काठमाडौं । नेपालमा कन्टेन्ट हिरो भएका चलचित्रको खाँचो रहेको चलचित्रकर्मीहरूले बताएका छन् । कन्टेन्ट हिरो भएका चलचित्रहरू बनेको खण्डका चलचित्र राम्रा हुने र त्यस्ता चलचित्रले विश्व बजारको ढोका आफैं खोल्ने उनीहरूको भनाइ छ ।
लञ्चबक्स, छपाक, पद्मावत्लगायत चलचित्रका जस्तै बलिया विषयवस्तु उठाउनु आवश्यक रहेको नायिका ऋचा शर्मा बताउँछिन् । सिनेमा पढेर आएका नयाँ मेकरहरूसँग विश्वासै गर्न नसकिने अनपेक्षित स्क्रिप्टहरू रहेको तर त्यसमा लगानी गर्ने निर्माताको खाँचो रहेको उनको भनाइ छ ।
“अब कन्टेन्टलाई हिरो बनाउनुपर्छ । आयुषमान खुराना स्टाइलमा जानुपर्छ । जसमा इन्टरटेनमेन्ट पनि फुल अन छ । तर, त्यसमा म्यासेज पनि त्यति कै बलियो छ,” ऋचा भन्छिन्, सानोसानो विषय जसलाई मान्छेले झट्ट हेर्दा खासै वास्ता गर्दैन तर त्यसमा कति गहिरो कुरा र सन्देश छ । यस्तै चलचित्र हामीले पनि बनाउनु पर्यो जसमा समाजका धेरै वास्तविक कुराहरू आउँछन् ।”
नेपालमा प्रोडक्सन पढेको मेकरको खाँचो रहेको नायिका ऋचाको भनाइ छ । आफ्ना आफन्त, चिनेजानेका तथा विदेशमा बस्ने साथीहरूसँग हारगुहार गरेर लगानी गर्न लगाउने चलन रहेको भन्दै उनी भन्छिन्, “जसलाई प्रोडक्सन भनेको थाहा हुँदैन । प्रोड्युसर भनेको के हो थाहै हुँदैन । पैसा लगानी गर्नु मात्रै प्रोड्युसर होइन । प्रोड्युसरको धेरै पाटो हुन्छ ।”
राम्रो कथा र स्क्रिप्ट भए पनि त्यसलाई विश्वास गर्ने लगानीकर्ता नभएको उनको भनाइ छ । यस्ता चलचित्रका लागि कर्पोरेट हाउसको लगानी हुनुपर्ने तर हुन नसकेको उनी बताउँछिन् । बैंक लोन तथा चलचित्र विकास बोर्डले पनि सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
“अहिले हलिउडले बनाउने स्क्रिप्टहरू आइरहेका छन् । तर, त्यो प्रोजेक्टलाई कसले विश्वास गरिदिने ? बनाउन नखोजेको होइन । नयाँ मेकरलाई विश्वास नगरेको हो । लगानीकर्ता नभेटिएको हो,” ऋचा भन्छिन्, “ब्लकबस्टर फिल्म बनाएको मेकरहरूलाई लगानी गर्न कर्पोरेट हाउसहरू लाइनमा हुन्छन् तर उहाँहरूलाई इनडिपेन्डेन्ट मुभीका लागि प्रपोजल लग्यो भने उहाँहरूले ब्लकबस्टर सिनेमा नै रोज्नुहुन्छ ।” सबै लगानी सुरक्षित गर्ने तर रिक्स लिन नचाहेका कारण राम्रा चलचित्र बन्न नसकेको उनको बुझाइ छ ।
निर्देशक सुजित बिडारी प्रोड्युसर भन्ने पोस्टलाई नेपालमा फाइनान्सरहरूले ओगटेको बताउँछन् । पैसा लगानी गर्दैमा प्रोड्युसर नभइने तर नेपालमा पैसा लगानी गर्नेलाई नै प्रोड्युसर भन्ने गरिएको उनको भनाइ छ । “फाइनान्सर भनेको बिजनेस म्यान हो, उसले तत्काल लगानीको रिटर्न्स खोज्छ । निर्देशक क्रिएटिभ मान्छे हो, उसले आफ्नो विचार र सिर्जना दिन खोज्छ । बीचमा क्रिएटिभ काम गर्ने प्रोड्युसर नहुँदा उसको काम पनि निर्देशकले नै गर्नु परिरहेको छ,” निर्देशक सुजित भन्छन्, “कतिपय अवस्थामा फाइनान्सरको प्रेसरमा स्क्रिप्टलाई नै कमर्सियल बनाउनु परिरहेको हुन्छ । स्क्रिप्ट राइटर र निर्देशक सुरुमै सेल्समेन हुन्छ भने कसरी उसले राम्रो चलचित्र बनाउन सक्छ ?”
प्रोड्युसरको काम चलचित्र बेच्ने पनि हो । जो हाम्रोमा छैन । फाइनान्सरबाट सुरुमै दबाब आउँछ । यस्तो अवस्थामा नेपाली चलचित्र निर्माण भइरहेको छ । क्रिएटिभ डिपार्टमा रहेको निर्देशक र फाइनान्सार डिपार्टमा रहेको लगाीकर्ताबीच सेतुको काम गर्ने व्यक्ति प्रोड्युसर भए पनि नेपालमा लगानीकर्तालाई प्रोड्युसर भन्ने गरिएको बिडारी बताउँछन् ।
“सिनेमा बेच्ने काम पनि प्रोड्युसरको हो । सेल्स एजेन्टहरूसँग कन्ट्याक गरेर सिनेमाको डिल गर्ने काम प्रोड्युसरको हो,” उनी भन्छन् । कन्टेन्ट हिरो भएको चलचित्र नेपालमा बन्न नसक्नुको मुख्य कारण मेकर नै भएको उनको भनाइ छ । केही वर्ष अगाडिसम्म सिनेमाका लागि पनि नयाँ कथा र विषयवस्तु चाहिँदैन भन्ने मानसिकता रहेको उनी बताउँछन् ।
“पहिलो कुरा त मेकरहरूले बुझेनन् । दोस्रो उनीहरूले बुझे पनि प्रोड्युसरलाई बुझउने मान्छे भएन । सिनेमाप्रतिको बुझाइ नै हाम्रो सबैभन्दा कमजोर रह्यो र, विषयप्रधान चलचित्र नबन्नुको मुख्य कारण पनि यही नै हो,” सुजित भन्छन् ।
निर्देशक नवीन सुब्बा बलिउडको अनुकरण गर्नु नै नेपालमा विषयप्रधान चलचित्र नबन्नुको मुख्य कारण भएको बताउँछन् । बलिउडमा स्टार सिस्टम रहेको र उनीहरूलाई केन्द्रमा राखेर चलचित्र बनिरहेका र त्यसकै सिको गर्ने नेपालमा पनि त्यही सूत्रमा चलचित्र बन्दा विषयभन्दा पनि व्यक्ति हिरो भइरहेको उनको भनाइ छ ।
“हलिउड तथा बेलायतमा, फ्रान्समा, इटाली, नर्वेमा कन्टेन्टमा ध्यान दिइन्छ । कन्टेन्टमा काम गर्ने कलाकार पनि स्टार हुन्छ । त्यसैले स्टारलाई लुकाएर कन्टेन्टलाई कसरी हिरो बनाउने भनेर हलिउडले मेकानिजम नै बनाएको छ,” निर्देशक नवीन भन्छन्, “स्टार नै चलचित्रमा हाबी हुन्छ र कन्टेन्टलाई अगाडि आउन दिँदैन भनेर उनीहरूले स्टार सिस्टमलाई अगाडि आउन नदिन मेकानिजम नै बनाएका छन् । यसका लागि दर्शक र इन्डस्ट्री नै सचेत भएकाले कन्टेन्ट बलियो भएर आयो ।”
भारतमा स्टार सिस्टम ठीक कि बेठिक भन्ने बहस भर्खर सुरु भएको भन्दै उनी नेपाली चलचित्रले बलिउडकै सिको गर्दा विषयप्रधान चलचित्र बन्न नसकेको बताउँछन् ।
“हाम्रो चलचित्र उद्योग बलिउडभन्दा पर गएर सोच्नै सक्दैन । यदि ए ग्रेड हुन्छ भने एक ग्रेडका निर्देक तथा कलाकारहरूलाई सोध्नुस् उनीहरू बलिउडभन्दा पर गएर कुरै गर्दैनन्,” नवीन भन्छन्, “उनीहरू सुपरस्टारको कुरा गर्छन् । महानायकको कुरा गर्छन् । ऊ महानायक हो म उप-महानायक हुँ भन्छन् ।”
को महानायक हो र होइन भनेर बहस हुनु नै स्टार सिस्टमको पक्षपाति भएको उनको भनाइ छ । “विश्वका सयौं त्यस्ता अभिनेत्री तथा अभिनेता जसलाई विश्वले चिन्छ उनीहरूलाई विशेषण झुन्ड्याउनु परेन । नामै काफी । तर, जसको काम सम्झनयोग्य छैन र कालजयी छैन, त्यस्तो मान्छेहरूलाई उपमा र विशेषण चाहिएको छ,” निर्देशक नवीन भन्छन्, “को महानायक र को उप-महानायक भनेर बहस हुने ठाउँमा तपाईं किन कन्टेन्टले प्राथमिकता पाएन, कन्टेन्ट हिरो हुने चलचित्र किन बनेनन् भनेर किन बहस गरिरहनु भएको छ, मलाई थाहा छैन ।”