site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडपर्व नजिकिँदा पनि बढ्न सकेन आर्थिक गतिविधि

काठमाडौं । मुख्य व्यवसाय गर्ने बेलामा पनि कर्जा लगानी हुन नसक्दा बैंकहरु चिन्तित बनेका छन् । विगतको वर्षमा हेर्ने हो भने आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंकहरुले कुल व्यवसायको ३०-४० प्रतिशत व्यवसाय गर्ने गरेका थिए । तर चालु आर्थिक वर्षको पहिलो त्रैमासको दुई महिना बितिसक्दा पनि बैंकहरुको लगानी असार मसान्तको भन्दा बढ्न सकेको छैन ।
 
आर्थिक वर्षको पहिलो त्रैमासमा र कात्तिक महिनामा नै दसैं-तिहार र छठजस्ता हिन्दु धर्मावलम्बीको ठूलो पर्व पर्ने गर्छन् । यो समयमा सबैभन्दा बढी व्यापार व्यवसायसमेत हुने गरेको थियो । जसका लागि उद्योगी व्यवसायीले सोहीअनुसार उत्पादन बढाउने तथा सामग्री आयात गर्ने गरेका थिए । उत्पादन बढाउन कच्चा पदार्थ आयत गर्ने तथा अन्य तयारी वस्तु आयत गर्न व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट एलसी (प्रतितपत्र) खोल्ने तथा व्यापार गर्न ठूलो मात्रामा कर्जाको माग गर्ने गर्थे । तर चालु आर्थिक वर्षमा भने फरक अवस्था सिर्जना भएको छ । आयात गत वर्षको तुलनमा न्युन छ भने व्यापार व्यवसाय पनि उत्साहप्रद हुन नसक्दा बैंकहरुमा कर्जाको माग शून्य छ । 

यो वर्षको चाडपर्व बैंकर र व्यवसायी दुवैको लागि शून्य हुने अवस्था आएको छ । दसैं आउन लगभग एक महिना मात्र बाँकी हुँदासमेत कर्जाको माग नबढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । “कोरोनाले गर्दा व्यापार व्यवसाय ठप्प छ भने, लामो समयको लगडाउनले गर्दा व्यवसायीमा पनि अन्योल देखिएको छ,” बैंकर्स संघका अध्यक्ष दाहालले भने, “अहिले असार साउनको भन्दा प्रतितपत्रको कारोबार केही बढे पनि विगतको वर्षको तुलनामा धेरै कम छ ।” काठमाडौं  उपत्यकालगायत ठूला सहरहरुको निषेधाज्ञा विस्तारै हट्दै गएकाले अब आर्थिक गतिविधि सुरु भएर कर्जाको माग बढ्ने विश्वास उनले व्यक्त गरे । 

विगतका वर्षमा असारको भन्दा साउनमा सामान्य कर्जा विस्तार हुने र भदौ असोज तथा कात्तिकमा ठूलो मात्रामा कर्जाको माग आउने गरेकोमा चालु आर्थिक वर्षमा भने भदौ अन्तिममा आउँदा पनि असारको तुलनमा कर्जा बढ्न नसकेको दाहालले बताए । अहिले बैंकहरुले सस्तो ब्याजदर सार्वजनिक गरिरहेको भए पनि यसले कर्जाको माग भने सिर्जना गर्न नसकेको उनले बताए । “बैंकहरुबीचको ब्याजदरको प्रतिस्पर्धाले नयाँ कर्जाको माग सिर्जना भएको छैन, सस्तो ब्याजदरले ग्राहक तानातानको अवस्था मात्रै छ,” दाहालले भने । 

यस वर्षको दसैंमा खासै आर्थिक गतिविधि हुने अवस्था नदेखिएको अध्यक्ष दाहालले बताए । यो वर्ष सबैको दसैं 'गरिब दसैं'जस्तो हुने देखिएको दाहालको भनाइ छ । सामान्यत: हुने खानेले दसैंमा धेरै खर्च गर्ने तथा सोहीअनुसारको कपडा र अन्य वस्तु किन्‍ने चलन छ । तर व्यवसायीहरुले नै दसैंलक्षित गर्दै आयातका लागि प्रतितपत्र नखुलेको हुँदा यो वर्ष सबैका लागि दसैं सामान्य हुने अवस्था आएको छ । 

नेपालमा कर्पोरेट कर्जा प्रवाह गर्ने र ठूलो मात्रामा एलसीको कारोबार गर्ने दुई ठूला बैंक नबिल र नेपाल इन्भेष्टमेन्ट बैंक पनि यो वर्ष एलसीको माग विगतको तुलनामा न्यून रहेको बताउँछन् । बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह व्यापार व्यवसायमा जुन लहर देखिनुपर्ने हो त्यो नदेखिएको बताउँछन् । 

“दसैं भनेको नेपालीको सबैभन्दा ठूलो चाड हो, यो बेलामा उपभोग्य वस्तु तथा अन्य प्रयोगका सामग्रीहरुको आयात तथा व्यापार व्यवसायमा जुन प्रकारको लहर आनुपर्ने हो त्यो देखिएको छैन,” शाहले भने, “हाम्रो अपेक्षा निषेधाज्ञा खुलेपछि केही माग बढ्छ कि भन्‍ने हो तर अहिसेसम्म बढेको छैन । विगतको वर्षमा अहिलेसम्म भइसक्नुपर्ने व्यवसाय अहिले भएको छैन ।”

अहिले मुख्य रुपमा प्रतितपत्रको कारोबार हुने समय भए पनि खासै कारोबार नबढेको शाहले बताए । जेठ-असारको लकडाउनको तुलनामा एलसी खोल्ने क्रम बढे पनि दसैं-तिहारका लागि जुन प्रकारले विगतमा बढ्ने गरेको थियो त्यसरी भने नबढेको उनले बताए । 

नेपाल इन्भेष्टमेन्ट बैंकका डीजीएम विजेन्द्र सुवाल पनि यो वर्ष आयातका लागि एलसी कम मात्रै खुलेको बताउँछन् । “गत वर्षको यही समयको भन्दा एलसीको कारोबार ६० प्रतिशतभन्दा बढीले घटेको छ,” उनले भने, “एलसी खुल्दै नखुलेको भन्‍ने होइन तर विगतका वर्षमा यो समयमा जुन प्रकारले व्यवसाय हुन्थ्यो त्यसमा ठूलो मात्र कमी आएको छ ।” व्यापार हुने मुख्य समयमै व्यापार नहुँदा बैंकर र व्यवसायी दुवै चिन्तित हुने अवस्था देखिएको छ । 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी पनि असार र साउनभन्दा केही व्यवसाय बढे पनि यो बेला जुन प्रकारले व्यवसाय हुनपर्ने हो त्यो नदेखिएको बताउँछन् । “अहिले खासै नयाँ कर्जाको माग छैन, सबै बैंकलाई व्यापार व्यवसाय बढाउने चुनौती छ,” उनले भने, “यस्तो अवस्थामा बैंकले ग्राहक लक्षित सस्तो दरमा कर्जा अफर ल्याए पनि त्यसले कर्जाको माग भने बढाउने सकेको छैन तर बैंकहरुमा एउटाको कर्जा घट्ने र अर्कोको बढ्ने अवस्था भने देखिएको छ ।” 

भन्सार विभागको तथ्याङ्‍क हेर्ने हो भने पनि चालु आर्थिक वर्षको साउन र भदौमा भएको आयातमा खासै ठूलो अन्तर रहेको देखिँदैन । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनाको कुल आयात ८५ अर्ब ८१ करोड रहेको छ । भदौमा केही आयात बढ्ने हो भने पनि एक खर्बभन्दा बढी आयात हुने अवस्था देखिँदैन । 

गत आर्थिक वर्षको दुई महिनामा नै दुई खर्ब ३० अर्बको आयात भएको थियो । गत वर्षको भन्दा चालु आर्थिक वर्षको दुई महिनाको आयात नै ५० अर्ब भन्दा बढी घट्ने अवस्था रहेको देखिन्छ ।
साउन १ देखि भदौ २७ सम्मको आयातको तथ्यांक (स्रोत : भन्सार विभाग)

 

 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा वाणिज्य बैंकहरुको मात्रै ६३ अर्बले कर्जा लगानी बढेको छ । 

तर चालु आर्थिक वर्षको सोही अवधिमा असार मसान्तमा कायम कर्जाभन्दा २-४ अर्ब भन्दा बढी कर्जा लगानी बढ्ने अवस्था नरहेको बैंकरहरु बताउँछन् ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro