site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वेदमा भाषाविज्ञानको अस्तित्व
Sarbottam CementSarbottam Cement

मदनमणि दीक्षित

ऋग्वेदको दसौं मण्डलको ७१औं सूक्तको रचनाकार बृहस्पति हुन् । यो सूक्त देवता ‘ज्ञान’लाई समर्पित छ । यसैले गर्दा यो सूक्तमा विलक्षणता छ । यो सूक्तले ज्ञान भनेर वाक्लाई– वाणीलाई अर्थात् बोलिने शब्दलाई लिएको छ– भाषा त्यसैलाई भनिन्छ । यस अर्थमा यो सूक्तका रचनाकार बृहस्पतिले भाषा ज्ञानको महत्त्वबारे ध्यान दिन खोजका प्रस्ट हुन्छ ।

वाणी र भाषाकै निम्ति लेखिएको यो प्रथम वैदिक सूक्तलाई भाषाशास्त्रको पहिलो चरण भन्नु अनुचित होइन भन्ने मेरो धारणा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वाणी र भाषाको पहिलो सम्बन्ध लिपिसित हुने गर्छ । आफ्ना मुखबाट निस्किने ध्वनिलाई एक अर्कोको मनोभाव बुझ्ने उद्देश्य निम्ति विश्व मानवले कहिलेदेखि उपयोग ग¥यो भन्ने प्रश्नको जवाफ पूर्ण हुन सक्दैन । श्रम निम्ति हातको र अर्थबोध निम्ति ध्वनिको उपयोग गरेर नै त्यसले मानव भन्ने नाउँ लियो । संसारमा ४,००० जति भाषा छन् । वाणीको त्यो अज्ञात इतिहासको तुलनामा आफ्ना भावलाई मानवले ‘लेख्न’ थालेको बढी से बढी ६५,००० वर्ष जति भएको छ । हो आदिमकालका गुफाहरूमा (सके तान्त्रिक उपयोगका) रहेका चित्र लेखनहरूका उमेर प्राचीन पाषाण युगको मध्यावधिमा राखिएका छन् । तर ती चित्रहरू अर्थबोध गराउने लिपि लेखन मानिँदैनन् ।

भारतवर्षमा चार हजार वर्ष अघिको सिन्धु सभ्यताले तन्त्र र अर्थबोध निम्ति चित्रलिपिको प्रयोग ग¥यो । त्यसपछि कम्तीमा सत्र सय वर्षको अन्तरालपछि अशोक स्तम्भहरूमा ब्राह्मी लिपि देखापर्छ ।

Global Ime bank

अशोकभन्दा चार सय वर्षअघि नै पाणिनिले आफ्नो अष्टाध्यायी व्याकरण लेखेका थिए र तिनकै कथनअनुसार पूर्व वैयाकरणीहरूलाई समेत उपयोग गरेका थिए (पाणिनिलाई केहीले बुद्धपछि राखेका पनि छन् ।) । 

पाणिनिको युगमा आइपुग्दासम्ममा ऋग्वेदको निर्माण भइसकेर शतपद, ऐतरेय, कोशितककी, तैत्तिरीय ब्राह्मणहरूको पनि रचना सिद्धिसकेको थियो ।

वाणीमा र बोल्दा “आधा स्वर तथा वर्णका मात्राहीन हुनु”लाई यजमान निम्ति वाग्वज्र हुन सक्ने ठह¥याउने वैदिक पण्डितहरूले लिपिको उपयोग नगरी ती मन्त्र र सूक्तहरूको रचना गरे होलान् भन्ने कल्पनासम्मलाई अनुमति हुन सक्दैन । त्यसमाथि सम्पूर्ण वैदिक ऋचाहरू पद र मात्रा छुट्टिएका पन्ध्रभन्दा बढी प्रकारका छन्दहरूमा रचित छन् । अनि सूक्तहरूमा आधा अक्षर वा स्वर जोगाउन सकेमा पुत्रलाभको हर्ष मनाउने समयमा पाणिनिले नलेखीकनै कसरी ‘अष्टाध्यायी’लाई जन्माए होलान् ?

तथापि अशोक र सिन्धुको वैदिक हरियुपिया नगरी (हरप्पा) बीच लिपिमा सत्र सय वर्षको अन्तराल किन त ?

निश्चित नै त्यो लामो युगमै भारतवर्षमा लिपिको व्यवस्थित विकास हुँदै गएर अतीव परिष्कृत ध्वन्यात्मक लेखन–संस्कृतिको जन्म भयो । त्यो विकास भोजपत्र र ताडपत्रका लेख्दालेख्दै भयो । उत्तर–भारतको उष्ण कटिबन्धीय जलवायुमा ती भोजपत्र र ताडपत्रहरू हावामा सुकेर र पानीमा गलेर त्यसै गरी बिलाउँदै गए, जसरी त्यही युगमा पूर्वीय पञ्चनदको कुरुजाङ्गल, अहिच्छत्र तथा काशी, अयोध्या र विदेहका काठका पाँच तलेसम्म अग्ला घरहरू रहेका दस महाजनपदका प्राचीन अवशेषहरू फेला पार्नु आज पनि गाह्रो भइरहेछ ।

यति हुँदाहुँदै पनि ऋग्वेदमा कुनै पनि प्रकारको लिपिको कतै पनि प्रत्यक्ष वा परोक्ष उल्लेख वा संकेतसम्म पनि पाइँदैन । वेदका ऋचाहरू र मन्त्रहरूलाई आजभन्दा एघार, बाह्र सय वर्षअघि मात्र लिपिमा राख्न थालिएका थिए । त्योभन्दा पहिले वेदलाई सुनेर धारण गर्नुपर्छ लेख्न हुँदैन भन्ने धार्मिक विश्वास थियो र त्यसै गरिन्थ्यो पनि । वेदका सम्बन्धमा त्यो मध्ययुगीन विश्वास नै अति प्राचीनकालदेखि नै थियो कि ? सम्झनामा धारण गर्दै नलेखीकनै सूक्तहरूका निर्माण हुने गरेकाबाट नै ती सूक्त रचनाकारलाई “मन्त्रद्रष्टा ऋषि” र ती ऋचाहरूलाई ‘अपौरुषेय’ भन्ने गरेका हुन् कि ?

होइन भने मिश्र र मेसोपोटामियासित परिचित (ऋभुगणबारे विचार गर्दा देखिसकियो), प्राचीन इरान (सुसालाई राजधानी बनाएर ई.पू. ३१०० देखि नै विकसित हुँदै आएको एलाम) सभ्यतालाई अवश्यै देखेका, सिन्धु सभ्यताको विनाशमा सहयोग गरेका, समुद्र यात्राको रमणीय वर्णन गर्ने ती आर्य यज्ञकर्ताहरूलाई अचम्मै नमुना मान्नुपर्ने हुनेछ ।

के बिर्सिनु भएन भने हरियुपिया (हरप्पा) मा ई.पू. २००० तिरै चित्रलेखन थियो, एलामको सुसामा शासक हम्मुरावीले ई.पू. सत्रौँ शताब्दकिो मध्यतिर नै ३६०० पङ्क्तिको प्रथम लिखित संविधानको शिलालेख जारी गरिसकेका थिए र वर्तमान टर्कीको बोगाजकोईमा आर्यहरूकै देवता मित्र, वरुण र अर्यमाहरू शिलाहरूमा ई.पू. १४०० तिर नै अभिलिखित भइसकेका थिए ।  


मानव सभ्यताको पछिल्लो प्राचीन युगमा वाणीले अन्यत्र आकार लिइसकेको त्यस्ता लिपि आधारलाई अवश्यै देखेका श्रुति धुरन्धर आर्य ऋषिहरूको पृष्ठभूमिमा ऋग्वेदको त्यो सूक्तमा देवगुरु मानिएका (देवगुरु बृहस्पति प्राचीन वैदिक ऋषि हुन्, वैदिक युगको अन्त्यकालतिर रचित यो सूक्तका बृहस्पति त्यही नाउँ भएका पृथक् व्यक्ति मान्नुपर्ने देखिन्छ) बृहस्पति भन्छन्–
“कोही कोही ज्ञानीहरूयति सम्मानित हुन पुग्छन् कि तिनीहरू नभई कुनै ठूला काम हुन सक्दैनन् । साथै अरू केहीहरू फल लाग्ने फूल नफूल्ने निरर्थक वाणीको उपयोग गर्दै अन्धाहरू झैँ हिँड्ने गर्छन् । (१०।७१।५)

वाणीको कत्रो मूल्याङ्कन त्यो युगमा ! कि आजको पञ्चायती नेपालका बहुसंख्यक कलमबाजका स्तूति परम्परालाई तिनले त्यसै बेला देखेका थिए ?
सूक्तको पहिलो मन्त्र नै विलक्षण छ । त्यो युग चरित्रतिर ध्यान दिउँ । बृहस्पति भन्छन्–
“वाणीको (पदार्थको) पहिलो नामकरण बृहस्पति गर्छन्, यो पहिलो पाइलो हो    (आजको नमो वागीश्वराय ?) यो ज्ञान गुहा निहित अर्थात् गोप्य थियो तर श्रेष्ठतामा प्रकट भयो !”

“धीर (मेधावी) मानिसहरू वाणीलाई, नाङ्लोले सत्तुलाई चोकरबाट छुट्याए सरह, शुद्ध पारेर प्रयोग गर्छन् । त्यस बेला ज्ञानवान्ले ज्ञानलाई चिन्छ । त्यस्ता वाणीमा भद्र गर्ने (कल्याणकारी) लक्ष्मीको बास हुन्छ ।”

“यज्ञ गर्दै मेधावीहरू वाणी यज्ञको बाटोलाई फेला पार्छन्, ऋषिहरूमा रहेका वाणीलाई त्यसैगरी तिनले प्राप्त गरेर त्यो वाणी सबै मानिसलाई सिकाए । त्यही वाणीको योगबाट सातवटा छन्द बन्छन् ।”

ती वाणी यज्ञ भनेर त्यस बेलाको अध्ययन अध्यापनको शिक्षण प्रणालीलाई संकेत गरिएको यहाँ प्रस्ट छ ।

रचनाकार बृहस्पतिले मानवीय चरित्रलाई बुझेका छन् । प्रतिभा भन्ने आजसम्म पनि बुझ्न नसकेको मानिसको व्यक्तिगत चरित्रलाई वाणीको क्षेत्रमा यसरी प्रस्तुत गर्छन्–
“केही मानिस देखेर–बुझेर–सुनेर पनि बुझने र सुन्ने प्रयत्न गर्दैनन्, तर केहीमा विशेष कृपा गरेर वाणीले बास गर्छे ।”

वाणीको त्यही क्रियालाई त्यो युगले भाषण, गोष्ठी, कवि सम्मेलन, कला क्षेत्र वा जुनसुकै शास्त्र ज्ञानको क्षेत्रमा भए पनि प्रतिभा भनेको छ ।

वाणीको त्यो महानतामा साझा गर्ने आजका दृश्य–श्रव्य पाठ्य सामग्री त्यस बेला प्राप्य थिएनन् । अतः सूक्तकार ज्ञानको त्यो युगको मूल स्रोत भनेर मित्र अर्थात् गुरु अर्थात् सखालाई औल्याउँदै भन्छन्–
“सखालाई ओड्ने ज्ञानीको समेत वाणी पनि फलहीन हुन्छन्, त्यस्ताले सुनेर पनि निस्फल हुन्छ किनभने सुकृत पन्थ (सत्य मार्ग) बारे उसमा ज्ञान हुँदैन ।” पछि गएर यही वैदिक वाक्यका आधारमा उपनिषद्ले “आचार्यवाद् पुरुषोवेद”   (आचार्ययुक्तले ज्ञान पाउँछ) भनेको छ ।

यो सूक्त झन् मार्मिक छ–
“आँखा र कान भएका सखाहरू आशुगामी मनयुक्त असाधारण हुन्छन्, कोही मुखसम्म गहिरा पानीमा र कोही कम्मरसम्मका पानी भएका जलाशयजस्ता हुन्छन् र केही त हृदय जत्तिकै नै गहिरासमेत हुन्छन् ।”

वाणीको प्रतिभावान् उपयोगले यश बढाउनु सर्वथा स्वाभाविक थियो त्यो वैदिक युगमा जसमा सम्पत्तिको स्वामित्वका आधारमा वर्गविभाजन गहिरो वा प्रतिष्ठा–वितरण तथा सम्मान–स्वीकृति आधिकारिक भइसकेको थिएन । अतः यसबारे बृहस्पति भन्छन्–
“यश भनेको सखा जस्तो हो, यशद्वारा सभामा प्रमुखता पाइन्छ । यशवान्हरू प्रशन्न रहन्छन् र तिनका खराबीहरू हरेर अन्न संग्रह बढ्दै उपकार हुन थाल्छ ।”

यो सूक्तको आठौं मन्त्रले वेदार्थ थाहा पाउने वाणीयुक्त ब्राह्मणहरू यशवान् भएर चारैतिर घुम्छन् भनेको छ ।

सुरुदेखि अन्त्यसम्मका सबै ऋचाहरूमा यो सूक्तले एउटै विषयज्ञान–बारे विचार प्रकट गरेको छ, यो सूक्तको भाषा लौकिक संस्कृतिको निकै नगीच छ तथा यसले वाणीमा प्रतिभा जस्तो आधुनिक युगसम्म प्रायः त्यसै रूपमा स्वीकृत रहिआएको मानवीय मूल्यबारे वस्तुवादी विवेचना गरेको छ ।

यसबाट समेत यो सूक्तलाई निकै नै पछिल्लो, झन्डै अन्तिम वैदिक युगको रचना भन्नै पर्छ । त्यसमाथि, सत्य ज्ञान भनेको वाणी युक्त सखाबाट पाउनुपर्छ, पाउन सकिन्छ भन्नेमा जोड दिएर युगको वस्तुवादी चिन्तन प्रवाहलाई थोरै शब्दमा तर यथार्थ तवरमा प्रकट गरेको छ ।

वेदमा वस्तुवाद र यथार्थवादको चर्चा गर्दा मलाई सधैं सन्तोष हुन्छ । ती ऋषिहरूले आफ्नो युगको सीमित ज्ञान क्षेत्रमा पनि अयथार्थ कुरा कहिल्यै गरेनन् । तिनीहरूले यज्ञ, पराभौतिक शक्तिहरूमा, प्रकृतिका शक्तिमा विश्वास गर्दा पनि भौतिक ज्ञान र अनुभवकै आधारमा त्यसो गरे । आफ्ना इतिहास र गाथालाई तिनले कहिल्यै बंग्याएनन् ।

यही सूक्तमा पनि ‘वेदमा अर्थ लगाउनेहरू’लाई बृहस्पतिले कुनै खास महत्त्व दिएको देखिन्न र सभामा समेत (सभा भनेर गणसभालाई भनिएको हो) वाणीद्वारा नै अर्थात् आफ्नै प्रतिभामा भर परेर यश र अन्न धन प्राप्त हुनेबारे चर्चा गरे ।

(वैदिक साहित्यका मूर्धन्य व्यक्तित्व मदनमणि दीक्षितको पुस्तक ‘त्यो युग’ बाट ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement