site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सिन्धुपाल्चोकको पहिरो जसले प्रहरी हेडक्वाटरलाई कोरोनाको ‘हटस्पट’ बनायो !

काठमाडौं । साउन ९ गतेयता प्रहरी प्रधान कार्यालय सुनसान छ । सधैँजसो प्रहरी कर्मचारी र कामका लागि प्रहरी हेडक्वाटर धाउने नागरिकको आवतजावत शून्य भएपछि प्रहरी हेडक्वाटर अर्थात प्रहरी प्रधान कार्यालयमा विगतको जस्तो चहलपहल छैन । विगतमा दैनिक सयौंको संख्यामा सेवाग्राही र देशका विभिन्न स्थानबाट कामका लागि आएका प्रहरी कर्मचारी मुख्यालय पुग्ने गरेका थिए । हेडक्वाटरमै सामाजिक दुरी, मास्क, स्यानिटाइजरलगायतको प्रयोग अनिवार्य गरिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार कोरोना संक्रमणको जोखिमपछि २० प्रतिशत कर्मचारीबाट मात्रै काम भइरहेको छ ।  त्यो पनि जोखिम हेरेर ‘सिफ्ट’मा । आम नागरिकले हेडक्वाटर प्रवेशमा रोक लगाइएको छ । उनका अनुसार हालसम्म २ सय ५० को हाराहारीमा संक्रमित पुगिसकेका छन् । जसमध्ये १५९ जना अझै उपचारमा छन् । झन्डै ११ सयको जनशक्ति रहेको प्रहरी प्रधान कार्यालयमा २ सय ५० जनाको हाराहारीमा संक्रमण देखिनु सकारात्मक संकेत भने होइन ।

प्रहरी प्रधान कार्यालय कोरोनाको ‘हटस्पट’ नै बन्न पुगेको छ ।

Argakhachi Cement Island Ad

सिन्धुपाल्चोक पहिरोबाट प्रहरीमा सल्कियो कोरोना

असार २५ मा सिन्धुपाल्चोकको जम्बु खोलामा बाढी र पहिरो आउँदा बाह्रबिसे नगरपालिका–५ मा दुईजनाले ज्यान गुमाए । ३० जनाबढी बेपत्ता भए । त्यही पहिरोमा हराएकाहरुकोे खोजी तथा उद्धारका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले विपद व्यवस्थापन शाखाका टोली खटायो । टोली उद्धारमा सक्रिय भयो । प्रहरी प्रधान कार्यालयको कोभिड व्यवस्थापन शाखाका एक अधिकारीले भने,“बाह्रविसे खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेकाले बाटो अवरुद्ध भयो । काठमाडौंबाट हामीले पठाएको टोली त्यहाँबाट अर्को गाडीमा चढेर घटनास्थलसम्म पुग्नप¥यो ।”

उद्धार टोली काठमाडौं फर्कियो । फर्किएर आएकामध्ये ३ जना प्रहरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जाँच भयो । नेपाल प्रहरीको अस्पताल, महाराजगञ्जमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भयो ।  साउन ९ मा पहिलोपटक प्रहरी प्रधान कार्यालयमा ३ जनामा कोरोना देखिएको थियो । त्यसपछि उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु भयो । सो क्रममा हालसम्म २ सय ५० को हाराहारीमा कोरोना संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङ अझै जारी छ ।  

संक्रमित हुनेमा अधिकांश प्रहरी प्रधान कार्यालयको सवारी शाखा (एमटी), सञ्चार निर्देशनालयका प्रहरीदेखि कोभिड–१९ को व्यवस्थापन डेस्कमा खटिएका एसपीसम्म छन् । प्रहरी मुख्यालयमा अहिले अत्यावश्यकबाहेक भेटघाटका र अन्य सबै कार्यक्रम रद्द गरिएको छ ।

फाइल तस्बिर 


 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १३:४६
प्रतिक्रिया दिनुहोस्