काठमाडौं । फुटबल खेलाडीलाई खुट्टा चलुन्जेल मात्रै माया गर्ने नेपाली फुटबलको पुरानै परम्परा हो । खेलाडीले मैदानमा राम्रो खेलुन्जेल 'वाहीवाही' र मैदानबाट बाहिरिए बेवास्ता गर्ने परम्परा यतिबेला नेपाली क्लबहरुमा समेत देखिन थालेको छ । लकडाउनका बेला नेपालमा रहेका विदेशी खेलाडीहरु निकै समस्यामा परेका छन् । तर, क्लबले फुटबल खेल भएका बेला माया गर्ने र अरु समय दयाको भावसमेत नदेखाएको विदेशी खेलाडीले गुनासो गरेका छन् ।
खेलाडीसँग ६ महिनाको सम्झौता गरेका क्लबले लकडाउनकै कारण चार महिनाको पारिश्रमिक दिएर सम्झौता सकिएको भन्दै बेवास्ता गरेका छन् । बरु यस्तो समय नेपालबाहिरका क्लबले नेपालमा रहेका विदेशी खेलाडीलाई आर्थिक सहयोग गरेका छन् । खेलाडीले आफूलाई समस्या परेको भन्दा उल्टै क्लबले भने आफ्नो समस्या ठूलो देखाइरहेका छन् ।
केही क्लबले समस्यामा परेका खेलाडीलाई ६ महिनाको लकडाउन अवधिमा १५ हजार रुपैयाँ सहयोग गरे । तर, भुटानको पारो एफसीले नेपालमा रहेका विदेशी खेलाडीलाई समस्यामा परेको भन्दै ४५ हजार रुपैयाँ सहयोग गरेको थियो । यसले पनि नेपाली क्लबको व्यावसायिकता र नेपाली फुटबल विकासमा क्लबले पुर्याएको योगदान कति भन्ने विषयलाई प्रस्ट्याएको छ ।
नेपालमा फुटबल खेल्न मात्र आएका कैयौं विदेशी खेलाडीले ६ महिनाको कोठा भाडासमेत तिर्न सकेका छैनन् । उनीहरुले घरबाट पैसा मागरे नेपालमा गुजारा चलाइरहेका छन् । नेपाली लिगमा चार वर्ष बिताएका मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर फ्लोरेन्ट कोइराले क्लबले खेलाडीलाई प्रतियोगिताको समय मात्र माया गरेको गुनासो गरे । उनले आफूलाई समस्या परेको भन्दै क्लबलाई बारम्बार जानकारी गराए पनि प्रतिक्रिया नदिएको बताए । क्लबले यो समय आफूलाई नै समस्या भएको र फुटबल नभएकाले केही गर्न नसकिने जवाफ फर्काएको बताए ।
“नेपालमा चार वर्ष बिताउँदा मैले तीन क्लबबाट ए डिभिजन लिग खेलेको छु । त्यसअघि भुटानका दुई क्लब पारो एफसी र डुक स्टार एफसीबाट भुटानी लिग खेलेको थिएँ,” फ्लोरेन्टले भने, “नेपाली क्लबले खेलाडीलाई माया गर्न जानेका रहेनछन् । नेपाली क्लबले फुटबल छ माया गर्छ, फुटबल छैन वास्ता गर्दैन ।”
भुटानी लिग खेलेका फ्लोरेन्टले नेपाली लिग राम्रो भए पनि पैसा नभएको बताए । उनले यस समयमा नेपाली क्लबभन्दा बाहिरको क्लबले नेपालमा रहेका विदेशी खेलाडीलाई माया गरेको जानकारी दिए । लकडाउनको ६ महिनाको अवधिमा नेपाली क्लबले खेलाडी कस्तो अवस्थामा छ भनेर कुनै सोधीखोजीसमेत नगरेको उनको गुनासो छ । प्रतियोगिता भएका बेला अनुबन्ध गर्ने तर फुटबल सकिएलगत्तै रिलिज गर्ने नेपाली क्लबको प्रावधान रहेछ । यस्तो अवस्थामा पनि खेलाडीले सम्झौताअनुसारको पारिश्रमिक नपाएको उनले गुनासो गरे ।
“मनाङसँग ६-७ महिनाका लागि सम्झौता भएको थियो । तर, मैले चार महिनाको मात्र पारिश्रमिक पाएको छु । त्यसमा पनि सात महिनाको अवधिमा ३५ हजार रुपैयाँ मात्र पाएँ । मैले क्लबलाई सधैं समस्या भयो भनेर फोन गरिरहेको हुन्छु । तर, कुनै प्रतिक्रिया दिँदैन्,” उनले भने, “हामी नेपालमा फुटबल खेल्न आएको हो । हाम्रो फुटबलबाहेक अर्को काम छैन । फुटबल खेलेपछि मात्र पैसा आउँछ । त्यसपछि मात्र परिवारका लागि घरमा पैसा पठाउन पाइन्छ ।”
नेपाली फुटबल एजेन्ट सगुन तन्डुकारले पनि क्लबहरुले खेलाडीलाई सहयोग गर्न नमानेको बताए । उनले विदेशी खेलाडी समस्यामा रहेको खबर गर्दा पनि क्लबले बेवास्ता गरेको बताए । उनले खेलाडीका लागि क्लबलाई आफूले दबाब दिन नमिल्ने बताए ।
संकटाका स्ट्राइकर टेम्पीले पछिल्लो ६-७ महिनामा क्लबबाट १५ हजार रुपैयाँ मात्र सहयोग पाएको सुनाए । उनले कोठाको भाडा नै १५ हजार भएका बेला क्लबको यस्तो सहयोग नाम मात्रैको भएको बताए । क्लब जिम्मेवार नहुनुले नेपाली फुटबलरलाई समेत जीविकोपार्जन गर्न निकै गाह्रो भएको उनको बुझाइ छ ।
फुटबल खेल्दै पैसा कमाउन भनेरै नेपाल आएका विदेशी खेलाडीले हाल उल्टै घरबाट पैसा मगाउनुपरेको छ । उनीहरुले घरबाट पैसा मगाएर दैनिकी चलाइरहेको बताए । आफैं कोठा भाडामा लिएर बसेको फ्लोरेन्टले सात महिनाको कोठा भाडासमेत तिर्न नसकेको सुनाए ।
“भिसाको पैसा तिर्नुपर्छ । खाना खानुपर्छ । अनि कमाइ नभएका बेला कसरी घर पैसा पठाउन सकिन्छ । म घर जान तयार छु । तर, मसँग पैसा छैन, क्लबले पनि दिँदैन । घर पनि कसरी जाने ?” फ्लोरेन्टले प्रश्न गरे, “सुरुमा मेरो ६ महिनाको सम्झौता भएको थियो । सुरुमा तीन महिनाको वर्क भिसा परमिट दियो । त्यस समयमा मैले लिग र बुढासुब्बा खेलें । तर, आहारारा गोल्डकपको फाइनलपछि वर्क परमिट सकियो । त्यसपछि वर्क परमिट थपको विषयमा कुरा गर्दा क्लबले लकडाउन भएकाले सम्झौता सकिएको भन्ने प्रतिक्रिया दियो ।”
उनले थपे, “मैले क्लबलाई फोन गरेर पनि भनेको थिएँ । मेरो ६ महिनाको सम्झौतामा चार महिनाको मात्र पारिश्रमिक आएको छ । दुई महिनाको के हुन्छ भनेर । तर, क्लबले लकडाउन छ सम्झौता सकियो भन्यो । घरबाट फर्किन भनेको छ । तर, पैसा नभएर घर पनि कसरी जाने । हाल म नेपालमा नेपाली क्लबका लागि खेलिरहेको छु । भुटानी क्लबसँग मेरो कुनै सम्झौता छैन । भुटानी क्लबसँग सम्झौता सकिएको वर्षौं भइसकेको छ । तर, भुटानी क्लबले हामीलाई सहयोग गरिरहेको छ ।”
खेलाडीबाटै मैदानमा रंगभेदको पीडा
उनले मौदनमै खेलाडीहरुबाट रंगभेद हुने गरेको सुनाए । दर्शकदीर्घाबाट हुने रंगभेदभन्दा आफ्नै खेलाडीको हुने विभेदले मन दुख्ने फ्लोरेन्टले सुनाए ।
“मैदानमै भएका खेलाडीले समेत काले, हप्सी भनेर जिस्काइरहेका हुन्छन् । तर, हामीले त्यो विषयलाई ठूलो इस्यु बनाएनौं । हामीले त्यसलाई बेवास्ता गर्यौं । किनभने हामी यहाँ फुटबल खेल्न आएका हौं र राम्रो फुटबल खेलेका पनि छौं,” उनले भने, “हप्सी, काले, राम्रो छैन भनेर भन्छन् । हामी यस्तै छौं त के गर्ने ।”
नेपाली फुटबलमा दुई खेल खेलेका टेम्पीले पनि आफू सधैं रंगभेगको सिकार भएको सुनाए । उनले मैदानमा रंगभेदको सिकार हुनु नेपाली फुटबलबाट पाएको सबैभन्दा अपमानजनक विषय भएको बताए । उनले भने, “कालेभन्दा म सहन सक्छु । तर मलाई हप्सीभन्दा धेरै नै चित्त दुख्छ । हप्सीको अर्थ अनर्थ लाग्छ ।”
नेपालमा राम्रो एजेन्ट नहुनुले पनि खेलाडी अनुबन्धको क्रममा खासै परिवर्तन हुन नसको उनको बुझाइ छ । उनले राम्रो एजेन्ट भए नेपाली खेलाडीले पनि राम्रो विदेशी लिग खेल्न सक्ने क्षमता रहेको बताए ।
फ्लोरेन्टले देश राम्रो भए पनि फुटबल संस्कृति भने अझै राम्रो हुन नसकेको गुनासो गरे । उनले नेपाली खेलाडी आफ्नो परिवारसँग घरमै बसेकाले स्वदेशी खेलाडीभन्दा विदेशी खेलाडीलाई ठूलो समस्या भएको बताए । “हाम्रो को छ यहाँ ? सबै थोक क्लब भनेर हामी नेपाल पुगेका थियौं । अब क्लबले नै सहयोग गर्दैन भने अरु कसले गर्छ?,” उनले भने, “एन्फाले एकपटक एक बोरा चामल दियो । त्यसले कति दिनलाई पुग्छ । नेपालमा बस्न मन छ । तर, क्लबले नै माया नगरेपछि हामी कसरी बस्ने यहाँ । क्लबले टिकट काटेर दिन्छ भने हामी घर जान तयार छौं ।”
लकडाउने नेपाली क्लबको अस्तित्व बुझाइदिएको उनले बताए । ६ महिनामा नेपाली क्लबले केलाई माया गर्दो रहेछ भन्ने बुझ्ने अवसर पाएको उनले सुनाए । “नेपालमा राम्रा खेलाडी नभएका भने होइनन् । तर, नेपाली फुटबलको व्यवस्थापन राम्रो छैन । खेलाडी स्वयम् पनि सिरियस छैनन् र नेपाली फुटबल पनि अझै व्यवसायिक हुन सकेको छैन,” उनले भने, “मलाई नेपालसँग कुनै गुनासो छैन । मैले नेपालबाट व्यावसायिक फुटबल खेल्ने अवसर पाए । ९० मिनेट मैदानमा बिताउन पाएँ । मैले पाएको नेपाल मात्र एक त्यस्तो देश जसले फुटबलको बारेमा सोचेको छैन । एन्फा यस कार्यमा अग्रसर होस । मैले विदेशी खेलाडीका लागि भनेर भनेको होइन । राष्ट्रिय टोलीको विकासका लागि भनेको हो ।”
कुनै कुनै क्लबले राम्रो गरिरहेको एजेन्ट तन्डुकार बताउँछन् । तर, कुनै क्लबले लकडाउनले सम्झौता नै सकिएको बताएका छन् । क्लबले सम्झौता सकिएको भन्दै धेरै कुरा दिन नसके पनि घर पठाउने भनेको तर प्लेन टिकेट समेत नदिएको उनले सुनाए ।
“इमिग्रेसनले १५ दिनभित्र फर्किसक्ने मिति तोकेको छ । १५ दिनभित्र फर्किन नसके जरिवाना तिर्नुपर्ने भनेको छ,” तन्डुकारले भने, “एन्फाले पनि खेलाडीलाई फर्काइदिनुस् भनेको छ । तर, सहयोगको कुनै कुरा आएको छैन । एक खेलाडी फर्काउन कम्तिमा पनि तीन लाख खर्च हुन आउँछ । अनि उनीहरु आफैं कसरी जान सक्छन् । अस्तिसम्म दाताहरुबाट मैले खेलाडीलाई खाद्यान्नको व्यवस्था गरेको थिएँ । अब त्यो पनि गाह्रो भइसकेको छ ।”