site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिकूल परिस्थितिमा पनि कसरी बढाए बैंकहरुले कर्जा ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो वाणिज्य बैंकहरुको कर्जा एक खर्ब २९ अर्ब २५ करोड र निक्षेप १ खर्ब ६ अर्ब ३३ करोडले विस्तार भएको छ । कोभिड १९ ले निम्त्याएको विषम् परिस्थितिमा पनि बैंकहरुको व्यवसाय विस्तार राम्रै देखिएको छ । यद्यपि त्रैमासको अन्तिम साता असोज २३ देखि ३० गते बीचमा बैंकहरुले बढाएको कर्जा लगानी भने अस्वाभाविक देखिएको छ । 

एक सातामै २७ वाणिज्य बैंकहरुले ७० अर्ब १५ करोड रुपैयाँले कर्जा बढाएका छन् । उक्त कर्जा विस्तार देखिएर आफैँ अचम्मित भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । आर्थिक वर्षको एक त्रैमासमा कुल एक खर्ब २९ अर्ब कर्जा विस्तार हुँदा एक सातामै ७० अर्ब बढ्नुलाई स्वाभाविक रुपमा लिनसक्ने अवस्था देखिँदैन । कोभिडका कारण उक्त सातामै  ठूलो मात्रामा कर्जा विस्तार हुने गरी कर्जाको मागै सिर्जना नभएको बैंकरहरु बताउँछन् । 

बैंकहरुले एक-अर्काको कर्जा खोसाखोस गर्दा बढाएर लगानी गरेको र असोज मसान्तमा बैंकहरुले व्यवसायीलाई कर्जा तिर्न दबाब दिँदा व्यवसायी-बैंकर दुवैले राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट सहज नीतिको फाइदा उठाएको हुनसक्ने केही बैंकरहरु बताउँछन् । एउटा बैंकको कर्जा तिर्न व्यवसायीले अर्को बैंकबाट सावाँ-ब्याजसहित कर्जा दिएको जसले गर्दा व्यवसायीले पनि कर्जा तिरेजस्तो देखाएको र ब्याज जोडिँदा बैंकहरुको पनि कर्जा बढेको देखिएको केही बैंकहरुको बुझाइ छ । अन्यथा एक सातामै यति धेरै कर्जा विस्तार हुने अवस्था नभएको एक बैंकर बताउँछन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि एक सातामै यति धेरै कर्जा विस्तार हुने अवस्था नरहेको बताउँछन् । असोज मसान्तमा केही कर्जाको ब्याज पुँजीकरण भए पनि त्यसले यति धेरै कर्जा नबढ्ने उनको भनाइ छ । कर्जा मात्रै नभएर असोज अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप पनि ह्‍वातै बढेको छ । सामान्यत: असोजमा तुलनात्मक रुपमा बढी निक्षेप वृद्धि हुने बेला पनि भएको बैंकरहरु बताउँछन् ।

दसैंको मुखमा राष्ट्र सेवक कर्मचारीसँगै अन्य कर्मचारीहरुले पनि तलब र दसैं बोनस पाउँदा यो बेला निक्षेप बढ्नु स्वाभाविक रुपमा लिने गरिन्छ । चालु आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरुले एक खर्ब ६ अर्ब ३३ करोडले कर्जा बढाएका छन् । जसमध्ये असोज अन्तिम साता मात्रै ७४ अर्ब ८८ करोडले वृद्धि भएको देखिन्छ । 

 

 

कुन बैंकको कर्जा कति बढ्यो ?
कर्जा विस्तारमा एनआईसी एशिया बैंक एग्रेसिभ देखिएको छ । बाह्रखरीलाई प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले २९ अर्ब ८६ करोड कर्जा बढाएको असोज अन्तिम साता बैंकले २ अर्ब २ करोड कर्जा बढाएको छ । एनआईसी एशियापछि धेरै कर्जा बढाउनेमा प्रभु बैंक छ । बैंकले प्रथम त्रैमासमा १५ करोड ४६ लाख कर्जा बढाउँदा असोज अन्तिम सातामा एक अर्ब १९ करोडले कर्जा बढाएको छ । 
 
त्यस्तै नबिल बैंकले प्रथम त्रैमासमा १२ अर्ब ५२ करोडले कर्जा बढाउँदा असोज अन्तिम साता दुई अर्ब ४२ करोडले कर्जा बढाएको छ । एनएमबी बैंकले पनि प्रथम त्रैमासमा १२ अर्ब १६ करोडले कर्जा वृद्धि हुँदा असोज अन्तिम साता एक अर्ब १७ करोडले बढेको छ । 

असोज अन्तिम साता धेरै कर्जा विस्तार गर्नेमा भने ग्लोबल आईएमई बैंक छ । बैंकले  पहिलो त्रैमासमा ६ अर्ब ५७ करोड कर्जा बढाउँदा पछिल्लो साता मात्रै ८ अर्ब ८५ करोडले बढाएको छ । त्यस्तै एभरेष्ट बैंकले ५ अर्ब ७७ करोड, कुमारी बैंकले  ४ अर्ब ३५ करोड, प्रभु बैंकले ४ अर्ब १९ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३६ करोडले असोज अन्तिम सातामा कर्जा बढाएका छन् । 

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा केही बैंकको भने कर्जा लगानी घटेको छ । कर्जा लगानी घट्नेमा हिमालयन बैंक ३ अर्ब ११ करोड, लक्ष्मी बैंक १ अर्ब ५८ करोड, नेपाल बंगलादेश बैंक १ अर्ब २५ करोड, नेपाल एसविआई बैंक ३ अर्ब ३६ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंक ४ अर्ब १२ करोड रहेका छन् । 

निक्षेप बढाउनेमा पनि एनआईसी नै आगाडि
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कर्जा विस्तारमा एग्रेसिभ देखिएको एनआईसी एशिया बैंक निक्षेप संकलनमा पनि अगाडि देखिएको छ । बैंकले पहिलो त्रैमासमा ३५ अर्ब ३६ करोडले निक्षेप बढाएको छ । असोज अन्तिम साता मात्रै  बैंकले ९ अर्ब ५ करोडले निक्षेप बढाएको छ । 

यस्तै  प्रथम त्रैमासमा नेपाल इन्भेष्टमन्ट बैंकले १९ अर्ब ७२ करोड, ग्लोबल आईएमई बैंकले १३ अर्ब ८९ करोड, एभरेष्ट बैंकले १२ अर्ब ७१ करोड, सेञ्चुरी बैंकले १२ अर्ब ६ करोड, सिभल बैंकले, १० अर्ब ४७ करोडले कर्जा बढाएका छन् । अधिकांश बैंकको निक्षेपमा वृद्धि भए पनि केही बैंकको भने घटेको छ । सबैभन्दा धेरै निक्षेप घट्ने बैक स्ट्यान्डर्ड चार्टर्ड हो । बैंकको प्रथम त्रैमासमा १३ अर्ब ९२ करोडले निक्षेप घटेको छ । यस्तै नेपाल बंगलादेश बैंकको दुई अर्ब एक करोड, कुमारी बैंकको एक अर्ब ९३ करोड र कृषि विकास बैंकको दुई अर्ब ८८ करोडले निक्षेप घटेको छ । 

 

 

अधिकांश बैंकको वितरणयोग्य मुनाफा नेगेटिभ हुनसक्ने
कोभिड १९ को कारण व्यवसायीहरुले असोज मसान्तमा तिर्नुपर्ने नियमित किस्ता र ब्याजदर तिर्न नसक्दा बैंकहरुको ब्यालेन्स सिटमा त्यसको प्रभाव पर्ने देखिएको हो । अर्कोतिर बैंकहरु आफूबीच नै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा अर्को जोखिम पनि बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैंकले वित्तीय विवरणमा ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड’ (एनएफआरएस) लागु गरेपछि नउठेको ब्याज आम्दानीलाई पनि वित्तीय विवरणमा देखाउनुपर्ने हुन्छ ।

जसले गर्दा बैंकहरुको मुनाफासँगै प्रतिसेयर आम्दानीमा प्रभाव परेको हुँदैन । यद्यपि सम्भावित कर्जा नोक्सानबापतको व्यवसायका लागि गर्नुपर्ने प्रोभिजनले बैंकहरुको मुनाफामा पनि यसको प्रभाव भने देखिन्छ । तर नेपाल राष्ट्र बैंकले एनएफआरएस लागु गरेसँगै नउठेको ब्याज आम्दानीलाई  नियामकीय प्रोभिजनका रुपमा थप राख्नुपर्ने भएकाले प्रथम त्रैमासमा बैंकहरुको ब्यालेन्स सिटमा खुद मुनाफा केही पोजेटिभ देखिए पनि वितरणयोग्य मुनाफा भने अधिकांश बैंकको नेगेटिभ हुने बैंकरहरु बताउँछन् । 

नेपाल बैंकर्स संघको अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल कर्जा र निक्षेपमा केही वृद्धि भए पनि बैंकहरुको मुनाफा खासै बढेको जस्तो नदेखिएको बताउँछन् । “पछिल्लो समय रिकभरी राम्रै भएको छ, तर असोजभन्दा पनि असारको रिकभरी बढी भएको छ । केही बैंकहरुले रिकभरीलाई प्राथमिकता दिनुभएको छ भने केहीले अहिले प्रतिकूल अवस्था भएकाले चुप लागेर बसेको पनि देखिन्छ, रिकभरी राम्रै देखिए पनि पूर्ण विवरण भने आउन बाँकी नै छ,” बैंकर्स संघको अध्यक्ष दाहालले भने । 

असार मसान्तको रिकभरी भए पनि असोज मसान्तको रिकभरी तुलनात्मक रुपमा कम भएकाले असार मसान्तको प्रोभिजनिङ असोजमा पनि घट्ने अवस्था नभएको दाहाल बताउँछन् । अन्य बैंकरसँगको अनौपचारिक कुराकानीमा पनि पहिलो त्रैमासमा वितरणयोग्य मुनाफा नेगेटिभ नै हुनसक्ने देखिएको कुरा आएको उनले बताए । अन्तिम विवरण भने कात्तिक मसान्तभित्र बैंकहरुले सार्वजनिक गर्ने वित्तीय विवरणले देखाउनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro