विसं २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) अप्रत्याशितरूपमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनभन्दा ४ प्रतिशत कम मत पाउँदा २०५ सिटको व्यवस्थापिकामा ८८ सिटसहित एमाले पहिलो भयो । त्यस निर्वाचनमा नेपाली कांग्रेसले कुल ३३.३८ प्रतिशत मत ल्याउँदा एमालेको मत ३०.८५ प्रतिशतमात्र थियो । तर, निर्वाचन पद्धतिका कारण एमाले संसद्मा ठूलो दल हुनपुग्यो । गिरिजाप्रसाद कोइरालाको सरकारलाई ढुंगा, मुढा र रेलिङ भाँचेर आजित बनाएको दललाई आफू नै सबैभन्दा ठूलो दल हुनपुगेको उसैलाई विश्वास भएको थिएन । मत कम ल्याएर पनि ठूलो दल भएको एमालेलाई त्यतिबेला ‘बोकाको मुखमा कुभिन्डो नअटाएको’ टिप्पणी गरेर खिज्याइएको थियो । नभन्दै सरकार पनि नौ महिनामै ढल्यो । अहिले स्थानीय तहको निर्वाचनको पहिलो चरणमा प्रथम दलको रूपमा देखिए पछिको व्यवहारका कारण एमालेलाई फेरि ‘बोकाको मुखमा कुभिन्डो’ भनेर कटाक्ष गर्न थालिएको छ ।
विसं २०४६ सालदेखि अहिलेसम्मको राजनीतिक इतिहासमा एमाले सधैंँ दुई नंबरको दल हो । तर, कहिलेकाहीँ यो दल एक नंबरको पनि बन्न पुग्छ । जस्तै २०५१ सालको संसदीय निर्वाचनमा, २०५४ सालको स्थानीय निकायको निर्वाचनमा र अहिले २०७४ सालको स्थानीय तहको निर्वाचनको पहिलो चरणमा । जब जब एमाले उपल्लो स्थानमा पुग्छ तब तब ऊ अत्यन्त गैरलोकतान्त्रिक र आक्रामक बन्न थाल्छ । अब त एमाले लोकतान्त्रिक दलमा परिणत भयो होला भनेर विश्वास गर्नेहरूलाई एमालेका गैरजिम्मेवार अभिव्यक्तिले तर्साउन थाल्छ र उसको उचाइबाट तल ओर्लने क्रम सुरु हुन्छ ।
भरतपुरमा मतपत्र च्यातेर जुन गल्ती नेकपा (माओवादी केन्द्र) र सरकारले गरेको छ त्यसको प्रतिफल नेकपा (एमाले)ले नै पाउनेवाला थियो । पुनर्निर्वाचन नै भएको खण्डमा पनि जनताले गलतलाई गलत नै प्रमाणित गर्छन् भन्ने विश्वासमा अघि बढ्नुपर्ने एमाले अत्यन्त अलोकतान्त्रिक चरित्र देखाउँदै सदन अवरोध गर्नेतर्फ उन्मुख भयो । सरकारको नीति तथा कार्यक्रम तथा बजेट त आउन दियो (धन्न ! लोकलाज त केही राखेकै छ) तर प्रधानमन्त्री परिवर्तन गर्ने कुरामा भाँजो हाल्यो ।
वास्तवमा जितको मदमा एमाले अध्यक्ष ओलीको बोली अहिले उल्टो आफैँलाई हानेको गोलीजस्तो हुन थालेको छ । एमालेलाई मत नदिए पनि कांग्रेसको मत घटाएर उसलाई सानो बनाएका स्वतन्त्र लोकतन्त्रवादी त्यसबेला चकित भए जब ओली जेठ ३ गते मदननगरमा कुर्ले, “अहिलेपनि यति तल झरेको कांग्रेसमा जनता कति अलमलिएका ? राष्ट्रियताका सन्दर्भमा एमालेले लिएको नीतिमा के पुगेन ? एमालेबाहेक अरुलाई मत दिनुपर्ने कारण के?”
ओलीले के बुझेनन् भने जनताले यसपल्ट कांग्रेसलाई दण्डित मात्र गरेका हुन्, सम्बन्ध विच्छेद गरि हालेका होइनन् । एमालेलाई पुरस्कृत पनि गरेका होइनन्, कांग्रेसलाई दण्डित गरेका फल एमालेलाई प्राप्त भएको मात्र हो । नत्र, ऊ बेला पनि एमालेले राष्ट्रियताको नाम भजाएकै हो । टनकपुर भारतलाई बेच्यो भन्ने एमालेले महाकाली सन्धिमा त हस्ताक्षर गरेकै हो । त्यसैले भारतले गरेको नाकाबन्दीको विरोध गरेकै भरमा नेपालमा बारम्बार लोकतन्त्र ल्याउने नेपाली कांग्रेसलाई जनताले धुलै त बनाउने थिएनन्, बनाएनन् । अझ मदन भण्डारीको हत्याको दोष पनि भारत र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई लगाएर सरकारमा पुगेको र त्यसपछि पनि बारम्बार सरकारमा गएको एमालेले भण्डारीको मृत्युको के खोजबिन गर्यो त ? त्यसैले त्यति सहज छैन जनताको विश्वास जित्न । तर, नेपाली कांग्रेसले अहिले गरेकै गल्ती बारम्बार दोहोर्याएर गयो र एमालेले आफूले लिएको लोकतान्त्रिक अडान कायम गर्न सक्यो भनेमात्र बल्ल ओलीको बोली विपक्षीको लागि गोली हुनसक्ला नत्र त उल्टै आफैँतिर फर्कन्छ ।
एमालेले लोकतान्त्रिक चरित्र बिर्सियो भने उसलाई निकै अभर पर्छ भन्ने ऊ बलियो हुनेबित्तिकै बिर्सन्छ । पहिलो संविधान सभाको निर्वाचनमा १८ प्रतिशत मत ल्याएर तेस्रो दलको रूपमा खुम्चँदा उसका क्रियाकलाप अचानक अति लोकतान्त्रिक र जनप्रिय भएर गए । अस्तित्व नै सकिन्छ कि भन्ने अवस्थामा पुग्नेबित्तिकै एमाले जसरी नरम हुन्छ आफू एक नंबरको दल हुँदा उसको व्यवहार एकदम उल्टा देखिन्छ । जेठ १७ गते बुधबार संसद्को बैठकमा एमालेका एक नेताले सरकारले भरतपुरमा पुनर्निर्वाचन गरायो भने एमालेले आफैँले विजयी घोषणा गरिदिनेछ भनेर उफ्रिए । उनको भाषण त चेतावनीमूलक सुनियो होला तर विधिको शासन र लोकतन्त्रका हिमायती त सो दलको जति नजिक पुगेका थिए त्यो उद्घोष सुनेर त्यसको दुईगुना पछाडि हटे ।
भारतमा २०४० सालमा (सन् १९८४) भारतीय जनता पार्टी (त्यतिबेलाको जन संघ)ले संसद्मा दुई स्थानमात्र जितेको थियो । देशभरी ७ प्रतिशत मत ल्याए पनि ४.३ प्रतिशत मतले ल्याएको तेलगु देशमले ३० स्थान पाएको थियो । जन संघको अवस्था अत्यन्त चिन्ताजनक थियो । तर, अहिले भाजपाकै कारण भारतीय कांग्रेसको अस्तित्व नै समाप्त हुने डर पैदा गरेको छ । एमालेले पनि पहिलो संविधान सभाको निर्वाचन पश्चात आफूलाई धेरै लोकतन्त्रीकरण गरेर यहाँसम्म पुग्न सफल भएको हो । अहिले भरतपुरमा जे भएको छ त्यो गलत हो तर त्यसको उपचार कानुनबमोजिम खोज्ने काम गर्नु एमालेको लागि लाभदायक हुन्छ । उदण्ड र अराजक बोलीको खेती गरेमा सो एमालेतिरै फर्कने गोली बन्नेछ ।