site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रूख रोप्ने मान्छे
Sarbottam CementSarbottam Cement

जाँ ज्योनो


म लगभग चालीस वर्षअघि, पर्यटकहरूसँग अञ्जान ती अग्ला पहाडी भेकको लामो पैदल यात्रामा निस्किएको थिएँ । त्यस्तो भूभाग जहाँ एल्प्सका पहाड पोभान्सभेकसँग मिसिन्थ्यो । त्यो अनकन्टर भेकको यात्राभरि, सबै उजाड र रूखो थियो, जहाँ जङ्गली लेवैंडरबाहेक केही उम्रिएको थिएन । 

म त्यो भूभागको ठूलो फाँटलाई छिचोल्दै थिएँ, र तीन दिनको हिँडाइपछि असाध्यैै सुनसान क्षेत्रमा पुगें । र, मैले एउटा उजाड गाउँको पुछारमा आफ्नो क्याम्प लगाएँ । मसँग भएको पानी एकदिन अघि नै सकिएको थियो, खोजिहाल्नु पर्नेथ्यो । ती झुरुप्प परेका घरहरू, जो भत्किएको अरिङ्गालको गोलाजस्ता देखिन्थे, यही नै संकेत गर्थे कि त्यहाँ नजिकै कुनै इनार वा कुलो हुनुपर्छ । साँच्चै नै त्यहाँ एउटा कुलो थियो, तर सुकेको । छानाबिनाका, हावा र पानीले खाएका, ५–६ घर, अनि घण्टाघर भत्किएको सानो गिर्जाघर, त्यसरी नै उभिएका थिए जस्तो कुनै प्राण भएको गाउँमा उभिन्छन्, तर यहाँ त्यस्तो जीवनको एक अंश थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

जुन महिनाको पारिलो घाम लागेको थियो, तर यो निर्जन भूभागमा, माथि आकाशको उचाइमा पनि बेजोडले हावा चलिरहेको थियो । खण्डहरजस्ता घरहरूबाट पसेर हावा, रिसाएको सिंहजस्तो आवाज निकालिरहेको थियो । मैले आफ्नो क्याम्प सार्नु नै ठीक लाग्यो । 

पाँच घण्टा हिँडिसकेपछि पनि मैले पानी भेट्टाएको थिइनँ, भेट्टाउने कुनै संकेत पनि थिएन । चारैतिर त्यही सुक्खा र बाक्लो घाँसे मैदानमात्र थियो । त्यहीबेला टाढा कुनै एउटा छाया ठिङ्ग उभिएको छ कि जस्तो लाग्यो, सोचें कुनै एकलास रूखको होला । तैपनि त्यतैतिर गएँ । एउटा गोठालो रहेछ । उसको नजिकै तीसवटा भेंडाहरू घामले रापिएको मैदानमा यताउता चरिरहेका थिए । 

Global Ime bank

उसले मलाई पानी पिउन दियो, त्यसको केही समयपछि त्यो फाँटको एउटा कुनामा बनाएको आफ्नो घरमा लिएर गयो । त्यहाँ पुगेपछि उसले घर नजिकैको गहिरो इनारबाट पानी तान्न थाल्यो ̵ जसको माथि उसले प्राचिन शैलीको घिर्नी झुन्ड्याएको थियो ।

ऊ कम बोल्थ्यो । एक्लै बस्ने मान्छेहरूको स्वभाव यस्तै हुन्छ, तर यति महसुस गर्न सकिन्थ्योे कि उसलाई आफू र आफ्नो तरिकामा बलियो विश्वास थियो, जुन विश्वास, त्यस्तो उजाड ठाउँमा भेट्टाउनसमेत गाह्रो हुन्छ । उसको बास कुनै झोपडीजस्तो थिएन, पक्की थियो, जहाँका ढुंगाहरू पनि भनिरहेका थिए, उसले एउटा खण्डहरलाई आफ्नो पसिनाले उद्घार गरेर त्यसरी जीवित तुल्याएको हो । उसको घरको छानो बलियो थियो, जहाँ हावा टकराउँदा समुद्रको किनारमा उठ्नेजस्तो आवाज सुनिन्थ्यो । 

घर थितिमा थियो : माझिएका भाँडाहरू, बढारिएको भुईं, तेलले सफा गरेको राइफल र आगोमाथि उम्लिरहेको सुरुवा । त्यही मेसोमा मेरो अरू कुरामा पनि ध्यान गयो : उसको जुँगा दाह्री सफाचट थियो, कपडाका टाँकहरू टम्म लागेका, र तिनका सिलाई पनि त्यस्तै आँखाले देख्न नसकिने, बडो यत्नले गरेजस्तो, मिहिन । हामीले सुरुवा खायौं र खानापछि जब मैले सुर्तीको पोका अगाडि तेस्र्याएँ, उसले कहिल्यै नलिने भन्दै इन्कार गर्यो । उसको कुकुर पनि ऊजस्तै शान्त थियो, मित्रवत्, तर दासजस्तो होइन । 

सुरुबाटै नभनेरै प्रस्ट थियो, मैले त्यो रात त्यहीँ बिताउनुपर्छ, किनभने अब सबैभन्दा नजिकैको गाउँ पुग्न पनि कम्तीमा डेढ दिन लाग्थ्यो । मलाई यो पनि थाहा थियो कि त्यो अनकन्टार भेकका गाउँहरू कस्ता छन् । ती चार वा पाँचवटा गाउँ, पहाडका ओरालाहरूमा, बाक्ला सेता कटुस वनको बीचमा, छरिएर बसेका थिए, जहाँ पुग्ने बाटाहरू पनि सबै कच्ची थिए । ती गाउँका मान्छेहरू कोइला बनाउँथे र उनीहरूको जिन्दगी साह्रै दुःखसाध्य थियो । जाडो र गर्मी दुइटैमा असाध्यै चोटिलो मौसम हुने त्यस्तो ठाउँमा, हूल गरेर बसेका परिवारहरू, आफ्नै व्यक्तित्व र घमण्डको लडाइँबाट पनि बन्धनमुक्त हुन सक्दैनथे । त्यो ठाउँबाट उम्किने चाहमा, पालेका अराजक उद्देश्यहरू पनि अब त झाँगिएर जङ्गलजस्तै कठोर भएको थियो । लोग्नेमान्छेहरू गाडामा कोइला भरेर बजार जान्थे, र फर्किन्थे । यस्तो गर्दागर्दा जस्तोसुकै मान्छेको आत्मबल पनि यो जाँतो घुमेजस्तो चक्रले टुक््रयाइदिन्थ्यो । स्वास्नीमान्छेहरू घर बस्थे, र अशान्त मन र छट्पटीलाई हुर्काइरहन्थे । हरेक कुरामा रिसइबी र बाझाबाझ हुन्थ्यो ः कोइलाको भाउमा, गिर्जाघरको बस्ने बेन्चमा, आदर्शमा, छलकपटमा, वा यी दुवैको मिश्रणमा । त्यसमाथि, त्यहाँ बेजोडले हावा चल्थ्यो, जसले तिनको रिसको पारो अझै चढाइदिन्थ्यो । त्यहाँ आत्महत्याको शृङ्खला चल्थ्यो, कुनै महामारीजस्तो, वा मान्छेहरू बौलाहाएको घट्नाहरू, अनि परिणामस्वरूप परिवारको हत्या !

गोठालोले एउटा सानो थैलो लिएर आयो अनि त्यसबाट टेबुलमा कटुसका फलहरू खन्यायो । ऊ ध्यान दिएर तिनलाई छुट्याउन थाल्यो, राम्रोलाई नराम्रोबाट अलग्याएर । म आफ्नो सुल्पा तान्न थालें । उसलाई सहयोग गर्न सक्छु कि भनेर सोधें । उसले भन्यो, त्यो सधैं गर्ने काम नै हो । तन्मय र कुशलताका साथ काम गरेको देखेर मैले जिद्दी गरिनँ । हाम्रो कुराकानी भएको त्यति मात्रै हो । राम्रो फलहरू छुट्याएपछि ऊ तिनलाई फेरि दश–दशवटा गरेर छुट्याउन थाल्यो, र यसो गर्दा ऊ अझै नजिकबाट नियालेर साना र अलिकति चिरिएका फललाई पनि हटाइरहेको थियो । असाध्यै राम्रा सयवटा कटुसका फल छुट्याएपछि ऊ रोकियो, अनि हामी सुत्न गयौं । 

त्यो गोठालोको संसर्गले शान्ति दिन्थ्यो । अर्को दिन मैले अझै एकदिन आराम गर्न सक्छु कि भनेर सोधें । उसले त्यसलाई सामान्य रूपमा लियो, अथवा भनौं, मलाई यस्तो छाप पार्यो कि ऊ कुनै कुराले पनि अचम्मित हुँदैन । आराम गर्नु आवश्यक थिएन, तर मलाई उसको बारेमा अझै जान्ने इच्छा थियो । उसले खोर खोल्यो अनि बथानलाई चरनतिर लिएर गयो । जानुभन्दा अगाडि अघिल्लो दिन छानेको कटुसले भरिएको थैलो पानी भरिएको बाटामा चोबल्यो । 

उसले लाठीका रूपमा फलामको एउटा रड बोकेको थियो, मेरो बूढीऔंलाजत्तिकै मोटो अनि लगभग साढे चार फुट लामो । मैले भनेको आराम हिँडेर गरें, ऊ हिँड्ने बाटोको समानान्तर बाटो पछ्याउँदै । उसको चरन उपत्यकामा थियो । आफ्नो कुकुरलाई बथानको जिम्मा लगाएर ऊ म भएतिर लम्कियो । त्यसरी पछ्याइरहेको भएर, मलाई झपार्न आउँदै छ कि भन्ने डर लागेथ्यो, तर त्यसो होइन रहेछ ः ऊ यहीँ बाटो भएर कतै जाँदै थियो, अनि मेरो अरू विशेष काम केही नभए, सँगै जानसक्छु भनेर निम्ता दियो । ऊ गएर एउटा थुम्कोको टुप्पोमा चढ्यो, लगभग सय मिटर पर । 

त्यहाँ पुगेर उसले आपूmसँग भएको फलामको रड भुइँमा गाड्यो, त्यसरी बनेको प्वालमा कटुसको फल रोप्यो अनि फेरि माटोले पुरिदियो । त्यसरी ऊ कटुसको रूख रोपिरहेको थियो । मैले त्यो जग्गा उसको हो र भनेर सोधें । उसले होइन भन्यो । कसको हो भनेर थाहा छ कि भनेर सोधें । उसलाई त्यो पनि थाहा थिएन । मलाई लाग्यो त्यो जग्गा सामुदायिक हो, वा त्यस्तो मान्छेको जसलाई त्यसको कुनै पर्वाह थिएन । उसलाई त्यो जग्गा कसको हो भनेर जान्ने इच्छा पनि थिएन । उसले सयवटा कटुसको फल बडो ध्यानपूर्वक रोप्यो । 

दिउँसोको खाजा खाएपछि उसले फेरि रोपाइँ सुरु ग¥यो । मैले प्रश्न गरिरहें, उसले जवाफ दिइरह्यो । उसले तीन वर्षदेखि त्यो विकटमा रूख रोपिरहेको रहेछ । अहिलेसम्म एक लाख भइसकेछ । एक लाखमा बीस हजार उम्रिएछन् । तीमध्ये पनि आधा, मुसा र पोभान्सको अनुमान गर्न नसकिने प्रकृतिको कारण खेर जान्छ भनेर उसले अड्कल गरेको थियो । त्यसरी, पहिलेको बन्जरजस्तो ठाउँमा दश हजार कटुसका रूख हुर्किंदै थिए । 

त्यतिबेला बल्ल म त्यो मान्छेको उमेर अड्कल काट्न थालें । ऊ ५० वर्षभन्दा त माथि नै हुनुपर्छ भन्ने लाग्यो । ४५, उसले भन्यो । उसको नाम एल्जर्ड बुफिय रहेछ । एक समयमा बेसीतिर घरखेत र जीविका भएको ऊ, आफ्नो एक्लो छोरा, त्यसपछि आफ्नी श्रीमती गुमाएपछि, यो एकान्तमा आएर बसेको रहेछ, आफ्नो तरिकाले जिउन, भेडा र कुकुर लिएर । उसको विचारमा त्यो भूभाग रूखका लागि छट्पटिएको थियो । आफू अरू कुनै कुरामा नअल्झिएकाले, उसले त्यो समस्याको समाधान गर्ने कसम खाएको रहेछ । 

त्यो समयमा म जवान भएर पनि एक्लो जीवन बिताइरहेको थिएँ, त्यसैले मलाई थाहा थियो एकान्तमा बाँच्नेहरूसँग कसरी नम्र हुनुपर्छ । तर जवान भएकैले आफ्नो र सुखका लागि भविष्यमा केही गर्नुपर्छ भन्ने हुटहुटी पनि थियो । मैले आउने तीस वर्षमा उसको दश हजार कटुसको रूख हुर्किएर भव्य हुनेछ भनेर उसलाई भनें । उसले शान्त भावमा भन्यो कि, यदि भगवान्को कृपाले ऊ बाँचिरह्यो भने, ऊ यति धेरै रूख रोप्नेछ कि त्यो जाबो दश हजार रूख त खाली समुद्रको एक थोपा जति मात्रै होला ।

उसले बीचको रूखको प्रजनन् पनि अध्ययन गरिरहेको थियो, अनि तिनका बेर्नाहरूको आफ्नो घरनजिकै नर्सरी बनाएको थियो । भेडाको खोरनजिकै तारबार गरेर हुर्काएको बीचका बेर्नाहरू साह्रै कलकलाउँदा थिए । जमिनको केही फिटमुनि ओस भएको हुनसक्ने उपत्यकामा, ऊ सन्टीको रूखहरू लगाउने पनि सोचिरहेको रहेछ । 

अर्को दिन, हामी छुट्टियौं । 

त्यसको अर्को वर्ष सन् १९१४ को विश्वयुद्घ सुरु भयो, जसमा म पाँच वर्ष अल्झिएँ । लडाकुलाई रूखहरूबारे सोच्ने फुर्सद कहाँ हुन्छ र ! साँच्चै भन्नुपर्दा, मलाई त्यतिन्जेल विशेष प्रभाव परेको थिएन; मैले त्यसरी एल्जर्डले रूख रोप्नुलाई कुनै सोखजस्तो मात्र मानेको थिएँ, हुलाक टिकट जम्मा गर्नेजस्तो, अनि बिर्सिएको थिएँ ।

युद्घ सकिएपछि मैले सेवा भङ्ग भएबापत् अलिकति भत्ता पाएँ अनि फेरि ताजा हावा खान कतै सयर गर्ने इच्छा पलाएर आयो । मबिना कुनै उद्देश्य फेरि त्यहीं बन्जर भूमितिरको यात्रामा हिँडें । 

त्यो ठाउँ परिवेश फेरिएको थिएन । त्यो परित्यक्त गाउँ पुगेपछि मैले देखें, केही परका पहाडका टुप्पोहरूलाई खैरो तुँवालोजस्तो कुनै कुराले छपक्क ढाकेको थियो । अघिल्लो दिनदेखि नै म त्यो गोठालोको बारेमा सोचिरहेको थिएँ । ‘दश हजार कटुसका रूखले,’ म सोचिरहेको थिएँ, ‘साँच्चै निकै ठाउँ ओगट्छ ।’

पाँच वर्षमा मैले यति धेरै मान्छे मरेको देखेको थिएँ कि कल्पना गर्न सजिलो थियो एल्जर्ड बुफिय पनि सायद मरिसक्यो, किन भने बीस वर्षको उमेरमा यस्तै नै लाग्छ कि पचास वर्षको मान्छेसँग गर्नुपर्ने धेरै केही हुँदैन, मर्नुभन्दा । तर ऊ मरेको थिएन । साँच्चै भन्नुपर्दा ऊ अझै फुर्तिलो भएको थियो । अलिकति काम फेरेको थियो । उससँग अब जम्मा चारवटा भेडा मात्र थिए, तर उसले सयवटा मौरीको घार लगाएको थियो । कलिला बिरुवाहरू खाइदिन्छन् भनेर भेडाहरू हटाइदिएको रहेछ । यो पनि भन्यो कि (त्यो देखेर पनि प्रस्ट थियो), युद्घले उसलाई कुनै फरक पारेको थिएन । उसले रूख रोप्न छोडेको थिएन । 

१९१० मा रोपेको कटुस दश वर्षका भएका थिए, अनि हामी दुवैभन्दा अग्ला थिए । त्यो देखेर म चकित र प्रशन्न भएँ । वास्तवमा मसँग भन्नका लागि केही थिएन, ऊ पनि धेरै नबोल्ने भएकाले, हामीले सारा दिन, उसले हुर्काएको जङ्गलमा चुपचाप टहलेर बितायौं । तीनभाग गरी, जङ्गल एघार किलोमिटर लामो र तीन किलोमिटर चौडा थियो । यो सबै एउटा मान्छेको हात र कर्मले, बिनाकुनै प्रविधि, हुर्किएको हो भनेर सम्झँदा, यस्तो लाग्थ्यो, विनाशमा अघि भए पनि अरू कुरामा मान्छे देउताजत्तिकै लायकको छ । 

उसले आफ्नो अर्को योजना पनि सुरु गरिसकेको रहेछ, त्यसैले काँधसम्म बढेका बीचका रूखहरू आँखाले देखुञ्जेसम्म डाँडाहरूमा फैलिएका थिए । उसले मलाई सन्टीका कलकलाउँदा बिरुवाहरू देखायो, पाँच वर्षअघि रोपेको, १९१५ मा, जब म भेर्दुनमा युद्घ लडिरहेको थिएँ । उसले तिनलाई उपत्यकाभरि रोपेको थियो, जहाँ अनुमान गरेजस्तै जमिनमुनि ओस रहेछ । ती बिरुवाहरू साना नानीहरूजस्तै कोमल थिए तर धीर भएर उभिइरहेका । 

त्यो ठाउँमा संसारका सबै उत्पत्ति एक–अर्काको कारणले उदाउँछन् कि जस्तो भान भएको थियो । उसलाई यो कुराको पनि पर्वाह थिएन; ऊ त आफ्नो काममा सधैंजस्तै एकचित्त भएर लागिरहेको थियो । जब हामी गाउँतिर झयौंैं, मैले देखें, मान्छेलाई सम्झना भएदेखि सुकेको कुलोमा फेरि पानी बग्न थालेको थियो । प्रकृतिमा एउटाको कारणले अर्को प्रमाण भरिएर आएको त्यो जस्तो प्रमाण मैले अन्त कहीँ देखेको थिएनँ । त्यहाँका खोलाखोल्सीमा धेरै पहिले पानी बग्ने गथ्र्यो । मैले भनेका परित्यक्त गाउँहरू प्राचीन रोमनहरूको बसोबास भएको ठाउँमा बनेको थियो, जसको प्रमाणहरू अझै भेटिन्थ्यो; त्यो ठाउँमा अन्वेषण गर्ने पुरात्तत्वविदहरूले माछा मार्ने अङ्कुश फेला पारेका थिए, तर जहाँ बीसौं शताब्दीमा, अलिकति पानीका लागि पनि कुवा र इनारमा भर पर्नुपरेको थियो । 

हावाले पनि बीउहरू छर्योे । पानी फेरि बग्न थालेपछि, वरिपरि घाँसको मैदान र फूलका बगैंचाहरू देखापर्न थाले, मानौं जीवनले कुनै सार्थकता भेटाएको छ । तर परिवर्तन यति बिस्तारै भयो कि देख्नेले त्यसलाई आफै भएको हो जस्तो ठाने । खरायो र जङ्गली बनेललाई पछ्याउँदै आएका सिकारीहरूले त्यो परिवर्तन ख्याल नगरेका होइनन्, तर उनीहरूलाई लाग्यो, त्यो सबै प्रकृतिकै कुनै खेल वा लहड हो । त्यसैले त कसैले पनि एल्जर्ड बुफियाको काममा तगारो हालेनन् । कसैले थाहा पाएको भए, सायद उसका विरोधीहरू निस्किन्थे । तर उसको अस्तित्वको भेउ पाउन पनि गाह्रो थियो । गाउँहरूमा वा प्रशासनमा, कसले कल्पना गर्न सक्थ्यो र, त्यस्तो धैर्यताको अनि उदारताको ?

१९२० पछि, म प्रत्येक वर्ष उसलाई भेट्न जान थालें । उसलाई मैले कहिल्यै कमजोरी वा संशयले भरिएको देखिनँ । मैले उसका विफलता र निराशाको कहिल्यै लेखाजोखा पनि गरिनँ । ठूलो प्राप्तिका लागि कुनै कष्टबाट त गुज्रिनु नै पथ्र्यो, अनि बिनाकुनै हारको प्रेरणाले त्यस्तो ऊर्जाले सधैं जितिरहनु पनि सम्भव थिएन । उसले एक वर्ष दश हजार मेपलको बिरुवा लगाउनमा व्यतीत ग¥यो । ती सबै मरे । अर्को वर्ष मेपल छाडेर ऊ फेरि बीचको रूख लगाउन थाल्यो, जुन कटुसभन्दा अझ सप्रियो । यस्तो व्यक्तिको प्रशंसा गर्दा यो कुरा त अझै बिर्सनु हँदैन कि उसले सबै कुरा एकलासमा बसेर गरेको थियो । यस्तो एकान्त कि, जीवनको उत्तरार्धतिर उसले बोल्नै बिर्सिएको थियो । अथवा उसलाई त्यसको कुनै आवश्यकता नै लाग्न छाडेको थियो । 

१९३३ मा एउटा फरेस्ट रेन्जर उसलाई भेट्न गयो र त्यो हुर्किँदै गरेको प्राकृतिक वनको सुरक्षाका लागि अबदेखि घरभन्दा बाहिर आगो नफुक्नू भन्यो । यसरी आफैं फैलिएको वन उसले पहिलोचोटि देखेको हो भनेर पनि भन्यो । त्योबेला बुफिय घरबाट बाह्र किलोमिटर पर बीचको रूखहरू लगाउने योजनामा थियो । घरबाट ओहोरदोहोर गर्न नपरोस् भनेर– ऊ पचहत्तर वर्ष भइसकेको थियो– उसले त्यतै नजिकै ढुङ्गाको सानो कुटी बनाउने सोचेको थियो । अर्को वर्ष उसले त्यही गर्यो । 

१९३५ मा सरकारको तर्फबाट एउटा ठूलो जत्था त्यो ‘प्राकृतिक वन’को निरीक्षण गर्न भनेर आयो । त्यसमा वन कार्यालयको ठूलो हाकिम, सांसद र प्राविधिकहरू थिए । उनीहरूले निकै समय फोस्रा गफ गरे । अनि धेरै कुरा गर्नुपर्छ भन्नेमा निष्कर्षमा पुगे, तर त्यस्तो केही पनि भएन, सिवाय एउटा कुराको– जङ्गललाई सरकारी सुरक्षा र अधिनमा राख्ने, अनि कोइला बनाउने काममा प्रतिबन्ध लगाउने । त्यहाँका सप्रिएका स्वस्थ रूखहरूबाट मोहित नहुन असम्भव थियो । तिनले आफ्नो मोहनीले सांसदलाई पनि छपक्कै रुझाइदिएका थिए । 

त्यो जत्थामा मेरो एउटा साथी पनि थियो । मैले सबै रहस्य उसलाई भनें । अर्को साता एकदिन हामीसँगै एल्जर्ड बुफियलाई भेट्न गयौं । ऊ आफ्नो काममा मिहिनेतले लागिपरेको थियो, निरीक्षण भएको ठाउँभन्दा लगभग दश किलोमिटर टाढा । 

मेरो फरेस्टर साथीलाई कुराहरूको मूल्य थाहा थियो र तिनलाई कसरी गोप्य राख्नुपर्छ भन्ने पनि थाहा थियो । मैले ल्याएको अन्डा एल्जर्डलाई उपहार दिएँ । हामी तीनजनाले खाजा बाँडेर खायौं अनि घण्टौंसम्म एक शब्द नबोलेर त्यो ठाउँ परिवेशबारे एक्लाएक्लै गम्न थाल्यौं । हामीहरू आएको दिशातिर, ओरालो पाखाहरू, बीसदेखि पच्चीस फुट अग्ला रूखहरूले ढाकिएको थियो । मैले सम्झें, १९१३ मा म आउँदा त्यो जमिन कस्तो थियो– मरुभूमिजस्तो... शान्त र निरन्तर काम, त्यहाँको उचाइको त्यो स्फूर्ति दिने हावा, थोरैमा रमाउन सक्ने खुबी र सबैभन्दा माथि आत्माको निर्मलताले त्यो बुढो मान्छेलाई त्यस्तो अलौकिक स्वास्थ्य र ताकत दिएको थियो । ऊ देउताले पठाएको धावकजस्तै थियो । उसले अझ कति धेरै भूमिमा रूख रोप्ने होला, मलाई सोचेर अचम्म लाग्यो । 

हामी जानुभन्दा अगाडि, मेरो साथीले एल्जर्डलाई त्यो ठाउँमा हुर्किने रूखका केही प्रजातिबारे सल्लाह दियो, तर उसले जोड भने गरेन । ‘बुफियलाई मलाईभन्दा पनि धेरै थाहा छ,’ साथीले पछि मलाई भनेको थियो । एक घण्टाको हिँडाइपछि, मनमा धेरै कुरा गमेर, साथीले थप्यो, ‘उसलाई सबैभन्दा धेरै थाहा छ । किनभने उसले खुसी भएर बाँच्ने तरिका भेटाएको छ !’

मेरो फरेस्टर साथीको पहलले गर्दा वनको मात्रै होइन एउटा मान्छेको खुसीको पनि रक्षा भयो । उसले तीनजना रेन्जरहरू खटायो, अनि तिनलाई यसरी थर्कायो कि कोइला बनाउनेहरू र काठ चिरान गर्नेहरूले उपहार चढाउने रक्सीको बोतल र घूसमा उनीहरू अतिकति पनि नबिक्ने भए । 

एल्जर्डको काममा एउटा संकटको बादल १९३९ युद्घतिर आइर्यो । त्योबेलाका रेलहरू काठ बालेर त्यसको इन्धनबाट चल्थे, त्यसैले काठको सधैं अभाव हुन्थ्यो । कटुसका रूखहरूको कटान सुरु भयो, तर त्यो ठाउँ कुनै पनि रेलमार्गभन्दा यति टाढा थियो कि काठको ढुवानी आर्थिक हिसाबले सम्भव थिएन । कटान फेरि बन्द भयो । गोठालोले त्यो केही पनि देखेको थिएन । ऊ त्यहाँबाट तीस किलोमिटर पर थियो, शान्तिले आफ्नो काम गरिरहेको, सन् ३९ युद्घलाई पनि त्यसरी नै बेवास्ता गर्दै जसरी उसले सन् १४ को युद्घलाई गरेको थियो । 

मैले एल्जर्ड बुफियलाई अन्तिमपल्ट १९४५ को जुुन महिनामा देखेको थिएँ । त्यसबेला ऊ सतासी वर्ष पुगिसकेको थियो । म पहिलेको जस्तै सुनसान मार्गहरूको यात्रा गरिरहेको थिएँ, अनि युद्घले सबै भग्नावशेष बनाएको त्यस्तो समयमा, एउटा बसमार्ग खुलेको थियो, डुरान्स उपत्यका र पहाडहरूलाई जोड्ने । मलाई लाग्यो, त्यो छिटो माध्यमबाट यात्रा गरेकोले, मैले पदयात्रामा देखेका ठाउँहरू पनि अञ्जानजस्ता लागेका हुन् । गाडीले छिचोलेका केही इलाकाहरू पनि अपरिचितजस्तै लागिरहेको थियो । केही गाँउहरूको नाम थाहा पाएपछि बल्ल मलाई पक्का भयो म त्यस्तो भेकमा आइपुगेको थिएँ, जुन एक समयमा भग्नावशेषले भरिएको र एकलास थियो । 

बसले मलाई भेर्कन्समा छाड्यो । १९१३ मा त्यहाँ दश वा बाह्र घरको बस्तीमा जम्मा तीनजना बस्थे । उनीहरू बारबरिकजस्ता थिए, एक–अर्कालाई घृणा गर्थे, सकेसम्म छल गर्थे, आदिमानव भन्न अलिकतिले मात्र नसुहाउने खालका । वरपरपका परित्यक्त घरहरूमा काँडैकाँडा उम्रिएको थियो । उनीहरूको अवस्थामा सुधार आउने कुनै आशा थिएन, मृत्यु पर्खनुबाहेक अरू कुनै उपाय थिएन र मृत्युको मुखमा नैतिकवान् भएर बाँच्नु उनीहरूको लागि सम्भव पनि थिएन ।
 
अहिले त्यहाँ सबैकुरा फेरिएको थियो । यहाँसम्म कि हावा पनि । पहिला चल्ने सुक्खा र रुखो हावाको साटो, अहिले हलुका फिरफिरे हावा चलिरहेको थियो, मीठो सुवासले युक्त । पहाडबाट, बगेको पानीकोजस्तो आवाज आइरहेको थियो; वनमा हावा खेलेको आवाज रहेछ । तर सबैभन्दा अचम्मित त्यतिबेला भएँ, जब मैले कुलोमा झरिरहेको पानीको आवाज सुनें । एउटा धारा बनाइएको रहेछ, जसबाट पानीको फोहोरा अनवरत बगिरहेको थियो । तर मलाई सबैभन्दा छोएको कुरा, कसैले त्यसको छेउमा लिनडेनको रूख लगाएको रहेछ, जुन चार–पाँच वर्ष पुरानो भइसकेको हुनुपर्छ, र जसको हुर्काइले त्यो ठाउँमा पुनर्जीवन भित्रिएको संकेत गथ्र्यो । 

भेर्कन्समा अरू पनि कामको संकेत देखिन्थ्यो जुन प्राप्तिको आशाविना गर्न सम्भव थिएन । अर्थात् आशा फर्किएको थियो । 

भग्नावशेषहरू हटाइएको थियो, भत्किन लागेका भित्ताहरू लडाइएको थियो, अनि पाँचवटा पुराना घरको पुनर्निर्माण भएको थियो । अब बस्तीमा नवविवाहित चार जोडीसहित २८ जना बस्थे । भर्खरै प्लास्टर गरेका नयाँ घरहरूलाई वरिपरि करेसा बारीले घेरेको थियो, जहाँ तरकारी र फूलहरू सँगसँगै हुर्किएका थिएः बन्दागोभी गुलाफहरूको बीचमा, डुन्डुको साग कुकुरमुखे फुलसँगै, ज्वानो रत्नज्योति फूलको अघिपछि । त्यो अब सबै बस्न चाहने गाउँ भएको थियो । 

त्यहाँदेखि म पैदल अगाडि बढें । भर्खर सकिएको युद्घका कारण जीवन अझैं खुल्न पाएको थिएन, तर मानौं चिहानबाट लाजरस उठिसकेको थियो । पहाडको भिरालोहरूमा राई र जौको बाली लगाइएको थियो; त्यहाँका उपत्यकाका मैदानहरू हरित हुँदै थिए । 

त्योबेलादेखि अहिलेसम्म, जम्मा आठ वर्षभित्रमा, त्यो सारा भूभाग नै स्वस्थ र समृद्घ भएर उजालिएको छ । मैले १९१३ मा देखेको भग्नावशेष भएको ठाउँमा अहिले चिटिक्कका खेतबारी र हालसालै प्लास्टर भएका घरहरू उभिएका छन्, खुसी र आनन्दको द्योतकजस्तो भएर । वनले सञ्चय गर्ने वर्षा र हिउँले पुराना नालाहरूमा फेरि पानी बग्न थालेको छ । त्यसरी बगेको पानीलाई कुलो बनाइएको छ । सबै खेतबारी नजिकै, मेपल बगानको खोचहरूमा, पुदिनाको हरियो गलैंचालाई पानीको फोहोराले सिञ्चित गरेको छ । बिस्तारै उजाडिएका सबै गाउँहरू फेरि बन्दै र बस्दै छन् । जग्गाको भाउ महँगो हुने समथर भूभागबाट मान्छेहरू यहाँ बसाइँ सरेर आउँदै छन् । उनीहरूले आफूसँगै जाँगर, चहलपहल र यात्राको फूर्ति लिएर आएका छन् । यहाँका बाटा र गल्लीहरूमा रसिलापोसिला लोग्नेमान्छे, स्वास्नीमान्छे, अनि केटाकेटीहरू भेटिन्छन्, जो हाँस्न जान्दछन्, अनि जसले ग्रामीण भेकको हासखेल र मनोरञ्जनमा फेरि जीवनको आनन्द भेटाएका छन् । पहिलेको जनसङ्ख्या, जो अहिलेको प्रफुल्लतामा विलिन भएर चिन्न सकिँदैन र अहिलेको नयाँ बासिन्दालाई लिएर, दश हजारभन्दा धेरै मान्छे यो सबै खुसीके लागि एल्जर्ड बुफियप्रति ऋणी छन् । 

जब म सोच्छु कि एउटा मान्छे, आफ्नो नैतिकबल र सीमित स्रोतको भरमा एउटा मरुभूमिजस्तो ठाउँलाई पनि यसरी जीवित गराउन सक्छ, लाग्छ, चारैतिरको निराशाबीच पनि मानवगुणको जय गर्ने ठाउँहरू अझ बाँकी छन् । अनि जब म यत्रो उपबब्धिका लागि चाहिने निरन्तरता, उदारता र धैर्यको जोखा गर्न थाल्छु म त्यो बूढो र अशिक्षित गोठालोप्रति आदरभावले नतमस्तक हुन्छु, जसको कर्म देउताको भन्दा कम थिएन ।

१९४७ मा बेनोनको एउटा धर्मशालामा एल्जर्ड बुफियले आफ्नो जीवनबाट विश्राम लिएका थिए । 

(अनुवाद : दीपेश नेपाल)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय