काठमाडौं । नेपाली भारोत्तोलकले नेपालमा भारोत्तोलन संघ दर्ता हुनुअघि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका थिए । २०३६ सालमा संघ दर्ता हुनुभन्दा करिब दुई वर्षअघि नेपालका भारोत्तोलक राजेन्द्र प्रधानले सन् १९७८ को एसियन गेम्समा नेपालबाट सहभागिता जनाएका थिए । यद्यपि उनी प्रतिस्पर्धामा सहभागी भने हुन पाएनन् ।
तत्कालीन समयमा राम्रा बडी बिल्डर भएकाले अधिराजकुमार धीरेन्द्र शाहको प्रस्तावमा उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पावर लिफ्टिङमा प्रतिस्पर्धा गर्न थाइल्यान्ड पठाएको थियो । तर, एसियन गेम्समा पावर लिफ्टिङ नभई भारोत्तोलन भएपछि उनी प्रतिस्पर्धामा सहभागी नभएरै फर्किएका थिए ।
संघ दर्ता भएलगत्तै नेपालले १९८० मा रुसको मस्कोमा आयोजना भएको ओलम्पिका सहभागिता जनाएको थियो । मस्को ओलम्पिकमा नेपालबाट राजेन्द्र प्रधान र अशोक कार्कीले सहभागिता जनाएका थिए । त्यसको दुई वर्षपछि नेपालले भारतमा आयोजना भएको एसियन गेम्समा पनि सहभागिता जनाएको थियो । एसियन गेम्समा नेपालबाट सहभागिता जनाउने भारोत्तोलकमध्येका एक थिए, सुरेन्द्र हमाल ।
भारतको दिल्लीमा आयोजना भएको एसियन गेम्स हमालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । डेब्यु राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका हमालले डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामा भने पदक जित्न सकेनन् । त्यसपछि उनले सन् १९८३ मा सिरियामा आयोजना भएको एसियान भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाए । उक्त च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै थियो । नेपालबाट रसियन प्रशिक्षक जकर कोवको प्रशिक्षणले प्रेरित हमालसहितको टोली सिरिया पुग्यो । उक्त प्रतियोगितामा हमालले ६७.५ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्दै थिए ।
शरीरको आधा केजी तौलले गुमेको पदक
हमालले आफ्नो तौल समूहमा स्न्याचतर्फ १०७.५ केजी भार वहन गरेका थिए । स्न्याचमा सिरियाका खेलाडीलाई २.५ केजी तौलले पछि पार्दै उनले नेपालका लागि कास्य पदक जिते । त्यो पदक हमालका लागि मात्र नभई नेपालकै पहिलो अन्तर्राष्ट्रिय पदक थियो । हमालले जितेको कास्य पदक नेपाली भारोत्तोलन इतिहासको पहिलो अन्तर्राष्ट्रि पदक बन्यो ।
स्न्याचमा १०७.५ केजी तौल उठाएका हमालले क्लिन एन्ड जर्कमा भने १३५ केजी भार वहन गरेका थिए । तर, क्लिन एन्ड जर्कमा सिरियाका खेलाडीले उनीभन्दा २.५ केजी तौल बढी उठाएपछि उनी चौथो स्थानमा रहे । स्न्याच र क्लिन एन्ड जर्कमा गरी दुवै खेलाडीको कुल भार वहन समान भयो ।
“त्यतिबेला हाम्रो प्रशिक्षकमा रसियन गुरु जकर कोव थिए । उनले राम्रो प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षणमा रहेर हामी एसियन च्याम्पियनसिपमा सहभागिता हुन सिरिया पुगेका थियौ,” भारोत्तोलनको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता हमालले भने, “मैले मेरो तौल समूहको स्न्याचमा १०७.५ केजी तौल वहन गर्दै नेपाललाई पहिलो अन्तर्राराष्ट्रिय पदक दिलाए । क्लिन एन्ड जर्कमा भने सिरियाका खेलाडीले मभन्दा २.५ केजी तौल वहन गर्दै कास्य जिते । त्यसमा म चौथो भएको थिएँ ।”
उनले थपे, “स्न्याचमा म तेस्रो भएको थिएँ भने क्लिन एन्ड जर्कमा सिरियका खेलाडी थिए । दुवै विधामा हामीले एक अर्काभन्दा २.५ केजी तौल बढी उठाएका थियो । त्यसैले अन्त्यमा भार वहन गरेको कुल योगफल पनि दुवैको समान भयो । प्रथम र द्वितीय अन्य खेलाडी भइसकेका थिए ।”
दुवै विधाको तौल जोड्दा समान भएपछि जम्मा भार वहनको तेस्रो स्थानका लागि खेलाडीको तौल जोख्ने निर्णय भयो । यस्तो अवस्थामा जुन खेलाडीको तौल थोरै हुन्छ उसलाई विजेता घोषणा गर्ने भारोत्तोलनको नियम छ । यस्तोमा भने उनी चुक्न पुगे ।
“विश्व भारोत्तोलनको नियमअनुसार अन्त्यमा दुवै विधाको भार वहन जोड्दा समान भएपछि खेलाडीको तौल जोख्ने गरिन्छ । त्यसमा जुन खेलाडीको तौल कम हुन्छ उसलाई विजेता घोषणा गरिन्छ,” उनले भने, “कम तौल भएको खेलाडीले बढी तौल उठाएको भन्दै उसलाई केही प्राथमिकता दिने गरिन्छ । त्यस्तैमा म पनि परे । तौल जोख्दा मेरे तौल सिरियाका खेलाडीभन्दा आधा केजी बढी भयो र मैले दोस्रो कास्य पदक गुमाएँ ।”
सागमा मात्र ११ पदक
२२ वर्षको उमेरमा सन् १९८४ को ओलम्पिक खेलेका ओलम्पियन हमालले चार दक्षिण एसियाली खेलकुद (साग) खेले । उनले सन् १९८४ मा नै नेपालका आयोजना भएको पहिलो साग (तत्कालीन साफ) मा सहभागिता जनाएका थिए ।
काठमाडौंमा भएको सागमा उनले आफ्नो तौल समूहमा तीन रजत पदक जितेका थिए । उनी फाइनलमा भारतीय खेलाडीसँग पराजित भएका थिए ।
बंगलादेशको ढाकामा आयोजना भएको दोस्रो सागमा हमालले दुई रजत र एक कास्य जितेका थिए । त्यस्तै १९८९ मा पाकिस्तानको इस्लामावादमा भएको चौथो सागमा उनले तीन कास्य जिते । श्रीलंकाको कोलोम्बोमा भएको पाँचौं साग उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो । सोही प्रतियोगितामा उनले तीन कास्य जिते । यसैगरी हमालले चारवटा सागमा सहभागिता जनाउँदै ११ पदक जितेका थिए ।
उनी १९८७ मा भारतको कलकातामा आयोजना भएको सागमा भने सहभागिता हुन पाएनन् । करिब दुई वर्ष कारबाहीमा परेपछि उनले तेस्रो संस्करणको साग भने गुमाएका थिए ।
सदस्य-सचिव मामाबाट ओलम्पियन भन्जा कारबाहीमा
बृहत् राष्ट्रिय खेलकुदको तेस्रो संस्करण २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगन्जमा हुने भएको थियो । बृहत् राष्ट्रिय खेलकुदको पहिलो र दोस्रो संस्करणमा भेरी अञ्चलले भारोत्तोलनतर्फ च्याम्पियनको ट्रफी उचालिसकेका थियो । त्यतिबेला लगातार तेस्रोपटक च्यम्पियन हुँदा ट्रफी सदाका लागि आफ्नै अञ्चलमा राख्न पाइने नियम थियो । जसको महत्त्व बेग्ले हुने गर्थ्यो ।
हमाल भेरी अञ्चल भारोत्तोलन टिमका कप्तान थिए । उनी तेस्रोपटक च्याम्पियन बन्दै ट्रफी सदाका लागि आफ्नै अञ्चलमा राख्नुपर्छ भन्ने मनसाय बोकेर वीरगन्ज पुगेका थिए । तर, त्यो उत्साह मात्र उत्साहमै सीमित भयो ।
“हामीले पहिलो दुई संस्करणको बृहत् राष्ट्रिय खेलकुदमा लगातार ट्रफी जितेका थियौं । तेस्रोपटक जित्दा उक्त ट्रफी आफ्नै अञ्चलमा राख्न पाउने नियम थियो,” उने भने, “त्यसैले हामीले सुपर हेभी वेटका एक खेलाडी मुरलीलाई टोलीमा राखेका थियौं । उनी सुपर हेभी वेट तौल समूहका भएकाले पदक पक्का थियो । किनभने यो तौल समूहमा नेपालका कोही खेलाडी हुँदैनथे ।”
तर, राखेपले कुनै पनि स्पर्धामा एकजना मात्र प्रतियोगी भए सो स्पर्धा नै समावेश नगर्ने निर्णय गरिसकेको थियो । यता हमालसहितको टोलीलाई भने परिवर्तन भएको यो नियमबारे थाहा थिएन । मुरली एक्ला खेलाडी भएकाले खेल्न पाएनन् । उनले भने खेल्न पाउनुपर्छ भन्दै अडान गरे ।
अन्तर्राष्ट्रिय नियमअनुसार एकजना मात्र प्रतियोगी भए उनी स्वतः स्वर्ण पदकका दाबेदार हुने नियम छ । पहिलो र दोस्रो राष्ट्रिय खेलकुदमा एकजना मात्र सहभागी हुँदा स्वर्ण जितेको भन्दै उनले विरोध गर्न थाले । त्यसैले भेरी अञ्चलको टिमका मुरलीले पनि खेल्न पाउनुपर्ने उनीहरूको माग थियो । उनीहरू आफ्नो मागबाट पछि नहटेपछि विवाद भयो । त्यसपछि संघका अध्यक्षसँग विवाद गरेको र राखेपको निर्णय आत्मसात् गर्न नमानेको भन्ने आरोप लागेपछि भेरी अञ्चलको पूरै भारोत्तोलन टोलीलाई एक वर्षका लागि प्रतिबन्ध गरेको थियो ।
“त्यतिबेला रमेश खनाल संघका अध्यक्ष थिए भने राखेपको सदस्य-सचिवमा शरदचन्द्र शाह थिए । अनुशासनको नाममा कसैले फरकमत राखेकोसम्म पनि शाह देख्न सक्दैनथे । हामीले झन् ठूलै अडानमा आफ्नो माग राखेका थियौं,” उनले भने, “यो विषय सदस्य-सचिवसमक्ष पुगेछ । सदस्य-सचिवले हाम्रो सिंगो टिमलाई नै कारबाही गर्नुभएछ । जुन कुरा हामीले अचानक साँझ ७ बजे रेडियो नेपालको समाचारमा सुन्यौं । हाम्रा केही खेलाडीले त स्वर्ण पदकसमेत जितिसकेका थिए ।”
उनलाई सुरुमा माफी माग्न लगाएको थियो । तर उनले आफूले गल्ती नगरेको भन्दै माफी माग्न चाहेनन् र राखेपले एक वर्ष प्रतिबन्ध लगायो । राखेपले एक वर्ष प्रतिबन्ध लगाएपछि भेरी अञ्चल खेलकुद विकासले थप ६ महिना प्रतिबन्ध लगाएको थियो ।
सफलताको दम्भ
हमाल त्यतिबेला राखेपको कर्मचारीसमेत भइसकेका थिए । त्यसैले पनि उनलाई सबैले माफी माग्न सुझाएका थिए । तर, उनले आफूमा भएको दम्भलाई अगाडि सार्दै माफी माग्न चाहेनन् ।
“त्यति बेला म सफलताको उत्कर्षमा थिएँ । सिरियामा सम्पन्न एसियाली च्याम्पियनसिपमा कास्य पदक जितेको थिएँ । सागमा रजत जितेको थिएँ,” उनले भने, “त्यही एसियन च्याम्पियनसिपको कास्य पदक र साफको रजत पदकले सम्भवतः मभित्र अलिकति दम्भ पलाएको थियो । म कसैसँग झुक्न तयार भएनँ । किनभने मेरो बुबाले मलाई अन्यायमा झुक्नु हुँदैन भन्ने सिकाउनुभएको थियो ।”
अल्लारे उमेरको झोकमा उनीसहितको टोली खेलस्थल छोडेर माफी नमागेरै नेपालगन्ज फर्कियो । उनले थपे, “आत्मस्वाभिमान गिर्ने अनि आत्मसम्मानमाथि चोट पुग्ने गरी किन माफी माग्ने भन्ने लाग्यो । त्यसैले मैले माफी मागिनँ ।”
त्यसपछि कारबाहीका परेका हमालले करिब दुई वर्षसम्म प्रशिक्षणसमेत गर्न पाएनन् । नेपालगन्जको प्रशिक्षण हलमा ताला लाग्यो । “यस्तो लाग्छ, एक्लै कोठामा भेट्न पाएको भए समस्या वीरगन्जमै सकिने थियो । किनभने हामी मामा-भान्जा थियौं । मामा-भान्जाको कुरा नमिल्नुपर्ने कुनै कारण पनि थिएन । तर चाकडीबाजहरूले त्यो माहोल बन्न दिएनन् र मलाई उनीसँग भेट्न दिएनन्,” उनले भने ।
टेबलटेनिस र क्रिकेटपछि भारोत्तोलन
भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालले सुरुवाती दिनमा टेलबेलटेनिस खेल्ने गर्थे । उनले २०३२ देखि २०३५ सम्म करिब तीन वर्ष टेबलटेनिसका राष्ट्रिय प्रतियोगिता खेले । त्यसपछि देशको पश्चिमी भागमा क्रिकेटको चर्चा हुन थलेपछि उनी क्रिकेटतिर लागे । उनले २०३५ देखि करिब दुई वर्ष राष्ट्रिय स्तरको क्रिकेट खेले । उनी क्रिकेटका अलराउन्डर थिए ।
“मैले २०३२ साल तिरबाट तीन वर्ष टेबलटेनिसका राष्ट्रिय प्रतियोगिता खेले । त्यसपछि क्रिकेटको चर्चा हुन थालेपछि दुई वर्ष राष्ट्रिय स्तरको क्रिकेट पनि खेले । म क्रिकेटमा अलराउन्डर थिएँ,” उनले भने, “तर ती सबै खेल मेरो शरीरअनुसार मिल्ने थिएनन्। खासमा मेरो शरीर भारोत्तोलनका लागि ठीक थियो ।”
हमालले २०३६ सालदेखि जिमखाना धाउन थाले । उनले जिम गर्न सुरु गरेको एक वर्ष भइसकेको थियो । २०३७ तिर नेपालगन्जमा दोस्रो भारोत्तोलन प्रतियोगिता भइरहेको थियो । त्यसबेला उनी साथीसँगै दर्शकका रुपमा प्रतियोगिता स्थल पुगे । खेल हेर्दा उनले पनि आफू खेल्न सक्ने महसुस गर्न थाले र भारोत्तोलनतिर लागे ।
उनका बुबा पनि बडी बिल्डर थिए । बुबाबाटै सिकेर उनका दाइले पनि राम्रो बडी बनाएका थिए । दाइको बडी देखेपछि सुरेन्द्रले पनि जिम गर्न सुरु गरेका थिए । दुवै दाइभाइलाई उनका बुबाले सिकाउने गरेका थिए ।
“म भारोत्तोलन कस्तो हुन्छ भनेर साथीहरुसँग पहिलोपटक दर्शक भएर हेर्न गएको थिएँ । आफूलाई खेल्न सक्छु जस्तो लाग्यो । साथीहरूले पनि तैंले खेल्न सक्छस् भन्न थाले । त्यसपछि भारोत्तोलनको यात्रा सुरु भयो,” उनले भने, “मैले सुरुदेखि नै भारोत्तोलनमा आफूलाई सहभागी गरेको भए, अझै राम्रो प्रदर्शन सक्थेजस्तो लाग्छ । अहिले लाग्छ मैले सुरुमा अन्य खेलतिर आकर्षित भएर पाँच वर्ष बेकारमा बिताएँ ।”
स्वर्णबाट सुरुवात स्वर्णमै अन्त्य
हमालले पहिलोपटक २०३८ सालमा काठमाडौंमा आयोजना भएको तेस्रो राष्ट्रिय प्रतियोगिताबाट भारोत्तोलन खेलमा डेब्यु गरेका थिए । उनले आफ्नो पहिलो राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए । १३ अञ्चलका ५० खेलाडी सहभागी प्रतियोगिताको आफ्नो तौल समूहमा उनले स्वर्ण जितेका हुन् ।
६७.५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले १७० केजी तौल भार वहन गर्दै स्वर्ण जितेका थिए । उनले वाग्मतीका सानुराजा श्रेष्ठलाई पछि पार्दै स्वर्ण जितेका हुन् । श्रेष्ठले १६० केजी भार वहन गर्दा कास्य पदक जितेका सगरमाथाका महेन्द्र मानन्धरले १३५ केजी भार वहन गरेका थिए ।
“१५ दिनको प्रशिक्षणमा मैले स्वर्ण पदक जितेको थिएँ । नेपालगन्ज आएका प्रशिक्षक राजेन्द्र प्रधानसँग १५ दिनको प्रशिक्षण गरेको थिएँ । उनी मेरा पहिलो प्रशिक्षक हुन्,” उनले भने, “राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बनेपछि हामी कहिले काठमाडौं कहिले नेपालगन्जमै बसेर प्रशिक्षण गर्थ्यौं । हामीलाई रसियन प्रशिक्षकले दिएको २१ दिने प्रशिक्षण जस्ताको त्यस्तै नेपालगन्ज पुगेर गर्थ्यौं ।”
२०४८ सालमा दाङमा भएको राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि उनले खेल जीवनबाट संन्यास लिएका थिए । २०३८ देखि ०४८ सालसम्म भारोत्तोलनमा खेलाडीका रुपमा उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । उनले सहभागिता मात्र नभई देशलाई थुप्रै अन्तर्राष्ट्रिय पदकसमेत दिलाए । उनी २०० केजी भार वहन गर्ने नेपालको पहिलो भारोत्तोलकसमेत हुन् ।