
काठमाडौं । ज्योति समूह, नेपालको प्रतिष्ठित औद्योगिक घराना । यो घरानाको प्रतिष्ठा उद्योग व्यापारमा मात्र सीमित छैन । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, सार्क चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहलदेखि सामाजिक एवं धार्मिक क्षेत्रमा पनि राम्रो प्रतिष्ठा बनाएको छ । तर, पछिल्ला दिनमा सोही घरानाको पारिवारिक विवाद ‘विस्फोट’ भएको छ । यो विवाद अब अदालतसम्म पुग्दै छ ।
मणिहर्ष ज्योतिले ८० वर्षअगाडि स्थापना गरेको प्रतिष्ठित समूहमा किन पस्यो विवाद ? विवादको जड के हो ? मणिहर्षका पाँच छोराछोरीमध्ये जेठा पद्म ज्योति, कान्छा हुन् रुप ज्योति । तीन छोरीमध्ये दुईजनाको विवाह भइसकेको छ भने एक कमला कंशाकार हुन्, जुन अविवाहित छन् । अहिले मिडियामा प्रेस विज्ञप्तिदेखि प्रहरी र अदालतसम्म पुगेको विवाद यी तीनजना बीचको हो ।
०००
ज्योति समूहको उदय :
ज्योति समूह एक व्यापारिक घराना थियो । यो समूहको उदय हुनुमा भाजुरत्नको व्यापारतर्फको लगाव नै हो । भाजुरत्न मणिहर्षका पिता अर्थात् पद्म ज्योति र रुप ज्योतिका हजुरबुबा हुन् । भाजुरत्नको समयमा उनको सम्पत्तिमा आगो लागेपछि ऋण परेर उनी छोरा मणिहर्षलाई सँगै लिएर भारतको कलकत्ता पुगेका थिए । त्यहीँबाट उनले व्यापार सुरु गरे । सोही समयमा कलकत्तामा मणिहर्षले ‘धमान साहू’ को घरमा भान्सेको काम पाए । त्यसपछि उनले विस्तारै कलकत्ताबाट तिब्बतमा कारोबार सुरु गर्न थाले ।
तिब्बतसम्म सामान लिएर जान ३–४ सातासम्म हिड्नु पर्दथ्यो । बाटोमा चोर, डाँकाका भय । कलकत्ताबाट लैजाने वस्तुमा धेरै नाफा हुने भएकाले चोरी, डाँकाको जोखिम मोलेरै तिब्बतमा कारोबार गर्न मान्छेहरु जाने गर्थे । कलकत्ताबाट कपडा, घडी, ऊनीको कपडा, हर्लिक्सलगायत सामान कालिङपोङ हुँदै तिब्बत पठाउँथे । एकपटक तिब्बत पुगिसकेपछि ३–४ वर्षसम्म उतै बस्थे ।
उताबाट फर्कने क्रममा पनि सामान नै ल्याउने गर्थे । विशेषगरी ल्हासाको सुन, कस्तूरी, चाँदी (धायाँ), कार्पेट ल्याउँथे । व्यापारकै सिलसिलामा मणिहर्ष कलकत्तामा बस्ने गरे पनि कालिङपोङमा पनि व्यापार सुरु गरे । अहिले पनि त्यहाँ उनीहरुको जग्गा छ । कलकत्ता बसाइकै क्रममा भारतका विभिन्न ठाउँमा खानीमा लगानी गर्न थाले । ती खानी भारतमै बिक्री भए भारतमै गर्ने र नभएको निर्यात गर्न थाले । युरोप र जापानमा पनि निर्यात गरे ।
युरोप, जापानलगायतका देशमा सामान पठाउन थालेपछि क्लियरिङ एजेन्सी (सिपिङ) मा पनि मणिहर्षले हात हाले ।
कलकत्तामा व्यापार व्यवसाय गर्दा धेरै कामदार नेपालबाटै लैजाने र अंग्रजी जान्ने मद्रासका केही भारतीयलाई मात्रै राख्ने गर्थे । दुईजना स्थानीयबाहेक अरु हिसाब–किताब राख्नेलगायत कर्मचारी नेपाली थिए । दिनभरि गद्दीमा बसेर कारोबार गर्ने राति त्यही गद्दीमा तन्ना राखेर सुत्ने गर्थे ।
नेपालबाट भारत जाने नेपालीहरु कलकत्तामा उनलाई भेट्थे । त्यसरी त्यहाँ जानेहरुमा भिक्षुदेखि सरकारी कर्मचारी हुँदै राजनीतिक व्यक्तिहरु थिए । बीपी कोइरालालगायत राजनीतिज्ञहरुसँग मणिहर्षको सम्बन्ध भयो । कलकत्ता बस्दाबस्दै महात्मा गान्धीको चेला पनि बने मणिहर्ष ।
२००७ सालमा बीपी कोइरालाले नै उनलाई देशमै आएर व्यापार व्यवसाय गर्न भने । बुबा भाजुरत्नसँगै मणिहर्ष पनि नेपाल फर्किए, भएको ऋण तिरेर, यहाँ पनि व्यापार सुरु गरे ।
०००
मणिहर्ष नेपाल आउँदा तीनवटा व्यापारको काम पनि सँगै ल्याए । ट्रेडिङतर्फ ट्याक्टर, अक्सिजन र पम्प सेट बिक्री गर्ने काम सुरु गरे भने उद्योगमा फलामे डन्डी । यी कारोबारबाटै नेपालमा ज्योति ग्रुपले व्यवसाय सुरु गर्यो । भारतमा हुँदा जापानमा आइरन बेच्ने गरेकाले जापानीसँगको सम्पर्कका कारण उनलाई जापानको ओकोरा ट्रेडिङ कम्पनीले नेपालमा फलामको रोलिङ मिल राख्न सल्लाह दिए । त्यही सल्लाहअनुसार नेपालमा पनि लगानी गरे ।
रोलिङ मिल जडान गर्ने क्रममा जापानबाट आएका एक इन्जिनियरले नेपालमा मोटरसाइकल छैन, मोटरसाइकलको व्यापार सुरु गर्न सुझाए । उनले सुझाव मात्रै दिएनन्, आफ्नो ज्वाइँ होन्डा कम्पनीमा काम गर्ने भएकाले उनीमार्फत मणिहर्षको सम्बन्ध पनि होन्डासँग स्थापित गराइदिए । उनकै माध्यमबाट ज्योति ग्रुपले यो करिब सन् १९६६–६७ तिर होन्डा कम्पनीको उत्पादन मोटरसाइकल नेपालमा आयात गर्न सुरु गर्यो ।
०००
मणिहर्षका दुई छोरा पद्य ज्योति र रुप ज्योति कलकत्तामै हुर्किए, पढे । पद्य ज्योति भाइ रुप ज्योतिभन्दा करिब १८ महिना जेठा छन् भने पढाइमा भाइभन्दा एक ब्याच सिनियर । पद्मले सन् १९६४ मा कानपुरमा र रुपले सन् १९६५ मा बम्बईबाट कलेजको शिक्षा सिध्याए । पढाइ सकाएपछि सन् १९६९–७० मा दुवै नेपाल फर्किए ।
दुई छोरा पनि नेपाल फर्किए पछि बुबा मणिहर्षले ठूलो छोरा पद्म ज्योतिलाई रोलिङ मिलको जिम्मा दिए भने कान्छो रुप ज्योतिलाई ट्रेडिङ (ट्याक्टर, मोटरसाइकल) को जिम्मा दिए । बुबाको मार्गनिर्देशनमा उनीहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्दै अगाडि बढे । हिमाल आइरनसँगै पद्म ज्योतिले ढलौट कारखानाको पनि काम सुरु गरे । आर्ट फर्नेक्स भने राम्रो हुन सकेन । अक्सिजन कारखानाको काम पनि पद्म ज्योतिले नै हेरे ।
मणिहर्षले हिमाल सिमेन्टको नामबाट सिमेन्टमा पनि लगानी गरे । त्यसलाई पछि सरकारले राष्ट्रियकरण गरिदियो । ज्योति स्पिनिङलाई रुप ज्योतिले सुरु गरे । सरकारले लाइसेन्स दिँदा नै पब्लिकलाई पनि सेयर दिनुपर्ने सर्तसहित लाइसेन्स दियो । उक्त कम्पनीमा ६ हजार नेपाली सेयरहोल्डर थिए । ज्योति ग्रुपले ४९ प्रतिशतभन्दा बढी सेयर राख्न नपाउने भनेकाले ज्योति ग्रुपको ४९ प्रतिशत सेयर थियो । नेपाली बैंकहरुले लगानी गर्ने आँट नगरेपछि एसियाली विकास बैंकको निजी क्षेत्र विभागबाट ऋण र इक्विटी दुवै लिएर काम सुरु गरेको रुप ज्योति बताउँछन् ।
०००
छोराछोरीको विवाह, अंशबन्डा र मृत्यु
मणिहर्षले दुई छोराका विवाह एकैदिन अर्थात् सन् १९७२ मा गरिदिए । त्यसको एक साताभित्रै जेठी छोरीको पनि विवाह गरिदिए । विवाह गरेको कही समयपछि नै अंशबन्डा पनि गरिदिए । अंशबन्डा गराउँदा पनि अचल सम्पत्तिको अंशबन्डा गराइदिए तर कारोबार, नाफा भने सगोलमा हुने भनिदिए । अंशबन्डा गर्दा तीन भाग लगाए । एक–एक भाग दुई छोरालाई र एक भाग आफूलाई राखे । तर, लगानी रहेको कम्पनीहरुमा सेयर भने तीन भाग नै रहने भयो । अर्थात् जुनजुन कम्पनीमा लगानी छ, ती सबैमा मणिहर्ष, पद्म र रुपको एक–एक भाग अर्थात् ३३–३३ प्रतिशत हुने भयो । सबै कम्पनीमा तीनजना डाइरेक्टर । अंश आ–आफ्नो तर काम सगोल ।
मणिहर्षको १९९३ जनवरीमा निधन भयो ।
शेषपछि मणिहर्षको सम्पत्ति र सेयर उनकी श्रीमती (केशरलक्ष्मी) मा गयो । दुई वर्षअगाडि (पद्म, रुपको) आमाको निधनपछि उनको नाममा रहेको सम्पत्ति एवं सेयर एकजना अविवाहित छोरी कमला कंशाकारको नाममा गयो । मणिहर्जका तीन छोरीमध्ये कमला अविवाहित छन् । अहिले पद्म, रुप र कमलामा सम्पत्ति र सेयर हिस्सा छ । ग्रुपअन्तर्गतकासबै कम्पनीका तीनैजना बराबर सेयरहोल्डर छन् ।
काठमाडौंमा ज्योति परिवारको मुख्य अचल सम्पत्ति कान्तिपथमा रहेको ज्योति भवन र जमलमा रहेको घरसहितको जग्गा छ ।
९ रोपनीमा फैलिएको ज्योति भवनको जग्गा र भवन दुई भाग लगाइदिए भने जमलमा रहेको करिब ४ रोपनी जग्गा र त्यसभित्र बनेको घर अहिले बहिनीको नाममा छ । यी तीनैजना उक्त जग्गामा बनेको छुट्टाछुट्टै घरमा बस्दै आएका छन् । यस्तै परवानीपुरमा रहेको २७ बिगाहा जग्गा तीनजनाको नाममा समान ९–९ बिघा छ । अरु बाँकी सबै जग्गा कम्पनीकै नाममा ।
०००
विवादको बीजारोपण
ज्योति परिवारभित्र विवादको बीजारोपण हिरो र होन्डा टुक्रिएपछि भएको हो । सुरुमा हिरो–होन्डाको कारोबार रुप ज्योतिले हेर्दै आएका थिए । जब भारतमा पनि दाजुभाइको झगडाले हिरो र होन्डा दुईवटा कम्पनी बन्यो, त्यसको असर ज्योति परिवारमा पनि देखियो । उक्त कम्पनीले एउटै परिवारलाई दुईवटा कम्पनीको डिलर नपाउने भन्यो । त्यसपछि रुप ज्योतिले हिरो मोटरसाइकल आफ्ना छोराले र होन्डा दाइ पद्म ज्योतिका छोराले हेर्ने भनेर बाँडिएको बताए ।
आफ्ना बाबुले अचल सम्पत्तिको अशंबन्डा गराइदिँदा नै कारोबार सगोलमा हुने भनेकाले पनि आफूले होन्डा दाइलाई र हिरो आफूसँग राखेको बताए । हिरो र होन्डा छुट्टिएपछि पनि करिब ५ वर्षसम्म दुवै कम्पनीको कारोबार राम्रै हुँदै गयो । तर, त्यसपछि हिरो मोटरसाइकलमा सामान्य कमी–कमजोरी देखिँदा त्यसको कारोबार खस्किँदै गयो भने त्यसको पनि मार्केट होन्डाले लिन थाल्यो ।
जहाँ–जहाँ शोरुम छन्, होन्डा र हिरोको सँगसँगै छन् । हिरोको गुमेको बजार होन्डाले पाए पनि सगोलको भएकाले केही फरक नपर्ने भन्दै आएको तर दाइ पद्म ज्योतिको परिवारले होन्डाको कारोबार राम्रो हुँदै गएपछि सगोलको मान्न नचाहेकाले विवाद उत्पन्न भएको रुप ज्योति बताउँछन् ।
ज्योति समूहभित्रको पारिवारिक विवाद यहींबाट सुरु भयो ।
‘आमा बित्नुअगाडि खोइ मेरो सेयर भन्नुहुन्थ्यो’
पद्म ज्योतिले होन्डाको सेयर आमालाई पनि नदिएको आरोप रुप ज्योतिको छ । “अस्पतालको आईसीयूबाट निस्कँदा पनि आमाले मेरो सेयर खोई भन्नुहुन्थ्यो । उहाँ बित्नुभन्दा ६ महिनाअगाडि पनि । दाइले दिन्छु किन चिन्ता गर्नुहुन्छ भन्नुभयो, तर दिनुभएन । जब आमा बित्नुभयो, त्यसपछि झन् सेयरको कुरै हरायो । नाफा दिइरहेका बेलामा आमा गएपछि नाफा दिन पनि छाड्नुभयो,”उनले भने ।
आमा हुँदासम्म नाफा दिने, त्यसपछि नदिने यो त भएन भनेर बैनी रिसाएको र आफ्नो पनि चित्त दुखेको उनले बताए ।
“दाइबाट दिन्छु–दिन्छु भन्दै अल्मलाउने काम मात्रै भयो, पाइएन,” उनले भने । कमाइ बढ्दै गएपछि पद्म ज्योतिको परिवारले सगोलमा काम गर्न नचाहने पारिवारिक विवाद बढ्दै गएको रुप ज्योतिको दाबी छ । “सगोलमा भए पनि जिम्मा लिएको भनेर दाईको परिवारले हाम्रो भन्ने थालेपछि मनमुटाव सुरु भयो,” उनले भने ।
दुई दशकपछि अध्यक्ष फेरिए
दाइ पद्म ज्योतिको परिवारले सम्पत्तिहरु पनि अनधिकृत रुपले यताउता गरेको आरोप भाइ रुप ज्योतिको छ । “ग्रुपको अध्यक्ष भएको भन्दै गैरकानुनी रुपले सम्पत्ति टिप्न थाल्नुभयो । आफ्नो कब्जामा लिन थालियो । ट्याक्टरको कारोबार बुबादेखि सुरु गरेको अहिले छुट्टै कम्पनी बनाएर त्यहाँ लगियो । भएका सबै ट्याक्टरको पनि नामसारी गरिदिइयो । एक पैसा कम्पनीमा हालेको छैन । त्यसले बैनीलाई पनि र मलाई पनि चित्त दुख्यो ।”
समूहको अध्यक्ष भएकैले सम्पत्ति यताउता गर्न थालेको चाल पाएपछि अध्यक्ष परिवर्तन गर्न थालेको उनले बताए ।
“तर, अध्यक्ष म हुँदासम्म त धेरैजसो नामसारी गरिसक्नुभएको रहेछ,” उनले भने, “परवानीपुरको पाँच बिगाहा, परवानीपुर जाने मूल बाटोमा रहेको ११ कट्ठा । भैरहवाको सबै जग्गा र भाजुरत्नको जमिन पनि गयो ।”
“दाइको व्यवहारका कारण बैनीले साथ नदिएको भए त सबैको ३३ प्रतिशत हुन्थ्यो, कसैको कन्ट्रोलमा हुँदैनथ्यो । दाइले धेरै अन्याय गर्नुभयो, तपाईंलाई साथ दिन्छु भनेपछि हामी दुईतिहाइ भयौं । त्यसैले ग्रुपको अध्यक्ष म भएको हुँ,” उनले भने ।
लिखत बदर गर्न अदालत जाने
दाइ पद्म ज्योतिले परवानीपुर, पर्याय जाने बाटो, भैरहवा, वीरगन्जको सम्पत्ति तेस्रो व्यक्तिको नाममा राखिदिएको आरोप भाइ रुप ज्योतिको छ । पद्म ज्योतिका छोराको साथी जुलु गुरुङको नाममा सम्पत्ति नामसारी गरिदिएको आरोप उनको छ । परवानीपुर, भैरहवा, वीरगन्जको सबै सम्पत्ति जुलुको नाममा नामसारी गरिदिएको उनले बताए । “त्यो पनि गैरकानुनी तरिकाले,” उनले बाह्रखरीसँग कुरा गर्दै भने ।
उहाँले पछि लिन्छु भनेर मिलेमतोमा तेस्रो व्यक्तिको नाममा सम्पत्ति राखिदिनुभएको छ । कानुनी रुपमा लिखत बदर नगरेसम्म त्यो सम्पत्ति फिर्ता नै हुँदैन । त्यसैले अदालतमा जानैपर्छ । अदालतमा मै जान्छु । अदालत नगएसम्म त त्यो सम्पत्ति गयो त ।”
तेस्रो व्यक्तिको नाममा सम्पत्ति दर्ता गराउनु दाइको मूर्खतापूर्ण काम भएको उनको टिप्पणी छ ।
“आफ्नो नाममा गरेको भए पनि कम्पनीको सेयर हामीलाई पनि आउँथ्यो । तेस्रो व्यक्तिको नाममा गरेपछि के गर्ने ?,” उनले भने । दाइविरुद्ध अदालत जान मन नभए पनि बाध्य पारिएको उनले बताए । अब कानुनी प्रक्रियामा नगएसम्म दाइले चाहेर पनि सम्पत्ति फिर्ता गर्न नसक्ने उनको बुझाइ छ । “उहाँका छोराहरु फिर्ता गर्ने पक्षमा भएको पनि देखेका छैनौं । अब कानुनी रुपमा उपचार खोज्छौं,” उनले भने ।
विवाद अंशबन्डाको होइन, नाफाको
ज्योति समूहको बाहिर आएको विवाद अंशबन्डाको होइन । विवाद बढ्नुको कारण भनेको बढी नाफा गर्ने कम्पनीलाई सगोलमा राख्न नचाहनु नै भएको रुप ज्योतिको दाबी छ ।
त्यसको प्रमुख कारण भनेको होन्डा हो । “हाम्रा अरु कम्पनीहरुको भन्दा राम्रो व्यापार होन्डाको हुने गरेको छ, नामकै भरमा चल्ने भनेको होन्डा हो । तर, त्यसबाट हामीलाई केही पनि दिन नचाहेपछि हिसाबकिताब त हुनुप¥यो नि । बैनी र मेरो त्यही गुनासो हो । होन्डाको कारोबार त सगोलमा राख्दैनौं भन्नुभयो । योसँगै अरु विभिन्न सम्पत्ति पनि लैजान थालेपछि विवाद बढ्यो,” उनले भने ।
ज्योति समूहबाट रुप ज्योतिले साउन १२ गते दाइविरुद्ध कानुनी उपचार खोज्नुको कारणबारे सार्वजनिक रुपमा जानकारी गराएको विवरण यस्तो छ–
ज्योति समूहका पूर्वअध्यक्ष श्री पद्म ज्योतिज्यूलाई ज्योति समूहको अध्यक्षबाट विस्थापित गर्नुपरेको र निज तथा निजको छोराहरुविरुद्ध कानुनी उपचार खोज्नु पर्नाको कारणहरु निम्नानुसार रहेको छ ।
(क) परवानीपुर गेस्ट हाउस तथा ५ बिगाहा जमिन बिक्री
परवानीपुर कारखाना स्थलमा भएको स्व. मणिहर्ष ज्योतिज्यूले आफैं प्रयोग गरी आएको ज्योति परिवारको कुल घरजस्तै भएको परवानीपुर गेस्ट हाउस तथा मूल सडकमा जोडिएका ३०र४० वटा पसल र त्यहाँ भएको ठूलो गोदाम, माछा पोखरीसमेत भएको ५ बिघा (करिब ८५ रोपनी) जमिन आफूखुसी कुनै रकम नलिई आफ्नो मान्छेलाई नामसारी बिक्री गरिदिएको ।
(ख) भाजुरत्नको घरजग्गारसम्पत्ति बिक्री
(१) भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स लि.को पहिचानका रुपमा रहेको आदर्शनगर वीरगन्जमा भएको भाजुरत्न इन्जिनियरिङको स्थापनाकालदेखिको मूल अफिस घर तथा सोले चर्चेको जग्गा जमिन कुनै रकम कम्पनीमा दाखिला नगराई आफूखुसी आफ्नो मान्छेलाई बिक्री नामसारी गरिदिएको ।
(२) वीरगन्जबाट कलैया जाने बाइपासमा भएको मूल्यवान् ११ कट्टा जग्गा पनि कम्पनीमा त्यस्तै कुनै रकम जम्मा नगरी बिक्री गरेको ।
(ग) म्यास्सी फर्गुसन ट्रयाक्टरको व्यवसाय
भाजुरत्न इन्जिनियरिङको मूल कारोबारका रुपमा रहेको ट्रयाक्टर कारोबार सुहृद ज्योति र सौरभ ज्योतिको नाउँमा भाजुरत्न ट्रेडिङ प्रालि नामको अर्को कम्पनी खडा गरी सुनियोजित तरिकाले महिनौंअगाडि सो कम्पनीमा सारेको । यसले गर्दा २०(२५ प्रतिशत कारोबार मात्र भाजुरत्न इन्जिनियरिङमा बाँकी रहेको ।
(घ) फिलिप्स लाइटको कारोबार आफ्नो नयाँ कम्पनीमा सारेको
भाजुरत्न इन्जिनियरिङले गर्ने विभिन्न कारोबारमध्येको अर्को कारोबार फिलिप्स लाइट पनि आफ्नो स्वामित्वको कम्पनी भाजुरत्न ट्रेडिङमा सारेको ।
(ङ) कम्पनीको सफ्टवयेर कब्जा तथा धेरै ट्रयाक्टर र अन्य सामान आफ्नो कम्पनीमा सारेको
लकडाउनको अवसर छोपी सुहृद ज्योतिसहितका व्यक्ति मिलेर कम्पनीको कम्प्युटर सफ्टवयेर आफ्नो नियन्त्रणमा लिई काठमाडौंबाटै भाजुरत्न ट्रेडिङ प्रालिलाई भाजुरत्न इन्जिनियरिङको नाममा रहेको २०,००,००,००० (बीस करोड) भन्दा बढी मूल्यको ७७ वटा ट्रयाक्टरसमेत स्पेयर्स पार्टस् इम्प्लिमेन्ट, फिलिप्स लाइटका सामानहरु करिब १३,००,००,००० (तेह्र करोड) परल मोलभन्दा कम मूल्यमा बिक्री गरेको तर सो मालसामानको एक रुपैयाँ पनि भुक्तानी नगरेको ।
(च) भाजुरत्न इन्जिनियरिङका कर्मचारीहरु आफ्नो नयाँ कम्पनीमा सारेको
भाजुरत्न इन्जिनियरिङअन्तर्गत ट्रयाक्टर तथा फिलिप्स लाइट कारोबार सञ्चालन गर्ने एग्री सेल्स डिभिजन, लाइट डिभिजन, हेड अफिस तथा लेखा शाखाका कर्मचारीहरुलाई, दबाब दिई आफ्नो नयाँ कम्पनीमा सारेको ।
(छ) भाजुरत्न इन्जिनियरिङको अन्य स्थानको घरजग्गा बिक्री
भाजुरत्न इन्जिनियरिङको शाखाहरु रहेको स्थान (जस्तो– भैरहवा, बुटवल आदि) को घरजग्गाहरु समेत कम्पनीमा रकम नै जम्मा नगरी बिक्री गरेको हुन सक्ने भन्ने अपुष्ट जानकारी प्राप्त भएको तर जाँचबुझ गरी एकिन गर्न बाँकी रहेको ।
(ज) २ करोड सारेको
हिमाल आयरन एन्ड स्टिल प्रालि, परवानीपुरमा भ्याटरअन्तशुल्क तिर्न र भन्सारबाट बिलेट छुटाउन राखिएको परवानीपुर फाइनान्स डिभिजनमा भएको २ करोड रुपैयाँ हिमाल आइरनलाई आर्थिक संकट पर्ने भए पनि आफ्नो कम्पनी एसटीसीमा सारेर लगेको ।
उपरोक्त क्रियाकलापहरुबाट सिर्जित समस्याहरु
(१) परवनीपुर गेस्ट हाउस बिक्री
रु. ८०–९० करोडबराबर मूल्य भएको यो जग्गा बिक्रीमा रु. २४ करोडको थैली कायम गरी नामसारी गरेकामा कम्पनीमा सो बिक्रीको एक रुपैया पनि दाखिला नभए पनि सो लेनदेनबाट ७ करोड २० लाखको २०७७ असार मसान्तभित्रै तिर्नुपर्ने आयकर तथा लाभांश कर आकर्षित भएको ।
(२) भा.ई.को सम्पत्ति बिक्री
आदर्शनगर तथा बाइपासको रु.५०–६० करोड बजार मूल्य भएको घरजग्गाको रु. १३ करोड थैली कायम गरी बिक्री गरेकामा पनि ०७७ आषाढ मसान्तभित्रै तिर्नु पर्ने रु. ४ करोड करको भार परेको ।
(३) ट्याक्टर तथा फिलिप्स लाइट बिक्री
(क) रु.२० करोड बजार मूल्य भएको सामानलाई रु. १३ करोड मूल्य राखी बिजक जारी गरेकोमा रु. १ करोड ७० लाख तत्काल तिर्नु पर्ने मु.अ.कर आकर्षित भएको ।
(ख) परल मूल्यभन्दा कममा सोही नाम भएको आफ्नो अर्को कम्पनीलाई बिक्री गरेकोमा कर प्रशासनबाट शतप्रतिशत जरिवाना आकर्षित भएको ।
(ग) अर्को कम्पनीमा सारेको र बिक्री गरेको सो ट्रयाक्टरहरु बैंक कर्जाअन्तर्गत झिकाइएकामा सो कर्जा भुक्तानी गर्न कम्पनीमा कुनै रकम प्राप्त नभएको । सो कर्जा १र२ महिनाभित्रै भुक्तानी गर्नुपर्ने अवस्था रहेको ।
(४) कर्मचारी सारेको–
यसरी सबै कर्मचारी सारेपछि किसानहरु तथा अन्य ग्राहकलाई विगत २ वर्षमा गरेको बिक्री बापतको करिब रु. ५३ करोडको उधारो उठाउन बाँकी भाजुरत्न इन्जिनियरिङको जिम्मामा रहेको छ । सो उठाउनलाई कर्मचारी नभएको । जो–जो कर्मचारी सो काममा संलग्न थिए, ती सबैलाई नयाँ कम्पनीमा सारिसकेको । यसले गर्दा कम्पनी गम्भीर आर्थिक संकटमा पर्न जाने देखिएको ।
समस्याको शृंखलाको सुरुवात–
ज्योति समूहको संयुक्त स्वामित्वमा सञ्चालित स्याकार कम्पनीमा रहेको होन्डा तथा हिरोको कारोबार छुट्याउने क्रममा सो दुवै कारोबार पनि ज्योति समूहको अन्य कारोबार जस्तै संयुक्त स्वामित्व अर्थात् पद्म ज्योति, रुप ज्योति र कमला कंशाकार (केशरी लक्ष्मी कंशाकाकारको हक हिस्सा शे.व.बाट हस्तान्तरण भई आएको) गरी ३ जनाको स्वामित्वमा हुनु पर्नेमा पद्म ज्योतिले आफूले हिरो कारोबारको जिम्मेवारी पनि लिन नचाहेको र होन्डा कारोबारको सेयर तथा डिभिडेन्ड पनि दिन नचाहेको ।
ज्योति परिवारभित्रको विवाद समाधान गर्न आफन्तले मध्यस्थता नगरेका पनि होइनन् । तर, उनीहरु पनि सफल भएनन् । “हाम्रा आफन्तले पनि धेरै प्रयास गरे तर सकेनन् । अब अदालत नै हाम्रो बाटो,”रुप ज्योतिले भने । ज्योति समूहअन्तर्गत विभिन्न १८ वटा कम्पनी छन् । त्यसमा मोटरसाइकल, कार बिक्री कम्पनीदेखि स्टिल उद्योग, अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग, बैंक, इन्स्योरेन्स, औषधि उद्योग, अस्पताल हुँदै ट्राभल एजेन्सीसम्म छन् ।