
काठमाडौं । लकडाउनको मोडालीटी परिवर्तन गरेर अन्य आर्थिक गतिविधि सुरु हुँदा पनि सेयर बजार ठप्पै छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कारण बजार खोल्न नसकिएको बताउँदै आएको छ । यस्तै नेप्से भने आफू बजार खोल्न तयार भएको तर बोर्डबाट बजार खोल्ने निर्देशन कुरेर बसेको बताउँछ ।
जेठ ३२ गते आइतबार बजार खोल्ने विषयमा बोर्डले नेप्से तथा लगानीकर्ताका प्रतिनिधिसँग छलफल गरेको थियो । तर उक्त छलफलले बजार खोल्ने विषयमा कुनै निष्कर्ष निकाल्न सकेन । आइतबारको छलफलपछि बोर्डले नेप्सेलाई बजार खोल्ने तथा मोडालीटीको विषयमा लिखित प्रतिक्रिया माग गरेको थियो ।
त्यसपछि बोर्ड र नेप्सेबीच थप छलफल हुन सकेको छैन । न त बोर्डले मागेको लिखित जवाफै नेप्सेले पठाएको छ । बोर्डका अधिकारीहरु नेप्सेको कारणले नै धितोपत्र बजार खोल्ने विषयमा अन्यौलता भएको बताउँछन् । बजार नखुल्नुको अर्को कारण लगानीकर्ताको नाममा खुलेका संगठनहरुले भनेको स्टीमुलस प्याकेज पनि छ । आइतबार बोर्डमा भएको छलफलमा लगानीकर्ताका संगठनले स्टिमुलस प्याकेजसहित बजार खोल्नुपर्ने माग उठाएका थिए ।
के थियो लगानीकर्ताको माग ?
बोर्डमा भएको छलफलमा सेयर लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम हो कि होइन क्लियर बनाउनुपर्ने, तथा सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाउनुपर्ने, ब्याज तिर्नुपर्ने समय बढाउनुपर्ने तथा अनलाइन सिस्टम पूर्ण स्वचालित बनाउनुपर्नेलगायत माग राखेका थिए ।
लगानीकर्ताले राखेका माग पूरा गर्न बोर्डले नेप्सेलाई अनलाइन सिस्टमलाई पूर्ण स्वचालित बनाउने तथा लकडाउनबीच दुई दिन बजार खुल्दा सर्किट ब्रेकर, कारोबार समयलगायतमा गरेको परिमार्जनमा अब कुन मोडालीटीमा जाने भन्ने विषयमा लिखित प्रतिक्रिया माग गर्यो ।
यस्तै बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गर्दै ५ प्रतिशत पुँजीगत लाभकारलाई नै अन्तिम कर मानि कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था गरीदिन आग्रह गर्यो । बोर्डले नेपाल राष्ट्र बैंकलाई पनि सेयर धितो कर्जामा सेयर मूल्याङ्कनको ६५ प्रतिशत कर्जा दिने गरेकोमा ७५ प्रतिशत कर्जा दिने र १० प्रतिशतभन्दा बढीले बजार घटेपछि मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न तथा कनेक्ट आईपीएसबाट हुने अनलाइन भुक्तानीको सीमा हटाउन राष्ट्र बैंकलाई आग्रह गर्यो ।
लगानीकर्ताको संगठनले यथास्थितिमा बजार खोल्न नहुने भन्दै दबाब दिएपछि बजार खोल्न हच्किएको बोर्डले लगानीकर्ताका मागहरु पुरा गराउने प्रयासलाई भने जारी राखेको छ । बोर्डले बुधबार मात्रै एक सूचना जारी गर्दै तत्कालका लागि आईपीएस र विद्युतिय माध्यमबाट रकम भुक्तानी गर्ने व्यवस्था गर्न र साउन १ गतेबाट अहीलेको अनलाइन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन निर्देशनसमेत दियो ।
तर नेप्सेले न बोर्डले मागेको लिखित प्रतिक्रिया नै बुझाएको छ न त अनलाइनलाई स्वचालित बनाउन सकिन्छ नै भनेको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउद लगानीकर्ताको कनेक्ट आईपीएस लिने र मेरो सेयर खोल्ने काम नेप्सेको नभएको बताउँछन् । बोर्डकै कर्मचारी र लगानीकर्ताहरु पनि नेप्सेको अहिलेको अनलाइन कारोबार प्रणालीमा पूर्ण अटोमेसन गर्न नसकिने भएकाले नेप्सेले विभिन्न बहाना बनाएको आरोप लगाउँछन् । नेप्सलाई अनलाइन कारोबार प्रणाली दिने वाइकोसँगै अनलाइन प्रणालीको नभएको समाचार यसअघि नै बाहिरीएको हो । “वाइकोले पूर्ण स्वचालित गर्न नसक्ने भनेपछि नेप्सेले बाहना बनाएको मात्रै हो,” एक लगानीकर्ताले भने ।
यता राष्ट्र बैंकले पनि धितोपत्र बोर्डले गरेको आग्रह तत्काल पूरा गर्न नसकिने तर मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सकिने जवाफ बोर्डलाई दिएको स्रोतको दाबी छ । यस्तै बोर्डको पत्राचार पछि अर्थमन्त्रालयले ५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको भन्दै बोर्डलाई पत्र पठाएको स्रोतको दाबी छ । तर यस विषयमा औपचारिक पुष्टि हुन भने बाँकी छ ।
