काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले खेल पत्रकार प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहार गरेका छन् । उक्त कार्यको नेपाल खेलकुद पत्रकार मञ्चले आपत्ति जनाएको छ ।
मञ्चका महासचिव प्रज्वल ओलीले बिहीबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा एन्फा पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाबाट हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहारप्रति आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ “तिमल्सिनाले बिहीबार साँझ समाचारका लागि पूर्वअध्यक्ष थापासँग फोनवार्ता गर्ने क्रममा थापाद्वारा निजमाथि गाली गलौजसहित अभद्र व्यवहार गरिएको घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्च घोर भ्रर्त्सना गर्दछ । थापाका छोरा अभिषेकबाट पत्रकार तिमल्सिनासँग उहाँको थापाथलीस्थित कार्यालय परिषरमै गएर वादविवाद गर्ने काम समेत भएको छ ।”
नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरे पनि नपुग्ने मञ्चको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सम्पूर्ण सदस्यहरुको भौतिक सुरक्षालाई लिएर सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराइएको छ ।
पत्रकारमाथिको दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको मञ्चको ठहर छ ।