
काठमाडौं । लकडाउन यता कर्जा लगानी गर्न नसक्दा बैंकहरुमा तरलता थुप्रिएको छ । सरकाले चैत ११ गतेदेखि गरेको लकडाउका कारण सबै व्यापार व्यवसाय ठप्प हुँदा बैंकहरुको कर्जा लगानी ठप्प छ । तर, निक्षेप भने निरन्तर बढ्दा बैंकहरुमा तरलता थुप्रिएको हो ।
चैत ५ गते शुक्रबार बैंकिङ प्रणालीमा अनिवार्य नगद मौज्दातबाहेक १ खर्ब १५ अर्ब तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । जेठ ३० गते शुक्रबार बैंकिङ प्रणालीमा १ खर्ब २ अर्ब तरलता रहेको थियो । उनले भने, “लकडाउन यता बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् तर निक्षेप संकलन भने भइरहेको छ, एकतिर निरन्तर रुपमा निक्षेप बढ्ने र कर्जा लगानी हुन नसक्दा बैंकमा अधिक तरलताको अवस्था आएको हो ।”
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि राष्ट्र बैंकले तरलता खिच्नका लागि रिभर्स रिपो जारी गरेको छैन । अघिल्लो साता २० अर्बको रिभर्स रिपो म्याच्योर्ड भएको थियो । सामान्यतय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् तरलता खिच्ने गर्दछ । यस्तै बैंकिङ प्रणालीमा तरलता कम हुँदा रिपोमार्फत् बजारमा तरलता पठाउने गर्दछ ।
तर, अहिले बजारमा तरलता बढी भए पनि त्यसको प्रभाव नपर्ने हुँदा तरलता खिच्नेतर्फ राष्ट्र बैंक केन्द्रित नभएको प्रवक्ता गुणाकर भट्ट बताउँछन् । अहिले आर्थिक गतिविधि शून्य रहेकाले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि त्यसले बजारमा प्रभाव परेको छैन । आर्थिक गतिविधि बढ्दै जाँदा भने राष्ट्र बैंकले यस विषयमा सोच्ने उनले बताए । सामान्य अवस्थामा बैंकिङ प्रणालीममा अधिक तरलता हुँदा मूल्यवृद्धि हुने लगायतका प्रभाव पर्ने उनी बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको कर असार ७ गतेसम्म उठाउने बताएका थियो । तर, त्यसमा सर्वोच्चले असार ७ मै कर तिनुपर्ने सरकारको निर्देशनविरुद्ध फैसला सुनाएको छ । यद्यपि कतिपय व्यवसायी तथा सबै बैंक तथा बिमा कम्पनीले असार ७ मा नै कर तिरेकाले शनिबार र आइतबार भने बैंकिङ प्रणालीमा निक्षेपमा केही संकुचन आएको छ ।
चैत यता निक्षेप १ खर्ब ५ अर्बले बढ्दा कर्जा ३४ अर्बले घट्यो
सरकाले चैत १० गतेबाट लकडाउन गरे पनि चैतमा वित्तीय क्षेत्रमा केही चहपल थियो । विशेष गरी लकडाउन अगाडि भएका गतिविधिले चैत महिनामा ४० अर्बले कर्जा लगाानी गरेका वाणिज्य बैंकहरुको कर्जा लगानी वैशाख यता भने निरन्तर ओरालो लाग्दै आएको छ । एकातिर निक्षेप वृद्धि हुँदै जाने र अर्कोतर्फ कर्जा लगानी भने घट्दै जाँदा बैंकहरुमा अधिक तरलताको अवस्था आएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउँदै आएका छन् ।
नयाँ कर्जा लगानी नहुन तथा लगानीमा रहेको कर्जाहरुबाट भने असुल हुँदै जाँदा लगानीमा रहेको कर्जा पनि घट्दै गएको हो । अध्यक्ष दाहालले भने, “लकडाउन यता एलसी खोल्ने तथा बैंक ज्ञारेन्टीबाहेक कर्जाको माग नभएको तर लगानीमा रहेको कर्जाको असुली हुँदै जाँदा लगानीमा रहेको कर्जा घट्दै गएको हो ।” पछिल्लो समय आर्थिक गतिविधि सुरु हुँदै जाँदा बैंकिङ गतिविधि बढ्दै गए पनि कर्जाको माग भने अझै पनि नआएको बैंकर्सहरु बताउँछन् ।
फागुन मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३१ खर्ब ४० अर्ब थियो भने कर्जा लगानी २८ खर्ब ३ अर्ब रहेको थियो । चैत मसान्तमा अउँदा बैंकहरुको निक्षेप बढेर ३१ खर्ब ८९ अर्ब पुग्यो भने कर्जा लगानी २८ खर्ब ४५ अर्ब पुग्यो ।
यस्तै वैशाख लागेपछि बैंकहरुको निक्षेप बढ्दै जाँदा कर्जा लगानी ओरालो लाग्यो । वैशाख १२ गते बैंकहरुको निक्षेप बढेर ३१ खर्ब ९४ अर्ब पुग्यो भने कर्जा लगानी घटेर २८ खर्ब ४१ अर्बमा झर्यो । वैशाखको अन्तिम शुक्रबार २६ गते निक्षेप बढेर ३२ खर्ब १४ अर्ब पुग्दा कर्जा लगानी घटेर २८ खर्ब ३६ अर्बमा झर्यो ।
जेठको पहिलो शुक्रबार २ गते बैंकहरुको निक्षेप संकलन ३२ खर्ब १९ अर्ब पुग्दा कर्जा लगानी घटेर २८ खर्ब २९ अर्बमा झर्यो । जेठको अन्तिम शुक्रबार ३० गते सम्म आउँदा बैंकहरुको निक्षेप बढेर ३२ खर्ब ७६ अर्ब पुग्यो भने कर्जा लगानी घटेर २८ खर्ब १६ अर्बमा झर्यो । यस्तै असारको पहिलो शुक्रबार ५ गते बैंकहरुको निक्षेप संकलन ३२ खर्ब ९४ अर्ब पुग्दा कर्जा लगानी घटेर २८ खर्ब ११ अर्बमा झरेको छ ।