कुरूप समयको बयान
घाँटीमा तरबार झुन्ड्याएर
शताब्दीको ढोकामा
ठिङ्ग उभिएको छ समय ।
मौसमबाट बलात्कृत भएको छ फूल
काँडाको टुप्पोमा उभिएर
रातले गरिरहेछ जीवनको अन्तिम भाषण
बादलको जुत्ता लगाएर
विश्वयात्रामा निस्किएको छ बतास ।
हुरीको ढाडमा चढेर
सत्ताको भर्याङ चढिरहेछ आँधी
शीतसँग चिप्लेटी खेल्दै
घामले गाइरहेछ आतंकको गीत
जुनले लेखिरहेछ
अँध्यारोको आत्मकथा
बगाइरहेछन् ताराहरूले
पीडाको आँसु ।
सभ्यताको आदिम पर्खाल भत्काउँदै
पसेको छ बस्तीमा बाढी
पानीको जङ्गलभरि लागिरहेछ
विचारको डढेलो
हिउँको आगोमा
पोलेर खाइरहेछ सिकारीले
युगको मुटु, कलेजो र फोक्सो ।
एक्लै हिँड्न डराइरहेछ सडक
किनारबाटै असुरक्षित छ नदी
जरादेखि नै त्रसित छन्
लस्करै उभिएका आदिवासी रूख
भक्तसँगै सशङ्कित छ भगवान् ।
कुरूप समयको शय्यामा
यतिबेला छटपटाइरहेछ
रोगले ग्रस्त बूढो पृथ्वी
उपचार गर्न नसकेपछि
गालामा हात राखेर
प्रयोगशालाको कुनामा
झोक्राइरहेछ विज्ञान ।
० ० ०
युगको अन्तिम रात
युगको अन्तिम रात
अस्ताउनुअघि डाँडामा टुक्रुक्क बसेर
अन्तिमपटक बिदाइको हात
हल्लाउनेछ घामले ।
उड्नुअघि एकैठाउँ भेला भएर
गाउनेछन् चराहरूले दुःख–सुखका गीत
पग्लनुअघि हिउँको शिरमा
बल्नेछ समयको अन्तिम आगो ।
जीवनको पल्लोछेउ पुग्न
हतार हुने छैन बतासलाई
सबै थकाइ बिर्सिएर
चौतारीमा निस्केर सुस्ताउनेछ नदी
मन्दिरका ताला तोडेर
सडकमा निस्कनेछन् देउताहरू ।
युगको अन्तिम रात–
आँगनमा निस्किएर
खेल्ने छैनन् केटाकेटी
बन्द हुनेछ वृद्धवृद्धाको खोकी
अनि, रोकिनेछ भ्mयाउँकीरीको आवाज ।
रोगले ग्रस्त पृथ्वीलाई
छिचिमिराझैं भेला भएर मान्छेले
काखमा राखेर हल्लाउनेछन्
अन्तरिक्षबाट ओर्लेर
ताराहरूले सुम्सुम्याउनेछन्
र, हतासिँदै अन्तिमपटक चुम्बन गर्नेछ जूनले
पृथ्वीको मृत्यु हुनुअगावै
आत्महत्या गरिसकेको हुनेछ विज्ञानले ।
छोपेर अवसानको पर्दाले पृथ्वीलाई
काँधमा बोकेर
मलामी जाने कोही हुने छैनन् अन्त्येष्टिमा
र, त्यही रातदेखि हुनेछ खोजी
मान्छेविहीन अर्को पृथ्वीको ।