
काठमाडौं । करिब दुई महिनायता सेयर बजार लगातार बढिरहेको छ । बढ्दो बजारमा विशेष गरी हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ । नेप्से बढ्दा प्राय: सबै समूहको सूचक बढेको छ तर अन्य समूहको सूचकभन्दा हाइड्रोपावर समूहको सूचक तुलनात्मक रुपमा धेरै बढेको छ ।
भदौयता हाइड्रोपावर कम्पनीको सेयर मूल्य लगातर वृद्धि हुँदा फेस भ्यालुभन्दा धेरै रहेको हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि अहिले माथि पुगिसकेको छ । भदौ ३ गते ९४३.६० अंकमा रहेको हाइड्रोपावर समूहको सूचक असोज २२ गते आउँदा बढेर १४०२.६९ अंकमा पुगेको छ । यो डेढ महिनाको अवधिमा सबै हाइड्रोपावरको सेयर मूल्य बढेको छ । जसमध्ये अधिकांश हाइड्रोपावरको सेयर मूल्य शत्प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
भदौ ३ गते ९२ रुपैयाँमा कारोबार भएको वरुण हाइड्रोपावरको सेयर मूल्य गत साताको अन्तिम कारोबार दिन (बिहीबार) २६९ रुपैयाँमा बन्द भएको थियो । यस्तै भदौ ३ मा ५० रुपैयाँ भएको दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सोही अवधिमा बढे १३१ रुपैयाँ, आँखु खोला हाड्रोपावरको सेयर मूल्य सोही अवधिमा ५१ रुपैयाँबाट बढेर १२८ रुपैयाँ पुगेको छ । यी मात्रै होइन फेस भ्यालुभन्दा कम सेयर मूल्य भएका अधिकांश हाइड्रोपावरको सेयर मूल्य डेढ महिनाको अवधिमा शत्प्रतिशतभन्दा धेरैले बढेको छ ।
अहिले हाइड्रोपावरको सेयर मूल्य बढ्नुमा कर्जाको ब्याजदर घट्नु र समग्र नेप्से नै माथि जानु मुख्य कारण रहको सेयर विश्लेषकहरू बताउँछन् ।
विश्लेषकहरु के भन्छन् ?
सेयर बजारमा लगानीकर्ताहरूले उपसूचकहरूमा विगतदेखि नै पालैपाले खेल्ने गरेको सेयर विश्लेषक रुक्मांगत काफ्ले बताउँछन् । कहिले लघुवित्त, कहिले विकास बैंक त कहिले बिमा क्षेत्रमा लगानीकर्ताले खेल्ने गरेकै छन् । “अहिले हाइड्रोपावरमा पनि सपोर्ट पाएर नै लगानीकर्ताले खेलिरहेका हुन्, सरकारले पनि हाइड्रोपावरका उत्पादन अवधिमा कडाइ गर्ने कुरा आइरहेको छ,” उनले भने, “यता अहिले नेप्सेमा सूचीकृत भएको बुक भ्यालुभन्दा कम मूल्य भएका हाइड्रोपावरको उत्पादन मिति नजिकिँदै छ, यस्तो अवस्थामा मूल्य एकदमै तल रहेकाले लगानीकर्ताले खेल्ने सपोर्ट पाएका हुन् ।”
अब हाइड्रोको बजार राम्रो बन्दै गएको र मूल्य पनि कम भएकाले लगानीकर्ता यता आकर्षित भएको उनको भनाइ छ । हाइड्रोमा मात्रै चलखेल भएर यसको सब-इन्डेक्स मात्रै बढाएको भन्दा पनि लगानीकर्ताले सपोर्ट पाएको र सेयर मूल्य कम भएकाले छोटो समयमै हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको भनेर बुझुपर्ने उनको दाबी छ ।
हाइड्रोपावरको पछिल्लो वित्तीय अवस्था सकारात्मक देखिँदा र सेयर बजारमा सबै पक्ष राम्रो देखिँदा हाइड्रोमा आकर्षण बढेको उनको भनाइ छ । यद्यपि निकट भविष्यमै हाइड्रोमा लगानीकर्ताले नाफा बुक गरेर अन्य सब-इन्डेक्समा मोडिने अवस्था आउने उनले दाबी गरे ।
कतिपय हाइड्रोपावरको सेयरमूल्य भने समग्र समूहको सूचक नै बढ्दै जाँदा लगानीकर्ताले यो पनि बढ्छ नि भनेर लगानी गरेको अवस्था पनि रहेको भन्दै लगानीकर्तालाई अध्ययन गरेर लगानी गर्न उनले सुझाए ।
पूर्वबैंकर तथा सेयरविज्ञ अनलराज भट्टराई पनि विगत केही समयमा हाइड्रोपावरको मूल्य बुक भ्यालुभन्दा पनि धेरै तल गएको र अहिले विभिन्न सपोर्टका आधारहरूले गर्दा नै हाइड्रोपावरको सेयर मूल्य ह्वात्तै बढेको बताउँछन् । हाइड्रोपावरहरू अन्डर भ्यालुड रहेको रहे केही सपोर्टिङ आधारहरू पाउँदा मूल्य बढेको उनको भनाइ छ ।
“केही समयअगाडि हाइड्रोपावर सेयर सूचीकृत भएर कारोबार खुल्नासाथ बुक भ्यालुभन्दा तल जाने, सूचीकृत भएको केही दिनमै १०० रुपैयाँको सेयर ८०/९० रुपैयाँमा पाउने अवस्था थियो । कुनै कुरा किन्नेबित्तिकै घटिहाल्नुपर्ने त्यो पनि औचित्य थिएन,” उनले भने, “मार्केट डाउन भएको अवस्थामा मूल्य करेक्सन भएर जुन किसिमले हाइड्रोपावरको सेयर मूल्य तल गएको थियो, त्यसको औचित्य थिएन, हाइड्रोपावर भनेको त्यो लगानी हो जसले आज लगानी गरेर भोल रिटर्न दिँदैन ।”
हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ताले होल्ड गर्ने हिसाबले लगानी गर्नुपर्ने र १०० रुपैयाँमा किनेर ९० मा बेच्न कसैले पनि सम्पति नजोड्ने उनको तर्क छ । “हाम्रोमा यही फन्डामेन्टल मिस्टेक भएको र मार्केट डाउन हुँदा ५०/६० रुपैयाँसम्म पनि सेयर मूल्य आएको थियो,” उनले भने, ‘‘त्यसरी हाइड्रोको सेयरमूल्य घट्नुपर्ने कारण नरहेको र अहिले बुक भ्यालुभन्दा माथि जाँदैमा हाइड्रोको सेयर अत्यधिक बढ्यो भन्ने अवस्था पनि छैन ।”
हाइड्रोपावर सेक्टरलाई नै यो जोखिम छ, यसले रिटर्न दिन सक्दैन, यो राम्रो लगानीको क्षेत्र होइन भन्ने किसिमको तरङ्ग फैलँदा हाइड्रोमा लगानी गर्न हतोत्साही हुने अवस्था आएको उनले बताए । त्यसको पनि कारण रहेको उनी बताउँछन् । निर्माणाधीन हाइड्रोपावरले ७/७ प्रतिशतको ब्याजदर हिसाब गरेर कर्जा लिएको तर त्यो ७५ प्रतिशतसम्म बढेर १२/१३ प्रतिशतसम्म पुगेको र यसले रेट अफ रिटर्नमा पनि प्रभाव पारेको उनको भनाइ छ ।
हाइड्रोपावर उत्पादनको सिलिङ रेट नबढ्ने तर ब्याजदर बढ्दा अपरेसन कस्ट तथा ब्याजदर वृद्धि हुँदा अब रिटर्न आउँदैन भन्ने भावनात्मक तरङ्ग फैलिएको उनले बताए । यसै कारण हाइड्रोपावरको सेयर मूल्य प्रभावित भएको उनको भनाइ छ । हाइड्रोपावर लङट्रम इन्भेस्टमेन्ट हो भन्ने पनि बुझ्नुपर्ने उनी बताउँछन् ।
अहिले व्यक्तिगत प्रकृतिको कर्जामा स्थिर ब्याजदर भनेजस्तै हाइड्रोपावरमा पनि स्थिर ब्याजदर गर्नुपर्ने उनको भनाइ छ । “ब्याजदरकै कारणले लगानीकर्तालाई डर भएको हो । आम्दानी छैन, ब्याज बढेको छ, यसले दिनै सक्दैन भन्ने सोचाइ लगानीकर्तामा आउँछ,” उनले भने, “यो भनेको दीर्घकालीन लगानी हो, आज गरेको लगानी ३/४ वर्षपछि रिटर्न दिन्छ, नेगेटिभ रिटर्न भएको कम्पनीलाई बैंकले फाइनान्स गर्दैन भनेपछि यसको रिटर्न उच्च छ ।” यदि डिजाइन बिग्रिएमा भने मात्रै जोखिम हुने अन्यथा हाइड्रोपावरको रिटर्न उच्च हुने उनले दाबी गरे ।
रिटर्न नै उच्च छ भने डराउनुपर्ने कारण नभएको तर बीचमा यसको सेयर मूल्य अनायास तल गएको उनको तर्क छ । हाइड्रोको सेयर अन्डरभ्यालुड भएको र अन्डरभ्यालुड भएको सेयरमूल्य नै माथि गएको उनले बताए ।
“यदि नेप्से अझै माथि गयो भने, हाइड्रोपावरको मूल्य अझै माथि जाने देखिन्छ,” उनले भने, “अहिलेको अवस्थामा नेप्से माथि जाने देखिन्छ, अर्थतन्त्रमा पैसा चलायमान हुनुपर्छ । अन्य व्यापार व्यवसाय शिथिल भएको छ, बजारमा तरलता छ तर लगानी गर्ने अन्य सेक्टर चलायमान छैन, त्यसैले इन्डेक्स माथि जाने देखिन्छ ।”
अहिले सर्ट ट्रम लगानी गर्न सक्ने व्यक्तिको हातमा पैसा भएकाले नेप्से माथि जाने सम्भावना रहेको उनले दाबी गरे । अब नीति पनि त्यही किसिमको ल्याउनुपर्ने अवस्था पनि रहेको उनको भनाइ छ । अहिले विश्वभरि नै सबै नागरिकमा पैसाको पहुँच पुर्याउनुपर्छ । पैसा बजारमा पठाऊ भन्ने नीति आइरहेको र त्यो नीति नेपालमा पनि आउने भएकाले यसले बजारलाई पोजेटिभ प्रभाव पार्ने उनले दाबी गरे । हाइड्रोपावरको मूल्य अन्डरभ्यालुड भएकाले बढेको र अझै पनि हाइड्रोको सेयर मूल्य उच्च नभएको उनले दाबी गरे ।