
काठमाडौं । राजधानी उपत्यकामा बिहीबार बैंकिङ सेवा बन्द भएका छन् । उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) प्रशासनले बुधबार राति १२ बजेबाट एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए ।
तर बैंकिङ सेवा अत्यावश्यक सेवा भएको भन्दै न्यूनतम कर्मचारीबाट सेवा उपलब्ध गारउन सक्ने जिल्ला प्रशासनको निर्णयमा उल्लेख थियो । तर बिहीबार बिहान बैंकिङ सेवा सुरु गर्न कार्यालय हिँडेका बैंकर्सलाई प्रशासनले रोकेपछि नेपाल बैंकर्स संघले काठमाडौं उपत्यकामा बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कार्यालय जान लागेका कर्मचारी तथा प्रमुख कार्यकारी अधिकृतलाई नै प्रहरीले बाटोमा रोकेर राखेपछि आज बैंकिङ सेवा रोक्ने निर्णय भएको बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।
“नेपाल राष्ट्र बैंकको निर्देशन र जिल्ला प्रशासनसँग समन्वयन गरेरै हामीले उपत्यकामा काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ गरेर ८ वटा शाखाबाट सेवा दिने निर्णय गरेका थियौं,” शाहले बाह्रखरीसँग भने, “तर आज बिहान कार्यालय जाँदा हाम्रा कर्मचारीलाई प्रहरीले बाटोमा रोकेर घर फर्किन पनि नदिने र कार्यालय जान पनि नदिने गर्यो, कोभिडको यस्तो जोखिममा हाम्रा कर्मचारीलाई बाटो रोकेर हुल बनाएर उभ्याएपछि हामीले सेवा बन्द गर्ने निर्णय गरेका हौं ।”
आफूहरुले बैंकिङ सेवा अत्यावश्यक भएको र सरकारको पनि खोल्न भनेको बुझेर खोलेको तर बैंक खोल्ने निर्णय सरकारको विरुद्धमा भयो भन्ने बुझेर सेवा बन्द गर्न निर्णय गरेको उनले सुनाए । आफूहरुको बुझाइ गलत भएर कतै बैंक खोल्ने निर्णय सरकारको विरुद्धमा त भएन लगेर बैंक बन्द गरिएको उनले बताए ।
उनले भने, “सरकारको निर्णय हामीले कसरी उल्लंघन गर्न सक्छौं र ? सरकारले खोल भन्छ भने मात्रै हामीले खोल्ने हो अन्यथा सेवा बन्द गर्ने निर्णय भएर आज हामीले उपत्यकाका सबै शाखा बन्द गरेका हौं ।” बैंकका कतिपय कर्मचारीलाई प्रहरी चौकीसम्म पुर्याएको खबर आएको उनले बताए । “प्रशासनको उक्त कदमबाट हामीहरु दुखी छौं, बैंकको कर्मचारीले सेवा प्रदान गर्न कार्यालय निस्केर अपराध गरेको जस्तो व्यवहार गर्नु दु:खको कुरा हो,” उनले भने ।
यदि प्रशासनको असहयोग रहने हो भने एटीएम तथा देशभरको बैंकिङ सेवा पनि बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए । “७ दिनको निषेधाज्ञाले गर्दा एटीएममा लोड भएको पैसा पनि सकिएको र कर्मचारी बैंकमा जान नपाउँदा एटीएममा पैसा राख्ने अवस्था छैन,” उनले भने, “अर्कोतर्फ देशभरको शाखा कार्यलयको कन्ट्रोल सिस्टम काठमाडौंमै छ, आईटीका कर्मचारी कार्यालय जान नपाएपछि अपरेटिङ सिस्टम पनि चल्ने सम्भावना रहँदैन, यदि प्रशासनले सहजीकरण नगर्ने हो भने देशभरको वित्तीय सेवा अवरुद्ध हुने अवस्था छ ।”
यद्यपि बैंकर्स संघले राष्ट्र बैंक र गृह मन्त्रालयसँग परामर्श गरिरहेकाले केही निकास आउने अपेक्षा रहेको उनले बताए ।
राष्ट्र बैंकले भने प्रशासनसँग समन्वय गर्ने काम भइरहेको बताएको छ । “गृह मन्त्रालयसँग समन्वय गरेर बैंकको कमचारीलाई छुटाउन कार्य भइसकेको छ भने फोटोसहितको परिचयपत्रका आधारमा जाने दिने निर्णय भइसकेको छ आवश्यक परे राष्ट्र बैंकले थप समन्वयन गर्छ,” राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बाह्रखरीसँग भने ।