site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आज राम्ररी निदाउँछे ऊ
Sarbottam CementSarbottam Cement

मनीषा घिमिरे


‘तीन वटा छोरीको बाउ बोल्ने सोमत छैन । कैले त चडकाइ दिउँ जस्तो लाग्छ ।’ 

ऊ रिसले भुतभुताउँछे । आफ्नो कान तातेको जस्तो लाग्यो उसलाई । हातले कान छामी । कान साँच्चिकै तातो रेछ । बाथरुम पसेर उसले चिसो पानीको धारा खोली । धारामुनि उभिएर जिउ थाप्दा पनि कानको तातो गएन । पुसको महिना चिसो पानीले नुहाउँदा पनि रिसले तातेको शरीर शीतल बनाउन सकिनँ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘ओहो ! नुहाउँदा कस्तो देखिन्छ होला तिमीलाई, सँगै नुहाउन....’ 

वाक्य पूरा नहुँदै फोन काटेकी थिई उसले तर कानमा परिसकेको नै पर्याप्त थियो । 

Global Ime bank

यो पहिलोपटक हैन । गनेर भ्याउँदिन ऊ कतिपटक यस्ता निर्लज्ज भनाइहरूले उसको मन र मस्तिष्कको शान्ति हराएको छ । कतिपटक रिस मनको बाटो हुँदै आँखाबाट बगेको छ । रातभरि छटपटिएकी छ । 

‘अब अर्कोपटक भन्यो भने जान्या छुँ ।’ तर अर्कोपटक कहिले जानेकी छ उसले, ऊ आफैंलाई थाहा छैन । अर्कोपटक धेरै पटक भइसक्यो ।

‘नुहाउन जान लाको भन्न नहुने । अर्थोक नै भन्नुपर्ने ।’ मनमा कुरा खेल्छ । ‘किन र, अरू बेलामा त्यसले निर्लज्जता देखाएको छैन र ?’ मन भित्रै तर्क पनि छ । 

बालापनदेखि आजसम्म किन आफ्ना निम्ति कहिले पनि बोल्न सकिन ऊ । कसले पत्याउँछ प्रतिकूल परिस्थितिमा पनि आफ्ना सपनाहरू पछ्याएर अगाडि बढ्ने एउटी युवती आफ्ना लागि बोल्न सक्दिन भनेर । 

आज मात्र हैन ऊ कहिले पनि बोल्न सकिन । विद्यालय पढ्दा एउटा सरले उसको असाइनमेन्टमा स्याबासी दिँदै हातलाई कम्मर मुनिसम्म पु¥याएका थिए । त्यो सरलाई त्यतिबेलै धकालेर लडाइदिने मन थियो । सबै साथीहरूलाई त्यसको वास्तविकता देखाइदिने मन थियो । तर ऊ बोल्न सकिन । बरु एक साता विद्यालय गइन । कलिलो मनमा कतै केही भाँचिएको जस्तो अनि भासिएको जस्तो भएको थियो । उसलाई थाहा थिएन ऊ जस्तै उसका साथीहरूको पनि भोगाइ थियो वा ऊ एक्ली थिई यो संसारमा । अहिले पनि त्यो सरलाई सम्झिँदा रगत उम्लिन्छ । त्यसपछि त्यो सरलाई नमस्ते गर्न भने उसले छाडेकी थिई । 

आज निद्रा लाग्दैन उसलाई, थाहा छ । आफ्नै मन आफूसँग हजार प्रश्न गर्दै छ । जवाफ ऊसँग छैन । अनि भोलि फेरि अफिस जानु छ । त्यसको अनुहार हेरेर गुड मर्निङ सर भन्नु छ । उसको जीवन मात्र यस्तो गाह्रो हो कि अरूको पनि यस्तै हुन्छ ? फेरि पनि यसको उत्तर कहँ छ र उसँग । 

अस्ति पार्टीमा जुसको ग्लास लिएर फर्किंदा पछाडिको मान्छेसँग ठोक्किन पुगी । ‘सरी’ मात्र के भनेकी थिई जवाफ आयो ‘नो, पुस मि अगेन’ । जुसको ग्लास त्यसको टाउकोबाट खन्याइदिने मन थियो । तर उसले केही गर्न सकिन । त्यसको निर्लज्ज हाँसो सम्झेर यतिबेला उसको निद्रा झनै हरायो । मनमनै जुसको ग्लास त्यसको टाउकोमा खन्याई उसले । दुई चड्कन पनि लगाई, तर पनि निद्रा परेन । 

अफिसमा काम सबैभन्दा चाँडै सकाउँछे ऊ । कुनै डेडलाइन अहिलेसम्म मिस गरेकी छैन । साधारण स्कुलमा पढे पनि क्षमतामा कमी छैन । डिजर्भिङ छ ऊ प्रमोसन पाउनका लागि । लन्च ब्रेकमा पनि आजभोलि प्रमोसन कै चर्चा छ । गफमा ऊ पनि शामिल हुन्छे । 

‘तपाईंको भइहाल्छ नि । यस्तो हट मान्छेको नभएर अरू कसको हुन्छ ।’ 

हाँसोहरूबीच ऊ एक्लिन्छे । असहज हुन्छे । हट हुनु अनि प्रमोसन पाउनु ! उसको मन कतै कुनै तर्क देख्दैन । उसलाई भन्न मन छ ‘प्रोमोसनमा परफरमेन्सले काम गर्छ । हट हुनुले हैन ।’ तर उसले भनिन । असहज भए पनि उसको असहजता कसैले पत्तो पाए जस्तो लागेन उसलाई । असहज लाग्नुपर्नेले नै नभनेपछि अरूलाई किन लाग्ने । 

हेर्दाखेरि ऊ पक्कै पनि आधुनिक देखिन्छे । ऊ आत्मनिर्भर छे । कसैका बारेमा जजमेन्टल हुन चाहन्न । अरूको प्राइभेसीको सम्मान गर्छे । मिहिनेती छे । तर आफ्ना लागि बोल्न सक्दिन । कस्तो आधुनिकता हो यो । अनि कस्तो आत्मनिर्भरता ! 

कतिपय हेराइहरू असहज लाग्छन् । कतिपय स्पर्श अनि टिप्पणीहरू हरेक दिन ऊ झेल्छे । मानौं हरेक दिन ऊ युद्ध लड्छे । तर प्रतिकार गर्दिन । त्यसैले होला यो युद्ध पनि कहिले सकिँदैन ।

काम सकिँदा रातको ९ बजिसकेको छ । ढिलो भए पनि रिपोर्ट तयार पार्नु । बरु अफिसको गाडीमा घर फर्कनु भन्ने निर्देशन थियो उसलाई । गाडीभित्र बसेर सिटको पछाडि ढाड अड्याएपछि बल्ल उसलाई आफू थाकेको अनुभव भयो । थ्याङ्क गड, भोलि शनिबार हो । लामो सास फेर्छे ऊ । 

‘म्याडमको लोकेसन थाहा छ मलाई । म्याडम त एक्लै बस्नुहुन्छ ।’ गाडीको रफ्तार र ड्राइभरको बोल्ने क्रम जारी छ ।  

‘म्याडमलाई दोहोरी कतिको मनपर्छ ?’ त्यसको जवाफ नआए पनि ऊ फेरि सोध्छ– ‘दोहोरीतिर जाने हो म्याडम ।’ 

‘हैन दाइ मलाई घर पुर्याई दिनुस् ।’ 

‘राम्रो दोहोरी हुने रेस्टुरेन्ट थाहा छ मलाई । फ्यामिली पनि आउँछन् ।’ ड्राइभर केही बेरसम्म प्रयास जारी राख्छ । 

घरको गेटमा पुगेर ऊ लगभग भित्र दौडन्छे । मानौं ड्राइभरले उसलाई तानेर दोहोरीमा लानेछ । 

शनिबार आज उसलाई पार्टी जानु छ । अफिसकै सहकर्मीको हाउस वार्मिङ पार्टी । आज साइत पर्याे । साथी रबिनाले पठाइदिएको रातो ड्रेस लाउने । नि लेन्थको रातो ड्रेस उसलाई साह्रै मनपरेको छ । तयार भएर शिशा अगाडि उभिएर आफ्नै तस्बिर खिच्छे ऊ । रबिनालाई पठाउँछे ।  

‘ओहो ! गज्जब, जिममा पसिना बगाएको रिजल्ट देखिँदै छ ।’ रबिनाको जवाफले ऊ दंग पर्छे । हो नि, ऊ मिहिनेती छे । जिममा पनि कम मिहिनेत गर्दिन ऊ । 

पार्टी सोचेको भन्दा रमाइलो छ । हिजोको थकाइ आजको रमाइलोले बिर्सायो । 

‘आउ एकछिन यता बसुँ ।’ 

ऊ अरू सहकर्मीहरू बसेको ठाउँमा मिसिन्छे । पार्टीमा अघि खिचेका तस्बिरहरू हेर्ने र कमेन्ट गर्ने क्रम चल्छ । 

‘ओहो !  तिमीलाई कति राम्रो देखिएको ।’ कसैले भन्छ । 

खै भन्दै अरू सहकर्मी पनि मीनाले खिचेको उसको तस्बिर हेर्न निहुरिन्छन् । तस्बिर वास्तवमै राम्रो छ । कोही प्रोफेसनल क्यामरापर्सनले खिचेकोजस्तो । 

ऊ आफै मक्ख पर्छे आफ्नो तस्बिर देखेर । ‘खै, अझ राम्रोसँग हेर्नुपर्यो ।’  मीनाको हातमा रहेको फोन माथि एउटा हात झर्छ । हातका दुइटा औंलाहरूले तस्बिरको घाँटीमुनिको भागलाई जुम गर्छ । ‘अहिले देखियो राम्ररी ।’ रक्सीको गन्धमा मिसिएको हाँसोबीच उसलाई लाग्यो, मानौं उसको तस्बिर हैन उसको शरीरलाई जुम गरेर हेरिँदै छ । मानौं उसको विद्यालयका सरले फेरि एकपटक उसलाई छुँदै छ । पार्टीमा भेटेको त्यो मानिस फेरि निर्लज्ज हाँसो हाँस्छ । 

उसले भोगेका अनगिन्ती असहज अनि दुखेका क्षणहरू एकैपटक आँखा अगाडि आए । निद्राविहीन रातहरूमा आँखाबाट बगेको क्रोधले धिक्कारेको थियो । दिनदिनै लडिने यो युद्ध मौनताले लड्न सकिँदैन भन्ने सत्यले मानौं भर्खर आँँखा खोलेको थियो । वातावरणमा एउटा आवाज गुन्जियो । उसको दायाँ हातको हत्केला तीनवटा छोरीको बाउको गालामा बजारिएको थियो ।
 
त्यसपछि छरिएको शान्तिका बीच मीनाले उतिर फर्किएर हेरेकी थिई । मीनाका अाँँखामा देखिएको उज्यालो उसको अन्तरमनसम्म छिरेको थियो । उसलाई लाग्यो उसको मनले आज कुनै प्रश्न गर्दैन । आज राम्ररी निदाउँछे ऊ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement