
काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्सले संघले कर बुझाउन सबै बैंकलाई आग्रह गरेको छ ।
संघको बिहीबार बसेको बैठकले सर्वाेच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्दै लकडाउन खुलेको ३० दिनमा कर तिर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिए पनि बैंकहरूले भने कर तिर्ने निर्णय गरेका हुन् ।
“राज्यले पनि पैसाको आवश्यकता भयो भनेको छ । त्यसैले बैंकर्स संघले सबै साथीहरूलाई कर तिरौं भनेर आग्रह गरेका हौं,” संघका अध्यक्ष भुवन दाहालले बाह्रखरीसँग भने । सरकारले चैतसम्मको कर र वैशाखसम्मको टीडीएस तिर्नू भनेर निर्णय गरेको छ । सरकारको निर्णयअनुसारै असार ७ सम्म सबै बंैकलाई कर तिर्न आग्रह गरिएको उनले बताए ।
“राज्यको निर्देशनलाई त सर्वोच्चले रोकेको थियो तर हामीसँग पैसा छ, त्यसैले तिर्ने निर्णय गरेको हो,” उनले भने, “सर्वाेच्च अदालतको निर्णय केही व्यापारीका लागि ठीक होला तर हाम्रा लागि ठीक होइन ।”