भारतको नेपालमा निर्यातको तथ्यांकमा नेपालको भन्सार विभागको तथ्यांक ३५ प्रतिशत कम रहेको छ । जबकि तथ्यांक दुवैतर्फ ब्यालेन्स हुनुपर्नेमा नेपालतर्फ आयात कम देखिनु र भारतले नेपालमा गरेको निर्यात बढी देखिनुलाई पनि एउटा सूचकका रुपमा विश्लेषण गर्न सकिने उनको भनाइ छ । नेपालको कुल आयातमा भारतको हिस्सा दुई तिहाइभन्दा बढी रहेको छ । 

कसरी हुनसक्छ हुन्ड निरुत्साही ?
हुन्डी निरुत्साहित गर्न केही नीतिगत परिवर्तन र केही नीति आवश्यक पर्ने थापा बताउँछन् । हुन्डी निरुत्साहित गर्ने एउटा उपाय भनेको छड्के विनिमय दर सकारात्मक हुनपर्ने उनले बताए । “नेपाली रुपैयाँ र डलरको मूल्य तथा भारतीय रुपैयाँ र डलर तथा नेपाली रुपैयाँको छड्के विनिमय दर नेपालको पोजेटिभ हुनुपर्छ,” उनले भने । हुन्डी निरुत्साहित गर्ने छड्के विनिमय दरलाई अनुगमन गर्ने र रेमिट्यान्स नेपाल पठाउँदा डलर र नेपाली रुपैयाँ डलरबाट भारु र भारुबाट नेपाली रुपैयाँमा आउनेभन्दा बढी हुनुपर्ने उनको तर्क छ । 

अर्को बैंकिङ च्यानबाट रेमिट्यान्स लिनका लागि हुने झन्झट कम हुनुपर्ने उनले बताए । अहिले ग्रामीण भेकका मानिस खाडी तथा मलेसियामा रहेको र उनीहरुले बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउँदा एक सातामा पनि नपुग्‍ने तर हुन्डीमार्फत पठाउँदा सहज रुपमा हातमै रेमिट्यान्स पुग्‍ने अवस्था रहेको भन्दै बैंकिङ च्यानलको रेमिट्यान्स भुक्तानी प्रक्रिया सरल र सहज हुनुपर्ने थापा बताउँछन् । 

तेस्रो औपचारिक च्यानलबाट आउने रेमिट्यान्सको कमिसन दर कम गर्नुपर्ने उनले बताए । एक वर्षअघि नेपाल राष्ट्र बैंकले नै गरेको एक अध्ययनले खाडी तथा मलेसिया र अमेरिकी मुलुकबाट नेपाल रेमिट्यान्स पठाउँदा औसत ४.३ प्रतिशतसम्म लागत लाग्‍ने बताएको थियो । राष्ट्र बैंकको उक्त अध्ययन प्रतिवेदनमा २०० डलरभन्दा कम रेमिट्यान्स नेपाल पठाउँदा औसत ४.३ प्रतिशत र २०० डलरभन्दा माथि रेमिट्यान्स पठाउँदा औसत २.९ प्रतिशत लागत लाग्‍ने उल्लेख छ ।

हुन्डीमार्फत रेमिट्यान्स पठाउँदा सस्तो र बैंकिङ माध्यमबाट पठाउँदा बढी लागत लाग्‍ने भयो भने कसैले पनि पसिना बगाएको मिहिनेत बढी खर्च गरेर नपठाउने उनले बताए । त्यसैले नेपालमा रेमिट्यान्सको लागत घटाउने हुन्डी निरुत्साहितको अर्को उपाय भएको थापा बताउँछन् । 

नेपालको दिगो विकासको लक्ष्यमा पनि रेमिट्यान्सको औसत लागत २ प्रतिशतमा झार्ने लक्ष्य रहेको उनले बताए । नेपालमा पाकिस्तान मोडेल भनेर चर्चा हुने गरेको भन्दै थापाले भने, “म राष्ट्र बैंकमा हुँदा पनि रेमिट्यान्समा पाकिस्तान मोडल अपनाउने भनेर छलफल पनि भएको थियो, पाकिस्तानमा रेमिट्यान्सको लागत सरकारले नै व्यहोर्ने गरेको छ, नेपालमा पनि रेमिट्यान्सको लागत सरकारले बेहोर्ने हो भने लागत नै नलाग्‍ने भएपनि बैंकिङ च्यानलबाट रेमिट्यान्स आउँछ ।” 

हुन्डी निरुत्साहित गर्ने अर्को उपाय भनेको पुँजीखाता कारोबार खुला गर्नुपर्ने उनको दाबी छ । “नेपालले पुँजी खाता कारोबारलाई नियन्त्रण गरेको छ, चालु खातामा नेपाली रुपैयाँलाई परिवर्त्य दिएको छ तर पुँजीखाता कारोबारका लागि नेपाली रुपैयाँ परिवर्त्य छैन,” थापाले भने । पुँजीखातामा उदारीकरण नीति नलिदासम्म हुन्डीको सम्भावना रहने उनले बताए । 

चालु खाता जस्तै पुँजी खातामा पनि उदारीकरण नीति नेपालले लिनुपर्ने थापाले बताए । यसले हुन्डी कारोबार रोक्ने उनको दाबी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro