कोभिड —१९ का कारण ‘लकडाउन’ सुरु भएयता मेरो दैनिकी पनि अरू पुरुषहरुको जस्तैगरी प्रभावित भयो । पीडित त म पहिले पनि यसै थिएँ नै । अझ जन्मैदेखि थिएँ भन्नु पर्ला । तर पनि मभन्दा अगाडि नै कुल धान्ने दिदी जन्मिसकेकाले सायद मेरा मातापिताले धेरै दुःख मनाउ गर्नुभएन होला म जन्मिएमा । जे होस्, म जन्मिन पाएँ, यो धर्ती देख्न पाएँ । म यसैमा खुसी छु ।
बाल्यकाल रमाइलोसँगै बिते । साथमा दिदीसँगै हुने भएकोले कतै हिँडडुल गर्न पनि कठिन भएन । स्कुल जाँदा आउँदा, खेल्दा, बजार जाँदा अलि ठूला केटीहरुले नजिस्क्याएका त होइनन् तर दिदीको नाम लिएपछि डराई हाल्थे । क्याम्पस पढ्दा म्यामहरुले पनि अलि नजिक हुन खोजेजस्तो चाहिँ गरेका थिए । तर, व्यक्तिगतरुपमा मलाइ खासै असर परेन । मजस्तै हुर्किंदै गरेका केटाहरुलाई भने असर पनि परेको थियो । यी त भए उबेलाका कुरा । अब सुरु गरौँ अहिलेका कुरा । याने कि लक डाउनका नयाँ कुरा ।
लक डाउन सुरु भएपछि बच्चाहरु स्कुल जान पाएनन् । श्रीमती जी पनि अफिस जान पाउनु भएन । बच्चाहरु जुनसुकै बेला पनि बाबा भोक लाग्यो, खानेकुरो केही छैन भन्ने । श्रीमती अब यसो चिया खान पाए हुन्थ्यो भन्ने । चिया पकाएर दियो अब त खाजा बनाउन सुरु गर्दै गरे हुनेथियो नि भन्नुहुन्छ । बरु लकडाउन पहिले श्रीमती साथीहरुसँग बिहानबेलुका चियाचुरोट खान चोकतिर पसलमा गफमा भुल्दा केही आराम हुन्थ्यो । घरीघरी चिया पनि पकाइरहनु त पर्थेन । महिलाहरुका देश समाज परिवर्तन गर्ने राजनीतिक गफ, टोल वरपरका राम्रा राम्रा केटा, फिलिमका हिरो, गायक, मोडेल केटाहरुका कुरा पनि उतै चिया पसले दाइले मात्रै सुन्थे । अब त कहिलेकाहीँ टोलका दिदीबहिनीलाई पनि चिया खान श्रीमतीले घरैमा बोलाउन थाल्नुभयो । आफूलाई बिहानको धन्दा गर्दैमा ढिलो हुने । लुगा धुनु, घर सफा गर्नु त छँदै छ किनमेल पनि गर्नै पर्ने । किनमेल गर्न जाँदा अलि राम्रो भएर गयो भने सबैले ओहो कस्तो ‘हेन्सम’ भएर हिँडेको भन्ने । त्यत्तिकै गयो भने के सारो फुङ्ग भएको भन्ने । छिमेकी दिदी बहिनीहरुसँग भेट्यो, भिनाजु तपाईँकोमा चिया खान आउन मन थियो भन्ने । केही लाजले, केही रिसले रातोपिरो हुँदै छिटो छिटो घर फर्किन्छु ।
एकैछिन टेलिभिजन खोलेको एक जना नेताको अन्तर्वार्ता आइरहेको थियो । उनी भन्दै थिइन् — “नेपालमा पुरुषको हक अधिकार स्थापित नभएको भन्न मिल्दैन । तर, नागरिकताको हकमा पिताको नामबाट नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्न सक्छ । पुरुषहरुले आरक्षण खोजेरमात्र हुँदैन । महिला सरह हुन पनि सक्नुपर्छ । “ हामी पुरुषको नामबाट नागरिकता दिँदा राष्ट्रियता कसरी कमजोर हुने हो भन्ने चाहिँ उनले भनेनन् ।
अर्की नेताले थपिन् — “पुरुषलाई चाहिने जति अधिकार दिइसकिएको छ । पुरुषहरुले महिलाले जसरी नै अधिकार मागिरहनु हँुदैन । यो उनीहरुकै भलाइका लागि गरिएको हो । संविधानमै ३३ प्रतिशत उल्लेख गरिसकियो त । यो छोरो मान्छेको जातलाई जति भए पनि नपुग्ने भन्या । जातै नहुनि । यो सुनेर चिटचिट पसिना आयो । भाउन्न भयो । रिगँटा लागेर आयो । हतारहतार टेलिभिजन बन्द गरेर बाहिर कौसीतिर निस्कें ।
बाटोमा लकडाउन पालन गराउँदै हिँडेका केटीहरुका हुल देखिए । कसैका हातमा लट्ठी थियो । कोही चुरोटको धुवा उँडाएर चर्को स्वरले बोल्दै थिए । अत्यावश्यक सामान किन्न वा जरुरी कामले हिँडेका मनुवाहरुलाई ती केटीहरु सातो लिन्थे । कतिपय साइकल, मोटर साइकलहरुलाई जताबाट आएको हो उतै फर्काइदिन्थे । ती केटीहरुका शब्दहरु सुनेर फेरि लाजले रातोपिरो हुँदै म फेरि भित्रै छिरेँ ।
घरमा छोराछोरी कहिले अनलाइनमा पढेका कुरा गर्दै थिए त कहिले मोबाइलमा गेम खेल्दै थिए । श्रीमती फेरि भान्साबाट आँखा मोबाइलको फेसबुकमा डुलाउँदै कराउनु भयो — “ ए बूढा ! तिम्ले बसालेको दाल त डढ्यो जस्तो छ, गन्ध आइरा‘छ ।’’ म फेरि भान्सातिर दौडिएँ । डढेको दालको गन्ध ह्वास्स आयो । यता टेलिभिजनमा बजिरहेको थियो — “घरमै बसौँ, लकडाउन पूर्णरुपमा पालना गरौ ।’’