सुनसरी । सुनसरीमा अटोमेटिक पेस्तोल र ६ राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका २ बस्ने २३ वर्षीय पिन्टु यादव र सोही गाउँपालिका ३ बस्ने ३२ वर्षीय राजेश यादव छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउन्ड, म्याग्जिन २ थान तथा बीआर ३८ भी ३५२८ नम्बर र अनटेस्ट लेखिएको मोटरसाइकल बरामद भएको छ ।
प्रहरीका अनुसार देवानगन्ज गाउँपालिका ३ पानीट्याङकीस्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले भारतीय नम्बर प्लेटका दुई मोटरसाइकलमा आएका पिन्टु यादव, राजेश यादव र अन्य तीन जनालाई शंका लागि जाँच गर्ने क्रममा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासि फायर खोलेका थिए ।
फायर खोलेर भाग्न खोज्दा प्रहरीले जवाफी फायर गर्दा पिन्टु यादव र राजेश यादव घाइते भएका थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।
घटनामा संलग्न फरार रहेका अन्य तीनजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।