
काठमाडौं । गत साता विराटनगरको ४१ वर्षको इतिहास बोकेको नमस्कार होटेल बन्द भयो । त्यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरकै होटेल जेनियल पनि गत असार ११ गतेदेखि बन्द भयो । यी त घोषणा गरेरै बन्द गरिएका होटेल हुन् । सार्वजनिक रूपमा जानकारी नगराइ बन्द गरिएका होटेल अरू पनि धेरै हुन सक्छन् ।
कोरोना कहरकै कारण यी होटेल बन्द गर्नुपरेको सञ्चालकले बताएका छन् । होटेलहरू पर्यटकीय गतिविधि बढे, आन्तरिक वा बाह्य पर्यटक आउ–जाउ गरे भने र सार्वजनिक सभा, सम्मेलन भए मात्रै चल्ने हुन् । तर, अहिले कोरोनाको सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ । त्यसकै असरका कारण पर्यटन व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने होटेलहरू बन्द हुने शृङ्खला बढ्ने चिन्तामा व्यवसायी छन् ।
पुराना होटेल बन्द भएको उदाहरण यो मात्रै होइनन् । सशस्त्र द्वन्द्वका बेलामा पनि ठूला एवं पुराना होटेल बन्द भएका थिए । मुलुक सशस्त्र द्वन्द्वमा गएका बेलामा काठमाडौं उपत्यकामा सञ्चालित ठूला र पुराना होटेल बन्द भएका थिए । त्यस बेला दरबारमार्ग रहेका शेर्पा होटेल र उडल्यान्ड होटेल बन्द भएका थिए । यस्तै नारायणी होटेल र ब्लु स्टार होटेल बन्द भएका थिए । ब्लु स्टार त्यो बेलामै करिब ४० वर्ष पुरानो भइसकेको थियो ।
अहिले फेरि कोरोनाका कारण पुराना र ठूला होटेल बन्द हुने क्रम सुरु भएको छ । होटेल संघ नेपालका पूर्वअध्यक्ष एवं व्यवसायी योगेन्द्र शाक्य काठमाडौं उपत्यकाकै ठूला र पुराना होटेलसमेत बन्द हुन सक्ने देखिएको बताउँछन् । “सशस्त्र द्वन्द्वका बेलामा ५० प्रतिशत मात्रै पर्यटक आवागमन घटेको थियो । त्यो बेलामा पनि ठूला होटेल बन्द भए । अहिले त ८० प्रतिशत बढी पर्यटक घटेका छन्,” उनले भने । होटेल बन्द हुने क्रम बढ्दै जान सक्ने उनले बताए ।
विदेशी पर्यटक आउन अझै केही समय लाग्ने र त्यो बेलासम्म होटेल सञ्चालन गर्नसक्ने स्थिति नदेखिएपछि होटेलहरू बन्द हुने क्रम सुरु भएको व्यवसायीको भनाइ छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको पर्यटन व्यवसायीलाई सरकारले राहत दिने भने पनि अझै दिइसकेको छैन । सरकारले पर्यटन क्षेत्रलगायतका साना तथा मझौला व्यवसायीका लागि ५० अर्बको ‘पे रोल प्रोटेक्सन’ कोष स्थापना गरी सोही कोषबाट ५ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म व्यवसायीले उक्त कर्जा पाइसकेका छैनन् ।
होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह उक्त कर्जा नपाउँदा व्यवसायी निकै समस्यामा परेको बताउँछन् । “रोगले मर्न लागेको बिरामीलाई समयमै औषधि नदिने हो भने के हुन्छ ?” उनले भने, “अहिले व्यवसायीहरूको समस्या त्यस्तै छ ।” राहतका लागि ५० अर्बको बनाइएको कोषबाट मोबिलाइजेसन गरिदिएको भए केही भए पनि सहयोग हुने उनी बताउँछन् । “दसैं, तिहार मुखमा छ । असोजमसान्तमा तलब, ब्याज तिर्नुपर्ने हुन्छ । अहिले पनि पैसा पाइएन भने त निकै गाह्रो हुन्छ,” उनले भने ।
व्यवसायीहरूले सरकारले भनेको कुरा अहिलेसम्म पूरा नहुँदा मर्माहत भएको बताउँछन् । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको म्याद बढाएर असोज मसान्तसम्म पुर्याएको छ । निवेदन पठाइसकेपछि पनि प्रोसेसिङ समय थप दुई महिना लाग्ने र सो समयसम्म धेरै व्यवसायी धानिन नसक्ने व्यवसायीको गुनासो छ ।
व्यवसायी शाक्य होटेल बन्न हुने क्रमको सुरुवात मात्रै भएको बताउँछन् । “ठमेलकै कतिपय होटेल थाहै नपाइ बन्द पनि भए होलान् । पर्यटक आगमन झरेपछि त होटेल बन्द भएको समाचार काठमाडौंकै आउँछ कि जस्तो लाग्छ,” उनले भने ।
कोरोनाकै कारण पुराना होटेल बन्द भएका हुन् ?
कुनै पनि व्यापार व्यवसाय तब बन्द हुन्छन्, जब घाटामा सञ्चालन गर्नुपर्ने हुन्छ । नाफा भइरहेको व्यापार व्यवसाय बन्द सायदै नहोलान् । तर, कतिपय व्यापार व्यवसाय बहाना पाएलगत्तै बन्द पनि हुने गरेको व्यवसायी बताउँछन् । विशेषगरी पुराना होटेलको प्रतिस्पर्धी क्षमता कमजोर हुने, लागत बढी पर्ने भएकाले पनि बन्द हुने क्रम बढ्न सक्ने व्यवसायीको भनाइ छ । व्यवसायीद्वय शाक्य र शाह बहानाकै कारण होटेल बन्द नभएको बताउँछन् । तर, व्यापार नहुँदा खर्च पनि घटाउन नपाए व्यवसाय बन्द हुने शाक्यको भनाइ छ ।
द्वन्द्वकालका बेलामा पनि राज्यले सहयोग नगर्दा ती होटेल बन्द भएको शाक्यले बताए । “अहिले पनि सहयोग नगर्ने हो भने अन्य पनि बन्द हुन सक्छन्,” उनले भने । त्यति बेलामा पनि हामीले केही न केही राहत दिन भनेको थियौं । खर्च पनि घटाउन दिन माग गरेका थियौं । तर, त्यति बेला पनि खर्च घटाउन पाइएन । आम्दानी नहुने, खर्च घटाउन नपाएपछि त्यत्ति बेला पनि पुराना होटेल बन्द भएको शाक्य बताउँछन् ।
कतिपय ठूला र पुराना होटेलमा आन्तरिक समस्याका कारण पनि बन्द हुने गरेको एक होटेल सञ्चालकले बताए । “आन्तरिक रूपमा पनि प्रमोटरबीच मनमुटाव भएर पनि बन्द भएको हुन सक्छ,” उनले भने । होटेलहरूलाई गाह्रो पक्कै भएको छ तर अहिले नै ‘जनरलाइज्इड’ गर्ने बेला भइनसकेको उनको भनाइ छ । “अहिले नै होटेल बन्द हुनुलाई अपवादका रूपमा लिऔं । गाह्रो, अप्ठ्यारो छ,” उनको भनाइ थियो ।
“एक–दुई महिनामा पनि अगाडि बढ्न सक्ने वा नसक्ने पनि हेरिरहेको हुन्छ । अझै वर्षदिनसम्म केही हुने वाला छैन, बरु बन्दै गरिदिँदा राम्रो हुन्छ भनेर बन्द गरिएको पनि देखिन्छ,” उनले भने । “पहिलेको अवस्थामा आउन एक वर्ष लाग्छ भने अहिले नै बन्द गरिदिँदा एक वर्षको घाटा त व्यहोर्नु नपर्ने हुन्छ नि,” उनको भनाइ थियो ।
तर, व्यवसायी शाक्य भने कुनै पनि लगानीकर्ताले बहाना गरेर नाफा भएको व्यवसाय बन्द नगर्ने बताउँछन् । त्यत्ति अविश्वास पनि गर्न नहुने उनको भनाइ थियो । तर, नयाँ होटेलको कारणले प्रतिस्पर्धा भने बढेको शाक्यले बताए ।
“कोरोना नआएको भए पनि बन्द हुने सम्भावना त ओभर लोडको कारणले नै थियो । पुरानो होटेललाई नयाँ बनाउन पनि गाह्रो भयो । सञ्चालन लागत बढी । पुरानो होटेलहरूमा कर्मचारीको लागत बढी हुन्छ,” उनले भने । “४० वर्ष पुरानो भएका होटेललाई दुई वर्ष लगानी कम भएपछि सस्टेन गर्न गाह्रो हुने रहेछ,” उनले थपे, “बहानाले नभइ बाध्यताले होटेलहरू बन्द हुन थालेको हुन् ।”