.jpg)
काठमाडौं । कोभिड १९ र लकडाउनका कारण बैंकहरुको साढे २ खर्ब लगानी जोखिममा परेको छ । लकडाउन आंशिक रुपमा खुलेर आर्थिक गतिविधिहरु सुरु हुन लागेसँगै बैंकहरुले आफ्नो लगानीमा रहेको कर्जाको जोखिम आंकलन गर्ने क्रममा यस्तो आकारको लगानी जोखिम देखिएको हो ।
चैत मसान्तमा बैंकहरुको होटल क्षेत्रमा मात्रै होटलमा १ खर्ब ८ अर्ब ६० करोड २९ लाख लगानी रहेको छ । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रमा २७ अर्ब ५२ करोड ७७ लाख रहेको लगानी पनि जोखिममा परेको छ । पर्यटन अर्थात ट्रेकिङ, पर्वतारोहण, रिसोर्ट तथा र्याफ्टिङलगायत क्षेत्रमा भएको लगानी हो यो ।
यस्तै चैत मसान्तसम्ममा बैंकहरुले सार्वजनिक यातायातको क्षेत्रमा १६ अर्ब ५३ करोड ५० लाख लगानी गरेको राष्ट्र बैंकको तथ्याङकले छ । ट्रक तथा अन्य ढुवानीका साधनमा १५ अर्ब २३ करोड ८ लाख लगानी रहेको भने अन्य भेइकल र त्यसको पाटपुर्जामा ३४ अर्ब ३४ करोड ४३ लाख तथा हवाइजहाज र त्यसको पार्ट्समा १० अर्ब १४ करोड २१ लाख लगानी रहेको देखिएको छ । अन्य यातायात क्षेत्रमा ४ अर्ब ९५ करोड १५ लाख बैंकहरुले लगानी गरेका छन् ।
बैकहरुले शिक्षा क्षेत्रमा ४४ अर्ब २ करोड २३ लाख लगानी गरेका छन् । त्यस्तै मनोरञ्जन तथा फिल्मी क्षेत्रमा बैंकहरुको ७ अर्ब ९३ करोड ३२ लाख लगानी रहेको नेपाल बैंकर्स संघमा अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
बैंकहरुको साढे २ खर्ब बढी लगानी जोखिममा रहे पनि आत्तिनुपर्ने अवस्था भने नरहेको दाहाल बताउँछन् । “पर्यटन, ट्रान्पोटेसन, होटल तथा अन्य सेवा क्षेत्रमा गरिएको लगानी पूर्ण जोखिममा छैन,” उनले भने, “करिब साढे दुई खर्ब लगानी बढी जोखिममा हुँदा बैंकहरु आफैंसँगै ६ खर्बको पुँजीकोष छ, त्यसैले त्यति धेरै आत्तिनुपर्ने अवस्था छ जस्तो लाग्दैन ।”
बैंकहरुको मुल्याङ्कनमा पर्यटक स्तरका होटल, यातायातलगायतका क्षेत्रमा बढी प्रभाव देखिएको बैंकरको मूल्यांकन छ । “कर्जा प्रवाहसँगै आर्थिक गतिविधि सुरु हुँदा रिकभरी हुनेमा बैंकहरु आशावादी छौं,” उनले भने, “तर व्यापारी साथीहरुसँग कुरा गर्दा हामी तिर्न सक्दैनौं, व्यापार कम छ भन्नुहुन्छ ।”
होटेलमा भएको बैंकहरुको सम्पूर्ण लगानी पर्यटक स्तरका होटेलमा नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको दाबी गर्छन् । “राजमार्ग र जिल्ला सदमुकामलगायत व्यापारिक क्षेत्रका अन्य होलट सञ्चालनमा आउन थालेका छन्,” उनले भने, “तर पर्यटक स्तरका होटलहरु भने चलेका छैनन्, यसमा दीर्घकालीन प्रभाव पर्ने देखिन्छ ।”
यस्तै सार्वजनिकसहितका यातायातका साधनमा अलि बढी प्रभाव पर्ने देखिएको छ । तर, ट्रकलगायत अन्य ढुवानीका साधनहरु भने आंशिक चल्न लागेकाले यस क्षेत्रमा गरिएको लगानी कम जोखिममा पर्ने मूल्याङ्कन बैंकहरुको रहेको उनले बताए । उद्योग व्यवसाय आधा सुरु हुँदा ढुवानीको साधन पनि आधा मात्रै चल्ने तथा सार्वजनिक बस नचल्दा त्यसमा गरिएको लगानी पनि केही जोखिममा रहेको उनले बताए ।
हवाई क्षेत्र प्रभावित भएकाले यस क्षेत्रमा गरिएको लगानी जोखिममा रहेको निष्कर्ष बैंकरको छ । हवाई क्षेत्रमा गरिएको लगानी जोखिममा रहेको देखेका छौं तर, स्कुल, कलेज लामो समयसम्म प्रभावित नहुने देखिएकाले शिक्षा क्षेत्रको लगानी जोखिममा नपर्ने मूल्यांकन बैंकरको छ ।
लकडाउन खुकुलो बन्दै जाँदा कतिपय क्षेत्रको कर्जा लगानी रिकभर हुन थालेको पनि अध्यक्ष दाहालले बताए । ‘‘अस्पताल, अन्य खुद्रा तथा होलसेल व्यवसायहरु सञ्चालनमा आएसँगै लगानी रिकभरी पनि सुरु भएको छ,’’ उनले भने, “चैतमा तिर्न नसक्नेलाई असार मसान्तमा तिर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ, तर कतिपयले अहिले नै पनि तिर्न थालेका छन् ।”