site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियामक निकाय भन्छ - अनलाइन कारोबार प्रणालीमा समस्या आयो, कुनै समस्या नभएको नेप्सेको दाबी

काठमाडौं । कोभिड-१९ का कारण अर्थव्यवस्था ठप्प छ । उद्योग व्यवसाय सुचारु हुन नसक्दा आर्थिक गतिविधि हुन पाएका छैनन् । तर अर्थतन्त्रको ऐनको रुपमा रहेको सेयर बजार भने लगातार बढिरहेको छ । 

काठमाडौं उपत्यकासहित देशका अधिकांश ठूला सहरमा जारी निषेधाज्ञाले गर्दा आवतजावत पूर्णरुपमा बन्द छ । तर पनि सेयर बजारमा कारोबार रकमसँगै नेप्से पनि लगातार बढिरहेको छ । गत साता ९ अर्ब ७५ करोडभन्दा बढीको कारोबार भएको बजारमा यो साता दुई कारोबार दिनमा नै ५ अर्बभन्दा माथिको कारोबार भइसकेको छ । गत साता ६० अंकले बढेको बजार परिसूचक नेप्से पनि यो साताको दुई कारोबार दिनमा २६ अंकले बढेर १५०० अंकलाई पछ्याउँदै नजिक पुगेको छ । 

लकडाउन र निशेधाज्ञाका बीचमा पनि के कारणले पूँजी बजार बढिरहेको छ भन्‍ने प्रश्‍नमा नेपाल स्टक एक्सेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले कोभिड-१९ ले गर्दा व्यापार व्यवसाय ठप्प रहेकाले नयाँ लगानीकर्ताको प्रवेशले बजारमा उत्साह देखिएको बताएका छन् । सेयर बजारका जानकारहरु भने बैंकहरुमा अधिक तरलता रहेकोले सहज रुपमा कर्जा पाउनुको साथै कर्जाको ब्याजदर घटेकोले बजारमा उत्साह देखिएको बताउँछन् । 

सेयर बजारमा लगातार उत्साह देखिँदै जाँदा पनि नेप्सेको अनलाइन कारोबार प्रणालीमा देखिने समस्या र मेरो सेयरमा देखिने समस्याले गर्दा लगानीकर्ताले हैरान भएका छन् । केहीले नेप्सेको वेबसाइटमा देखिने गलत डाटा त केहीले अर्डर नै हाल्न नसकिने अवस्थाले नेप्सेको अनलाइन कारोबार प्रणालीमाथि बारम्बार प्रश्न उठ्दै आएको छ । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना अनलाइन कारोबार प्रणालीमा लगातार समस्या देखा पर्नुले त्यसको क्षमतामाथि नै प्रश्न उठेको बताउँछन् ।  १-२ मिनेट समस्या देखिनु स्वाभाविक भए पनि लामो समय समस्या देखिँदा लगानीकर्ता प्रभावित बनेको भए पनि यसलाई तत्काल विस्थापित गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । 

“नेप्से र भेन्डर सिरियस हुनुपर्छ,” उनले भने, “बारम्बार समस्या दोहोरिँदा प्रश्न खडा भएको छ भने लगानिकर्ता प्रभावित बनेका छन् । यसमा नेप्से सिरियस हुनुपर्छ ।”

अब अहिलेको अनलाइन कारोबार प्रणालीलाई छुट्याएपछि मात्रै यसलाई विस्थापित गर्ने अथवा अपग्रेड गरेर लैजाने भन्‍न सकिने उनको भनाइ छ । “ब्रोकर तथा क्लियरिङ बैंक मिलेर टिएमएमस र क्लियरिङ तथा नट्स र म्याचिङ इन्जिन नेप्सेले व्यवस्थापन गर्ने गरी छुट्याउन निर्देशन दिएका छौं,” उनले भने, “ब्रोकरहरू टिएमएसको लागि नयाँ कम्पनी ल्याउन तयार भइसकेका छन् । त्यसको लागि आईटी कम्पनी, र क्लियरिङ बैकसँग पनि सहकार्य हुनसक्छ । अबको ४-५ महिनामा नै टिएमएस ब्रोकरले सञ्चालन गर्ने गरी नेप्सेबाट छुट्टिन्छ ।”

यता सीडीएससीले सानो भोलुममा कारोबार गर्ने गरी ल्याएको 'मेरो सेयर'को सिस्टम अब अपग्रेड गर्नुपर्ने र त्यसको लागि सीडीएससीको नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिइसकेको बोर्ड अध्यक्ष ढुंगानाले बताए । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको दाबी गर्छ । यसअघि अनलाइन कारोबार प्रणालीमा नभएर नेप्सेको वेबसाइटमा मात्रै समस्या भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउद दाबी गर्छन् । “अनलाइन कारोबार प्रणालीमा यसअघि समस्या आएको थिएन । आइतबार मात्रै समस्या आएको हो,” उनले भने, “आइतबार समस्या पनि टीएमएसमा नभएर टीएमएस र नट्सको कनेक्सनमा मात्रै देखिएको हो ।”

यस्तो समस्या नेपालमा मात्रै नभएर विकसित सेयर बजारहरु अमेरिका, जापान, भारतमासमेत देखिने गरेको र यसलाई ठूलो 'इस्यु' मान्‍न नहुने उनको तर्क छ । सबै सरोकारवाला र नियामक नेपाल धितोपत्र बोर्डलेसमेत नेप्सेमा जिम्मेवार हुनुपर्ने र अनलाइन कारोबार प्रणालीमा समस्या भएको बताउँदा पनि उनी त्यसलाई स्वीकार गर्न तयार देखिँदैन ।

सीडीएससीका अध्यक्षसमेत रहेका साउद आक्कल-झुक्कल आउने आईपीओका लागि भनेर 'मेरो सेयर'को सिस्टम अपग्रेड गर्न आवश्यक नभएको बताउँछन् । “पहिले कम क्षमताको लागि ल्याएको सिस्टम अहिले लकडाउनले गर्दा अनलाइनमार्फत आईपीओ भर्नेको संख्या पनि बढी भएको हो जसले गर्दा समस्या भयो,” उनले भने, “ अहिले जस्तो एकैपटक तीनवटा कम्पनीको आईपीओ नआउने गरी व्यवस्थापन गर्नुपर्छ । सिस्टम अपग्रेड गर्न करोडौं खर्च लाग्‍ने हुन्छ, अहिले तत्काल त्यसको आवश्यकता छैन ।” अहिलेकै सिस्टमले व्यवस्थापन गरेर काम गर्न सकिन्छ भने त्यसलाई करौडौं खर्च गरेर अपग्रेड गर्न आवश्यक नरहेको साउदको आशय छ । 

ब्रोकरहरू पनि टीएमएसको लागि नयाँ कम्पनी ल्याउन तयार भएको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् । “टीएमएस ब्रोकरले सञ्‍चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसको लागि नयाँ कम्पनी नै खोल्नुपर्ने हो कि भन्‍ने पनि कुरा आएको छ,” उनले भने, “आईटी कम्पनी र क्लियरिङ बैंकलाई पनि साथमा लैजाने की ब्रोकरले मात्रै नयाँ कम्पनी खोलेर अगाडी जाने भन्‍ने विषयमा छलफल भइरहेको छ ।”

आफूहरुको चाहना अन्य देशका स्टक एक्सचेञ्‍जले काम गरिरहेका स्थापित सिस्टम नै ल्याउने उनको भनाई छ । बोर्ड अध्यक्ष ढुंगानाले क्लियरिङ र टीएमएससँगै लैजाने बताए पनि उनले भने अहिले टीएमएस र ब्रोकरको डाटा सिस्टमको लागि मात्रै अगाडि बढ्ने गरी छलफल भएको र क्लियरिङ बैंकसँग कुनै  छलफल नभएको बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro