site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

शासकको अज्ञान र अहंकारको पहिलो मार जनतामाथि पर्छ भन्ने अब त भुक्तभोगी नेपालीले राम्रैसँग बुझे होलान् । कोभिड—१९ सँग गरेको खेलाँचीको फल भोगेपछि भने बालुवाटारवासीले पनि बुझेको हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीका केही निकट सहयोगीहरूका साथै बालुवाटारमा तैनाथ सुरक्षाकर्मीहरूलाई पनि कोभिड—१९ को संक्रमण भएको समाचार सार्वजनिक भएको छ । यसको केही दिन पहिले प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई संक्रमण भएको समाचार आएको थियो । समुदाय स्तरमा पुगेको कोभिड—१९ को संक्रमण प्रधानमन्त्री निवासमा छिर्नु सुखद नभए पनि आश्चर्यजनक भने होइन । संक्रामक विश्वव्याधिको व्यवस्थापनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले गरेको बेवास्ता र लापरबाहीको परिणाम जनसाधारणले त दिनहुँ भोगिरहेकै थिए अब प्रधानमन्त्रीकै कारिन्दाले समेत भोग्नु पर्नेभयो । 

कोभिड—१९ बालुवाटारमै छिरेपछि यसको संक्रमणको व्यवस्थापनमा सरकार संवेदनशील हुने अपेक्षा भने अझै राख्न सकिँदैन । अहिले संक्रमित भनिएका सहयोगीले प्रधानमन्त्री ओलीलाई सही सल्लाह दिएको भए सम्भवतः अहिले उनीहरू नै संक्रमणको चपेटा पर्ने थिएनन् । ‘सिपाहीले सरुवा हुँदा गुन्टा कसेजस्तो’ सरकारी नीति र कुव्यवस्थापनले कोभिड—१९ को संक्रमण देशभर भएको हो । अब नेपालभन्दा ५० गुनाजति बढी जनसंख्या भएको चीनलाई संक्रमितको संख्यामा नेपालले उछिन्ने लक्षण देखिन थालेको छ । सरुवा हुन लागेका सिपाहीहरू गुन्टा कसिलो बनाउन निकै बल लगाएर कस्न खोज्छन् । तर, बल धेरै भएर डोरी चुडिँन्छ र गुन्टा फुस्केर मालताल छताछुल्ल हुन्छ । कोभिड—१९ को सुरुमा बन्दाबन्दी लगाउँदा अनावश्यक कडाइ गरियो । अनि जति बेला साँच्चै नै प्रभावकारी बन्दाबन्दी लाभदायी हुनसक्थ्यो त्यही बेला खुकुलो बनाइयो । फलस्वरूप, समेल्नै नसकिने गरी संक्रमण छताछुल्ल भयो ।

Dabur Nepal

नेपालका शासकहरूले महामारीको व्यवस्थापनमा समेत भ्रष्टाचार गर्ने बदनियत देखाए । संसारले अस्वीकार गरेको गुणस्तरहीन आरडीटी बन्द गराउनसमेत अभियन्ताहरूले आमरण अनशन गर्नुपरेको थियो । त्यही विधिबाट परीक्षण गर्दा संक्रमणरहित भनेर पठाइएकाहरूमा पछि संक्रमण देखिएको थियो । समुदायमा संक्रमण फैलनुको एउटा कारण यसलाई पनि मानिएको छ । स्वास्थ्य सामग्री किन्ने चरण पार भएपछि केन्द्र सरकार कोभिड—१९ को संक्रमण नियन्त्रणबाट पन्छिन थाल्यो । अहिले सरकारको नीतिकै कारण संक्रमणको जोखिममा भएका सर्वसाधारणको परीक्षणै नहुने गरेको छ । धन्न, नेपालमा कानुन, नीति, नियममा जेसुकै लेखिए पनि अन्ततः हाकिमको हुकुमअनुसार चल्ने हुनाले बालुवाटारमा सल्लाहकारहरू परीक्षण भयो । नत्र, उनीहरूले कति जनालाई संक्रमित बनाइरहने थिए होलान् ? सरकारले नियम कडा तर नियमन खुकुलो गर्ने शैलीको अभ्यास गरिसक्यो । त्यस्तो अभ्यास सफल भएन । यसैले, अब नियम खुकुलो तर नियमन प्रभावकारी र पीसीआर परीक्षण व्यापक बनाएर संक्रमण रोकथामको प्रयास गर्नु आवश्यक देखिन्छ । बालुवाटार, सिंहदरबार वा अरू नयाँ दरबारहरूबाहिरका जनताको परीक्षणमा सहज पहुँच नहुँदासम्म कोभिड—१९ को संक्रमण रोकिँदैन । अहंकार, अज्ञान र घमण्डकै भरमा कोभिड—१९ को संक्रमणबाट जोगिनेछैन भन्ने उदाहरण बालुवाटारका सहयोगीमात्र होइन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था पनि हो । यसैले बालुवाटारकाे मति सप्रोस् भन्ने कामना  गराैँ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro