site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेको अनलाइन सिस्टम ‘पेन्डुलम’, बोर्ड अध्यक्ष नै भन्छन् - सिस्टम घरको न घाटको भयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड (नेप्से) को अनलाइन कारोबार प्रणालीमा समस्या बढ्दै गएपछि अर्थ मन्त्रालयले चासो देखाएको छ । बिहीबार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या आउँदा २ घण्टाभन्दा बढी समय कारोबार रोकिएकोमा आइतबार पनि सोही समस्या दोहोरियो । आइतबार नेप्सेमा सेयर कारोबार खुलेको २५ मिनेटमै टीएमएसमा समस्या आउँदा सेयर कारोबार करिब ३ घण्टा अवरुद्ध भयो । लगातार नेप्सेको सिस्टममा समस्या देखिँदा अर्थ मन्त्रालयले सोमबार नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई छलफलका लागि बोलाएको छ । सोमबार बिहान ११ बने मन्त्रालयले छलफलको लागि बोलाएको बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले जनाकारी दिए ।

अहिले धितोपत्र बजारको नियामक निकायको रुपमा बोर्ड रहेको छ भने बजार सञ्‍चालकको रुपमा नेपाल स्टक एक्सचेञ्‍ज रहेको छ । नेप्सेको सबैभन्दा ठूलो सेयरधनी नेपाल सरकार नै हो । अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आउँदा पनि नेप्से भने सिस्टमको समस्या भएको स्वीकार्न गर्न तयार छैन ।

केही टीएमएस र वेबसाइटमा फरक डाटा देखिने त कहीले अनलाइन युजर र पासवर्ड लिएकाले आर्डर हान्‍न नै नपाउन समस्या नेप्सेमा नौलो होइन । पछिल्लो समयम टीएमएस र ब्रोकरबीचको सम्पर्क नै विच्छेद भएको भन्दै लगातार बजारमा समस्या देखिँदै आएको छ । नेप्सेका सीईओ चन्द्र सिंह साउद अनलाइन कारोबारमा बारम्बार समस्या आउँदा पनि समस्या आएको मान्‍न तयार छैनन् । गत साता बाह्रखरीसँगको कुराकानीमा साउदले विकसित स्टक मार्केटमा पनि यस्ता समस्या हुने र विकसित देशले चलाएको सिस्टम नै नेप्सेले ल्याएको उनको तर्क थियो । तर उनले भनेजस्तो नेपालको जस्ता घण्टौंसम्म कारोबार अवरुद्ध हुने विकासित सेयर मार्केट भने सायद नहोलान् ।

लगानीकर्ताबाट नियामक बोर्ड, बजार सञ्‍चालक नेप्से, तथा सेवा प्रदायक दलाल व्यवसायीहरुले दैनिक वार्षिक करोडौं रुपैँया लगानीकर्ताबाट असुल गर्छन् । तर कराडौं असुल गर्ने निकायले लगानीकर्तालाई कारोबारको लागि एउटा राम्रो सिस्टम दिन नसक्नु लज्जाको विषय बनेको छ । बोर्ड सेयर बजारमा बारम्बार समस्या आउँदा पनि निरिह बनेर बसेको छ ।

बोर्डका अध्यक्ष ढुङ्गाना आफूले स्पष्टिकरण सोध्‍नेभन्दा अन्य केही गर्न नसक्ने बताउँछन् । “नेप्सेको संरचना नै ठीक छैन । लगानी नेपाल सरकारको, अध्यक्ष नेपाल सरकारले नियुक्त गरेको, प्रमुख कार्यकारी अधिकृत नेपाल सरकारले नियुक्ति गरेको,” उनले बाह्रखरीसँग भने, “सबै नेपाल सरकारले गरेपछि समस्या हुँदा त्यसको जिम्मेवारी पनि नेपाल सरकारले लिनुपर्छ होला नी ।” सरकारको नियुक्ति भए पनि नियामक त बोर्ड होला नी ? बोर्डले के गरेको छ ? भन्ने प्रश्नमा आफू बोर्ड अध्यक्ष भएपछि ६ पटक नेप्सेलाई स्पष्टिकरण सोधेको र अब जरिवाना मात्रै लगाउन बाँकी रहेको उनले बताए ।

उनले अहिलेको संरचनामा केही समस्या भएको बताए । नेपाल सरकारको लगानी भएको र व्यवस्थापन तथा सञ्‍चालक समितिमा नेपाल सरकारले नै नियुक्ति गर्ने संस्थामा बोर्डले कत्तिको प्रभावकारी नियमन गर्ने भन्‍ने मुख्य प्रश्न रहेको उनको भनाई छ । अर्को मुख्य समस्या भनेको सिस्टमको रहेको उनले बताए । अहिलेको सिस्टमलाई पुर्ण रुपमा विस्थापीत गरेर अर्को सिस्टम ल्याउन पनि ६र७ महिना लाग्ने भएकोले त्यो पनि सम्भव नभएको उनको भनाइ छ ।

उनले भने, “अहिलेको सिस्टम घरको न घाटको भनेजस्तो ‘पेन्डुलम’ भयो ।” नेप्सेमा देखिएको समस्या आजको भोलि समाधान हुने विषय नभएपनि लामो समयदेखि यस्तो समस्या देखिनु कमजारी भएको उनको भनाई छ । कमजोरी भएर नै निरन्तर रुपमा समस्या आएको हो ।

२० खर्बको पुँजीकारण भएको पुँजीबजार जस्तो सेन्सेटिभ मार्केटमा नियामकदेखि बजार सञ्चालकलगायत सरोकारवालले खेलाँची रुपमा लिनु पक्कै पनि राम्रो होइन । बजारलाई नजिकबाट नियाल्नेहरु भने नियामक तथा नेप्से र अन्य सरोकारवालको मिलेमतोमा नै नयाँ सिस्टम भित्र्याउन अहिलेको सिस्टमलाई असफल देखाउन लागि परेको दाबी गर्छन । नयाँ सिस्टम भित्र्याउन अहिलको समस्या समाधान गर्नतर्फ सबै निकाय उदासीन भएको उनिहरुको दाबी छ ।

ढुङ्गानाले नै टीएमएस र क्लियरीङको व्यवस्थापन ब्रोकरले गर्ने गरी नयाँ सिस्टम ल्याउन निर्देशन दिएको यसअघि नै बाह्रखरीसँगको कुराकानीमा बताइसकेका छन् । ब्रोकरले नयाँ टिएमएस चलाउन अहिले नेप्सेको अनलाइन कारोबार प्रणाली नट्स बाट छुट्याएर छुट्टै लैजानुपर्ने हुन्छ ।

नेप्सेमा नयाँ सिस्टम भित्र्याउन नेपालकै कम्पनीहरू लागि परेका छन् । जसमा प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीको कम्पनी अग्रस्थानमा रहेको ब्रोकर एसोसिएसनकै एक अधिकारीको दाबी छ । यता बोर्डको चाहना पनि नयाँ टिएमएस कम्पनी ब्रोकर र आइटी कम्पनीले संयुक्त रुपमा ल्याउनुपर्ने पक्षमा छ ।

त्यसका लागि अलिसहित अन्य ३ कम्पनी लागि परेको स्रोतको दाबी छ । ब्रोकरहरु पनि टिएमएसको लागि नयाँ कम्पनी ल्याउन इच्छुक छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro