site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नाम मात्रका खेलकुद संघ !

काठमाडौं । नेपाली खेलकुद गतिविधि पछिल्लो सात महिनायता ठप्प छ । खेलकुद संघहरूलाई खेलाडी मैदान फर्काउन चासो छैन । खेल विकास र प्रवर्द्धनका नारा जपेर स्थापना भएका संघ आफैंमा सुस्ताएका छन् । 

नेपाली खेलकुद संघहरुसँग खेलाडी उत्पादनका लागि न कुनै भिजन छ न त योजना नै । विदेश घुम्‍ने लालच र राजनीति गर्ने  थलोका रुपमा खेलकुदलाई प्रयोग गर्दै धेरै जसो संघ दर्ता छन् । यिनै स्वार्थका कारण स्थापना भएका संघकै कारण खेलाडी मारमा परेका छन् भने नेपाली खेलकुद पछि परेको छ । 

लामो समय प्रशिक्षण गर्न नपाउँदा खेलाडीमा लय गुम्‍ने चिन्ता छ । खेलाडी मैदान फर्किन आतुर छन् । खेलकुद गतिविधि नहुँदा धेरै खेलाडी आर्थिक समस्यामा परेका छन् । खेलाडी मैदानमा फर्काउन सबैभन्दा पहिले संघ अगाडि बढ्नुपर्ने हो । संघले आफ्नो योजना, खेलकुद कार्यक्रमहरू राष्ट्रि खेलकुद परिषद् (राखेप) मा पेस गर्नुपर्ने हो । हामी सुरक्षा अपनाएर प्रशिक्षण गर्न तयार छौं भन्दै संघले राखेपसमक्ष अनुमति माग्‍नुपर्ने हो । तर, योजना नभएका संघलाई हाल कोरोना भाइरस महामारीको कारण देखाउँदै सुतेर दिन बिताउन सहज भएको छ ।

क्रिकेटजस्तो अन्तर्राष्ट्रिय क्यालेन्डर भएको संघ अहिले निद्रामा छ । विश्वकप लिग-२ जस्तो क्‍वालिफायर खेल्नुपर्ने संघले खेलाडी मैदानमा फर्काउन आनाकानी गरेको छ । खेलाडी वर्गीकरणमै चुकेको क्रिकेट संघले अहिलेसम्म आफ्नो कुनै योजना र क्‍यालेन्डर सार्वजनिक गर्न सकेको छैन । घरेलु प्रतियोगिताको खाका तयार पर्न सकेको छैन । यसैले पनि खेलाडी र नेपाली क्रिकेटका शुभचिन्तकलाई नेपालले पाएको एकदिवसीय मान्यता पनि गुम्ला कि भन्‍ने चिन्ता बढेको छ ।

“प्रशिक्षणका लागि पहिलो दायित्व एसोसिएसनको हो । मेरो यो-यो योजना छ । कार्यक्रमहरू यस्तो-यस्तो छ भनेर रापेखमा संघहरूले पेस गर्नुपर्ने हो । तर, संघहरू नै सक्रिय छैनन्,” राखेप सदस्य-सचिव रमेश सिलवालले भने, “हामी डब्लूएचओको नियमहरू अपनाएर, सरकारको नीति स्वीकारेर सामाजिक दूरी कायम गर्दै प्रशिक्षण सुरु गर्छौं । हामीलाई अनुमति दिनुस् । हामी खेल्न चाहन्छौं भनेर संघले भनेको खोई ?”

खेल संघले खेलाडी मैदान फर्काउन आँट गरेको छैन । तर, धेरैजसोले खेलकुद सरकारको प्राथमिकतामै पारेन भन्दै गुनासा गरिरहेका छन् । उनीहरूले खेलाडी मैदान फर्काउने जिम्मा राखेप, मन्त्रालय र सरकारको टाउकोमा थुपार्दै आफू जोगिन खोजेका छन् ।

खेलकुदको विकासका लागि भनेर स्थापना भएको नेपाल ओलम्पिक कमिटी पनि सुस्ताएको छ । “पछिल्लो समय खेलाडी प्रशिक्षणका लागि मैदानमा फर्किन नपाउनुमा ठूलो कमजोरी एसोसिएसनको देखिन्छ । संघले आफ्ना खेलाडीका विषयमा चिन्ता गर्नुपर्ने हो । तर, सबै संघ सुतेका छन्,” खेल पत्रकार नीरञ्‍जन राजवंशीले भने, “संघले हामी खेल्न चाहन्छौंभन्दा राखेप र मन्त्रालयले भयो नगर भन्‍न पाउँछ ? त्यसपछि त राखेपले पनि तिमीहरू यस्तो गर हामी पनि यस्तो साथ दिन्छौं भन्छ । अनि मात्र राखेप र मन्त्रालयलाई दबाब बढ्छ ।”

उनले थपे, “यो अहिलेको विषयमा मात्र नभई नेपाली खेल संघको पुरानै रोग हो । कोरोनाले झन् धेरैजसो संघ र पदाधिकारीलाई सहज बनाएको छ । आलोचनाबाट जोगाएको छ । संघको बजेट राखेपले दिनुपर्ने । प्रतियोगिता राखेपले नै गर्नुपर्ने । अनि संघ केका लागि ?”

नेपाल बक्सिङ संघले पछिल्लो समय कुनै पनि प्रतियोगिता आयोजना गर्न सकेको छैन । सातौं र आठौं राष्ट्रिय खेलकुद राखेपले गराएको थियो । वर्षौं बित्दा पनि संघ स्वयंले कुनै प्रतियोगिता आयोजना नगर्दा कति जिम्मेवार र गैर-जिम्मेवार भन्‍ने छर्लंग देखिन्छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले खेलाडीको प्रशिक्षणको विषयमा छलफल भइरहेको बताए । उनले राखेपमा प्रस्ताव नगरे पनि खेलाडी र प्रशिक्षकसँग भने प्रशिक्षण सुरु गर्ने विषयमा छलफल भइरहेको बताए ।

“हामीले प्रशिक्षण सुरु गर्ने भनेर खेलाडी र प्रशिक्षकसँग छलफल गरिरहेका छौं । सम्भवत: आइतबारदेखि प्रशिक्षण सुरु गर्छौं,” अवालेले भने, “सामाजीक दूरी अपनाएर प्रशिक्षण सुरु गर्छौं । प्रशिक्षणमा भिड हुने गरेर धेरै खेलाडी भने हुने छैनन् । यसअघि असारमा पनि प्रशिक्षण सुरु गर्ने तयारी गरेका थियौं । तयारी गर्दा गर्दै काठमाडौंमा संक्रमणको संख्या बढ्दै गएपछि स्थगित गरेका थियौं । हाल आइतबारदेखि प्रशिक्षण सुरु गर्ने तयारी भएको छ । तर, यो विषयमा राखेपमा प्रस्ताव भने गरेका छैनौं । राम्रो कामका लागि राखेपले पनि हुँदैन नभन्ला ।”

नेपाल ब्याडमिन्टन संघ पछिल्लो समय सक्रिय देखिएको छ । ब्याडमिन्टन संघले त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आइतबारदेखि राष्ट्रिय खेलाडीको प्रशिक्षण सुरु गरेको छ । साउन अन्तिम साताबाट स्थगित भएको ब्यामिन्टको प्रशिक्षण आइतबारदेखि पुनः सुरु भएको थियो । ब्याडमिन्टन संघले राखेपबाट अनुमति लिँदै प्रशिक्षण सुरु गरेको संघका सचिव नवीनविक्रम शाहले जानकारी दिए ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि प्रशिक्षण सुरु गर्न पाउने भन्दै राखेपमा निवेदन दिएको छ । एन्फाले नेपालमा मैत्रीपूर्ण खेल आयोजना र प्रशिक्षणसमेत सुरु गर्न पाउँ भन्दै राखेपमा निवेदन दर्ता गराएको थियो । तर, यस विषयमा कुनै प्रतिक्रिया नआएको राष्ट्रिय फुटबल टोली व्यवस्थापक मधुसूदन उपाध्यायले जनाकारी दिए । पछिल्लो समय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रीपूर्ण खेल महत्त्वपूर्ण हुने र त्यसका लागि अभ्यासको खाँचो भएको उनको भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नेपाली खेलकुद संघ खेलाडीको उत्तरदयित्वबाट पन्छिएको बताए । उनले लामो समय खेलाडी प्रशिक्षणविहिन हुँदा पनि संघले यस विषयमा चासो नलिनुले खेलाडी गम्भीर समस्यामा पर्नसक्ने बताए । “संघहरू खेलाडीको उत्तरदायित्वबाट पन्छिएका छन् । उनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारी बिर्सिएका छन् । यस्तो महामारीको बेला झनै खेलाडीलाई सम्झिनुपर्ने बेला संघ नै हराएका छन्,” श्रेष्ठले भने, “खेलाडीलाई प्रशिक्षणमा फर्काउनुपर्ने, कोरोना बिमा गरिदिनुपर्ने । खेलाडी कस्तो अवस्थामा छन् । लेखा खोजी गर्नु पर्ने, संघले केही काम गर्न सकेको छैन । अहिलेसम्म केही संघहरूले मात्र खेलाडीको कोरोना बिमा गरेको छ । खेलाडीलाई ठूलै सहयोग गर्नुपर्छ भन्‍ने छैन । सानो-सानो विषयले पनि खेलाडी प्रोत्साहित हुन्‍छन् ।”

अन्तर्राष्ट्रिय पदको आशा धेरै भएका कराते र तेक्‍वान्दो संघले झनै वास्तै गरेका छैनन् । नेपाल कराते महासंघका महासचिव हरिशंकर केसीले हाल खेलाडीको प्रशिक्षणका विषयमा कुनै छलफल नभएको बताए । उनले कोरोना संक्रमण बढ्दो संख्यामा भएकाले दसैं-तिहारअघि करातेको प्रशिक्षण सुरु हुने सम्भावना न्यून रहेको बताए ।

“हाल महासंघले प्रशिक्षणका विषयमा कुनै योजना बनाएको छैन । कोरोना संक्रमण बढ्दो भएकाले प्रशिक्षणको विषयमा छलफल पनि भएको छैन । अवस्था हेर्दा दसैंतिहारअघि प्रशिक्षण हुने सम्भावना छैन,” उनले भने, “यस्तो अवस्थामा राखेपमा प्रशिक्षणका लागि प्रस्ताव गर्ने कुरा पनि भएन ।”

उनका अनुसार कोरोनाकै कारण करातेले प्रशिक्षण सुरु गर्न सकिएको छैन । तर, करातेलाई असहज भएको अवस्था ब्याडमिन्टन संघलाई भने किन भएन् ? आफैंमा एक प्रश्न उब्जाएको छ । कराते, तेक्‍वान्दो, जुडो, बक्सिङ, टेबलटेनिस, लनटेनिसलगायत खेल एकल प्रतिस्पर्धामा हुने भएकाले सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण सुरु गर्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro