site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लघुवित्तमा मर्जरको लहर : २६ वटा प्रक्रियामा, यही वर्ष ५० मा झर्दै

काठमाडौं । चालु आर्थिक वर्षमा लघुवित्त क्षेत्रमा मर्जर तथा प्राप्तिको लहर चलेको छ । ९० वटाभन्दा बढीको संख्यामा पुगेको लघुवित्त अहिले नै ८१ को संख्यामा झरिसकेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तले तनहुँको आर्थिक समृद्धि लघुवित्तलाई गाभेर सुरु भएको लघुवित्तको मर्जर हाल करिब दुई दर्जनभन्दा बढी संस्थाहरू आपसमा गाभिइसकेका छन् ।

हालसम्म २८ लघुवित्त संस्थाले मर्जर प्रक्रिया टुंग्याएका छन् । जसमध्ये १७ लघुवित्तको इजाजत खारेज भएर ११ वटा कायम भएका छन् । यस्तै अहिले पनि २६ लघुवित्त मर्जर प्रक्रियामा छन् । जसमध्ये १३ वटाको इजाजत खारेज भएर १३ वटा कायम हुनेछ । हाल ८० वटा रहेका लघुवित्त संस्थाहरू मर्जर प्रक्रियामा रहेकामध्ये १३ वटाको इजाजत खारेज हुँदा ६७ वटामा झर्नेछन् ।

यता राष्ट्र बैंकले केही लघुवित्तलाई मर्जर योजनाको बारेमा पत्रसमेत पठाएको छ । केही लघुवित्तलाई भने मर्जरको योजना पेस गर्न समय नै तोकेर मौखिक निर्देशनसमेत दिइएको स्रोतको दाबी छ । राष्ट्र बैंकले बुटवलमा रहेको जनउत्थान सामुदायिक लघुवित्तलाई मर्जरको योजना के हो भन्दै पत्र नै काटेको स्रोतले बतायो ।

यता, नाडेप लघुवित्त र डेप्रोक्स लघुवित्तलाई पनि राष्ट्र बैंकले मर्जरमा जान निर्देशन दिएको छ । सुरुमा डेप्रोक्समा रहेका समूहरूले नै पछि नाडेप लघुवित्त स्थापना गरेका थिए । नाडेप र डेप्रोक्समा समान लगानीकर्ता हुनु र नाडेपमा सञ्चालक तथा व्यवस्थापनमा समस्या हुँदा राष्ट्र बैंकले मर्जरको निर्देशन दिएको बुझिएको छ ।

यसबाहेक पनि लघुवित्त बैंकर्स संघका अध्यक्षसमेत रहेका वसन्त लम्साल सीईओ रहेको विजय लघुवित्तले पनि स्वेडा लघुवित्तलाई गाभ्ने सम्झौता बदर गरेको थियो । स्वेडा लघुवित्त मिर्मिरेमा गाभिसक्दा पनि विजय लघुवित्तले भने मर्जर सम्झौता गरेको छैन । 

कुन लघुवित्त कुनमा गाभिए ?
लघुवित्त संस्था मर्जरको सुरुवात भने हालको ग्रामीण विकास लघुवित्तबाट भएको हो । सरकारी लगानीमा स्थापना भएका क्षेत्रीयस्तरका ग्रामीण विकास बैंक मर्जर भएर तत्कालीन समयमा बुटवलमा केन्द्रीय कार्यालय रहने गरी नेपाल ग्रामीण विकास बैंकका नामबाट कारोबार भएको थियो । हाल सोही संस्थाको नाम परिवर्तन भएर ग्रामीण विकास लघुवित्त भएको छ । 

निजी क्षेत्रबाट सञ्चालनमा आएको लघुवित्तमा मर्जरमा जाने सम्झौता गर्ने पहिलो लघुवित्त संस्था भने वोमी हो । वोमीले नागरिक लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै लघुवित्तमा मर्जरको सुरुवात भएको छ । त्यसपछि साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गर्‍यो । बोमीले भन्दा पछि मर्जर तथा प्राप्ति सम्झौता गरेर पनि सबैभन्दा सुरुमा एकीकृत कारोबारको सुरुवात भने साधना र आर्थिक समृद्धि लघुवित्तले गरेका थिए ।

यता सुदूरपश्चिम प्रदेशको कैलालीमा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्तले पनि चारवटा लघुवित्तलाई प्राप्ति गरिसेकको छ । एनआरएन लघुवित्तले सञ्चालनमा आएको डेढ वर्षमै चारवटा लघुवित्तलाई प्राप्ति गरिसक्यो । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेका लघुवित्तले २०७७ असार २९ गतेदेखि काभ्रेको दिव्य लघुवित्त र कैलालीकै किसान लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो । त्यसअघि पनि लघुवित्तले २०७६ भदौ २२ गतेदेखि सुदूरपश्चिम प्रदेशकै रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तलाई पनि गाभेको थियो ।

यस्तै मोरङमा रहेको जीवन विकास लघुवित्तले पनि दुईवटा लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ । फिन्गोबाट रुपान्तरण भएको जीवन विकास लघुवित्तले २०७७ भदौ २२ गतेबाट सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले पनि दुईवटा लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ । लघुवित्तले प्रदेश १ को झापामा केन्द्रीय कार्यालय रहेको नागबेली लघुवित्तलाई गाभेर २०७७ भदौ ७ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ । त्यस्तै त्यसअघि पनि मिर्मिरे लघुवित्तले २०७७ असार २१ गतेबाट स्वेडा लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

सारथि लघुवित्तले सत्यवती मर्जरपछि २०७६ पुस ९ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो । मर्जरपछिको सारथि लघुवित्तले काभ्रेको धुलिखेमा रहेको नयाँ नेपाल लघुवित्तलाई मर्जर गरेर २०७७ असोज ५ गते सोमबारबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

यस्तै जनसेवी र कालिका लघुवित्तले पनि मर्जरपछि एकीकृत कारोबार सुरु गरिसकेका छन् । दुई लघुवित्तले २०७६ पुस २३ गतेबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

यस्तै काभ्रेको बनेपामा रहेको आरम्भ लघुवित्त र बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त पनि मर्जर भएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । यी दुई लघुवित्तले २०७७ असार २२ गतेबाट आरम्भ चौतारीको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

सूर्योदय लघुवित्तले पनि त्रिलोक लघुवित्तलाई गाभेर २०७६ फागुनबाट एकीकृत कारोबार सुरु गरेको थियो । यस्तै रुपन्देहीको उन्नति लघुवित्तले सहकार्य लघुवित्तसँग मर्जर पछि उन्नति सहकार्यका नामबाट एकीकृत कारोबार सुरु गरेको छ । दुई संस्थाबीच भएको मर्जरपछि २०७७ असार २६ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो ।

मनकामना र स्मार्ट लघुवित्त मर्ज भएर २०७७ साउन ११ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । 

२६ लघुवित्त मर्जर प्रक्रियामा 
हाल पनि २६ लघुवित्त मर्जर प्रक्रियामा छन् । जसमध्ये १३ लघुवित्तको इजाजत खारेज भएर १३ वटा कायम हुनेछन् । 

एनआईसी एशिया लघुवित्त र स्वेदेशी लघुवित्तले मर्जरमा जाने सम्झौता गरेका छन् । यी दुवै लघुवित्त मर्जर भएपछि पुँजीका आधारमा देशकै सबैभन्दा ठूलो र सबल लघुवित्त बन्नेछ ।

त्यस्तै नागरिकलाई गाभेपछि बनेपामा केन्द्रीय कार्यालय सञ्चालन गरेको वोमी लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जर सम्झौता गरेको छ । समता र घरेलु लघुवित्त, महुली र नवकिरण लघुवित्तले पनि मर्जरमा जाने सम्झौता गरेका छन् । त्यस्तै स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको छ ।

जाल्पा र महिला सामुदायिक लघुवित्त, समिट र सजिलो लघुवित्त तथा युनिक नेपाल र बुद्धज्योति लघुवित्तबीच पनि मर्जरमा जाने सम्झौता भएर प्रक्रिया अगाडि बढेका छन् । त्यस्तै धौलागिरि र आधिखोला तथा नेस्‍ड्रो समृद्धि र नेपाल एग्रो लघुवित्त पनि मर्जर प्रक्रियामा छन् ।

सोमबार मात्रै समाज लघुवित्त र स्वस्तिक लघुवित्तले पनि मर्जरमा जाने सम्झौता गरेका छन् । त्यस्तै राष्ट्रियस्तरको सीवाईसी लघुवित्त र प्रदेश ४ को प्रदेशस्तरको शालिग्राम लघुवित्तले मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसबाहेक पनि लघुवित्त क्षेत्रमा मर्जरको छलफल तीव्र रुपमा चलेको छ । सबैजसो लघुवित्तले उपयुक्त पार्टनरसँग मर्जरको छलफल चलाइरहेको लघुवित्तकर्मीहरू नै बताउँछन् । लघुवित्तकर्मीहरू अहिले लघुवित्तमा मंसिर लागेको दाबी गर्छन् ।

मंसिरलाई विवाहको सिजनका रुपमा लिइने र अहिले लघुवित्तमा त्यस्तै लहर चलेको लघुवित्तकर्मीहरूको भनाइ छ । 
लघुवित्त क्षेत्रमा मर्जरको विकल्प पनि नभएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्साल बताउँछन् । “राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले कर्जाको ब्याजदर १५ प्रतिशतको सीमा कायम गरेको छ भने सेवाशुल्कमा पनि कडाइ गरेको छ । यता कोभिडले गर्दा नयाँ आएका लघुवित्तहरूले व्यवसाय विस्तार गर्ने सम्भावना कमजोर देखिएको छ,” उनले भने, “अहिले लघुवित्तलाई मर्जरको बाध्यता नै रहेको छ ।” राष्ट्र बैंकले पहिले लघुवित्तलाई प्रवर्द्धन गर्ने नीति लिएकामा अब नियमन गर्ने नीति लिएकाले पनि मर्जरको विकल्प नभएको उनको भनाइ छ ।

आगामी दुई वर्षभित्रमा लघुवित्त संस्थाहरूको संख्या साढे दुई दर्जनको हाराहारीमा झार्ने लक्ष्य केन्द्रीय बैंकको छ । राष्ट्र बैंक नियमन विभागले त्यहीअनुसार सञ्चालन तथा व्यवस्थापनमा समस्या भएका एवं कमजोर लघुवित्तलाई मर्जरमा जान दबाब दिइरहेको छ । यस्तै ठूला लघुवित्तहरूलाई पनि कम्तीमा एउटा संस्था मर्जर गर्न राष्ट्र बैंकले मौखिक रुपमा आग्रह नै गरेको लघुवित्तकर्मीहरू बताउँछन् ।

राष्ट्र बैंकको आग्रहपछि निर्धन, छिमेकलगायत ठूला र स्थापित लघुवित्तले पनि साना लघुवित्तलाई गाभ्न विभिन्‍न चरणमा छलफल गरिसकेको स्रोतको दाबी छ । चालु आर्थिक वर्षमै लघुवित्तको संख्या ५० भन्दा तल झर्नसक्ने लघुवित्तकर्मीहरू बताउँछन् । एक-दुई वटा नभएर ४/५ वटा लघुवित्त मर्ज भएर एउटा लघुवित्त बन्‍ने तयारीमा समेत कतिपय लघुवित्त लागेका छन् । एनआरएन लघुवित्तमै पाँचवटा संस्था गाभिइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro