site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नवौं साग : प्रशिक्षकको डरले गुमेको पदक, ३ महिनापछि विजेता घोषणा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सन् २००४ मा भएको नवौं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालका धेरै खेलका खेलाडी पाकिस्तानको इस्लामावाद पुगेका थिए । नेपाली टोलीमा भारोत्तोलनका खेलाडी पनि सहभागी थिए ।

पहिलो संस्करणको सागदेखि नै सहभागिता जनाउँदै आएको भारोत्तोलन संघले यसपटक पनि निकै उत्साहसाथ आफ्ना खेलाडी इस्लामावाद पुर्‍याएको थियो । सागको नवौं संस्करणसम्म आइपुग्दा छैटौं सागमा मात्र सहभागिता नजनाएको भारोत्तोलनले अन्य सबै संस्करण खेलेको थियो ।

बंगलादेशको ढाकामा १९९३ मा भएको छैटौं सागमा आयोजककै कमजोरीका कारण सहभागिता जनाउन नपाएको भारोत्तोलन नवौंसम्म पुग्दा थुप्रै पदक जितिसकेको थियो । भारोत्तोलनले २००४ सम्म स्वर्ण पदक जित्न नसके पनि पदकको हिसाबमा नेपाललाई सर्वाधिक अन्तर्राष्ट्रिय पदक दिलाउने पहिलो खेलसमेत थियो । जुन अहिले पनि कायमै छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

लगातारको पदक जित्दै आएको नेपाली भारोत्तोलनको पदक प्राप्तिको सिलसिला भने नवौंमा रोकिन पुग्यो । नेपालबाट भारोत्तोलनमा सहभागिता जनाउँदै कमल अधिकारी, विकास थापा, ज्ञानबहादुर श्रेष्ठ, श्याम उदाश, विजेन्द्र वीरविक्रम शाह, रुपेश तन्डुकार र गोपालबहादुर श्रेष्‍ठ ढाका पुगेका थिए । तर, नेपाली भारोत्तोलन टोलीले नवौं सागमा पहिलोपटक पदकविहीन भएर फर्किनुपर्‍यो ।

प्रशिक्षकको डरले गुमेको पदक

Royal Enfield Island Ad

नेपाली भारोत्तोलन खेलाडीले इस्लामवादमा साग सुरु हुनुपूर्व भारतमा एक महिना प्रशिक्षण गरेका थिए । भारतको एक महिनाको बसाइपछि सातजना खेलाडीसहितको टोली पाकिस्तान पुग्यो । नेपाली टोली भारतबाट रेलको यात्रा गर्दै पाकिस्तान पुगेको थियो ।

“नवौं सागका लागि छनोट भएका खेलाडीले भारतमा रहेर एक महिना प्रशिक्षण गर्‍यो । एक महिनाको प्रशिक्षणपछि खेल सुरु हुनु एक दिनअघि हामी ट्रेन चढेर पाकिस्तान गएका थियौं,” तत्कालीन भारोत्तोलन टोलीका खेलाडी गोपालबहादुर श्रेष्ठले भने, “करिब एक दिनको ट्रेन यात्रा निकै कष्टकर थियो । हामी थकित थियौं । पाकिस्तान पुगेको दोस्रो दिन हाम्रो खेल थियो । जसोतसो हामीले खेल त खेल्यौं, तर नतिजा अपेक्षा गरेजस्तो आउन सकेन ।”

अन्य खेलाडी पदकविहीन भए पनि नेपालले १०५ केजी ह्‍याबिवेटमा पदक ल्याउन सक्ने विश्वास गरेको थियो । तर, त्यसमा पनि सोचेअनुसार नेपाली खेलाडीको प्रदर्शन हुन सकेन । १०५ केजी ह्‍याबिवेटमा नेपालको चुनौती प्रस्तुत गरेका गोपालबहादुर पनि १८ वर्षीय श्रीलंकन भारोत्तोलकसँग पराजित हुन पुगे ।

“मैले स्न्याचमा १०७ केजी तौल भारवहन गरेको थिए । क्लिन एन्ड जर्कमा १५० केजी भारवहन गरें,” गोपालले भने, “यता क्लिन एन्ड जर्कमा भने १८ वर्षीय श्रीलंकनले १४५ केजी भारवहन गरेका थिए । मैले स्न्याचमा फेरि भार थपेर वहन गर्छु भनेर गुरुलाई आग्रह गरे । तर, गुरुहरुले मेरो अनुरोधलाई मानेनन् र त्यो नै फाइनल भयो । तर यता श्रीलंकनले स्न्याचमा ११२ केजी भारवहन गरे र कुल तौल मेरो सँगै बराबरी गरे ।”

दुवै खेलाडीले उचालेको कुल तौल बराबरी भए पनि भारोत्तोलनको नियमअनुसार अन्तिम निर्णयका लागि खेलाडीको तौल जोख्‍ने नियम छ । नियमअनुसार जुन खेलाडीको शरीरको तौल कम हुन्छ उसलाई विजेता घोषणा गरिन्छ । यता गोपालको शरीरको तौल श्रीलंकनभन्दा एक केजी बढी भएपछि उनी पदक जित्नबाट वञ्‍चित भए ।

दुई केजी तौल थपेर उचाल्न सक्ने आत्मविश्वास आफूमा हुँदा-हुँदै पनि गुरुहरुले नदिनु आफ्ना लागि निकै दुखद रहेको उनले बताए । उनले नेपालमा आयोजना भएको आठौं सागमा जित्न नसकेको पदक नवौं जित्ने लक्ष्य लिएका थिए । तर, आफ्नो आत्मविश्वास प्रशिक्षकको डरसामु फिक्का परेपछि उनी पदकविहीन हुँदै नेपाल फर्किनुपर्‍यो ।

साग खेलेको तीन महिनापछि विजेता

नेपाली भारोत्तोलन टोली २००४ मा पाकिस्तानमा साग खेलेर नेपाल फर्किएको तीन महिना बितिसकेको थियो । तर, तीन महिनापछि पदकविहीन फर्किएको टोलीमा रहेका गोपालबहादुरलाई नेपाल ओलम्पिक कमिटीबाट पत्र आयो ।

प्रतियोगिताका लागि पाकिस्तान पुगेरै खेलेर नेपाल फर्किएका गोपाल तीन महिनापछि पत्रमा विजेता भनेर आउँदा उनी उतिसारो खुसी भएनन् । “हामी इस्लामवादमा खेलेर आएको करिब तीन महिनापछि मलाई नेपाल ओलम्पिक कमिटीबाट पत्र आयो । पत्रमा म ११२ केजी ह्‍याबिवेटमा कास्य पदक विजेता घोषित थिएँ,” उनले भने, “मलाई विश्वास थियो कि मैले पदक जित्छु भन्‍ने । किनभने श्रीलंकन खेलाडीले कलिलो उमेरमा पनि ह्‍याबिवेटमा त्यत्रो भार वहन गरेका थिए । त्यो देखेर एन्टी डोपिङ एजेन्सीले पनि उनको डोपिङ परीक्षणका लागि रगतको नमुना संकलन गरेको थियो ।”

श्रीलंकन खेलाडी डोपिङमा परेका थिए । उनको पदक खोसिएको थियो र त्यो पदक नेपालका गोपालले जिते । तीन महिनापछि गोपालले कास्य पदक जितेपछि सागमा लगातार पदक जित्दै आएको नेपाली भारोत्तोलन नवौंमा पनि पदकविहीन हुनु परेन ।

“तीन महिनापछि पदक जित्दा जति खुसी तत्काल हुन्छ त्यति पछि नहुँदो रहेछ । तर, आफ्नो संघले लगातारको पदक जित्दै आएको समयमा एक्कासि ब्रेक लाग्दा निकै नरमाइलो लाग्दो रहेछ । त्यो पललाई पुन: खुसीमा बदल्न पाउँदा, त्यसको खुसी भने छुट्टै थियो,” उनले भने, “अर्कोतिर मैले सागमा पहिलो पदक जित्दै थिएँ । आठौंको निराशालाई खुसीमा बदल्दै थिएँ । जुन मेरा लागि महत्त्वपूर्ण थियो ।”

दुई राष्ट्रिय रेकर्ड

२०६२ सालमा राजा ज्ञानेन्द्र शाहको हातबाट गोर्खा दक्षिण बाहु चौथोबाट सम्मानित भएका गोपालबहादुरले दुई राष्ट्रिय कीर्तिमानसमेत राखेका छन् । उनको कीर्तिमान नेपाल भारोत्तोलन संघमा अहिलेसम्म कायमै छ ।

गोपालले १०५ र ९४ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान राखेका हुन् । उनले ९४ केजी तौल समूहको स्न्याचमा ११८ केजी भारवहन गरेका थिए । जुन यस तौल समूहमा अहिलेसम्मकै सर्वाधिक हो ।

त्यस्तै उनले १०५ केजी ह्‍याबिवेट तौल समूहको स्न्याचमा सर्वाधिक ११२ केजी भार वहन गरेका थिए भने क्लिन एन्ड जर्कमा १५५ केजी भार वहन गरेका थिए । तर, पछिल्लो समय भारोत्तोलनको तौल समूह परिवर्तन भएकाले आफ्नो रेकर्ड कसैले नतोडेको उनले बताए ।

“मेरो १०५ र ९४ केजी तौल समूहमा गरी दुई राष्ट्रिय कीर्तिमान छ । जुन अहिलेसम्म पनि कायमै छ,” उनले भने, “पछिल्लो समय भारोत्तोलनको तौल समूह परिवर्तन हुँदै छन् । त्यसैले पनि मेरो कीर्तिमान कायमै रहेको होला ।”

खेल यात्रा

नेपाल आर्मीमा जागिरे गोपाल २०४७ सालतिर बागलुङको ब्यारेकमा पोस्टिङ थिए । २०५२ तिर त्रिभुवन आर्मी क्लबले भारोत्तोलन प्रतियोगिता गर्ने भयो । त्यसका लागि सबै ब्यारेकमा जानकारी आयो । यसै क्रममाः तत्कालीन क्याप्टेन सन्तोषजंग ठाकुरले इच्छुक खेलाडीलाई आफ्नो नाम टिपाउन अनुरोध गरे । तर, गोपाललाई भने क्याप्टेन ठाकुरले तिमी सक्छौ भन्दै उनको नाम सिफारिस गरिदिएका थिए ।

“त्रिभुवन क्लबले भारोत्तोलन प्रतियोगिता गर्ने कुरा हामी रहेको ब्यारेसम्म पुग्यो । इच्छुकलाई आफ्नो नाम टिपाउन भनिएको थियो । मैले पनि क्याप्टेन ठाकुरसँग सल्लाह गरें र उनले मलाई सक्छौ भनेपछि नाम टिपाएँ,” उनले भने, “त्यस प्रतियोगिताबाट हामी ५६ खेलाडी छनोट भएका थियौं । दुई महिनाको प्रशिक्षणमा धेरैजना टोलीबाट बाहिरिए । म भने टोलीमै रहें ।”

त्यसपछि उनले २०५३ सालमा पहिलो राष्ट्रिय गेम खेलेका थिए । उनले कञ्‍चनपुरमा भएको १४औं राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाउँदै तीन कास्य पदक जिते । २०५५ मा नेपालगन्जमा भएको चौथो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले एक कास्य जिते ।

त्यसपछि उनले १६औं देखि १८औं सम्म राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा लगातार तीन स्वर्ण पदक जिते । २०६५ सालमा काठमाडौंमा आयोजना भएको पाँचौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण जिते । करिब २५ वर्ष नेपाली भारोत्तोलक खेलाडीका रुपमा बिताएका उनले एसियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरे । उनले कोरियामा भएको १७औं एसियन गेम्समा नेपालका तर्फबाट आफ्नो चुनौती प्रस्तुत गरेका थिए । अन्य प्रतियोगिताहरुमा समेत सहभागिता जनाउँदै थुप्रै पदक जितेका उनी भारोत्तोलनका अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro