चितवन । लकडाउनअघि नारायणी किनारको चौरमा कोही नदी अवलोकन गर्न आउथे । कोही टहलिन आउनेहरु हुन्थे । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनपछि मानिसको जीवन कठिन बन्दै जाँदा नारायणी नदीको काख बेसहाराहरुको आश्रयस्थल बनेको छ । आजभोलि यहाँ बिहानैदेखि भोक मेटाउन विभिन्न उमेर समूहका मानिस भेला हुन्छन् ।
२१ दिनदेखि यहाँ बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले खान समस्यामा परेकाहरुलाई खाना खुवाउने व्यवस्था मिलाएको छ । बिहान ६ बजेदेखि खाना पकाउन सुरु गरिन्छ । खाना बनाएर भाग लगाउने ठाउँको आडैमा एक ५ वर्षीय बालक कहिले खाना पाकिरहेको भाँडोतिर हेर्छन् भने कहिले पकाइरहेका मानिसहरुतर्फ हेर्छन् । खाना पाकिसकेपछि माइकको आवाज आउँछ- ‘‘सबै अनुशासन भएर हात धोएर खानाका लागि तयार हुनुहोला ।’’
डोरीले टाँगेर खाना खाने स्थाननजिकै बच्चाहरुका लागि ठाउँ छुट्याइएको छ । माइकको आवाज खस्न नपाउँदै ती बालक पलेंटी मारेर बसिहाले । ५ वर्षीय ती बालक रोशन डल्लाकोटी र उनका ११ वर्षीय दाइ रुपेश डल्लाकोटी लाइनमा बसेर सँगै खानाको प्रतीक्षामा छन् । सबैलाई खाना भाग लगाइसकेपछि बाँड्न सुरु गरियो ।
बाँड्न सुरु गरिएपछि संस्थाका सदस्य रवि ढकालले पहिलो प्लेट रोशनलाई नै दिए । रोशनले प्लेट समात्दै ढकाललाई सोधे, ‘‘अंकल भोलि पनि खाना पाइन्छ ?’’ उनले तत्कालै जवाफ फर्काए, ‘‘पाइन्छ बाबु, पाइन्छ ।’’
सायद उनी भोलिका लागि पनि ढुक्क भएर होला, आजको खाना सुरु गरे । लामो समयदेखिको लकडाउनले मध्यमवर्गीय परिवारलाई त दैनिक दुईछाक खानाको समस्या भइरहेका बेला ती बालकलाई आजको खाना पाइए पनि भोलि पाइँदैन कि भन्ने चिन्ताले पिरोलेको देखिन्छ ।
संस्थाले दालको भन्दा मासुको मूल्य तुलनात्मक सस्तो पर्ने भएकाले दालको सट्टा मासुमा झोल हालेर दिने गरेको छ ।
रोशनसँगै उनको पाँचजनाको परिवार दैनिक खाना खानाका लागि यही आउने रहेछ । ती बालकका बाबुले ठेला चलाउने काम गर्थे । आमा र ठूलो दाइ पुराना (कवाडी) सामान संकलन गर्ने गर्थे । लकडाउनका कारण उनीहरुको दैनिक मजदुरी गर्न बन्द भएको छ ।
"पहिले त कबाडी पनि थुप्रै पाइन्थ्यो, अहिले त सबै बन्द छ कमाइ छैन," ती बालककी आमाले सुनाइन्, "कबाड बेचेर पनि खान नपुग्ने भएपछि सुरुमा निकै समस्या भयो । यहाँ खाना पाइने सुनेपछि हामी पनि आउन थाल्यौं ।"
श्रीमान् काम खोज्न निस्किएकाले केही समयमा आउने उनले बताइन् । उनीहरुको परिवार मन्डी पसलको सटरभित्र गुजारा गरिरहेको छ । लकडाउनअघि कोठा भाडामै बस्दै आए पनि कमाइ नभएपछि मन्डी साहुले सटर कुर्न ती परिवारलाई आश्रय दिएको छ ।
अहिले यहाँ दैनिक तीन सयदेखि चार सय जनालाई खाना खुवाउने गरिएको छ ।
नुवाकोटबाट आएका लालबहादुर लामा दम्पती पनि चितवन आएर ज्याला-मजदुरी गरेको झन्डै २० वर्ष नाघेछ । "म ठेला चलाउँथे, बूढी कबाड बटुल्छे । अहिले मेरो पनि काम छैन, कबाड पनि पाइँदैन । ठेलामै चढेर भात खान सधैं यही आउँछौ," ती दम्पतीले भने ।
लकडाउनअघि उनीहरुले गैंडाकोटमा मासिक १५ सय रुपैयाँ तिरेर भाडामा बसे पनि अहिले भाडा तिर्न नसकेपछि घरधनीले ताला लगाइदिएको छ । "तीन महिनाजति भयो, ताला लगाएको, पैसा नतिर बरु कोठा छोड् भन्यो । कोरोना सर्छ भन्छ," लामाकी श्रीमतीले गुनासो पोखिन् । अहिले उनीहरु सडकपेटीमै सुत्छन् ।
उनीहरु मात्र होइन यहाँ उनीहरुजस्ता सयौं व्यक्ति सडकमा आएका छन् । उनीहरुका लागि न त स्थानीय सरकारले केही गर्न सकेको छ न संघ-संस्थाहरुले नै । ‘सुरुमा त मेरै पैसाले खुवाएँ । त्यसपछि दाताहरुले सहयोग गर्नुभएको छ," संस्थाकी अध्यक्ष सीता कुँवरले भनिन् । उनका अनुसार दैनिक चार सयको हाराहारी त्यस्ता बेवारिसे, बेसहारा खाना खान आउँछन् ।
हाल दैनिक एक छाक खुवाउन १८ हजार खर्च लागे पनि बिहीबारदेखि बेलुका पनि खाना खुवाउन लागेको उनले बताइन् । हाल संस्थाले भात, तरकारी, अचार र मासुसहितको खाना खुवाइरहेको छ । "अबदेखि भने भात मासु अचार दिने विचार गरेका छौं । धैरै जनालाई पनि पुग्छ, धेरै दिनसम्म पनि पुग्छ," उनले भनिन् । तरकारीको तुलनामा कुखुराको मासु प्रतिकेजी १७० रुपैयाँमा पाइने भएको र बेसाहारा समेत सन्तुष्ट भएकाले मासु, भात र अचारलाई निरन्तरता दिने उनको भनाइ छ ।
"अहिले विभिन्न संस्थाबाट, विदेशमा बस्ने नेपालीबाट सहयोग आइरहेको छ । त्यसैले अहिले दुई छाक खुवाउन सक्षम छौं," उनले भनिन् । यो अभियानलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने विषयमा भने आफू अन्योल रहेको उनले बताइन् । लकडाउन कति लम्बिन्छ, बेसहारा कति बढ्छन्, हामीले सक्ने दिनसम्म निरन्तर दिन्छौं," उनले भनिन् ।