बाल्यकाल जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । आफ्ना सन्तान सबैभन्दा अगाडि हुन् भन्ने सबै आमाबाबुको सपना हुन्छ । यो सपना पूरा गर्न उनीहरु आफू जस्तोसुकै दुःखपीडा सहनसमेत तयार हुन्छन् । भनिन्छ, बालबालिका काँचो माटोजस्ता हुन्छन् जस्तो आकार दिन खोज्यो उस्तै बन्ने । तर, यसो भन्दैमा अभिभावकले बालबालिकाको स्वतन्त्रता नै हनन गरी तिनको उमेर र ज्ञानले थेग्न नसक्ने विषयमा जबर्जस्ती गर्न भने हुँदैन ।
सूचना प्रविधिको विकाससँगै मोबाइल र इन्टरनेट जविनको अभिन्न अंग बनेको छ । ससाना बालबालिकालाई भुलाउन भिडियो देखाउने र गेम खेल्न लगाउने चलन बढेको छ । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेलाउन दिने अभिभावक धेरै छन् । विद्यालय जाने उमेरका अधिकांश बालबालिका फेसबुक चलाउन र भिडियो गेम खेल्न खप्पिस भइसकेका हुन्छन् । । दिनरात मोबाइलमा फेसबुक र गेम हेर्दा बालबालिकाको सृजनशीलता न्यून भएको छ । बालबालिकाको उमेर शारीरिक, मानसिक र सामाजिकरूपमा पनि विकास हुनुपर्ने समय हो । तर, यस्तो महत्त्वपूर्ण समयमा मोबाइलमा व्यस्त हुँदा बालबालिकाको सर्वांगीण विकासमा नकारात्मक असर गर्छ । बालबालिकालाई खुवाउने, भुलाउने, गृहकार्य गराउने निहुँमा मोबाइल प्रयोग गर्न दिइँदा तिनको भविष्य बर्बाद भइरहेको छ ।
बालबालिकाको ७९—८० प्रतितश दिमागको विकास ३देखि ५ वर्षभित्र हुने गर्छ । यस समयमा उनीहरु हिँड्न, बोल्न, पढ्न, लेख्न सिक्छन् । तर, दिनरात फोनमा भुल्दा उनीहरुको शारीरिक र मानसिक बिकासमा निकै ठूलो असर पर्न सक्छ ।
अर्कोतर्फ अहिले सामाजिक संजालमा आफ्ना बालबालिकाको प्रसारप्रचार गर्ने एक किसिमको लहर चलेको देखिन्छ । पहिले ‘बच्चा पाउने कहिले कहिले भोटो सिउने पहिले’ भन्थे अब ‘बच्चा पाउने कहिले कहिले फेसबुक बनाउने अहिले’ भन्नुपर्ला जस्तो भएको छ । आजभोलि ५ वर्षभन्दा कम उमेरका ससाना बालबालिकालाई जबर्जस्ती टिकटकमा फिल्मका भड्किला डाइलग र उनीहरुले बुझ्दै नबुझ्ने गीतहरूमा अभिनय गर्न लगाइन्छ । त्यत्तिमात्र होइन अझै तिनलाई सिंगारपटार गराएर लिपिस्टिक, सिन्दुर, पोते, सारी, चुरा सबै लगाइदिएर हुँदाहुँदा केटालाई केटी बनाएरसमेत अभिनय गर्न लगाइन्छ । त्यसैगरी युट्युबमा डरलाग्दा कार्टुन र भिडियोहरु देखाउँदा बच्चाहरु एकछिन रमाए पनि उनीहरूको मस्तिष्कमा नकारात्मक असर पर्न सक्छ। यसरी कलिलो उमेरका बालबालिकालाई यस्ता विषय सिकाएर अभिभावकहरुले आफ्ना सन्तानलाई कुन दिसामा धकेलिरहेका छन् भन्नेमा उनीहरु अनभिज्ञ देखिन्छन् । बालबालिकालाई सङ्गीत , चित्रकला, कविता, कथा निबन्ध, वादविवादजस्ता सिर्जनशील पक्ष सिकाउन अभिभावकले समेत बिर्सिन थालिसके जस्तो लाग्छ ।
नर्सरीमा, केजीमा ९५ प्रतिशत ल्याएको छोराछोरीको मार्कसिटको फोटो खिचेर फेसबुकमा हाल्नु कतिको उचित हुन्छ होला ? एकपटक सोचौँ त । देखासिकी गरेर आफ्ना सन्तान कोहीभन्दा कम छैनन् भन्न कतिपय अभिभावकले छोराछोरीको नामबाट विभिन्न लेख लेखेर प्रकाशन समेत गरेको देखिन्छ । यसरी ७ —८ वर्षका बच्चाको नामबाट भारी र निकै अफ्ठेरा शब्द प्रयोग गरेर ठूलो मान्छेले लेखेजस्तो लाग्ने लेख विभिन्न अनलाइन मिडियामा देख्न पाइन्छ । यस्तो देखावटी प्रवृत्तिले गर्दा बालबालिकाको सिर्जनशीलतामा ठूलो चुनौती आउने सक्छ ।
आधुनिक बनाउने निहुँमा कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई अंग्रेजी भाषामात्र बोल्न लगाउँदा उनीहरु नेपाली भाषामा कमजोर भएको पाइन्छ । अहिले सहरका अधिकांश निजी स्कुलमा हेर्ने हो भने प्रायः बालबालिकाको नेपाली विषय कमजोर भएको देखिन्छ। अग्रेजीमा पोख्त बच्चाहरु नेपाली शब्द राम्रोसँग उच्चारण गर्न र लेख्न जान्दैनन् ।
अआफ्ना छोराछोरीलाई राम्रो बनाउने निउमा नचाहिने तडकभडक र देखावटीपनबाट टाढा हुन जरुरी छ । अरूको देखसिकी गरेर बालबालिकालाई मोबाइल खेलाउन दिनुको सट्टा खेलौना किनिदिने, चित्रहरू कोर्न, गीत गाउन, नाच्न लगाउन पनि सकिन्छ । बालबालिकालाई साथीहरुसँग घुलमिल हुन, आफन्तहरुसँग चिनजान गर्न, ठूलालाई आदर गर्न र सानालाई माया गर्न सिकाउनुपर्छ । यस्तै अभिभावकले आफ्ना छोराछोरीलाई प्रशस्त समय दिने, गृहकार्य गर्न सघाउने, सामान्यरूपमा घरबाहिर घुमफिर गर्न लग्ने गरेर पनि मोबाइलको कुलत छुटाउन सकिन्छ । सिर्जनशील बनाउनका लागि बालबालिकालाई छलफलमा सरिक गराउन र तिनको जिज्ञासालाई खुल्ला मनमस्तिस्कले सम्बोधन गर्नुपर्छ ।