
काठमाडौं । लकडाउनपछि खुलेको सेयर बजार लगातार बढिरहेको छ । कोभिड १९ को नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन र त्यसपछि उत्पन्न असहज परिस्थितिले समग्र अर्थतन्त्र प्रभावित बन्यो । लकडाउनकै कारण ३ महिनाभन्दा लामो समय नेपालको धितोपत्र बजार पनि बन्द भयो ।
सोहीबीच नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच देखिएका विभिन्न असमझदारीबीच पनि अनलाइन कारोबार प्रणालीमा केही सुधार भएर अहिले लगानीकर्ताले घरबाटै सेयर कारोबार गर्न सक्ने वातावरण तयार भएको छ । यद्यपि नेपालको पुँजीबजारमा प्रविधिको क्षेत्रमा गर्नुपर्ने अझै धेरै काम बाँकी छ ।
३ महिनाभन्दा लामो समय बन्द भएपछि खुलेको बजार अहिले लगातार बढिरहेको छ । गत फागुनमा १६३२ अंकसम्म पुगेको नेप्से चैतमा १२०० अंकसम्म झरेको थियो । लकडाउनले तीन महिना बन्द भएर खुलेको नेप्से अहिले २०७४ साउनपछिकै उच्च विन्दुमा छ भने बजार पुँजीकरण अहिलेसम्मकै उच्च छ ।
बुधबार अहिलेसम्मकै उच्च २२ खर्ब नाघेको बजार पुँजीकरण बिहीबार नेप्सेमा सामान्य करेक्सन हुँदा २१ खर्ब ९८ अर्ब ६८ करोडको छ । धितोपत्र बजारको नियामक, लगानीकर्ता, विश्लेषक, र बजार सञ्चालक सबै सरोकारवालहरु अहिले लगानीकर्तामा देखिएको पोजेटिभ सेन्टिमेन्टले बजार अझै बढ्ने सक्ने बताउँछन् ।
तीनचौथाइको हिस्सा ओगटेको बिमा र वित्तीय क्षेत्रले गत वर्षको मुनाफाबाट अपेक्षाभन्दा राम्रो लाभांश प्रस्ताव गर्दा लगानीकर्तामा थप उत्सह बढाएको देखिन्छ । यसले पनि बजार बढाउन टेवा पुर्याएको विश्लेषकहरु बताउँछन् ।
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना अहिले अन्य क्षेत्रमा लगानीको राम्रो वातावरण नभएकाले पनि सेयर बजारमा लगानी वृद्धि हुँदा अर्थतन्त्र प्रतिकूल हुँदा पनि सेयर बजार बढेको बताउँछन् । पुँजी जुटाउने क्षेत्र पनि पुँजीबजार नै भएको र पछिल्लो ३/४ महिनामा धितोपत्र बजारमा भएको सुधार र परिवर्तनले पनि बजारमा सुधार भएको उनको दाबी छ ।
“अहिले लगानीकर्ताको आत्मविश्वास बढेको छ । नियामक नियकायको रिफर्म र राजनीतिक परिवर्तनले पनि बजारमा प्रभाव परेको जस्तो लाग्छ,” ढुङ्गानाले बाह्रखरीसँग भने ।
बजार सञ्चालक नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि लगानीकर्ताको कन्फिडेन्ट नै बजार बढ्नुको प्रमुख कारण रहेको बताउँछन् । अहिले अर्थतन्त्र प्रतिकूल भए पनि पुँजीबजारका लागि भने अनुकूल वातावरण भएको साउँद दाबी गर्छन् । नेपालको अर्थतन्त्र र क्यापिटल मार्केटमा एजस्टेबल हुन गाह्रो भएको उनको भनाइ छ । “नेपालको अर्थतन्त्रमा वास्तविक क्षेत्रको योगदान बढिरहेको तर अहिले अन्यत्र व्यापार व्यवसाय गर्ने वातावरण राम्रो नभएको र कर्जाको ब्याजदर पनि सस्तो भएकाले पनि बजारमा ह्विम आएको छ,” उनले भने । अहिले अनलाइनको प्रयोग बढ्दै जाँदा माग बढेकाले पनि नेप्सेमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ । अहिलेको कारोबारमध्ये ९० प्रतिशत अनलाइनबाटै हुने गरेको उनले बताए ।
सेयर लगानीकर्तासमेत रहेका बजारको जानकार अम्बिक पौडेल पनि लगानीकर्ताको मनोबल उच्च रहेको र यसले नै नयाँ रेकर्ड कायम गर्नसक्ने दाबी गर्छन् । “नेपालको पुँजीबजारमा तीनचौथाइ हिस्सा बिमा र वित्तीय क्षेत्रको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले अपेक्षाभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव आएको छ,” पौडेलले भने, “अर्कोतफ सेयर लगानीकर्ताले लिएको कर्जाको ब्याजदर भने घटेको छ, सूचीकृत कम्पनीहरुमा होटेलबाहेक अन्यको पर्फमेन्स नघटेको तर सेयर लगानीकर्ताको लागत घटेको सन्दर्भमा आगामी दिनमा पनि नागरिकले बैंक तथा वित्तीय संस्थाको बचतमा राखेकोभन्दा राम्रो प्रतिफल सेयर बजारमा पाउने अवस्था भएको छ ।” आगामी दिनमा पुँजीबजारको अवस्था झनै राम्रो हुने पौडेल बताउँछन् ।
केही सयमअगाडि स्थिरजस्तै रहेको बैंकिङ समूहको सूचक पछिल्लो समय चलायमान नभएको र यसले बजारलाई अझै माथि लैजाने संकेत गरेको उनको भनाइ छ । दसैंपछिको दुई दिनको कारोबार हेर्दा ५० प्रतिशतभन्दा बढी वाणिज्य बैंकको कारोबार भएको र यसले पनि लगानीकर्तालाई वाणिज्य बैंकहरुको अपेक्षाभन्दा बढी लाभांश दिँदा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकमा गएको उनले बताए । “अहिलेको बुल ट्रेन्ड अझै केही समय रहन सक्छ । २०२० को डिसेम्बरसम्म यो बुल ट्रेन्डले नेप्सेलाई अहिलेसम्मकै उचाइ कायम गराउन सक्छ । ”
पूर्वबैंकरसमेत रहेका सेयर विश्लेषक अनलराज भट्टराई अहिलेको वृद्धिलाई बुलिस ट्रेन्ड भन्न सकिने बताउँछन् । “बैंकिङ क्षेत्रले लाभांश दिने बेला छ, बैंकहरुले अपेक्षकृत राम्रै लाभांश वितरण गरिरहेका छन्,” उनले भने, “ हाम्रोमा अहिले ब्याजदर घटेको छ, अन्य क्षेत्रमा कर्जाको माग छैन, अन्य किसिमले अर्थतन्त्र पनि चलायमान छैन जसले गर्दा सेयर बजारका लगानीकर्तामा क्रेडिट एक्सिस बढेको छ ।” नेपाल राष्ट्र बैंकले पनि सेक्युरिटी फाइनान्समा राम्रो नीति लिएको र आफैं केही सुधार हुनसक्ने अपेक्षाले गर्दा अहिले सेयर बजारमा लगानीकर्ताको मनोबल बढेको उनले बताए ।
अहिले बजारमा एकदमै पोजेटिभ सेन्टिमेन्ट देखिएको छ र अझै मार्केट माथि जानसक्ने देखिन्छ । अहिले बजार जुन किसिमले बढिरहेको छ, त्यसलाई बुलिस ट्रेन्ड भन्न सकिने उनको भनाइ छ । अहिले बुलिस ट्रेन्डमा रहेको बजार करेक्सन फेजभन्दा पनि माथि गइसकेको उनले बताए । अहिले सेन्टिमेन्ट एकदम पोजेटिभ भएको र आफैं बजार बुल ट्रेन्डमै जाने अवस्था रहेको उनले दाबी गरे ।
“हाम्रो सन् २०१० देखिकै अर्थतन्त्र हेर्दा पनि जुन समय अर्थतन्त्र डाउन हुन्छ, त्यो बेला सेयर बजार अप भएको देखिन्छ । यो वर्ष पनि जीडीपी ०.२ प्रतिशतको ग्रोथ भएको र आउने वर्ष पनि आर्थिक वृद्धि न्यून मात्रै हुने प्रक्षेपण भएको अवस्थामा अन्य क्षेत्र खासै चलायमान हुने अवस्था छैन । हामीसँग पैसा छ, होल्ड भएर बसेको छ, पैसा चलायमान हुने एउटै मात्रै क्षेत्र पुँजीबजार हो । उत्पादन क्षेत्रभन्दा अहिले अन्य क्षेत्र चलायनमान भएको अन्तर्राष्ट्रिय स्तरमा पनि देखिन्छ, यो बेलामा स्टक मार्केट र यस्तै अन्य क्षेत्र चलायमान भएको छ । यही बेलामा बैंकमा पर्याप्त तरलता पनि छ र बैंकको ब्याजदर पनि घटेर न्यून दरमा आएको र बैंकले पनि राम्रै रिटर्न दिने देखिन्छ,” उनले भने ।
अर्कोतर्फ बिमासहित वित्तीय क्षेत्रमा नियामक निकायले प्रोटेक्ट गर्छ । रेगुलेटरले प्रोटेक्ट गर्नेपर्ने हुन्छ, किनभने बैंकिङ क्षेत्रमा पब्लिकको सेन्टिमेन्ट जोडिएको हुन्छ, जीडीपीभन्दा ठूलो साइज भएको बैंकिङ क्षेत्रमा प्रोफिटबिलिटी हुनुपर्छ भनेर राष्ट्र बैंकदेखि आईएमएमफ र अन्य निकायले पनि यो क्षेत्र भाइब्रेन्ट नै बनाउनुपर्छ भन्ने सेनिटमेन्ट छ । यसले बजार पोजेटिभ सेन्टिमेन्ट भएर अगाडि जाने अवस्था देखिएको उनको भनाइ छ । “अझै पनि ३/४ महिना बजार बढ्ने अवस्था देखिन्छ,” उनले भने ।