site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिराजकुमार धीरेन्द्रले फेरिदिए राजेन्द्रको ‘लाइफगार्ड’ परिचय
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताभित्र वेट प्रशिक्षण हल थियो । काठमाडौंका धेरैजसो बडी बिल्डर त्यहीं फिटनेसका लागि जाने गर्थे । त्यसैमध्येका एक थिए राजेन्द्र प्रधान ।

जन्मँदै शारीरिक अशक्त प्रधानलाई बडी बिल्डिङले भने तानेको थियो । कान नसुन्‍ने र बोल्न नसक्ने भए पनि उनले आफ्नो अग्लो कदलाई बडी बिल्डर बनाए । परिषद्‍मा बडी बिल्डिङ र पावर-लिफ्टिङसँगै उनी राखेपको हाताभित्रै रहेको पौडी पोखरीमा लाइफगार्डको जागिरे थिए ।

सन् १९७८ डिसेम्बरमा थाइल्यान्डमा आठौं एसियन गेम्सको आयोजना हुँदै थियो । एसियन गेम्समा समावेश भएको भारोत्तोलन खेलका लागि नेपालबाट सहभागिता जनाउन एक खेलाडी पठाउने निर्णय भयो । त्यसैका लागि राखेपले एकजना भारोत्तोलक खोजिरहेको थियो । यसै क्रममा पौडीपोखरीमा लाइफगार्डको काम गरिरहेका प्रधान तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहको नजरमा परे । अधिराजकुमार धीरेन्द्र राखेपका तत्कालीन संरक्षक पनि थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानको अग्लो ज्यान र शारीरिक बनावटका कारण अधिराजकुमार धीरेन्द्रको प्रस्तावमा राखेपले उनलाई एसियन गेम्सका लागि थाइल्यान्ड पठाउने निर्णय गर्‍यो । जुन समय नेपालमा न भारोत्तोलन खेल थियो, न त संघ नै । त्यतिबेला नेपालमा भारोत्तोलनका खेलाडी हुने त कुरै रहेन । खेलाडी नभएका कारण उनको शरीर देखेर राखेपले एसियन गेम्सका लागि थाइल्यान्ड पठाउन सहमत भएको भारोत्तोलनका तत्कालीन खेलाडी पार्थसारथि सेन गुप्ताले भने ।

“राजेन्द्र प्रधान शारीरिक रुपमा अशक्त भए पनि उनको शरीर निकै लोभलाग्दो थियो । उँचो कदकै कारण उनले परिषद्को पौडी पोखरीमा लाइफगार्डको जागिर पाएका थिए,” गुप्ताले भने, “१९७८ मा नेपालमा भारोत्तलोलन के-हो ? यो कसरी खेलिन्छ भन्‍ने कसैलाई थाहै थिएन । त्यतिबेला उनी नेपालको प्रतिनिधित्व गर्दै एसियन गेम्सका लागि थाइल्यान्ड पुगेका थिए ।”

Royal Enfield Island Ad

एसियन गेम्स नखेलेरै फर्किए
१९७८ तिर क्यानडाबाट पावरलिफ्टर एन्थोनी नेपाल आएका थिए । उनले नेपालका बडी बिल्डरहरूलाई काठमाडौंमा पावरलिफ्टरको प्रशिक्षण दिने गरेका थिए । उनको प्रशिक्षण राजेन्द्रले पनि लिएका थिए । तर, उनले भारोत्तोलन भने बुझेका थिएनन् ।

राखेपको निर्णयपछि प्रतियोगितामा सहभागी हुन उनी थाइल्यान्ड पुगे । तर, उनले प्रतियोगितामा प्रतिस्पर्धा भने गर्न पाएनन् । उनले नेपालमा पावरलिफ्टिङको प्रशिक्षण लिइरहेकाले भारोत्तोलनलाई पनि त्यस्तै सम्झेका थिए । पावरलिफ्टिङ र भारोत्तोलन हेर्दा केही समान देखिए पनि टेक्निक र नियम भने पूर्ण फरक थिए । जुन विषय राजेन्द्रलाई थाहै थिएन । 

“अन्य खेलाडी कोही नभए पनि राजेन्द्र रापेखको सिफारिसमा एसियन गेम्स खेल्न त गए । तर, उनलाई मात्र होइन कसैलाई पनि भारोत्तोलनको नियम थाहा थिएन,” गुप्ताले भने, “उनलाई थाइल्यान्ड पठाउँदा पावरलिफ्टिङ भनिएको थियो । तर, त्यहाँ पुगेपछि भारोत्तोलन रहेछ ।”

पावरलिफ्टिङ भनेर थाइल्यान्ड पुगेका राजेन्द्र भारोत्तोलन खेलका लागि सिफारिस भएपछि उनी नखेलेरै नेपाल फर्किए । उनले केही दिन थाइल्यान्डमा बिताउँदै भारोत्तोलनका खेल हेरेर नेपाल फर्किएका थिए ।

नेपालका पहिलो ओलम्पियन भारोत्तोलक
नेपालमा २०३६ सालमा भारोत्तोलन संघ दर्ता भयो । संघ दर्तासँगै राखेपले पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना गरेको थियो । तत्‌पश्‍चात, सन् १९८० मा रुसको मस्कोमा ओलम्पिक आयोजना हुँदै थियो । त्यसमा नेपालले पनि भारोत्तोलनमा पहिलोपटक सहभागिता जनाउने अवसर पायो ।

त्यसका लागि राखेपले १५ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा राखेको थियो । ललितपुरको जावलाखेलमा करिब एक महिनाको बन्द प्रशिक्षणपछि ओलम्पिकका लागि एकजना वैकल्पिक खेलाडीसहित तीनजना छनोट गरिएको थियो । 

जसमध्ये अशोक कार्की र राजेन्द्र प्रतियोगितामा सहभागी थिए । वैकल्पिक खेलाडीका रुपमा भने चितवनका शशि राना छानिए । यो टोलीको प्रशिक्षक रमेश खनाल थिए । “त्यसबेला म प्रशिक्षक भएर मस्को पुगेको थिएँ । खेलाडीमा राजेन्द्र र अशोक थिए,” प्रशिक्षक खनालले भने, “भारोत्तोलन नेपालमा भर्खर सुरु भएको थियो भन्दा फरक नपर्ला । नेपालमा भर्खर सुरु भएको भारोत्तोलनका खेलाडीले नेपालबाट सहभागिता मात्र जनाएका थिए ।”

उनले थपे, “संघ दर्ता भएको केही महिनामै ओलम्पिकमा सहभागिता जनाउन पाउनु हाम्रा लागि ठूलो थियो । हामीसँग कुनै ठूलो पदक जित्‍ने आशा थिएन । किनभने त्यतिबेलासम्म हामीले राम्रोसँग भारोत्तोलनको टेक्निक र नियम बुझेका थिएनौं । त्यसैले पनि उनीहरू पहिलो चरणबाटै बाहिरिएका थिए ।”

तर, त्यसपछिको चार वर्षमा नेपाली भारोत्तोलनमा निकै परिवर्तन आएको उनी बताउँछन् । त्यसका लागि दैनिक प्रशिक्षक, रेफ्री कोचिङ र आवश्यक सामग्रीहरूको समेत व्यवस्था भएपछि नेपाली भारोत्तोलनले फड्को मारेको थियो ।

त्यसपछि १९८४ मा लस एन्जलसमा भएको ओलम्पिकमा नेपाली भारोत्तोलनले दोस्रोपटक सहभागिता जनाएको थियो । त्यसबेला रसियन प्रशिक्षक ज्याकोर कोवको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्ने जगदीश प्रधान र सुरेन्द्र हमाल थिए । हमाल नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी हुन् ।

 

 

अन्तर्राष्ट्रिय निर्णायक र राखेपका स्थायी प्रशिक्षक
राजेन्द्र प्रधान एक खेलाडी मात्र नभए अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् । उनले नेपालमा आयोजना भएका प्रतियोगिता मात्र होइन भारतमा आयोजना भएको प्रतियोगितामा समेत निर्णायकको भूमिका निभाएका थिए ।

“राजेन्द्र एक खेलाडी मात्र होइन । उनी अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । उनले नेपाल र भारतमा पुगेर निर्णायकको भूमिका निर्वाह गरेका छन्,” गुप्ताले भने, “उनी बोल्न र सुन्‍न नसक्ने भए पनि निकै राम्रो स्तरका निर्णायक थिए ।”

उनले १९८७ मा भारतको कलकातामा आयोजना भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनको निर्णायकको भूमिका निभाएका थिए । त्यस्तै उनले १९९५ मा भारतको मद्रासमा भएको सागमा पनि निर्णायकको भूमिका निभाएका थिए । 

राजेन्द्रले आफ्नो खेलाडी जीवन छाडेपछि रेफ्रीसँगै प्रशिक्षक बने । उनी एक सफल प्रशिक्षकसमेत भएको गुप्ता बताउँछन् । “राजेन्द्र एक सफल प्रशिक्षक पनि हुन् । उनले नेपाल आर्मी, प्रहरीजस्ता विभागीय टोलीमा भारोत्तोलनको प्रशिक्षक भएर काम गरेका थिए । उनले थुप्रै राम्रा खेलाडीसमेत उत्पादन गरे,” गुप्ताले भने ।

पहिलो सागअगावै भारोत्तोलनको प्रशिक्षकका रुपमा राखेपमा नियुक्त भएका प्रधान १९९९ को एसियन गेम्समा वरिष्‍ठ प्रशिक्षक तिलकबहादुर रावतको सहयोगीका रुपमा बेइजिङ पुगेका थिए । पछि उनी स्थायी प्रशिक्षकका रुपमा नियुक्त भए । उनले राखेपमा अधिकृत तहसम्मको प्रशिक्षकका रुपमा काम गरे । राजेन्द्रले करिब २५ वर्ष राखेपमा प्रशिक्षकको जिम्मेवारी निभएपछि अवकाश पाए ।

राष्ट्रिय प्रतियोगितामा स्वर्ण
राजेन्द्रले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । उनले दुईवटा राष्ट्रिय प्रतियोगिता खेलेका थिए । काठमाडौंमा आयोजना भएको प्रथम भारोत्तोलन प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए । उनले ६५.५ केजी तौल समूहमा वाग्मती अञ्‍चलको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेका थिए ।

३३० पाउन्ड भार वहन गरेका उनले वाग्मतीकै सानुराजा श्रेष्ठलाई पछि पार्दै स्वर्ण जितेका थिए । श्रेष्ठले ३१५ पाउन्ड भार वहन गरेका थिए । त्यस्तै सोही तौल समूहमा सगरमाथाका पुरुषोत्तम कोइरालाले २२५ पाउन्ड तौल उठाउँदै कास्य जितेका थिए । 

राजेन्द्रले २०३७ सालमा नेपालगन्जमा भएको दोस्रो राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भने रजत पदक जितेका थिए । दोस्रो राष्ट्रिय प्रतियोगितामा उनको तौल समूहमा नारायणीका अशोक कार्कीले स्वर्ण जितेका थिए । कार्कीले १६५ केजी तौल उठाउँदा राजेन्द्रले १५५ जेकी तौल उठाएका थिए । सोही तौल समूहमा सगरमाथाका महेन्द्र मानन्धरले १२२.५ केजी तौल वहन गर्दै कास्य जितेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro