site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मदिरा आयात प्रतिबन्ध : चाडपर्वको मुखमै तस्करीको डर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउने धेरै उद्योगी व्यवसायी घरबाट बाहिरै निस्कन नसक्ने अवस्थामा सरकारको निर्णयले निश्चित आयातकर्तालाई भने फाइदा पुगेको छ । त्यसमध्ये एक हो, विदेशी मदिरा आयात गर्दै आएको विशाल ग्रुप अन्तर्गतको ग्लोबल ट्रेडिङ ।  ग्लोबल ट्रेडिङले सरकारले आयातमा प्रतिबन्ध लगाउनुभन्दा केही दिनअघि मात्रै दर्जनौं कन्टेनर मदिरा आयात गरेको र त्यसलगत्तै अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएको आरोप अन्य आयातकर्ताको छ । 

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँगको सम्बन्धका कारण ग्लोबल ट्रेडिङले पहिले नै विदेशी मदिरा आयात गरेर निर्णय गराएको आरोप लाग्दै आएको छ । अन्य व्यापारीका अनुसार ग्लोबल ट्रेडिङले दसैंसम्म पुग्नेगरी स्टक राखेको छ । ती व्यापारीका अनुसार अहिले बजारमा ग्लोबल ट्रेडिङले ल्याएको बाहेक विदेशी मदिरा पाइँदैन । 

“चाडपर्वका बेलामा सिन्डिकेट गरियो,” ती व्यवसायीले भने, “एउटा निश्चित घरानालाई फाइदा पुग्नेगरी सरकारले निर्णय गरेको छ । यदि त्यसलाई नसच्याउने हो भने बाँकी व्यवसायी मर्कामा पर्छौं ।” उनले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने आफूहरुको माग रहेको बताए । यता, ग्लोबल टे«डिङले भने दसैंसम्मलाई पुग्ने स्टक आफूसँग नभएको जनाएको छ । “हामीसँग अलिअलि स्टक त छ तर कतिसम्मलाई पुग्छ भनेर भन्न सकिँदैन,” ट्रेडिङका आशिष अग्रवालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार चाडपर्वका बेला जति चाहिन्थ्यो त्यसको ५० प्रतिशत अभाव हुन सक्ने देखिएको छ ।  “दसैंमा हजार कार्टुन चाहिन्थ्यो भने ५ सय कार्टुन होला तर ५ सय कार्टुन बराबरको सर्टेज हुन्छ,” उनले भने ।  उनले चाडपर्वलाई मध्यनजर गर्दै आयात खुला गर्नुपर्ने बताए । “अर्डर दिएको समयदेखि २ देखि ३ महिना लाग्छ सामान आउन । आयात खुला गरिनुपर्छ । आयात खुला गर्न ढिला भइसक्यो,” उनले भने ।

निश्चित समूहलाई फाइदा पुग्ने निर्णय तत्काल खारेज गरेर आयात फुकुवा गर्न बाँकी मदिरा आयातकर्ताले माग गरेका छन् । सरकारले करिब ६ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।  चाडपर्वको मुखमा पनि आयात खुला नगरिए तस्करी बढ्ने र त्यसले व्यवसायीसहित राज्यलाई समेत ठूलो धक्का लाग्ने उनीहरुको भनाइ छ । 

Global Ime bank

विदेशी मदिरा खरिद गर्दा विदेशी मुद्रा बाहिरिने डरले सरकारले लकडाउनका बेला आयातमा प्रतिबन्ध लगाएको थियो । 

उक्त प्रतिबन्ध अहिलेसम्म कायमै छ । सरकारले सुरुमा रेमिट्यान्स पनि घट्ने र विदेशी मुद्रा संचिती पनि कमजोर हुन सक्ने भनेर लगाएको प्रतिबन्ध सकारात्मक भए पनि अब पनि निरन्तरता दिन भने औचित्यपूर्ण नहुने व्यवसायीको भनाइ छ । 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।  यो हालसम्मकै उच्च सञ्चिति हो । यसले १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।  विदेशी मुद्रा सञ्चितिको स्थिति राम्रो रहेको बेलामा पनि आयात प्रतिबन्धलाई निरन्तरता दिन औचित्य पुष्टि नहुने सारडा ग्रुपका गौरव सारडा बताउँछन् । 

“जुन बेला आयातमा प्रतिबन्ध लगाइयो त्यो बेला आवश्यक थियो होला । सरकारले त्यही सोचेर प्रतिबन्ध लगायो । अब प्रतिबन्धलाई निरन्तरता दिन आवश्यक छ जस्तो लाग्दैन । अहिले विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च छ । आयात खुला गरिदिनुपर्छ । अब पनि आयातमा प्रतिबन्ध लगाउनुपर्ने कुनै आधारै छैन,” उनले भने । 
लकडाउनका बेलामा आयात प्रतिबन्ध लगाएका भारतलगायतका मुलुकले पनि खुला गरिसकेको भन्दै नेपालले पनि तत्काल खुला गर्नुपर्ने व्यवसायीको माग छ । 

“भारतले आयात खुला गरेको ४ महिना भइसक्यो,” उनले भने, “सरकारले तत्काल खुला नगरे चाडपर्वका बेला तस्करी बढ्न सक्ने र त्यसले व्यवसायी र राज्य दुबैलाई ठूलो नोक्सानी पर्छ ।”  विदेशी मदिराको तस्करी फेरी भए त्यसलाई रोक्न धेरै वर्ष लाग्न सक्ने व्यवसायीको भनाई छ । 

सहारा ट्रेडर्सका अमित शर्मा सरकारले आफूहरुलाई ‘सौतेनी आमा’को व्यवहार गरेको बताए ।  बजेट अगाडि सामान अर्डर गरे पनि यसपल्ट भने नसकेको बताए । “बजेट अगाडि ल्याउन पाएनौं । त्यसमाथि सरकारले प्रतिबन्ध लगाएको छ । यसले गर्दा हामीसँग स्टक पनि नै छैन,” उनले भने ।  कोभिडका कारण सरकारले आयात बन्द गराएकोमा आफूहरुले विरोध नगरेको तर अहिले पनि आयातमा प्रतिबन्ध लगाउनुको कुनै कारण भने नभएको उनको भनाइ छ ।  

“सरकारले डलरको रिभर्ज भएन भनेर आयातमा प्रतिबन्ध लगाएको थियो । अहिले त सरकारसँग १४ खर्ब बराबर संञ्चिति छ । त्यसैले आयात प्रतिबन्धलाई निरन्तरता दिनुपर्ने कुनै कारण अहिले छैन,” उनले भने ।  चाडपर्वका बेलामा पनि आयात खुला नगरिए चोरी पैठारी हुन सक्ने व्यवसायीको आशंका छ । 

“एक वर्ष अगाडि सरकारले निलो रेडबुल, टनिक वाटरसहित इनर्जी ड्रिङ्क बन्द गराएको थियो । तर, ती सामान अहिले पनि बजारमा छ्यापछ्पाप्ती छ । ती सामान भारतबाट गैरकानुनी बाटोबाट आइरहेका छन् । यसले सरकारलाई नै घाटा लागिरहेको छ । यही विदेशी मदिरामा पनि हुन्छ भन्ने हामीलाई डर छ,” उनले भने । 

नेपालसँगको सबैभन्दा लामो सीमाना भारतको यूपीसँग जोडिएको छ । विदेशी मदिरा नेपालमा भन्दा यूपीमा सस्तो छ ।  त्यसैले नक्कलीसहित गैरकानूनी रुपमा नेपालमा विदेशी मदिरा भित्रिन सक्ने चिन्ता व्यवसायीमा छ ।  “नेपालमा वार्षिक सात अर्बको चकलेट आउँछ । त्यसको भन्सार घटेको छ । ३ अर्बको मदिरा आउँछ । त्यसलाई प्रतिबन्ध लगाएको छ । यसलाई कसरी हेर्न खै !” व्यवसायी शर्माले भने ।  

इलिट ट्रेडका रचित अग्रवाल पनि आयात रोक्नुपर्ने कुनै कारण नै देखेको बताउँछन् ।  दसैं, तिहारको समयमा अन्य दिनको तुलनामा ५०–६० प्रतिशतले मदिराको माग बढ्ने उनले बताए ।  “अलिअलि स्टक छ तर दसैंसम्मलाई पुग्दैन । स्टक घट्दै छ । ६ महिनादेखि नै आयात नभएपछि दसैंबम लागि कहाँ पुग्नु,” उनले भने, “तत्काल आयात खुला गरिनुपर्छ ।”

स्टक रित्तिँदै
व्यवसायीका अनुसार आफूहरुसँग भएको स्टक सकिनै लागेको बताउँछन् ।  सहारा ट्रेडर्सका अमित शर्माका अनुसार ‘फास्ट मुभिङ’ मदिरा स्टक छैन ।  ‘स्लो मुभिङ आइटम’ भने अलिअलि छ । तर, त्यत्ति सामानले व्यवसाय चल्न गाह्रो हुने उनको भनाइ छ ।  “बैंकको ब्याज, कर्मचारीको तलब धान्नै गाह्रो भएको छ । त्यसमाथि सरकारले आयात पनि खोलिदिएको छैन । हामीले पेमेन्टको पनि रिकभरी गर्न पाएका छैनौं,” उनले भने । 

सारडा ग्रुपका गौरव सारडा पनि दसंैसम्मलाई स्टक नहुने बताउँछन् । 

“लकडाउनका कारणले माग पनि थिएन त्यसैले अहिलेसम्मलाई त पुर्‍याइयो, तर अब गाह्रो छ । स्टक छैन, चाडपर्व आइसक्यो,” उनले भने ।  दसैंमा अभाव हुन नदिन आयात खुला गर्न सरकारलाई बुझाउने प्रयास गरिरहेको उनले बताए ।  “कर्मचारीलाई तलब पनि दिनु परेको छ । ब्याज पनि लागिरहेको छ । होटल रेष्टुरेन्ट बन्द भएको हुनाले बजारबाट पैसा पनि उठेको छैन । साहै्र मर्कामा छौँ । मदिरा व्यवसायीलाई न कुनै सेवा सुविधा छ न बैंकबाट सस्तो ऋण,” उनले भने । 

दसैंको १० दिन अगाडि आयात खोलेर सामान नआउने उनले बताए  ।  “सरकारले आयात खुला गर्न अझै १०–१२ दिन लगायो भने यो दसैंका लागि सामान आउँदैन । भनेको बेला सामान पनि पाइँदैन, कन्टेनर पाइँदैन । त्यसैले तत्काल आयात खोलिनुपर्छ,” उनले भने । 

मदिरा व्यवसाय क्षेत्रले थोरै विदेशी मुद्रा प्रयोग गर्ने तर सरकारलाई धेरै राजस्व दिने व्यवसाय भएको दाबी व्यवसायीको छ ।  ग्लोबल ट्रेडिङका आशिस अग्रवाल भन्छन्, “विदेशी मदिरामा जति पैसा बाहिर जान्छ त्यसको तीन गुणा बढी पैसा राजस्वबापत सरकारले कमाउँछ । अरु कुनै पनि वस्तु छैन जसमा १ डलर बाहिर गयो भने तीन डलर बराबरको फाइदा राज्यलाई दिने । मदिरा मात्रै हो,” उनले भने । 

सीमा क्षेत्रमा तस्करी हुन थालिसकेको व्यवसायीको धारणा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement