site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कालो पत्थरको औँठी
Sarbottam CementSarbottam Cement

धर्मवीर भारती


२२ फरवरी, १९५४
भाइ, पहिलेका जेजति कुरा भए– यो डायरीमा म अलिकति पनि त्यो भरिएको मनले– कुनै पूजा प्रार्थनाको मनस्थितिबाट सुरु गरिरहेको छैन, जसरी डायरीहरूको गरेको थिएँ । जो कुनै बेला तिम्रो अनुग्रहका कारण च्यातेर जलाइयो ! गम्भीरता वम्भीरताको कुरा यस्तै उस्तै हुन् ! छाडिदेऊ । 

सोच्दै छु, यी सारा हासो खुसी भरिएको साँझ आखिर बगेरै जानेछ । अचम्म–अचम्मका घटना जुनकिरी जस्तै चम्किएर निभ्नेछ । तिनलाई किन पानाहरूमा बाँधेर न राखौँ । उपन्यास या कथामा नै भए पनि तिनलाई उतारौँ । कुनै कसम खाएर त बसिएको छैन । मन भएमा उपन्यास र कथा पनि लेखिएला, मन भएन भने नलेखिएला । बाँचे आरामले बाँच्ने छु, हैन भने मरेर त गइन्छ नै, कसैले के नै गर्न सक्छ ? कसैको उधारो खाएर बसेको त छैन ? (खैर भाइजान, उधारो त धेरैको खाएर बसेका छौ– खाएरै बसे पनि त के भो ?)

Prabhu Bank
Agni Group
NIC Asia

खास कुरा के हो भने मित्र, हिजोको दिन एकदमै रोचक बित्यो । बिहानै उठेँ । साइकल उठाएँ । पुगेँ आफ्ना मित्र दम्पती मेहरोत्रा कहाँ । खासमा स्थानीय एक साहित्यिक संस्थाद्वारा दुवैको अभिनन्दन हुँदै थियो । यो नगरमा साहित्य प्रेम त प्लेग जसरी नै फैलिएको छ नि ! परिणाम थियो, दुवै एकदम आत्तिएका थिए र व्याकुलताका साथ विराजमान थिए । मैले पुग्नासाथ अभिनन्दनको कुरा उठाएँ । दुवै उफ्रिए । फेरि त त्यहाँ यति उधुम मच्चियो कि कुरै नगरौँ ! फर्किंदा केही आँप र केही फूलका हाँगाहरू मागेर ल्याएँ । 

घर आएँ, खाना खाएँ । उपन्यासको तेस्रो संस्करणको प्राक्कथन लेखेको मात्रै थिएँ दुवै पतिपत्नी आइपुगे । मेरा मित्रले निश्चय गरे, अभिनन्दनको नामका कारण उनलाई जरो आएको छ । अतः उनकी पत्नी मात्रै अभिनन्दनका लागि जानेछिन् । जब उनी गइन् त्यसपछि हामी आरामले गफ गर्न बस्यौँ । 

Global Ime bank

यसैबीच आइन् कलाकारजी । उनी आफ्नो काम गर्दै थिइन् । हामी दुई मित्र आरामसाथ बसेर परनिन्दाको अपूर्व–अलौकिक सुख लिइरहेको थियौँ । मित्र पत्नी फर्केर आइन् । उनले जोडी अभिनन्दन पत्र बोकेर ल्याएकी थिइन् । मित्रका लागि सानो फूलको माला पनि ल्याएकी थिइन् । उक्त माला उनले अत्यन्त श्रद्धापूर्वक मेरो कुकुरको गलामा पहिराई दिइन् जुन माला त्यसले टुक्राटुक्रा पारेर तल–माथि गर्दै आँगनदेखि छतसम्म छरपस्ट पारेर आयो ।

र तत्क्षण निश्चय गरियो, प्रदर्शनी हेर्न जाने । (फरवरीको महिना थियो तर माघको मेलामा प्रदर्शनी जारी थियो ।) प्रदर्शनी हेर्न जाने तय हुनासाथ समय उफ्रिँदै गरेको भकुन्डो भइदियो र हामीलाई आँगनभरि उफार्न थाल्यो । हामी सबैजना उठ्यौँ ।

तल झर्नासाथ हठात्, आमाले कविता र गीत सुन्ने प्रस्ताव राखिन् । उपस्थित सबैमा अप्रत्याशित उत्साहको लहर दौडियो ! अनि बैठकमै गोष्ठी जम्यो । उनले मुस्किलले गला खोलेर स्वर साधेका थिएँ, नजिकैको चोकबाट धैर्यधन पशुशिरोमणिको करुण उदात्त आवाज सुनियो । उप्रान्त हास्दा–हास्दै हामी सबैको हाल बेहाल भयो ! धेरै दिनपछि यो अद्भूत सुख प्राप्त भएको थियो, जुन छात्रावस्थाका बखत विभिन्न कविका सुनेर ‘हुटिङ’ गर्दा प्राप्त हुन्थ्यो ! 

तर मेरी आमा प्रतिबद्ध थिइन् कलाकारजीको गीत सुन्नका लागि । खैर, हामी एकाग्र भएर बस्यौँ । उनको समय आयो र गीत गाइयो । गीत मधुमासका बेला गाइने, हृदयमा अकस्मात् उत्पन्न हुने वेदनासँग सम्बन्धित थियो । निश्चय पनि त्यो गीत उनको आफ्नै थियो । किनभने उनको गीतको अनुप्राश उत्तम, मध्यम र अधम तीनै कोटीभन्दा परको थियो । साथै शैलीमा छायावाद, प्रगतिवाद र प्रयोगवाद तीनैको समानुपातिक समिश्रण थियो । अर्कोचोटि भजनका लागि तोकियो । मैले अत्यन्त रमाइलो पारामा सुझाव दिएँ ‘गिरिधर नागर...’ बोलको गीत गाउन । उनलाई यो सन्दर्भको आभास नै थिएन । मैले खुबै रसपान गरेँ ।

तर जसै हामी घरबाट निस्कियौँ, श्री... एकदम नादिरशाहको ठूली दिदीजस्तै सावधान भइन् र प्रदर्शनीमा पुग्नासाथै उनले कलाकारजीका विषयमा खोजी सुरु गरिन् । यतिबेला उनको उत्सुकताको यो अवस्थामा पुगेको थियो कि पसलमा सजाइएको काश्मीरी गलैँचा हेर्दै एउटा प्रश्न पसलेसँग र एउटा प्रश्न मसँग एकै श्वासमा सोध्न थालिन् । परिणाम यस्तो भयो कि उनी यस हडबडीले गर्दा कहिले मेरो अनुहारतिर हेर्दै सोध्थिन् “यो गलैँचाको साइज कति होला ?” र पसलेतिर अनुहार गरेर सोध्थिन् “यिनले तिमीलाई कहिलेदेखि चिनेका हुन् ?” 

म मनमनै पुलकित भइरहेँ र उनलाई केही समय तपस्या गराई रहेँ । जब प्रदर्शनी घुम्ने काम, जायन्ट ह्विलमा पिङ खेल्ने काम, चाट खाने काम सकियो र चिया पिउन बस्यौँ, त्यसबेला मैले उनलाई ‘मीरा के प्रभु गिरधर नागर...’ को सारा आख्यान सुनाएँ । त्यसबेला पनि सबैको हाल बेहाल भयो– हासोले ।

चिया पिउने काम सकिएपछि प्रदर्शनीको फेरि एक चक्कर लगाउने कुरा भयो । हामी एउटा पसलमा पुग्यौँ । त्यो रंगिन पत्थरहरूको प्रयोग गरी बनाइएको गहनाको पसल थियो । पसलेको बिक्री–सिक्री केही भएको थिएन । त्यसैले पसले चिढिएको थियो । लाग्थ्यो हरेक ग्राहकलाई उसले काँचै चपाउनेछ ! सामान्यतः भारतीय जनता अझै विशेषतः इलाहाबादका जनताबारे उसको दृष्टिकोण त्यही थियो जुन रुसका बारेमा अमेरिकाको र अमेरिकाबारे रुसको रहँदै आएको छ । 

मैले बहादुरीका साथ तय गरेँ कि म पण्डित नेहरूको भूमिका निर्वाह गरेर उनको यो भ्रमलाई प्राण त्यागेरै भए पनि टाढा भगाउने छु । केही न केही किनेरै छाड्छु । बडो छनोट गरेर मैले १६ रुपैयाँ जाने औँठी मन पराएँ । खरिद गरिएको कालो सुलेमानी पत्थरको औँठीको बीचमा पहेँलो नक्कली पुष्पराज पनि जडिएको थियो । सोचेँ, असाधारण छ । राम्रै देखिनेछ । म त्यसलाई बारम्बार डिब्बाबाट निकालेर औँलामा पहिरिन्थेँ र फेरि फुकालेर राख्थेँ । सोचिरहेको थिए यसलाई लिएर कतिले के के भन्ने हुन्, कसरी उडाउने हुन् ! सबैको व्यङ्ग्य वचन सुनेर लज्जित हुनका लागि पनि म उत्सुक थिएँ ।

अर्को दिन औँंठी लगाएर हिँडे । थाहा भएन, कुन उत्साहमा आएर हो टेबुलमा हात बजारेको मात्रै के थिएँ, औँठी चकनाचुर भएर हजार टुक्रा भयो । कुन कता झ¥यो थाहा भएन ! संकोचका कारण केही भन्न सक्ने अवस्था रहेन । त्यतिबेलासम्म मेरो प्यारो कालो पत्थरको औँठी कसैले देखेका पनि थिएनन् । यत्तिकै त्यो सकियो । मानिसले सोधे, “के टुट्यो ?” के भन्नु । मरेको मनले जवाफ दिएँ “बाहुलाको बटन थियो, टुट्यो ।” आधा घण्टापछि त्यहीँ गएर पुष्पराज उठाएँ । थाहा छैन यो सगुन थियो या अपसगुन !

ग्रिकहरूको एउटा वीणा थियो । त्यो हावाबाट बज्थ्यो । हाँगामा विस्तारै राखिदियो । तारले झङ्कार दिन थाल्थ्यो । मैले पनि अचेल आफूलाई राम्ररी, सुस्तरी, हाँगाहरूमा अड्याइदिएको छु । हावाका हरेक झोँक्काले मलाई झङ्कृत गरिरहेकोे हुन्छ । अरू केही हुन्छ हुन्न कसलाई थाहा, तर ताजगी भने छ ।

(सन् १९२६ मा जन्मिएका धर्मवीर भारतीका कथा, कविता, उपन्यास र निबन्धमा धेरै पुस्तकहरू प्रकाशित छन् ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement