काठमाडौं । स्वर्ण पदक । एउटा सफलताको प्रतीक । खेल क्षेत्रमा लाग्नेको सपनाको लक्ष्य । त्यसो त मिहिनेत गर्नेका लागि 'स्वर्ण पदक' को सफलतालाई प्रतिफल मान्न सकिन्छ । यस्तै लामो समयको परिश्रम र सफल हुने दृढ इच्छाशक्तिबाट स्वर्णको सपना देख्नेमध्येकी एक हुन् जुडो खेलाडी देविका खड्का ।
झापामा जन्मिएकी देविकालाई जुडोमा लाग्न असहज थिएन । अनुकूल पारिवारिक वातावरणमा हुर्किएकी उनलाई जुडोमा लाग्न उनकै काकाको प्रेरणा रह्यो । काका (अंकल) जुडोका प्रशिक्षक भएपछि उनलाई यसमा लाग्न समस्या भने भएन । ७ वर्षको उमेरबाट जुडो खेल्न सुरु गरेकी देविकालाई २९ वर्षमा सफलता मिल्यो । देविका गत वर्ष घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण विजेता खेलाडी हुन् ।
सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागको छनोट प्रक्रियाबाटै बाहिरिएकी उनले घरेलु मैदानमा सम्पन्न सागमा सफलता हात पार्नेमा दृढ थिइन् । उनलाई यही असफलताले शक्तिमा परिणत गर्दै स्वर्णको बाटो पहिल्यायो ।
“१२औँ सागमै सफलता हात पार्ने लक्ष्य थियो । तर, मैले खेल्ने अवसर पाइनँ । छनोट प्रक्रियामै मेरो असहमति थियो । सोही सागमा सहभागिता हुन नपाएको इख र सफलता चुम्ने अठोटले आज मलाई सफलता दिलाउन सक्यो । जीवनमा एकपटक हार्दा पछि हट्नु हुन्न भन्ने पाठ मैले सिकेकी छु,” देविकाले विगत सम्झिन् ।
देविकालाई खेल जीवनको सफलता सन् १९९९ तिर नै मिलेजस्तो लाग्छ । भर्खरै जुडोमा लागेकी उनलाई एकपटक 'ठूलै सफलता' हात पर्यो । उनी राजधानीमा विद्यालयस्तरीय अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको विजेता बन्न सफल भइन् ।
उनलाई सफलता हात पार्दा जुन खुसी थियो त्योभन्दा दोब्बर खुसी राजा वीरेन्द्रकी छोरी श्रुती शाहले मेडल दिँदा लाग्यो । उक्त समयमा योस्तरको ठूलो सफलता हात पार्ने उनी एक्ली जुडो खेलाडी हुन् ।
“सानैदेखि तेक्वान्दोमा लागेँ । सफलताबारे खासै जानकार थिएनँ । आफूले जे गरिरहेकी छु, यो सबै रमाइलोका लागि हो भन्ने थियो । जब श्रुती शाहको हातबाट मेडल थाप्न पाएँ । लाग्यो सफलता भनेको यही रहेछ । त्यो समयदेखि जुडोको खेल जीवनले अर्को मोड लियो,” देविकाले पहिलो स्वर्णिम पललाई सम्झिइन् ।
देविकाले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर भने पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट पाइन् । २०६५ सालमा पूर्वाञ्चलमा भएको राष्ट्रिय खेलकुदमा उनले रजत पदक जितिन् । देविकाले त्यसअघि २०६२ मा काठमाडौंमा भएको छैटौँ राष्ट्रिय जुडो प्रतियोगितामा झापालाई रजत पदक दिलाइन् । २०६४ सालमा झापामा भएको नवौँ जुडोमा रजत र २०६५ को दशौंमा कास्य पदक जित्न सफल भएकी थिइन् ।
२०६६ मा उनको खेल प्रदर्शनलाई देखेर विभागीय टोली एपीएफले अनुबन्ध गर्यो । उनले त्यसपछिको खेल जीवन भने एपीएफमै बिताइन् । त्यसपछिका धेरै प्रतियोगितामा उनले एपीएफको प्रतिनिधित्व गरिन् ।
छैटौं राष्ट्रिय खेलकुदमा एपीएफबाट खेलेकी उनले ५२ केजीमुनिको तौल समूहमा कास्य जित्न सफल भइन् । विभागीय टोलीका लागि पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी उनलाई त्यहाँ स्वर्णिम सफलता भने मिल्न सकेन ।
“पहिलो राष्ट्रिय खेलकुद सफल भएपछि विभागीय टोलीमा स्थान पाएँ । त्यसपछिका खेलहरु भने एपीएफबाटै खेलेँ । मेरो लक्ष्य सफलतातिर होमिएको थियो । विभागीयमा भएको पहिलो राष्ट्रिय खेलकुदमा भने सफल हुन सकिनँ । उक्त खेलको नतिजामा भने मलाई चित्त बुझेको थिएन । त्यसपछि भने प्रशिक्षण र खेलमा बेग्लै किसिमको जोस मिल्न थाल्यो,” देविकाले भनिन् ।
नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी देविकालाई त्यसपछि सागमा सफल बन्ने हौसला मिल्यो । १३औं सागको छनोटका रुपमा रहेको आठौं राष्ट्रिय खेलकुदमा सफल भएकी उनी सागमा पनि सफल भइन् ।
१२औं सागमा सहभागिता जनाउन नपाएकी उनलाई १३औँ सागमा जसरी पनि सफल हुनु थियो । पहिलो सागमा सहभागिता जनाउँदै गर्दा उनलाई सफल बन्नेबाहेक अरु केही सोचिनन् । उनको त्यही मिहिनेतले सफलता पनि प्राप्त गर्यो ।
“मनमा धेरै इख थियो । अर्कोतर्फ सफलताका लागि गरेको संघर्ष पनि आँखामा छाइराखेको थियो । जितका लागि कोर्टमा गएँ । घरेलु मैदान, घरेलु दर्शक र मेरो संघर्ष नै जितका लागि पर्याप्त माध्यम थियो । अन्तत: त्यही भयो,” देविकाले भनिन् ।
यो सागमा देविकाले पहिलो प्रतिस्पर्धामा श्रीलंकाकी खेलाडीलाई हराएकी थिइन् । त्यसपछि बलियो मानिएको भारतलाई पनि हराउन सफल भएकी देविकाले फाइनलमा बंगलादेशकी खेलाडीलाई हराउँदै देशलाई स्वर्ण दिलाइन् ।
पटक-पटक अन्तर्राष्ट्रियस्तरका खेलहरुमा सहभागी हुनबाट वञ्चित भएकी देविकाका लागि भने अब बाटो खुलेको छ । उनी अब हुने खेलहरुमा सहजै सहभागी हुन पाउनेछन् ।
“धेरैपटक अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण र प्रतियोगितामा जान नपाउँदाको पीडा मलाई छ । अब भने सहजै सहभागिता जनाउन पाउनेछु । खेल जीवनको अन्तिमसम्म देशका लागि ओलम्पिकमा सहभागिता जनाउँदै स्वर्ण जित्ने मेरो सपना छ,” देविकाले भविष्यलाई नियाल्दै भनिन् ।