यता बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सीईओ साउद पुँजीबजारको विषयमा छलफल गर्न बिहीबार गभर्नर कार्यालय पुगेको छन् । गभर्नरसँगको छलफलमा बोर्डले गरेको केही आग्रह तत्काल पूरा गर्न आग्रह गरेको स्रोतको दाबी छ । बोर्डले राष्ट्र बैंकसमक्ष आधा दर्जन सुझाव पठाए पनि तत्कालका लागि भने सेयर धितो कर्जाको सीमा बढाउन र आईपीएसमा विद्युतीय माध्यमबाट गर्ने कारोबारमा सीमा हटाउने व्यवस्था गर्न बोर्ड अध्यक्षले गभर्नरसमक्ष आग्रह गरेका छन् ।
बोर्ड र नेप्सेबीच असमझदारी कायमै
नेप्सेले बोर्डको निर्देशन पालना नगर्दा बजार खोल्न समस्या भएको बोर्डका कर्मचारी बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै बोर्डका एक कर्मचारीले भने, “जेठ ३२ गते नै बोर्डले नेप्सेलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली, तथा अबको दिनमा कारोबारको नयाँ मोडालीटीलगायत विषयमा लिखित प्रतिक्रिया माग गरेका थियौं, तर आजसम्म पनि त्यसको जवाफ आएको छैन, यसबाट प्रस्ट हुन्छ कसको कारणले बजार खुलेको छैन भन्ने ।” पुँजीगत लाभकर विवाद र मार्जिन लोनको विषय पनि एउटा होला तर नेप्सेको जवाफै प्रमुख कारण रहेको ती अधिकारीले स्पस्ट पारे ।
ती कर्मचारीको भनाइलाई नेप्सेका सीईओ साउद र धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीको भनाइले पनि प्रस्ट पार्छ । बुधबार बाह्रखरीसँग कुरा गर्दै बोर्डका प्रवक्ता गिरीले के कसरी बजार खोल्न सकिन्छ त्यो विषयमा लिखित भनाइ माग गरेको तर नेप्सेबाट त्यसको जवाफ नआएको बताउँछन् । “लकडाउनको बीचमा दुई दिन बजार खोल्दा सर्किट ब्रेक २ र ३ प्रतिशत भनिएको थियो,” उनले भने, विशेष परिस्थितिमा बजार खोल्दा त्यो व्यवस्था गरीएको थियो तर अब बजार खोल्दा के कस्तो व्यवस्था गर्नुपर्छ, कहिलेबाट बजार खोल्दा उपयुक्त हुन्छ भनेर लिखित सुझाव मागेका छौं तर अहिलेसम्म आएको छैन ।”
यद्यपि बोर्डको सोच आइतबारबाट बजार खोल्नुपर्छ भन्ने रहेको तर एकपटक नेप्सेको पनि पनि धारणा लिउँ भनेर लिखित रुपमै सोमबार मागेको तर नेप्सेले भने बुधबार साँझसम्म लिखित धारणा बोर्डलाई नपठाएको उनले बताए ।
नेप्सेको सीईओ साउद पनि बोर्डले लिखित धारणा मागेको स्वीकार गर्छन् । “बोर्डलाई हामीले वैशाख ३० र ३१ गते बजार खोल्नुअगाडि नै लिखित धाराण दिएको हो एकपटक लिखित रुपमा दिएको कुरा किन दोहोरो गर्नु भन्ने हो,” बाह्रखरीसँग उनले भने, “टी-प्लस थ्रीमा सेटलमेन्ट गर्ने, बैंक इन्ट्रिग्रेसन गर्ने तथ मेरो सेयर इन्ट्रिग्रेसनको काम भएकको छ, धितोपत्र कारोबारको ऐन नियमको पेरिफेरीभित्र रहेर गर्नुपर्ने कामहरु भएका छन्, हामीले गर्नुपर्ने काम केही बाँकी छैन ।” बजार कतिघण्टा खोल्ने र के गर्ने भन्ने विषयमा भने छलफल गर्न बाँकी रहेको उनले बताए । यद्यपि यो बोर्डले गर्ने विषय भएको उनले बताए ।
यता ब्रोकरको ब्याकअपसँग नेप्सेको टीएमएस इन्ट्रिग्रेसन नहुने साउन बताउँछन् । “ब्रोकरको ब्याकअप सिस्टम इन्ट्रिग्रेसन गर्दा लगानीकर्ताको विवरण तथा सेयरको सेक्युरिटीको जिम्मेवारी कसले लिन्छ भोलि ?’’ उनले प्रश्न गरे । नेप्सेले ब्रोकरको ब्याक अफिसलाई नचिन्ने उनले बताए । नेप्सेले टीएमएसलाई मात्रै एटीआई दिने उनले बताए । ‘‘अहिले ब्रोकरको ब्याक अफिस भन्ला भोलि अर्को भन्ला सबैलाई दिन सकिन्छ ?’’ उनले प्रश्न गरे ।
नेप्से लकडाउनअगाडिको मोडालिटीमै बजार खोल्नुपर्छ भन्ने पक्षमा रहेको तर बोर्डको निर्देशन कस्तो आउँछ त्यसलाई कार्यान्वयन गरेर अगाडि जाने उनले बताए । बोर्डको निर्देशन आए आइतबारबाट नेप्से बजार खोल्न तयार रहेको उनको भनाइ छ ।