
काठमाडौं । वित्तीय क्षेत्रमा सर्वाधिक चासो र चर्चाको विषय हो वाणिज्य बैंकहरूबीचको मर्जर । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्नुको साथै नियमनमा पनि समस्या भएको भन्दै वाणिज्य बैंकहरूलाई मर्जरमा लैजाने नीति लिएपछि यो चासो र चर्चाको विषय बनेको हो ।
मौद्रिक नीतिमार्फत केही सहुलियतसँगै निर्देशनात्मक मर्जरमा लैजाने नीति केन्द्रीय बैंकले लिएको छ । राष्ट्र बैंकले एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवं व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरू र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरूलाई एक-आपसमा गाभ्न/गाभिन निर्देशन दिने भनेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गरैसँगै अन्तिम हितग्राहीको विवरणसमेत मागेको थियो । भदौ १५ गतेसम्मको समय तोकेर अन्तिम हितग्राहीको विवरण माग गरेको राष्ट्र बैंक नियमन विभागले सबै बैंकले विवरण बुझाए पनि त्यसको अध्ययन भने सुरु नगरेको जनाएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पनि नियमन विभागमार्फत सबै बैंकहरूको अन्तिम हितग्राहीको विवरण अध्ययन गर्नका लागि बैंकहरूसँग विवरण माग गर्ने निर्णय भएको र त्यसको समय सकिइसकेको बताउँछन् । “भदौ १५ सम्मको मिति तोकेर अन्तिम हितग्राहीको विवरण नियमन विभागमार्फत माग गरिएको थियो,” उनले भने, “विभागले अध्ययन गरेर जानकारी गराएको छैन अध्ययनकै क्रममा हुनुपर्छ ।”
राष्ट्र बैंकले क्रस भनेको क्रस होल्डिङ वास्तवमा क्रस होल्डिङ नै नभएको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । लगानी विविधीकरणलाई केन्द्रीय बैंकले जस्तो निकायले नै क्रस होल्डिङका रुपमा परिभाषित गरेको भन्दै एक बैंकका सञ्चालकले आपत्ति पनि जनाए । लगानी विविधीकरण अथवा क्रस होल्डिङ जे भने पनि एउटै व्यक्ति, परिवार वा समूहको दुई वा दुईभन्दा बैंकमा लगानी हुँदैमा त्यस्ता बैंकलाई सीधै मर्जरमा जान निर्देशन दिन हुने पक्षमा राष्ट्र बैंक पनि नरहेको नियमन विभागका अधिकारीहरूको दाबी छ । “अहिले एनआईसी एशिया र एनएमबि बैंकबीच क्रस होल्डिङ भएको र त्यसलाई राष्ट्र बैंकले मर्जरमा लैजाने चर्चा मिडियामा रहेको देखिन्छ,” नियमन विभागका एक अधिकारीले भने, “एनआईसी र एनएमबि बैंकको कर्पोरेट कल्चर, व्यवसायको प्रकृति अथवा अन्य कुनै कुरा मिल्दो छ, केही समान लगानीकर्ता हुँदैमा कुनै पनि हिसाबले मेल नखाने बैंकहरुलाई मर्जरमा लैजाने त्यसको नतिजा के आउला आफैं विचार गर्नुहोस् ।”
अहिले नै बैंकहरूलाई मर्जरमा जान दबाब दिने बेला नआएको ती अधिकारीको भनाइ छ । तर आर्थिक वर्षको अन्त्यसम्म पनि बैंकहरूबाट कुनै नतिजा नआउने अवस्था देखिए राष्ट्र बैंक एक्सनमा उत्रने ती अधिकारीले दाबी गरे । त्यसको लागि राष्ट्र बैंक पूर्वतयारी र आवश्यक अध्ययनमा समेत जुटेको उनको भनाइ छ ।
राष्ट्र बैंकका ती अधिकारीले भनेझैं वित्तीय क्षेत्रमा अनुशासित रहेको परिचय बनाएको एनएमबि बैंक र बैंकलाई सेवा होइन नाफामूलक व्यवसायका रुपमा मात्रै केन्द्रित गरेको आरोप खेप्दै आएको एनआईसी बैंकको मर्जर स्वाविक रुपमा सफल हुन नसक्ने वित्तीय क्षेत्रका जानकारहरूको दाबी छ । ग्राहकले बैंकहरूको विषयमा गरेको कुल गुनासोहरूमध्ये ५० प्रतिशत एनआईसी एशिया बैंककै हुने गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
डेपुटी गभर्नर चिन्तमामणि पनि दुई वा दुईभन्दा बढी बैंकमा एकै समूहको लगानी छ भने मर्जरमा जान निर्देशन दिने भन्ने राष्ट्र बैंकको उद्देश्य रहेको बताउँछन् । उनले भने, “हाम्रो उद्देश्य भनेको अझै पनि बैंकहरूले स्वेच्छिक रुपमा मर्जरको पार्टनर खोजुन् भन्ने हो । समस्या आउनसक्ने भन्दै त्यसका लागि केही समय पर्खने तर चालु आर्थिक वर्षमै राष्ट्र बैंकले एक्सन लिएर भए पनि वाणिज्य बैंकहरूको मर्जरको सुरु भने हुने उनले बताए ।
मर्जरको नेतृत्व हिमालयन बैंकबाट
हिमालयन बैंक निजी क्षेत्रको प्रवर्द्धनमा सञ्चालित नेपालकै पुरानोमध्येको एक हो भने ठूलो बैंकको नाम लिँदा अगाडि आउने गर्छ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयनशमसेर राणाको नेतृत्वमा स्थापना भएको बैंकमा उनी हाल पनि सल्लाहकारका रुपमा छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा राणकै छोरा अशोकशमसेर छन् । पछिल्लो समय हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको चर्चा चलेको छ ।
हिमालयनले सञ्चालक तथा बैंकको संस्थापकसमेत रहेका हिमालयनशमशेरको परिवारिक सम्बन्ध रहेका नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाको नेतृत्वमा चार सदस्य रहेको मर्जर समिति गठन गरेको छ । उक्त समिति गठनसँगै हिमालयन बैंक मर्जरका लागि निर्णायक रुपमा अगाडि बढेको छ । “निषेधाज्ञा नभएको भए छलफल धेरैअगाडि पुगिसकेको हुन्थ्यो,” हिमालनय बैंक स्रोतले भन्यो, “निषेधाज्ञाले गर्दा अनौपचारिक छलफल हुन सकेको छैन ।”
बाहिर चर्चा भएजस्तो हिमालयन बैंक र नेपाल इनभेष्टमेन्ट बैंकबीच मर्जरको छलफल नभएको बैंक स्रोतको दाबी छ । हिमालयनका संस्थापक तथा सल्लाहकार हिमालयनशमशेर र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्षबीच पारिवारिक सम्बन्ध हुँदैमा मर्जरमा लैजानुपर्छ भन्ने तथ्य नै गलत भएको बैंक स्रोतको भनाइ छ ।
“बैंक मर्जर भनेको सिनर्जी आउने किसिमले हुनुपर्छ, राष्ट्र बैंकले कृषि, ऊर्जा र एसएमईमा गरेर ४० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न भनेको छ,” बैंकका एक अधिकारीले भने, “हिमालयन र इन्भेष्टमेन्ट दुवै कर्पोरेट फाइनान्सलाई प्राथमिकतामा राखेको बैंक मर्जर हुँदा राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न झनै समस्या हुन्छ, हामीले मर्जर गर्दा यी लगानी भएको र लगानी विविधीकरण हुनेगरी मर्जर गर्नुपर्छ ।” हिमालयन बैंकका एक सञ्चालकले नेपाल इन्भेष्टमेन्ट र हिमालयनको केही संस्थापक लगानीकर्ताबीच भएको पारिवारिक सम्बन्धबाहेक दुईबीच मर्जरको विषयमा कुनै पनि छलफल नभएको दाबी गरे ।
यद्यपि बैंकले अन्य बैंकसँग भने अनौपचारिक छलफल गरे पनि निषेधाज्ञाले गर्दा औपचारिक छलपल भने हुने नसेको ती सञ्चालकको दाबी छ । लक्ष्मी बैंकसँग पनि समान लगानीकर्ता रहेको र मर्जर हुने चर्चा छ भन्ने प्रश्नमा त्यसमा पनि सत्यता नभएको बैंक स्रोतको दाबी छ । लक्ष्मी बैंकमा र हिमालयन बैंकमा लगानी गरेकार लगानीकर्ता एउटा परिवारको हिस्सा भए पनि अंशबन्डा भइसकेको अवस्थामा अहिले नै त्यसकौ आधारमा मर्जर हुन्छ भन्नु गलत हुने स्रोतको भनाइ छ । यता इन्भेष्टमेन्ट बैंकले भने मर्जर समिति नै गठन गरेको छैन । तर इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग मर्जर गर्न सकिने संकेत भने गरेको स्रोतको दाबी छ । राष्ट्र बैंकका अधिकारी पनि दुई बैंक मर्जरमा जाँदा वित्तीय क्षेत्रमा सकारात्मक सन्देश जान सक्ने बताउँछ ।
राष्ट्र बैंकका उच्च व्यवस्थापनसँग राम्रो सम्बन्ध भएको र वाणिज्य बैंकहरूमध्येकै सफल अध्यक्षका रुपमा चिनिने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेलाई राष्ट्र बैंकले औपचारिक रुपमै मर्जरको नेतृत्व गर्न प्रस्ताव गरेको स्रोतको दाबी छ । राष्ट्र बैंकको प्रस्तावलाई स्वीकार गर्दै इन्भेष्टमेन्ट बैंक मर्जरका लागि तयार रहेको सन्देशसमेत राष्ट्र बैंकलाई दिएका छन् ।
सिभिलको औपचारिक प्रस्ताव
सिभिल बैंकले भने हिमालयन बैंकलाई मर्जरको औपचारिक प्रस्ताव पठाएको दुवै बैंक स्रोतको दाबी छ । “हामीले पहिलो पुस्ताको कुनै बलियो बैंकसँग मर्जरमा जाने रणनीतिसहित हिमालयनलाई औपचारिक प्रस्ताव गरेको हो,” सिभिल बैंक स्रोतले भन्यो, “अझैसम्म पनि हिमालयनबाट त्यसको जवाफ पाएका छैनौं ।” हिमालयन बैंक स्रोतले पनि सिभिलबाट मर्जरको प्रस्ताव आए पनि औपचारिक छलफल भने नभएको बताएको छ । स्रोतका अनुसार सिभिल बैंकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको परिवारबाट लगानी रहेको बताइन्छ । उनको हिमालयन बैंकमा पनि लगानी छ ।
हिमालयन बैंकले मर्जरको ठोस योजनासहित नै मर्जर कमिटी गठन गरेको र अब मर्जरको योजनाबाट भने पछि नहट्ने स्रोतको दाबी छ । वित्तीय क्षेत्रका जानकारहरू पनि हिमालयन बैंकको मुभले नै अब वाणिज्य बैंकहरूबीचको मर्जरको दिशानिर्देशन गर्ने बताउँछन् । यदि हिमालयनले अन्य कुनै नयाँ पुस्ताको साना बैंकलाई मर्जर गरे नेपाल इन्भेष्टमेन्ट, नबिल र एभरेष्ट, एनआईसी एशियाजस्ता नेपाल ठूला बैंकलाई नै मर्जरको दबाब पर्ने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।
हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदा नेपालकै ठूलो र बलियो बैंक बन्नसक्ने र यसले अन्य बैंकलाई झनै मर्जरको दबाब सिर्जना गर्नसक्ने बुझाइ राष्ट्र बैंकको रहे पनि हिमालयन बैंकको चाहना भने अन्य कुनै बैंकलाई मर्जर गरेर आफू नै ठूलो बैंकका रुपमा स्थापना हुने छ ।
अबको दिनमा प्रथम गभर्नरको नेतृत्वमा स्थापना भएको हिमालनय बैंकले मर्जरको नेतृत्व गर्नुपर्ने अवस्थामा कसरी अगाडि बढ्छ त्यो भने केही समय कुर्नैपर्ने देखिन्छ । तर हिमालयन बैंकले मर्जर कमिटी गठन गरेर पाइला अगाडि बढाइसकेको अवस्थामा अब फर्केर हेर्ने अवस्था भने नरहेको स्रोतको दाबी छ ।