site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

क्वारेन्टिनमा बसेका चिकित्सकहरूलाई आफ्नो टोलमा बस्नसमेत नदिने भनेर हुलहुज्जत गर्ने प्रवृत्ति चरम अमानवीय र मूर्खतापूर्ण पनि हो । यस्तो भिडतन्त्र भारतीय समाजमा विशेषगरी उत्तरभारतमा बेलाबखत देखिने गथ्र्यो । विडम्बना, यस्तै अन्धविश्वास निर्देशित मानसिकता नेपालको राजधानीकै बासिन्दामा देखियो । काठमाडौंको बानेश्वरस्थित ‘बल्लभ मार्ग’को एउटा होस्टलमा सिभिल अस्पतालका चिकित्सकहरू बस्दै आएका थिए । उनीहरू आफ्नो टोलमा बसेको विरोधमा शनिवार ‘टोल सुधार समिति’का नाममा जम्मा भएको भिडले होस्टेलमै हुलहुज्जत गर्दा प्रहरी नै बोलाउनु परेछ । यसअघि चितवनमा आफ्नै घरभित्र आइसोलेसनमा बसेका चिकित्सकहरूलाई स्थानीय वडाध्यक्षसमेतको संलग्नतामा दुव्र्यवहार गरेका थिए । यसैगरी संखुवासभा, विराटनगर, वीरगन्ज, चितवन र जाजरकोटलगायत देशका विभिन्न भागमा पनि चिकित्सकहरूमाथि स्थानीय बासिन्दाले दुव्र्यवहार गरेका समाचार सार्वजनिक भएका छन् । 

विश्वका विभिन्न भागमा कोभिड – १९ को संक्रमण समाजमा महामारीका रूपमा फैलन नदिन अगिल्लो पंक्तिमा लडेका भन्दै चिकित्साकर्मीहरूलाईे सम्मान र प्रोत्साहन दिइएको छ । आप्रवासीप्रति अपेक्षाकृत अनुदार बेलायत प्रधानमन्त्री बोरिस जोन्सन कोभिड–१९ बाट संक्रमित भए । अस्पतालमा उनको उपचारमा आप्रवासी नर्स र डाक्टरहरू खटिएको देखेपछि उनले तिनीहरूको खुलेर प्रशंसा गरेका थिए । धेरै समाजमा चिकित्सकहरूलाई अहिले ‘नायक’ मानेर स्याबासी दिइएको छ । नेपालका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा र वैयक्तिक सुरक्षा सामग्रीसमेत नपाउँदा पनि बिरामीको उपचार गरिरहेका छन् । राज्यले दिने भनिएको सुविधा पनि कतिपयले पाएका छैनन् । तैपनि, उनीहरू आफ्नो कर्तव्य पालन गरिरहेका छन् । समाजलाई संक्रमणबाट जोगाउन खटिएका चिकित्साकर्मीलाई टोलमा बस्नसमेत नदिने क्रूर अमानवीय बैगुनी सोच नेपालीमा कसरी पलायो होला?

नेपाली समाज परम्परागतरूपमा यति बैगुनी र निठुरी त थिएन । केही वर्ष यता राजनीतिमा देखिएको असहिष्णु र अमानवीय प्रवृत्तिको समाजमा संक्रमण भएकाले यस्तो क्रूरता देखिएको हुनुपर्छ । देशका प्रमुख कार्यकारी नै सधैँ अरूलाई कटाक्ष गर्न, आफ्ना विरोधीलाई ‘अरिङ्गाल’ बनेर चिल्न कार्यकर्तालाई आह्वान गर्न पटक्कै हिचकिचाउँदैनन् भने समाजमा त्यसको प्रभाव पर्नु स्वाभाविकै होला । ‘बल्लभ’ टोल सुधार समितिका अगुवाहरू उनकै अनुयायी देखिए । होस्टेलमा बसेका चिकित्सकहरूलाई उनीहरूले ‘शत्रु’ देखेर अरिङ्गाल बनेर धुरिए । राजधानीबाहिर आइसोलेसन केन्द्र तोडफोड गर्ने संखुवासभाका क्याम्पस प्रमुखदेखि चितवनमा आफ्नै घरमा बसेका डाक्टरलाई सताउन जाने वडा अध्यक्ष सबैमा त्यही प्रवृत्ति देखिएको हो । कोहीविरुद्ध ‘अरिङ्गाल’ बनेर धुरिनु कम्युनिस्ट चरित्र होला तर नेपाली प्रवृत्ति होइन । यसैले यस्तो अमानवीय बैगुनी व्यवहारको विवेक हुने सबैले निन्दा गर्नुपर्र्छ । यस्तो प्रवृत्ति देखाउनेहरूलाई कानुनबमोजिम सजाय हुनुपर्छ । साथै, सम्बन्धित स्थानीय सरकारहरूले चिकित्सकहरूसँग सार्वजनिकरूपमा माफी माग्नु उचित हुनेछ । सरकारले पनि चिकित्साकर्मीहरूलाई आवश्यक सुरक्षा सामग्रीका साथै सुरक्षा र सुविधा उपलब्ध गराउन आलटाल नगरोस् । यस्तो क्रूर अमानवीय व्यवहार अब कतै देख्न सुन्न नपरोस् ।    
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro