
काठमाडौं । लकडाउनले गर्दा करिब ३ महिना यता निर्यात व्यापारमा र रेमिट्यान्समा संकुचन आउँदा विदेशी विनिमय सञ्चिती (विदेशी मुद्राको सञ्चिती) भने बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा विदेशी विनियम सञ्चिती १८.१९ प्रतिशतले बढेको जनाएको छ ।
गत आर्थिक वर्षको अन्त्य २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको विदेशी विनिमय सञ्चिती चालु आर्थिक वर्षको वैशाख मसान्तमा आउँदा बढेर १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरीकी डलरमा भने नेपालको विदेशी विनिमय सञ्चिती ७.३२ प्रतिशतले बढेको छ । गत असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिती ९ अर्ब ५० करोड रहेकोमा वैशाख मसान्तमा आउँदा बढेर १० अर्ब २५ करोड पुगेको छ ।
वैशाख मसान्तमा नेपालममा रहेको विदेशी विनिमय सञ्चितीमा भारतीयमुद्राको अंश २४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आयातमा भएको कमी, ३ महिना यता लकडाउनले गर्दा निर्यात व्यापार शून्यजस्तै हुनुका बाबजुद पनि निर्यातमा भएको सामान्य वृद्धि तथा अमेरीकी डलरको मुल्य बढ्दै जाँदा रेमिट्यान्स घटे पनि नेपालको विदेशी विनमिय सञ्चितीमा भने बढेको देखिन्छ ।
चालु आबको १० महिनामा गत वर्षको भन्दा बस्तु आयात १३ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोडमा सिमित भएको छ भने वस्तु निर्यात ४.५ प्रतिशतले विस्तार भई ८२ अर्ब ६ करोड पुगेको छ ।
विदेशी विनिमय सञ्चिती एक महिनामा ७९ अर्बले बढ्यो
वैशाखमा मात्रै विदेशी विनिमय सञ्चिती ७९ अर्ब ३५ करोडले बढेको छ । चैत मसान्तमा विदेशी विनमय सञ्चिती ११ खर्ब ५५ अर्ब ९० करोड रहेको थियो । सरकारले वैशाखमा मात्रै २६ अर्ब वैदेशीक ऋण ल्याएको, चैतको भन्दा करिब २० अर्बले रेमिट्यान्स बढेर ५५ अर्ब पुगेको, लकडाउनले गर्दा चैतको भन्दा करिब १५ अर्ब ७ करोडले आयात घटेको लगायत कारणले विदेशी विनमय सञ्चिति एकै महिनामा ह्वातै बढेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट पनि सरकारको बैदेहिक ऋणमा भएको वृद्धि चैतको तुलनामा वैशाखमा रेमिट्यान्समा भएको वद्धि तथा अमेरीकी डलरको मुल्य बढ्दा विदेशी विनिमय सञ्चिति पनि बढेको बताउँछन् ।
“चालु आर्थिक वर्षमा ९२ अर्ब सरकारले बाह्य ऋण ल्याएको छ, त्यस्तै रेमिट्यान्स पनि चैतको भन्दा वैशाखमा करिब २० अर्बले बढेको छ भने आयात गत वर्षको भन्दा १३ प्रतिशले घटेको छ ” बाह्रखरीसँग उनले भने, “चैतमा ६६ अर्ब रहेको वैदेशीक ऋण वैशाखमा ९२ अर्ब पुगेको छ, यस्तै अमेरीकी डलरको मुल्य बढ्नुलाई पनि विदेशी विनिमय सञ्चितिमा भएको सुधारको कारणको रुपमा लिन सक्निछ ।” यद्यपि डलरमा पनि विनिमय सञ्चिति बढेकोले त्यही मात्रै कारण भने नभएको उनको दाबी छ ।
करिब ११ महिनाको आयात धान्न सकिने
आर्थिक वर्ष २०७६-०७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले करिब ११ महिको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
“बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ” राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३२.८ प्रतिशत, कुल आयातसँगको अनुपात ८९.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु ३१.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।