site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाम
Sarbottam CementSarbottam Cement

अविनाश भट्टराई


पन्ध्र दिन भइसक्यो, नयाँ जागिरमा अझै खुल्न सकिरहेको छैन, बादल । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छेहरू । सुरुमा त ऊ निकै उत्साहित थियो । तर उसको अपेक्षाविपरीत नौलो ठाउँ र नौलो जागिरमा खासै केही रौनकता भेटेन । दिनभरि ऊ प्रायः आफ्नै कार्यालयमा हुने गर्छ, बाँकी कर्मचारी फिल्डतिर । एक जना महिला लेखापाल छिन् । आफ्नै कोठामा हिन्दी गीत सुन्दै बसिरहन्छिन् । अरूसँग खासै बोल्दिनन् ।

प्रोजेक्ट भर्खर सुरु भएकाले कार्यक्रमहरू भइरहेका छैनन् । त्यही भएर पनि कार्यालयमा अहिले त्यति काम छैन । बादल धेरै समय सामाजिक सञ्जालहरू चलाउँछ । एकछिन गीत हेर्छ । भर्खर दुई बजेको रहेछ । आमालाई सम्झिन्छ । फोन लगाइहाल्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“मम्मी कस्तो छ हजुरहरूलाई ?”

“हाम्लाई त राम्रो छ बाबु, तेरो के छ ? कस्तो लागिरा’छ काम ?”

Global Ime bank

अँ... ठीकै छु, अहिले काम त्यति छैन अफिसमै बसिरा’छु । अँ... खासै रमाइलो लागिरा’छैन, घर आऊँ जस्तो लागिरा’छ ।”

“अब यत्रो बाटो घर त किन आउनु, न्यास्रो लाग्या भए काठमाडौं अङ्कलकाँ जानू, एकदुई दिनलाई ।”

यस्तै कुराकानी हुन्छ, आमाछोराको केहीबेर । दिनमै दुई–तीनपटक गफ हुन्छ, आमासँग । कहिले बुवा, कहिले भाइ र बहिनीसँग पनि । त्यही पनि ऊ प्रत्येक दिन न्यास्रिरहन्छ ।

घर जाओस् त टाढा छ । विराटनगर । सातामा एक दिन बिदा हुन्छ, नजाओस् त एक्लोपनाले भयङ्कर सताउँछ दिनदिनै । अलि ‘इन्ट्रोभर्ट’ नै हो बादल । उसको रूचि मिल्नेसँग भने खुबै खुल्छ । जिन्दगीका २८ वसन्त र शिशिर उसले विराटनगरमै बितायो । १० वर्ष जति उतैको विद्यालयमा पढायो । स्नातकोत्तर उतैबाट गर्यो । यतिका समय आमा, बुवा, भाइ, बहिनीसँग घरमै बितायो । उतैका साथीसँगीसँग रमायो । पछिल्लो समय उसलाई अलिक फरक प्रकृतिको जागिर गर्ने रहर जागेको थियो । गोरखामा काम गर्ने नजिकको साथीले एउटा गैरसरकारी संस्थामा एक पद खाली भएको सूचना दिएपछि उसले जागिरका लागि दरखास्त दिएको थियो । अन्ततः उसको जागिर पनि गोरखामै भयो ।

माघमा पनि गोरखा बजार त्यति चिसिएको छैन । बिहानको धमिलो हुस्सुलाई पारिलो घामले लखेटिसकेको छ । बादलको मनमा भने ढकमक्क कुहिरो लागिरहेछ । दिक्दारीबाट मुक्ति मिल्छ कि भनेर आज एउटा उपन्यास किन्न ऊ निक्लेको छ, शक्ति चोकतिर । स्टेसनरीमा पुस्तक हेर्दै गर्दा एउटी युवती आइपुग्छे । युवती उसलाई गज्जब सुन्दर लाग्छे । उसलाई कति पटक चोरेर हेर्छ । एक पटक युवतीले पनि उसलाई हेर्छे । दुवैका आँखा जुध्छन् । युवतीले अप्ठ्यारो मान्दै एक अपरिचितले दिनेजस्तै मुस्कान दिन्छे । बादल भने ऊसँगै मुस्काउन बिर्सिन्छ । एकछिनपछि ऊ झल्याँस्स हुन्छ र थाहा पाउँछ, आफूले मुस्काउन बिर्सेको । बेला टरिसकेपछि भए पनि ऊ फिस्स हाँस्न खोज्छ । तर युवतीले हेर्दिन । आफूले किनेको किताब बोकेर पसलबाट हिँड्न लाग्दा युवतीले फेरि एकचोटि उसलाई हेर्छे । उसले पनि हेर्छ । यो पटक ऊ मज्जाले मुस्काउँछ । तर युवतीले भने यसो हाँसे जस्तो मात्रै गर्छे ।
. . . 
“मैले हलमै गएर फिल्म हेर्न नपा’को पनि पाँच–छ वर्ष भइसक्यो होला,” चपिङ बोर्डमा हरियो धनिया काट्दै गरेकी रमाले भनिन् । 

“मैले त आजसम्म दुई–तीन ओटा नेपाली फिल्म मात्र हलमा गएर हे¥या’छु,” किचेनको छेउपट्टिको कुर्सीमा बसेकी सजनाले भनी । 

“किन हो, त्यस्तो ? नेपाली फिल्म मन पर्दैन ?” पीठो मुछ्दै गरेको राजुले सजनालाई सोध्यो । 
“ठीकै लाग्छ, लुट टाइपको सिनेमा चैं मन पर्छ,” सजनाले जवाफ दिई । 

“म चैं पर्सि काठमाडौं जाँदै छु, एउटा फिल्म हेरेर आउनुपर्ला,” राजुको दाहिनेपट्टि बसेका कृष्ण सरले आफ्नो योजना सुनाए । 

“मैले त पछिल्लो समय हेरेको भनेको कबड्डी कबड्डी र बाटोमुनिको फूल–२ हो,” कुखुराको मासु कराहीमा ओइरीओरी पन्यूले चलाउँदै गरेको बादलले आफ्नो कुरा बतायो ।

आज कार्यालयकै किचेनमा सबै साथी मिलेर खाना बनाएर खाने तर्खर गर्दै छन् । कहिलेकाहीँ उनीहरू सबै मिलेर यसरी नै खाना खाने गर्छन् । खाना तयार हुन्जेल रमाइलो गफ भई नै हाल्छ ।
“काठमाडौंमा अहिले बाटोमुनिको फूल–२ लागेको छ, हेरेर आउनुहोला सर,” कृष्ण सरपट्टि हेर्दै बादलले भन्यो ।

“राम्रो छ ?” कृष्ण सरले सोधे । 

“अँ मलाई त राम्रो लाग्यो, जातजातिको विभेदको कुरा छ, अन्तर्जातीय बिहेको कुरा छ,” बादलले भन्यो । 

“त्यसो भे कृष्ण सरलाई मन पर्छ, आखिर उहाँले पनि त अन्तर्जातीय बिहे गर्नुभा हो क्यारे,” राजुले जिस्किएको पाराले भन्यो । 

“तर यो सिनेमा त एउटा दलित र गैरदलितबीचको बिहेबारे छ,” बादलले सुनायो । 
“तर एउटा बाउनक्षेत्रीको छोरोले दलित केटीसँग बिहे गर्नलाई त ठूलै आँट हुनुपर्छ यार,” राजुले आफ्नो विचार पोख्यो । 

“तर मलाई किन हो, मन परेको केटी भयो भने त्यस्तो जातसात केही हेर्दिनँ जस्तो लाग्छ,” बादलले पनि आफ्नो धारणा राख्यो । 

“गफै त हो नि,” बेलेको रोटी तावामा फ्यात्त बनाउँदै राजुले बादललाई भन्यो । 

“बोलीमा सबले गर्छन्, कामले गर्न सक्नुप¥यो नि मित्र,” राजुले थप्यो । 

“तर तपाईंहरू जत्तिका मान्छेले पनि जातपातको कुरा वास्ता गर्नुहुन्न है,” कृष्ण सरले सबैतिर हेर्दै सुझाए । 

कृष्ण सर ४५–४६ वर्षका छन् । उबेलामै अन्तर्जातीय बिहे गरेका उनी सनातन सोचविरूद्ध खरो रूपमा प्रस्तुत हुन्छन् । कृष्ण सर र बादलको धेरैजसो राजनीतिक तथा सामाजिक आदर्श मिल्छ ।

“आफूभन्दा अलिकति सानो जातसँग त्यो हुन सक्ला । तर दमैकामीसँग त मरेकाटे कोही बिहे गर्न सक्दैन,” राजुले ठोकुवा दियो । 

“त्यो कुरा तपाईंमा चैं लागू होला, हामीमा होइन,” बादलले प्रतिक्रिया जनायो ।

“लु अब यो जातसातको कुरा छोडुम् र खान सुरु गरम् त,” प्लेटमा दुइटा रोटी र कचौरामा चिकेन राखेर राजु र बादलतिर सार्दै रमाले भनी । 

“लु मैले त सुरु गरें है,” एक टुक्रो रोटी मासुको ग्रेभीमा चोपेर क्वाप्प बनाइहाले कृष्ण सरले । बादल र राजुले पनि प्लेट र कचौरा आफूतिर ताने ।

०००

आज काम अलिक बढी भएकाले र दिउँसो चाँडै काठमाडौं जानुपरेकाले पनि बादल बिहानैदेखि अफिसमा घोटिएको छ । विराटनगरको एकदमै मिल्ने साथी काठमाडौं आएको छ । फेरि उसलाई काकाले पनि बोलाएका छन् । 

“ओहो ३ बज्न लागिसकेछ !” बादल घडी हेर्दै भन्छ । हतारहतार ल्यापटप बन्द गर्छ । झोला मिलाउँछ । कार्यालयका सबै साथीसँग बिदा माग्दै बाहिर निस्कन्छ । अफिसबाट बाहिर निस्केर रोडतिर आइपुग्दा नपुग्दै ‘ए काठमान्डु, काठमान्डु’ खलासीले भन्दै गरेको माइक्रो बस फुत्किहाल्छ । “ए, पखपख,” माइक्रो बस आयुर्वेद चोक कटिसकेपछि बादलले हात दिन पुग्छ । खलासीले पछि मात्र देख्छ र पर झन्डै पेट्रोल पम्प पुगेपछि माइक्रो बस रोकिन्छ । दौडिँदैदौडिँदै बादल त्यहाँ पुग्छ । 

“दाइ काठमान्डु हो ?’’ खलासीले प्रश्न गर्छ । बादलले “हो”को टाउको हल्लाउँछ । 

“लु बस्नू, एउटा सिट खाली छ, यो लास्ट गाडी हो ।” 

बादल खुसी हुँदै एक जनाको छेउमा थ्याच्च बस्छ । गाडी अगाडि बढ्छ ।

बादलको झ्यालपट्टिको सिटमा एक महिला बसेकी छन् । उनले मास्क लगाएकी छन् । ठूलो ‘सनग्लास’ पनि लगाएकी छन् । कानमा सेतो ‘इयरपिस’ राखेकी छन् । बादलले उनीपट्टि यसो आँखा लगाउँछ । उनी सिसाबाट निरन्तर बाहिर हेरिरहेकी छन् । बादलले आफ्नो खल्तीबाट मोबाइल झिक्छ । फेसबुक चलाउन थाल्छ । यात्रा गर्दा ‘इयरफोन’ लगाएर गीत सुन्ने उसको बानी छैन । बरू गाडीमै बजेका गीत सुन्दै यात्रा गर्न उसलाई खुब मज्जा लाग्छ । आज पनि गाडीमा गीत बजिरहेछ— घुम्तीनिर सोल्टिनी, मिनी बस कोल्टिनी, म त जता माया उतै ढल्किनी... ।

बाह्रकिलोमा गाडी एकैछिन रोकियो । गाडीका सबैजसो पेसेन्जर ओर्लिए । युवती पनि तल झरी । बादल पनि झ¥यो । दुई किलो सुन्तला किनेर गाडीभित्रै पस्यो । युवती पनि सुन्तला किनिओरी आफ्नो सिटमा बसिसकेकी थिई । युवतीले मास्क निकालेकी थिई । चस्मा पनि टाउकोतिर सिउरेकी थिई । यस पटक दुई जोर आँखा मज्जाले जुधे । बादललाई केटी कहाँकहाँ देखे जस्तो लाग्यो । 

मास्क निकाल्दै बादलले युवतीलाई भन्यो, “अँ... मैले तपाईंलाई कहाँकहाँ देखे जस्तो लाग्यो ।” 
केटीले मुसुक्क हाँस्तै भनी, “ए हो र ? होला ।” बादलले सम्झिहाल्यो, त्यो सुन्दर केटी, त्यो अद्भूत मुस्कान । शक्ति चोकको स्टेसनरीमा दुई साताअघि देखेकी केटी । 

“अँ... तपार्इंलाई मैले स्टेसनरीमा देखेको हैन ?’’ बादलले सोध्यो । 

“ए होला, मैले सम्झिन सकिनँ,” केटीले मुसुक्क हाँस्दै जवाफ दिई । 

बादलले प्रश्न गरिहाल्यो, “कहाँसम्मन जान लाग्नुभो ?” 

“काठमाडांै... अनि तपाईं नि ?” जवाफसँगै प्रश्न आयो । 

“म पनि काठमाडौं ।” 

“ए,” युवतीको छोटो प्रतिक्रिया । 

गाडी ‘स्टार्ट’ भयो । “जौंजौं गुरुजी,” गाडी अगाडि बढ्यो । 

पाँच फिट १० इन्च अग्लो । छोटो जुँगा । चिउँडोमा मात्रै छोटा दारी राख्ने । ठूला आँखा । गहुँगोरो । ज्यान परेको । आकर्षक देखिन्छ बादल । कति केटी उसलाई मन पराउने छन् । उसले भने खासै चित्तबुझ्दो कोही भेटेको छैन । माइक्रो बसको रफ्तार जति बढ्दै गइरहन्छ, त्यति नै बादलभित्र ऊप्रतिको कुतूहल र उत्सुकता बढिरहन्छ । स्टेसनरीमा भेट्दादेखि नै उसलाई ऊ अत्यधिक मन परेकी हो । आज उसलाई सबैभन्दा मन परेको वस्तु संयोगवश भेटेको अनुभव भएको छ । भर्खर सुरुवात भएको कुराकानीको सिलसिला जोडिरहन मन लाग्छ । फ्याट्ट सोधिहाल्छ, “कहाँ बस्नुहुन्छ ?” 

“घरमा,” उसले अलिक उट्पट्याङ जवाफ दिई र हाँसी । 

“घर चैं कहाँ पर्यो नि ?” 

“गोरखा ।” 

“गोरखा कुन ठाउँ ?”

“भच्चेक ।”

“ए भच्चेक ! मलाई था’छ, हाम्रो प्रोजेक्ट एरिया हंसपुर पनि हो ।”

“कुन प्रोजेक्ट हो र तपाईंको ?”

“गोरखा बजारमा छ,” बादलले पूरा कुरा खोलेन ।

“घर कता पर्यो ?”

“पूर्वतिर हो, विराटनगर ।”

“ओहो, त्यति टाढाबाट याँ कसरी आइपुग्नुभो त ?”

“गाडी चढेर... हाहाहा...,” बादल पनि के कम, अघिको उट्पट्याङ जवाफको उत्तर फर्काइहाल्यो ।

दुवै मन्द हाँसे । एक्कासि गाडीको ‘ब्रेक’ लाग्यो— घ्याच्चै । दुवै मज्जाले अगाडि हुत्तिए । यतिबेला बादलले उसको पाखुरीसँगको एक फाँको स्पर्श पायो । एक हूल तात्तातो रगत उसको मस्तिष्कतर्फ छिटोछिटो दौडियो । दुवै हुत्तिएर अगाडिको सिटमा ठोक्किन पुगे । आत्तिएका एक–अर्काको अनुहार हेरे । बादल हुत्तिएको र डराएको देखेर ऊ निकै हाँसी । बादलले उसको हाँसोमा साँच्चै मान्छे मोहित पार्ने जादु पाउँछ । ठूला आँखा, छाँटकाँट गरेका आँखीभौं, मिलेका सेता दाँत, मन्दमन्द लाली चढेका ओठ, गोरो वर्ण । बादल ऊ हाँसिरहँदा केही बोल्न र सोच्न सक्दैन । केवल ङिच्च दाँत देखाएर उसलाई हेरिरहन्छ । 

“तिम्रो नाम के हो ?” बादलले सोध्यो । 

‘तपाईं’बाट ऊ ‘तिमी’मा ओर्लियो । सम्बन्ध औपचारिकताभन्दा अनौपचारिकतामा खुल्छ भन्ने सायद विश्वास थियो उसमा । 

“रुपा,” उसको जवाफ आयो । 

“रुप पनि राम्रो, नाम पनि रुपा,” बादलले एक राउन्ड तारिफ दिइहाल्यो । 

“ए हो र ? राम्री लाग्यो ?” रुपा लजाए झैं गरी हाँसी । 

“रुपा के ?” बादलले पूरा नाम सोध्यो । 

“रुपा कोइराला ।” 

“ए... ।”

रुपाले गाडीको सिसा पूरै खोली । घाँटीमा अड्केको खकार बिस्तारै मुखतिर तानी र बाहिर थुकी । झ्यालबाट एक अँजुली चकचके बतासभित्र छि¥यो । रुपामा ठोक्कियो । उसको पूरै शरीर जथाभावी छोयो । र बादलमा गएर रोकियो । रुपाको कपडाको अत्तर बादलको नाकबाट हतारहतारभित्र छि¥यो, रगतमा मिस्सियो र उसको मस्तिष्कमा गएर टक्क अडियो । क्या सुगन्ध !

मुग्लिङको पुल आइसकेको रहेछ । यति छिटो र सहज यात्रा बादलले आजसम्म अनुभव गरेको थिएन । माइक्रो बसका ‘बोरिङ पेसेन्जर’हरूसँग उसले धेरैपटक यात्रा गरिसकेको थियो । उसलाई कतिखेर काठमाडौं पुग्ने मात्र चिन्ता हुन्थ्यो । आज भने काठमाडौंको दूरी दोब्बर भइदिए पनि हुन्थ्यो झैं लागिरहेछ । मुग्लिङको पुरानो र जीर्ण पुल, धेरैले ‘डेट एक्स्पायर्ड’ भन्ने गरेकाले बादललाई यो पुल काटिरहँदा धेरै डर लाग्थ्यो । पुल तलको त्रिशूलीको कञ्चन पानी दुवै जना हेरिरहन्छन् । बादललाई आज यो पुलमाथि चलिरहँदा रत्तिभर डर लागेन । आज उसले मक्किन लागेका जस्ता पुलका फलामे रस्सी हेर्दैन । बरू त्यही त्रिशूलीको पानी हेरिरहन्छ । पुल काटिसकेपछि पनि निकै बेर त्रिशूलीतिर आँखा सोझ्याइरहन्छ । सायद ऊ पनि त्रिशूली झैं अविराम बगिरहन चाहन्छ परपरसम्म । कसैलाई साथमा लिएर । उसले पुलुक्क रुपातिर हेर्छ । कानमा ‘इयरफोन’ घुसारेर मन्द परेला बन्द गरेर सुते झैं गरेको देख्छ । आफ्नो मोबाइल झिक्छ । फेसबुक खोल्छ । एकदुई ‘अफलाइन मेसेज’को ‘रिप्लाई’ गर्छ । ‘नोटिफिकेसन’हर हेर्छ । बिस्तारै ‘वाल’ तलतिर सार्दै जान्छ । कुरिनटारमा गएर गाडी रोकिन्छ । खलासी भाइले ‘ग्याप सिट’मा एउटा ‘पेसेन्जर’ राखिहाल्छ । यही निहुँमा बादल रुपासँग हल्का ढेपिएर बस्छ । रुपाले आँखा खोल्छे । बादलतिर हेर्छे । ‘ग्याप सिट’तिर हेर्छे र अलिकति पर सरे जस्तो गरी बस्छे । 

“खुब निद्रा लाग्दो रैछ नि,” बादलले भनिहाल्छ । 

“होइन... हल्का, अरू के गरेर बस्नु छ र ?”

“म त फेसबुक चला’र बसिरा, ए साँच्ची फेसबुकमा तिम्रो के नाम छ ?”

“त्यही आफ्नै नाम ।”

“जाऊँ, जाऊँ,” गाडी हिँड्छ ।

बादलले ‘रुपा कोइराला’ लेख्यो र ‘सर्च अप्सन’ थिच्यो । लामै लिस्ट देखियो वालभरि । एकएक गरी फोटा हे¥यो । रुपाको फोटो चिनिहाल्यो । त्यही पनि यकिन गर्न रुपालाई देखायो, “यही हो ?” रुपाले यसो हेरेर “हो”को मुन्टो हल्लाई । बादलले ‘याड फ्रेन्ड’मा थिच्यो । सेकेन्डमै परिणत भयो ‘फ्रेन्ड रिक्वेस्ट सेन्ट’मा । ‘इन्ट्रो’मा हे¥यो– लिभ्स इन गोरखा, स्टडिङ एट गोरखा मल्टिपल क्याम्पस आदि । अनि सोधिहाल्यो–

“गोरखा क्याम्पस पढ्छौ, हो ?”

“हो ।” 

“त्यसो भे बसाइ पनि गोरखा नै होला ?”

“अँ गोरखा नै हो ।”

“ए... ।”

त्यसपछि दुवैबीच कुराकानी बन्द हुन्छ । यसै बेला बादललाई रुपा सिसातिर मुन्टो कोल्ट्याएर सुत्ने तर्खर गरे झैं लाग्यो । दुवै हात छातीमा बाँधेर बिस्तारै उसले आँखा बन्द गरी । बादलका पनि आँखा त्यसै लोलाए झैं भए ।

“ल दाइदिदीहरू खाजा खान झर्नोस्,” होटलमा काम गर्ने सानो भाइको आवाजले बादल र रुपा झल्याँस्स भए । गाडी रोकिएको थियो । बादलले यस्सो आङ तान्यो । पेसेन्जेरहरू एकपछि अर्को गर्दै होटलतिर जाँदै थिए ।

रुपातिर हेरेर बादलले सोध्यो, “तल झर्ने होइन ?” 

“झर्ने, जाम्,” रुपाले भनी । 

एक प्लेट चना, एउटा जेरी र ‘कोल्ड ड्रिङ्क’ लिएर मेचमा बसे दुवै । एक–अर्कालाई हेर्दै खान थाले । सामान्य कुराकानी गर्दै । मन्दमन्द मुस्काउँदै ।

“कतिखेर पुगिन्छ होला है, साँझ पर्न लाइसक्यो ?” रुपाले भनी ।

“जतिखेरसुकै पुगियोस्, के फरक पर्छ र ?” बादल जिस्कियो । र पाइपबाट दुईतीन चुस्की चिसो तान्यो । फिस्स हाँस्यो । रुपालाई हेर्यो । नजिकबाट हे¥यो । अझै नजिकबाट हेर्यो । रुपाले थाहा नपाउने गरी । सायद हृदयको आँखाले हेर्यो । सेतो पाइप मुखमा लायो । फेरि तान्यो चिसो । तान्यो, रुपाको सौन्दर्यसुधा पनि । बीचबीचमा संवादहरू चली नै रहे । अलिअलि परिचयात्मक । अलिअलि औपचारिक । अलिअलि अनौपचारिक । अनि अलिअलि यी सबैभन्दा माथि र फरकखाले पनि । 

खाजा समय सकियो । माइक्रो बस हुइँकियो सलाङघाटबाट बेजोडले । गाडीको चाल जस्तै बादल र रुपाको निकटता पनि हुइँकिइरह्यो । मन मिल्ने मान्छे भेटे मित्रता हुन र प्रगाढता छाउन रत्तिभर समय नलाग्दो रहेछ । यो सम्बन्ध भन्ने कुरा पनि कहाँ, कुन बेला, कोसँग, कसरी जोडिन्छ भन्न नसकिने रहेछ । सम्बन्ध कि त आवश्यकता वा संयोगले जन्मन्छ । बादल र रुपाको सन्दर्भमा सायद संयोगले हुन सक्छ वा आवश्यकताले हुन सक्छ । अथवा दुवैले हुन सक्छ । यी दुईभन्दामाथि अरू केहीले पनि हुन सक्छ ।

थानकोट चेकपोस्ट कटेपछि गाडी जाममा प¥यो । साँझ परिसकेको थियो । गाडीका यात्रुहरू केही आत्तिए जस्तो, दिक्दारी माने जस्तो देखिन्छन् । यता बादल र रुपालाई भने कति पनि फिक्री छैन । उनीहरू सानो आवाजमा आफ्नै ढङ्गले कुराकानी गरिरहेछन् । यात्रुहरूलाई यस्तो लाग्छ, उनीहरू वर्षौंदेखि परिचित छन् । सबै कुराबाट सन्तुष्ट झैं देखिन्छन् । दुई जना कहिले मुखले बात मार्छन् त, कहिले आँखाले । गाडीमा नवीन के भट्टराईको गीत बजिरहेछ— आँखामा तिमीलाई पाउँछु म धेरै धेरै... । 

“कलङ्की ओर्लिने कोही छ ?” खलासी भाइले सोध्यो । 

“छ छ,” रुपाले भनी । आफ्नो ब्याग काँधमा भिरी र बादलसँग बिदा मागी, “जान्छु ल ?” 

बादलले एक शब्दको प्रतिक्रिया जनायो, “हुन्छ ।” 

दुई जनाले साटासाट गरे, एक आत्मीय मुस्कान । गाडी बालाजुतर्फ अघि बढ्यो ।

बादल खाना खाईओरी डङरङ्ग लड्यो, ओछ्यानमा । एकछिन टेलिभिजन हे¥यो । निदाउन खोज्यो । निद्रा लागेन । बरू सम्झिन थाल्यो, दिउँसोको रोमाञ्चक यात्रा । उसको आँखैमा आयो, रुपाको मान्छे ढाल्ने रुप । मुस्कान । मित्रता । सम्झियो ऊसँगका एकएक संवादहरू । उसैउसै डुब्यो, अद्भुत भावनामा । रङ्गीन कल्पनामा । एकछिन भए पनि फेसबुक नहेरी निदाउन सकेन । आफ्नो ‘अकाउन्ट’ खोल्यो । ‘नोटिफिकेसन’ देख्यो— ‘रुपा ह्याज एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट ।’ रुपाको वाल हे¥यो एकचोटि । उसका फोटाहरू एकएक गर्दै हेर्दै गयो । फोटाहरूले उसका आँखा, हृदय र मस्तिष्कलाई एकसाथ नियन्त्रण गर्यो र गाँठो पर्ने गरी बाँधिराख्यो । फेसबुक चलाउँदाचलाउँदै उसका आँखा लोलाउन थाले ।

बादल एक्लै पार्कभित्रको पश्चिम कुनापट्टि घुम्दै पुग्छ । विपरीत दिशाबाट एउटी सुन्दर केटी आइरहेको देख्छ । नजिकै आएपछि प्रस्ट हुन्छ, ऊ अरु कोही नभएर रुपा रहिछ । दुवै मक्ख पर्छन् । घुम्छन् । पार्कको उत्तरतिर एउटा बेन्च देख्छन् । दुवै बस्छन् । पार्कको मनमोहक दृश्य हेर्छन् । र हेर्छन्, एक–अर्काका आँखाभित्र पनि । दुई जोर आँखा अझ नजिक हुन्छन् । नाक ठोक्किन्छन् । अनि ओंठहरू अनायासै च्वाप्प भइहाल्छन् । “बादल चिया खान उठ्,” काकीले ढोका ढकढक गरेपछि बादल झल्याँस्स भयो । उठेर ढोका खोल्यो । यसो घडी हेर्यो । साढे सात भइसकेको रहेछ । बिहानीपख देखेको सपना सम्झियो । उसैउसै आनन्दित भयो । मन चङ्गा भयो । काकीसँग हल्का रिसायो पनि, “किन डिस्टर्ब गर्नुप¥या होला ।” वास्तविक रुपा र सपनाकी रुपा आइरहे मस्तिष्कमा । आफैं फिस्स हाँस्यो । मोबाइल टिप्यो टेबलबाट । फेसबुक चलाउने त उसको आदत नै हो । एकदुई ओटा समाचार पढ्न थाल्यो । काकीले चिया ल्याइदिइन् । सुरुप्प पा¥यो । टेबलमा राख्यो । केही समाचार पढेपछि अल्छी लाग्न थाल्यो । लगआउट गर्नुअघि यसो च्याट लिस्टमा हेर्यो । रुपालाई ‘अनलाइन’ देखायो । 

पठाइहाल्यो, “हाई ।” 

दुई सेकेन्डमै आयो जवाफ, “हेलो, टी भयो ?”

“अँ पिउँदै छु, एन्ड यू ?”

“मी टू ।”

‘ओ, ह्वाट अ को–इन्सिडेन्ट’सँगै हाँसेको ‘इमोटिकन’ पनि पठाउँछ ।

उताबाट पनि हाँसेको ‘इमोटिकन’ आउँछ ।

“ह्वाट इज योर प्लान टुडे ?”

“नथिङ स्पेसल ।”

“ओ ।”

एकछिनसम्म केही ‘रिप्लाई’ आउँदैन ।

बादलले केही समयपछि लेखी पठाउँछ, “आई स यू इन माई ड्रिम टुडे ।”

“ओहो, गफ !”

“रियल्ली यार ।”

“गुड ।”

“अँ, क्यान वी मिट टुडे ?”

“ह्वाई ?”

“यत्तिकै भेट्न मन लाग्यो ।”

“अम्... ।” 

“यसो गरूम् न, लेट्स मिट एट सातदोबाटो एट टू पीएम ।” 

रुपा थोरै अनकनाए पनि पछि सहमत भई । सातदोबाटोको एउटा क्याफेमा यी दुई भेट भए । तर गफगाफ भने धेरै अघिदेखि भेटघाट भए जस्तै गरी भयो । सायद हिजोको बाँकी कुराकानीको निरन्तरता थियो त्यो । कुनै बेला घरको, कुनै बेला पढाइको, मित्रताको, प्रेमको, सौन्दर्य सबैको कुराकानी भयो । पत्तै नपाई दुई, साढे दुई घण्टा बिताए । दुवैलाई एकअर्का एकदम आत्मीय लाग्न थाले । 

गोरखा बजारतिर पनि भेटघाट भइरहन्छ । दिनहुँ फोन सम्पर्क । दिनहुँ ‘अनलाइन च्याट’ । एकअर्काका असल साथी भएका छन् । एकअर्काका हरेक क्रियाकलापको खोजीनीति हुने गर्छ, चासोका साथ । यो १०–१२ दिनको दौरानमा निकटता पूरै झ्याम्मिसकेको छ । 

आज शनिबार चिल्ड्रेन पार्कमा घुम्न जाने उनीहरूको योजना छ । हिजो नै यो कुराको पक्कापक्की भएको हो । बादलले नै प्रस्ताव गरेको हो । बादलले आफ्नो मोटरसाइकल स्टार्ट ग¥यो र हुइँकियो खल्लुबोटेबाट । रुपा शक्तिचोकबाट बाइकपछाडि बसी । एकैछिनमा पुगिहाले चिल्ड्रेन पार्क । पार्कको डाँडाबाट देखियो, तराई जस्तै फाँट, समथर फाँटको छातीबाट बगिरहेको दरौंदी । फाँटदेखि पर देखिए, हरिया पहाडका लहरहरू, त्यसमाथि देखियो चाँदीको घुम्टो ओढेका अग्ला थुम्काथुम्कीहरू । पार्कबाट देखिएको प्राकृतिक मनोरमताले दुवै जनालाई लठ्यायो । पार्कको पूर्वपट्टिको कुनामा दुवै जना बसे । एकैछिन पार्कको सुन्दरताको कुरा भयो । प्राकृतिक सौन्दर्यको कुरा भयो । आ–आफ्ना कामको कुरा भयो । साथीभाइको कुरा भयो ।

आज बादललाई नपिई पनि नशाले झम्म पारे झैं लागिरहेछ । रुपाप्रति उसका भावनाहरू उसै अटेसमटेस भएर आइरहेछन् । त्यही गुम्सिएर रहेका भावना निकाल्ने सानो बाटो खोजिरहेछ बादल । आज रुपासँग त्यसैत्यसै पोखिन मन लाग्छ । छचल्किँदै बाँध फोरेर ऊसँगै बग्न मन लाग्छ ।

कुराकानीको सिलसिला अगाडि बढ्दै गर्दा बादलले हठात् भन्छ, “रुपा आई लभ यू ।”

“खुब मुडमा छौ जस्तो छ नि ।” (रुपा हल्का हाँस्छे)

“जब तिमी जस्तो मान्छेसँग सम्बन्ध हुन्छ, मुड यस्तै हुँदो रैछ, भावना यस्तै आउँदो रैछ ।”

“ओहो ।” (रुपा फेरि मन्द हाँस्छे) 

“आई एम सिरियस बेब, आई रियल्ली लभ यू ।”

“यू आर माई बेस्ट फ्रेन्ड, हाम्रा लागि योभन्दा माथि नगएकै राम्रो हुन्छ, बादल ।”

“तिमीबाहेक जिन्दगीमा मैले अरु विकल्प सोचेको छैन ।”

“यू डन्ट लभ मी ।” (रुपा अलिक सिरियस जस्तो देखिन्छे)

“हाऊ ?”

“आई नो ।”

“तिमी किन यसो भन्दै छ्यौ ?”

“गिभ मी सम टाइम, वी विल टक अनदर डे ।” 

कुराकानीको सिलसिला टुङ्गिन्छ । दुवै कोठा फर्किन्छन् ।
. . .

चैते दसैंको दिन एकाबिहानै आमाको फोन आयो । हालखबर साटासाट भयो । छोरो गोरखामा वा भनौं जागिरमा रमाउन थालेको घरमा सबैलाई थाहा भएको छ । चैतेदसैंको दिन पनि ऊ काठमाडौं गएन । हिजोआज घरतिर पनि सातामा एक–दुई चोटि मात्र फोन सम्पर्क हुने गरेको छ । आमाले आज भने हालखबर मात्र होइन, अरु पनि केही कुरा गर्न खोज्नुहुन्छ । 

“बाबु, तेरा लागि एउटा केटीको कुरा आ’छ । फेसबुकमा हेर्नू । राम्रो लागे यही वैशाखमा बिहे गर्नुपर्छ ।”

“ह्या मम्मी, अहिले के हतार छ र ?”

“अब पनि ढिला गर्नुहुन्न । राम्रो घरबाट कुरा आ’छ, भाउ खोज्नुहुन्न ।” 

“लल, म पछि कुरा गर्छु,” बादलले कुनै प्रतिवाद नगरी कुरा टुङ्ग्याउँछ । 

सकारात्मक प्रतिक्रिया आए रुपाबारे घरमा कुराकानी गर्ने उसको योजना छ । उसले यति बेला रुपाबाहेक अरु विकल्प देखेको छैन ।

००० 

बादलले हतारहतार दुई पेज ‘प्रिन्ट’ निकाल्यो । ल्यापटप ‘सर्ट डाउन’ गर्यो । र कार्यालयबाट निक्लियो । सबै बोलेरोभित्र बसिसकेका थिए । गाडी ‘स्टार्ट’ भइसकेको थियो । बादल पनि भित्र पस्यो । गाडी हिँड्यो । आज हंसपुरमा केही भूकम्पपीडित दलित परिवारलाई नगद वितरण कार्यक्रम छ । ‘क्यास’ टोलीसँग बादल पनि भच्चेक जान लागेको छ । कच्ची बाटो, खाल्डाखुल्डी, भीरैभीरको बाटो, साँघुरो बाटो, बुङबुङ धूलो उड्ने बाटो । यात्रा निकै कठिन रह्यो । तर सकुशल पुग्यो टोली गन्तव्यमा । भच्चेकको एक झोक्का चिसो बतासले उनीहरूलाई स्वागत गर्यो । वरिपरि पहाडका हरिया तरेलीहरू । नजिकै देखिने हिमालको मुस्कान । भच्चेक बजारले उनीहरूलाई प्रफुल्ल बनायो ।

बादललाई भच्चेकको सौन्दर्यले भित्रबाट छुन सकेको छैन । एउटा मान्छेसँगको केही समयको उठबस र सम्बन्धले कति हलचल ल्याइदिन सक्छ जीवनमा । बादललाई हेरे पुग्छ । बादल पाँच–छ दिनदेखि बडो ‘डिस्टब्र्ड’ छ । उसलाई घोर निराशाले छोपेको छ । उसलाई भर्खर पलाउन लागेको उत्साहमा तुषारापात भए झैं लागेको छ । उसको मनोविज्ञान एकदम चञ्चल भएको छ । कारण हो, रुपा पाँच–छ दिनदेखि सम्पर्कमा नहुनु । उसलाई लागेको छ, आफ्नो प्रेम प्रस्तावले रुपालाई टाढा बनाएको हो । त्यस दिनदेखि रुपा कहाँ छे, के गर्दै छे, केही थाहा छैन ।

बिहानै गोरखाबाट हिँडे पनि १ बजेतिर मात्र आइपुग्यो, भच्चेक बजार । खाना खाइओरी जुटिहाले पूर्वनिर्धारित कार्यक्रमका लागि । आज काम जसरी पनि सक्नुपर्नेछ । र भोलि फर्किहाल्नुपर्नेछ । 

भच्चेक चोकैको गुरुङ खाजा घरसँगैको दुईतले पक्की घरको दोस्रो तलामा छ कार्यक्रम । ५० दलित परिवारलाई नगद वितरण गर्नु छ । खाममा राखिसकेको छ दिनुपर्ने रकम । अब खाम बुझ्नेको सही र नागरिकताको फोटोकपी लिनुपर्नेछ । सामाजिक परिचालिका शर्मिलालाई एकएक गरी मान्छे कोठाभित्र पठाउन बादलले भनेको छ । रश्मिताले नागरिकताको फोटोकपी लिने, कृष्ण सरले खाम दिने र बादलले फोटो खिच्ने जिम्मा लिएका छन् ।

कार्यक्रम अन्तिमतिर आइपुगेको छ । अन्तिममा ढोकाबाट एक्कासि रुपा भित्र प्रवेश गरी । रुपाले बादललाई देखी । बादलले रुपालाई देख्यो । बादल मुस्कायो । रुपा पनि हाँस्न खोजी । तर सकिन । 

“तपाईंको नाम धनकुमारी सार्की हो ?” रश्मिताले सोधी । 

“हैन, मेरो आमाको हो,” रुपाले मसिनो आवाजमा जवाफ दिई । 

“ए लु यहाँ साइन गर्नोस्,” रश्मिताले भनी । 

रुपाले भनेको ठाउँमा हस्ताक्षर गरी नागरिकताको फोटोकपी दिई । कृष्ण सरले दिएको खाम लिई र बाहिरिन खोजी । बादल हेरेको हे¥यै भयो । बाहिरिनुअघि एकचोटि बादलतिर हेरी । केही बोलिन । ओठ खुलाउने प्रयास गरी, तर सकिन । र सरासर बाहिर निस्किई । 

झ्याल छेडेर बादलका आँखा सोझिइरहे बाटोतिर, जहाँ कालो कुर्ता, सेतो सलवार र सेतै सल ओढेको त्यो प्रकृतिको अद्भुत सृष्टि हिँडिरहेथ्यो, रुपाको नाममा । आँखाले भ्याउन्जेल परसम्म हेर्न छाडेन । यसो उत्तरतिर हे¥यो, अघिसम्म मुस्कुराइरहेको हिमाल लटरम्म कुहिरो ओढेर ओझेल भइसकेको थियो ।

. . . 

चैतमा पनि भच्चेक बजार चिसै छ । भूकम्पपछि सबै घरदेखि होटल र लजहरू जेनतेन थोत्रा जस्तापाता ठोकठाक गरेर बनाइएका छन् । बजारको बीचतिरको एउटा होटलको साँघुरो खाटमा उत्तानो परिरहेछ बादल । राति अबेरसम्म निदाउन सकिरहेको छैन । ऊ एकएक गरी सम्झिरहेछ, रुपासँगको पहिलो भेट, माइक्रो बसको त्यो रोमाञ्चक यात्रा, काठमाडौंको क्याफे, गोरखा बजारतिरको घुमघाम, भेटघाट, सामाजिक सञ्जालमा हुने संवाद, फोन कुराकानी । उसले सम्झिन्छ, रुपासँग राखेको प्रेम प्रस्ताव र रुपाको प्रतिक्रिया—

“यू आर माई बेस्ट फ्रेन्ड, हाम्रा लागि योभन्दा माथि नगएकै राम्रो हुन्छ, बादल ।” 

“तिमीबाहेक जिन्दगीमा मैले अरू विकल्प सोचेको छैन ।” 

“यू डन्ट लभ मी ।” (रुपा अलिक सिरियस देखिन्छे)

“हाऊ ?”

“आई नो ।”

“तिमी किन यसो भन्दै छ्यौ ?”

“गिभ मी सम टाइम, वी विल टक अनदर डे ।”

उसका आँखै अगाडि नाचिरहन्छ, दिउँसोको घटना । उसको मस्तिष्कमा ठोकिन्छ, दुइटा नाम— धनकुमारी सार्की र रुपा कोइराला । उसले केलाउँछ दुई नाम— रूपा सार्की र रुपा कोइराला । उसले अन्तिम नाम हटाएर मस्तिष्कमा ‘जुम इन’ गर्छ— ‘रुपा’ । मात्र रुपा । मनमनै सोच्छ, “आहा !” तर अब उसलाई रुपाबारे धेरै सोच्न जरूरी लाग्दैन । किनकि त्यो नामसँग जोडिएको उसको सपना चुँडिइसकेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement