काठमाडौं । हरेक खेलका आफ्नै नियम र 'टेक्निक' हुन्छन् । खेलका नियमले खेलाडी र खेललाई एकत्रित गर्न मद्दत गर्छ भने टेक्निकले खेल जिताउन सहजीकरण गर्छ । तर, खेलाडीलाई खेलको 'टेक्निक' र नियम थाहा छैन भने त्यो प्रतियोगिता कस्तो होला ? अझ भनौं टेक्नि बिनै भार वहन गर्दा खेलाडीलाई कस्तोसम्म भए होला । यस्तै भएको थियो, प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सक्रियातामा भारोत्तोलन संघले काठमाडौंमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गर्यो । त्यसका लागि परिषद्ले अञ्चल खेलकुद विकास समितिलाई छनोट प्रतियोगिता गर्दै राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी पठाउन निर्देशन दियो । राखेपका तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले १४ वटै अञ्चलबाट खेलाडी छनोट गरी पठाउन निर्देशन दिएका थिए ।
तर, प्रतियोगिताका लागि भारोत्तोलनको नियम न परिषद्लाई थाहा थियो, न त संघलाई नै । जसोतसो गर्दै केही अञ्चलबाट खेलाडी छनोट गर्दै काठमाडौं आइ पुगे । तीन अञ्चलले भने नियम नै नबुझेकाले खेलाडी पठाउन सकेनन् ।
तत्कालीन पूर्व र मध्यमाञ्चल विकास क्षेत्रका अञ्चलहरुसँग 'बडी बिल्डिङ'का खेलाडी र सामग्री भएका कारण छनोटमा सहज भएको थियो । तर, नियम र 'टेक्निक' भने उनीहरुलाई समेत थाहा थिएन । यता पश्चिमी भागका अञ्चलहरुसँग न त खेलाडी नै थिए, न सामग्री । टेक्निक र नियम उनीहरुका लागि अर्को समस्या थियो । तर, केही अञ्चलसँग छनोट प्रतियोगिताका लागि सामग्री नभएपछि ढुंगा उचालेरै भए पनि छनोट गराएको थियो । छनोटमा जसले सबैभन्दा ठूलो ढुंगा उठाउथ्यो, त्यो प्रतियोगिताका लागि छनोट हुने नियम बनाइएको थियो र भए पनि । यसरी नियमबिनै छनोट गरेर ११ अञ्चलबाट २९ खेलाडी, ६ तौल समूहमा प्रतिस्पर्धा गर्न काठमाडौं पुगेका थिए ।
कम्मरसम्म सर्वाधिक भार वहन गरे छनोट
टेक्निक थाहा नभए पनि भार वहन गर्न त्यति नै गाह्रो थियो । अझभन्दा चोटपकको सम्भावना झनै थियो । टेक्निकबिनाको छनोट भएपछि छनोटका लागि आएका खेलाडीलाई कम्मरसम्म मात्रै भार वहन गर्न लगाइएको थियो । जुन भारोत्तोलनको नियम हो ।
“हामी धरान-विराटनगरतिर 'बडी बिल्डिङ' प्रतियोगिता गर्दै हिँडिरहेका थियौं । त्यही समय प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता काठमाडौंमा हुने भन्ने कुरा चल्यो । त्यसका लागि हामी पनि तयार भयौं,” प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण पदक विजेता राजभगत प्रधानाङ्गले भने, “हामीलाई कुनै नियम र टेक्निक थाहा थिएन । हामीले आफ्नो बडी बनाउन जिम क्लबमा भार वहन गरिरहेका थियौं । त्यहाँ पनि त्यसरी नै केही अलि फरक तरिकामा भार वहन गर्यौं ।”
छनोटमा टेक्निक थाहा नभएपछि चोटपटको डरले छनोटकर्ताले कम्मरसम्म मात्र भार वहन गर्न भनेका थिए । त्यसैअनुसार प्रधानाङ्गले भारन वहन गर्दै हेभी वेटका लागि राष्ट्रिय प्रतियोगितामा छनोट भए । “भारत्तोलनको नियममा भार आफ्नो टाउकोभन्दा माथि उठाउनुपर्ने हुन्छ । तर, हामीलाई टेक्निक थाहा थिएन । भार टाउकोभन्दा माथि उठाउँदा चोटपटकको सम्भावना धेरै थियो,” उनले भने, “हामीले भार कम्मरसम्म मात्र उठाउँदा छनोट गरियो । त्यसपछि प्रतियोगिताका लागि काठमाडौं पठाइयो ।”
उनले थपे, “बडी बिल्डिङमा ब्रेन फोर्स (सुतेर छातीभन्दा माथि उठाउनु), डेड लिफ्ट (कम्मरभन्दा तल उठाउनु) र स्वार्ट भन्ने हुन्छ । तर, भारोत्तोलनमा स्न्याच र क्लिन एन्ड जर्क भन्ने हुन्छ । जुन सुरुमा हाम्रा लागि निकै नै गाह्रो थियो ।”
एक साताको प्रशिक्षणपछि प्रतियोगिता
अञ्चलबाट छनोट भएका २९ खेलाडीलाई प्रतियोगिता सुरु हुनुपूर्व काठमाडौंमा एक साता प्रशिक्षण दिइएको थियो । प्रशिक्षण संघका तत्कालीन महासचिव रमेश खनालले दिएका थिए । एक साताको प्रशिक्षणपछि सुरु भएको प्रतियोगितामा खेलाडीलाई प्रतिस्पर्धा गर्न त्यति सजिलो भने थिएन । छनोटमा ढुंगा उचाल्नेहरुलाई पनि एक साताको प्रशिक्षणले नियममा बाँधेको थियो । उनीहरु नबुझेको नियम र नजानेको टेक्निकको जालोमा बेरिएका थिए ।
“हामीले केही नभए पनि भार सन्तुलन गर्ने भन्ने थाहा पाएका थियौं । तर, ढुङ्गा उचालेर आएकाहरुलाई निकै गाह्रो थियो,” उनले भने, “कैयौंले भार वहन गर्न नसकेर हातै मर्काएका थिए । कतिको ढाडै जाला भन्ने डर । किनकि यहाँ तागत मात्र सबै थोक थिएन । टेक्निक चाहिन्थ्यो । जो हामीसँग अपुरो थियो ।”
पहिलो राष्ट्रिय प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार भनिए पनि आफूलाई त्यस विषयमा थाहा नभएको उनले सुनाए । प्रतिस्पर्धाका बेला समेत निर्णायकले दिएको निर्णय आफूहरुले नबुझेको प्रधानाङ्गले बताए । नियम थाहा नभएकाले निर्णायकले निर्णय बदल्दासमेत आफूहरुलाई थाहा नहुने अवस्था रहेको उनी सुनाउँछन् ।
पहिलो प्रतियोगिता : ११ अञ्चल, २९ खेलाडी, ६ समूह
पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ११ अञ्चलमा २९ खेलाडीले छ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । ५२ केजी तौल समूहमा महाकालीका कुबेर सिंहले २२५ पाउन्ड उचाल्दै स्वर्ण जितेका थिए । त्यस्तै सेती अञ्चलका सोहन कमारले १५० पाउन्ड र सगरमाथाका महेश परियारले १४५ पाउन्ड तौल उडाउँदै क्रमशः रजत र कास्य जितेका थिए ।
त्यस्तै ५६ केजी तौल समूहमा २४५ पाउन्डसहित कोसीका दीपक जोशी पहिलो, १९५ पाउन्डसहित मेचीका दिलीपकुमार पोख्रेल दोस्रो र १९० पाउन्डसहित धौवलागिरिका लाल शाक्य तेस्रो भएका थिए ।
६० केजी तौल समूहमा नारायणीका अशोक कार्कीले ३१० पाउन्ड भार वहन गर्दै स्वर्ण जितेका थिए । सोही तौल समूहमा वाग्मतीका देव तण्डुकारले २४० पाउन्ड भार वहन गर्दै रजत तथा सगरमाथाका तिलक राउत र नारायाणीका शशि रानाले समान २३० पाउन्ड भारवहन गर्दै कास्य पदक जितेका थिए ।
६७.५ केजी तौल समूहमा वाग्मतीका राजेन्द्र प्रधानले ३३० पाउन्ड उचाल्दै स्वर्ण जित्दा वाग्मतीकै सानुराजा श्रेष्ठले ३१५ पाउन्ड उचाल्दै रजत र सगरमाथाका पुरुषेत्तम कोइरालाले २२५ पाउन्ड भार वहन गर्दै कास्य जितेका थिए । ७५ केजी तौल समूहमा मिठ्ठुसेन गुप्ताले ३०० पाउन्ड भार वहन गर्दै स्वर्ण जितेका थिए ।
बडी बिल्डिङले जन्माएको भारोत्तोलन !
८२.५ केजी तौल समूहको हेभी वेटमा कोसीका राजभगत प्रधानाङ्गले स्वर्ण जितेका थिए । उनले ३५५ पाउन्ड भारवहन गर्दै स्वर्ण जितेका थिए भने सगरमाथाका मुक्तिलाल यादवले समान तौल उचाल्दै रजत पदक जितेका थिए ।
पहिलो राष्ट्रिय भारोत्तलोनल प्रतियोगिता सकिएपछि संघका तत्कालीन महासचिव तथा प्रशिक्षक रमेश खनाल पाकिस्तान गएका थिए । उनी भारोत्तोलनको अन्तर्राष्ट्रिय नियम र थप टेक्निक सिक्नका लागि पाकिस्तान पुगेका थिए ।