
काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्ष दसैंलाई लक्षित गर्दै नयाँ नोट नसाट्ने निर्णय गर्यो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा पनि तीव्र रुपमा बढ्दै गएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो वर्ष दसैंमा नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने निर्णय केन्द्रीय बैंकले गर्यो ।
कतिपयले भने बैंकिङ सेवा सुरु भएको अवस्थामा बैंकिङ माध्यमबाट मात्रै भए पनि नयाँ नोट सटही गर्ने व्यवस्था गर्दा सहज हुने भन्ने सुझाव सामाजिक सन्जालमार्फत आइरहेको छ । तर राष्ट्र बैंकले भने आफ्ना पनि कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको र बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण बढ्दै जाँदा नियमति सेवा प्रवाहमै समस्या हुने अवस्था आएको जनाएको छ ।
नेपाल सरकारले पनि नयाँ नोट वितरण गर्दा भिड हुने र जोखिम बढाउने भनेकाले यो वर्ष नयाँ नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै यो वर्ष नयाँ नोट सटही नहुने स्पष्ट पारिसकेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेको मापदण्डमा बैंकहरुमा बढी भिड हुन दिन नहुने विषय उल्लेख रहेको भन्दै यस्तो निर्णय गरिएको बैंकको सूचनामा भनिएको छ । “यस बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिप्रेक्ष्यमा आमनेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बैंकका कुनै पनि कार्यालयहरुबाट यस वर्षको बडादसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।
दसैंलक्षित गर्दै विगतमा जस्तो नयाँ नोट सटही नभए पनि बैंकिङ प्रणालीमार्फत नियमित रुपमा नोट सर्कुलेसन भने भइरहेकको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
कहिले सुरु भयो दसैंमा नयाँ नोटको प्रचलन ?
दसैंमा नयाँ नोट वितरण गर्ने प्रचलन कहिलेबाट सुरु भएको भन्ने एकिन विवरण राष्ट्र बैंकसँग छैन । सुरुमा काठमाडौंमा मात्रै सटही हुने गरेकामा यो प्रचलनका रुपमा विकास हुँदै गएर अहिले देशव्यापी रुपमा अनिवार्यजस्तै भएको प्रवक्ता भट्ट बताउँछन् । “राष्ट्र बैंक स्थापना हुनुभन्दा पहिले नोट निष्कासन हुँदा पनि पहुँच हुनेहरुले नयाँ नोट साट्ने गरेको र त्यसपछि क्रमिक रुपमा विस्तार हुँदै गएको उनले बताए । “दसैंका लागि नयाँ नोट सटही यही मितिबाट सुरु भएको भन्ने विवरण नभए पनि पहिलेबाटै यस्तो परम्परा रहेको र ०६२/६३ पछि यो झनै विस्तार भएको देखिन्छ,” उनले भने ।
अर्थशास्त्री केशव आचार्य भने २०४७ सालतिरबाट दसैंमा नयाँ नोट वितरण गर्ने परम्पराको थालनी भएको बताउँछन् । तर यो परम्परा राम्रो भने नभएको उनको भनाइ छ । “०४७/४८ तिर सत्यन्द्रप्यारा श्रेष्ठ डेपुटी गभर्नर हुँदा उहाँकै अग्रसरतामा दसैंमा नयाँ नोट वितरण गर्ने कुरा आएको हो,” अर्थविद आचार्यले भने, “यो त्यति पुरानो र ऐतिहासिक परम्परा होइन । तर यो कुरा त्यतिबेलादेखि नै ठीक लागेको थिएन । किनभने नोट भनेको नयाँ होस् अथवा पुरानो सबैंको क्रयशक्ति र मूल्य उति नै हो ।”
दसैंमा नयाँ नोट आवश्यक हो ?
दसैंमा नयाँ नोट सटही गर्नै नहुने कामको सुरुवात गरिएको आचार्यले बताए । राष्ट्र बैंकले चाडपर्वमा नयाँ नोट वितरण गर्ने र यही चाडपर्वका नाममा नोटमा पूजा गर्दा नोटको आयु घटाउने उनको तर्क छ । राष्ट्र बैंकले नयाँ नोट वितरण गर्नेभन्दा पनि पसिनाले नभिज्ने तथा आयु बढी हुने बलियो नोट बनाउनेमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अहिले कोभिडको कारणले मात्रै नभई आगामी दिनमा दसैंमा नयाँ नोट सटही गर्ने परम्परालाई नै सदाका लागि रोक्नुपर्ने उनको भनाइ छ । “यो राम्रो संस्कृतिको सुरुवात होइन । भावावेशमा आएर दसैंमा नयाँ नोट बाँड्ने परम्परा विकास भएको हो । यसलाई अब रोकिनुपर्छ ।”
नोट छपाइदेखि दसैंलई नै भनेर विकट जिल्लामा हेलिकोप्टर चार्टर्ड गरेर पैसा लैजान राज्यको ठूलो लागत लाग्ने गरेको उनले बताए । राष्ट्र बैंकले नोटको कसरी जतन गर्ने त्यतातिर ध्यान दिनुपर्ने र बैंकहरुले पनि जुनसुकै बेला पुरानो नोट दिएर नयाँ नोट साटिदिने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । तर दसैंलाई नै भनेर नयाँ नोट बाँड्नु राम्रो नभएको उनले दोहोर्याए । “अहिले कोभिडले दिएको मौकालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । दसैंका लागि भनेर नै नयाँ नोट वितरण गर्न हुन्न,” उनले भने ।
राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा भने दसैंमा नयाँ नोटका रुपमा दक्षिणा दिने प्रचलनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने बताउँछन् । दसैं-तिहारमा आशीर्वादसहित केही रकम दक्षिणा दिने परम्पराले बच्चा-बच्चीहरुलाई सहानुभूतिसँगै उत्साह पनि सिर्जना गर्ने उनको भनाइ छ । राष्ट्र बैंकले पनि दसैंमा नयाँ नोट वितरण गरेर त्यो परम्परालाई जोगाइरहेको थापा बताउँछन् ।
अहिले कोरोना महामारी चलिरहेको र पैसाबाट पनि यो सर्ने भन्ने भएकाले महामारी सर्ने डर र लिन लाइन लाग्नुपर्ने हुँदा अर्को जोखिम भएकाले विशेष परिस्थितिमा नयाँ नोट वितरणमा रोक लगाउनु राम्रै भएको उनको भनाइ छ । राष्ट्र बैंकको क्लिन नोट पोलिसी पनि रहेको र दसैं-तिहारमा नयाँ लगाउने मीठो खाने सँगै नयाँ नोट वितरण गर्ने परम्परालाई यसले ‘म्यचिङ’ गर्ने गरेका उनको बुझाइ छ । क्लिन नोट पोलिसीलाई ध्यानमा राख्दा दसैं तिहारमा नयाँ नोट वितरण गर्ने परम्परा राम्रै भएको उनको भनाइ छ । यो क्रममा राष्ट्र बैंकले बजारबाट पुरानो नोट लिने क्रम पनि चल्छ ।
यद्यपि दसैं-तिहारमा टीका लगाउँदा रङ लाग्ने, पूजा गर्ने हुँदा नयाँ नोट बिग्रने पनि हुने भएकाले नोट नबिग्रने गरी सर्वसाधारणलाई नयाँ नोट चलाउनेबारे जनचेतना भने जगाउनुपर्ने देखिएको उनले बताए । यस वर्ष कोरोनाका कारण नयाँ नोट वितरण नगरिए पनि आगामी वर्ष यसलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । “क्लिन नोट पोलिसीको रुपमा दसैंमा बजारमा नयाँ नोट पठाउँदा नीति पनि कार्यान्वयन हुने र परम्परालाई पनि धान्ने रुपमा लिनुपर्छ । तर अहिले कोभिडको कारणले राष्ट्र बैंकले रोक्नलाई अन्यथा मान्न हुँदैन,” उनले भने ।
दसैंमा नयाँ नोट वितरण गर्दा खर्च बढाउने उनको बुझाइ छ । “बच्चाबच्चीको अन्य आम्दानी हुँदैन । यो अवसरमा प्राप्त गरेको दक्षिणाबाट उनीहरुले इच्छाअनुसारको वस्तु तथा सेवा खरिद गर्न पाउँछन् र त्यो पैसा बजारमा आउँछ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसम्म सघाउँछ,” थापाले भने ।
यता बैंकरहरु भने राष्ट्र बैंकको नयाँ नोट वितरण नगर्ने निर्णय सही भएको बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल अब प्रविधिमैत्री बैंकिङमा अनलाइन दक्षिणालाई प्राथमिकता दिनुपर्ने बताउँछन् । “दसैंमा दक्षिणाभन्दा पनि मान्यजनबाट आशीर्वाद लिने हो । यदि दक्षिण नै दिने हाम्रो परम्परा छ भने पनि अनलाइन दक्षिणालाई प्राथमिकता दिनुपर्छ,” दाहालले बाह्रखरीसँग भने, “अहिले मात्रै हैन सानिमा बैंकले विगत ३/४ वर्षदेखि अनलाइन दक्षिणाका लागि अभियानै चलाइरहेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भने अहिले कोभिडले गर्दा नै राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही सुविधा दिन नसकेको र यसले नै डिजिटल बैंकिङलाई ब्रेकथ्रु दिने बताउँछन् । “हामी क्रमिक रुपमा डिजिटलाइजेसनमा जाँदै छौं, डिजिटल बैंकिङको प्रयोग बढ्दै जाँदा भोलिका दिनमा क्रमिक रुपमा कागजी नोटको प्रयोग घट्दै जान्छ । अहिले ग्रामीण क्षेत्रमा पनि मानिसहरुको हात-हातमा मोबाइल पुगेको छ, डिजिटल बैंकिङलाई नै प्रवर्द्धन गर्नुपर्ने यो एउटा अवसर पनि हो,” उनले भने ।
कति लाग्छ नोट छाप्न खर्च ?
नेपाल राष्ट्र बैंकले बर्सेनि नयाँ नोट छाप्न करोडदेखि अर्बौं रुपैयाँ खर्चने गरेको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोट छाप्ने गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् । नोट छपाइको लागत नोटअनुसार फरक हुने उनले बताए ।
१० रुपैयाँ नोट छाप्न सबैभन्दा कम र ५०० दरका नोट सबैभन्दा छाप्न बढी लागत लाग्ने उनको भनाइ छ । रुपैयाँ हेरेर एउटा नोट छाप्न १ रुपैयाँ ४० पैसा देखि ४ रुपैयाँ ६८ पैसासम्म लागत लाग्ने उनको भनाइ छ । सबैभन्दा कम लागत १० रुपैयाँको नोट छाप्न प्रतिवटा १ रुपैयाँ ४० पैसा र सबैभन्दा धेरै लागत ५०० दरका नोट छाप्न प्रतिवटा ४ रुपैयाँ ६८ पैसा लाग्छ ।
त्यस्तै ५ रुपैयाँ दरका नोट छाप्न प्रतिवटा १ रुपैयाँ ५८ पैसा, २० रुपैयाँ दरको नोट छाप्न १ रुपैयाँ ७५ पैसा, ५० रुपैयाँ दरको नोट छाप्न २ रुपैयाँ ६७ पैसा १०० रुपैयाँ दरको नोट छाप्न २ रुपैयाँ ९९ पैसा र सबैभन्दा धेरै १००० दरका नोट छाप्न प्रतिवटा ३ रुपैयाँ ३७ पैसा लाग्छ । बजारमा ६ खर्ब २ अर्ब रुपैयाँबराबरको पैसा रहेको पनि उनले बताए ।