काठमाडौं । गत शनिबार (१७ गते) दैलेखको दुल्लु नगपालिकाको क्वारेन्टाइनमा रहेका एक ३५ वर्षीय पुरुषको मृत्यु भयो । ती पुरुषलाई एक्कासि बान्ता हुने लगायतको लक्षण देखिएको केही समयमा नै मृत्यु भएको थियो । जेठ ७ गते भारतबाट आएका ती पुरुषलाई विद्युत् प्राधिकरणको भवनको क्वारेन्टाइनमा राखिएको थियो । ती पुरुषलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसैगरी, गत जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षका पुरुषको क्वारेन्टाइनमा मृत्यु भयो । उनलाई जेठ ३ गते रातिबाट झाडापखाला र ज्वरो लगायतका लक्षण देखिएका थिए । तर, अस्पताल लैजान एम्बुलेन्स खोज्दा नपाएपछि ती पुरुषको मृत्यु भएको थियो । गत वैशाख ३० गते नेपाल आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु भयो । तिनमा पनि पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । जुन रिर्पोट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपछि सार्वजनिक गरेको थियो । ती पुरुषसँगै क्वारेन्टाइनमा रहेका अन्य ४६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले बनाएको मापदण्डअनुसार क्वारेन्टाइन बनेको छ कि छैन भने कुनै पनि अनुगमन नगरेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवम् जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले भारतबाट आएकाहरूको नाम टिपेर आफ्नो घरमा छुट्टै कोठा छ भने त्यसलाई सेल्फ आइसोलेसनमा बस्न भनेर पठाउन सकिने बताए । जसको घरमा छुट्टै कोठा छैन त्यस्ता नागरिकलाई क्वारेन्टाइनमा राख्ने उनले बताए । उनका अनुसार सरकारले क्वारेन्टाइनको मापदण्ड कागजमा बनाएको तर, कार्यान्वयन नै गरेन ।
उनले भने, “क्वारेन्टाइनमा चिकित्सक सेवा र एम्बुलेन्स हुनुपर्छ ।”
बम्बइ र चन्डिगढबाट आएका मानिसको मलेरिया पनि अनिवार्य परीक्षण गर्नुपर्ने उनले जानकारी दिए । उनले भने, “यदि मलेरिया र कोरोना दुवै देखिएको मानिसको ४ देखि ५ घण्टामा मृत्यु हुने खतरा बढी हुन्छ ।”
सरकारले क्वारेन्टाइनलाई नै संक्रमण फैलाउँने ठाउँ बनाएको उनले जिकिर गरे ।
जनस्वास्थ्य विज्ञ डा. समीर मणि दीक्षितले क्वारेन्टाइन नै रोगको बासस्थान बनेको बताए । उनले भने, “क्वारेन्टाइनको भिडले कोरोना संक्रमण सर्ने जोखिम बढी देखिन्छ ।”
जनस्वास्थ्य विद डा. रविन्द्र पाण्डेले क्वारेन्टाइनको सानो गल्तीले मानिसको मृत्यु भएको बताए । “क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र एम्बुलेन्स अनिवार्य हुनुपर्छ,” उनले भने, “क्वारेन्टाइन अव्यवस्थित हुँदा, पछिल्ला केही व्यक्तिको मृत्यु हेर्दा स्वास्थ्य सेवाको अभाव रहेको देखिन्छ ।”
एकै स्थानमा धेरै व्यक्ति राखेर खाने बस्ने व्यवस्थापन मापदण्डअनुसार बनाउन नसक्दा त्यहींबाट संक्रमण फैलिने जोखिम पनि बढेको उनको बताए ।
उनले भारतबाट आएका मानिसमा मलेरियाको समस्या लिएर आएको छ भने त्यो बिरामीलाई अस्पतालको आइसोलेसमा भर्ना गरे उपचार गराउँनुपर्ने बताए ।
“भारतमैसंक्रमित भएर आएका हुनसक्छन्, भारतबाट आएका र यहींकालाई क्वारेन्टाइनमा बेग्ला बेग्लै कोठामा राख्नुपर्छ । तर, अहिले सबैलाई एकै ठाउँमा राखेको देखिन्छ अझ त्यहाँ दूरी कायम गर्न र बस्ने ठाउँ राम्रो बनाउन सकिएको देखिँदैन । जसले संक्रमण बढ्ने खतरा क्वारेन्टाइनबाट नै देखिन्छ”, उनले भने, “क्वारेन्टाइन भनेको विदेशबाट आएका मानिसहरूलाई सुरक्षित रूपमा राख्ने ठाउँ हो ।”
उनले भारतबाट आएकाहरूलाई अनिवार्य पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने बताए
उनका अनुसार ६ फिटको दूरीमा राख्ने, पोसिलो खानेकुरा, पानी प्रशस्त पिउन दिने, सफा कोठामा राख्ने, कोठामा भेन्टिलेसन भएको हुनुपर्ने, मनोरञ्जनका लागि योग र व्यायम गराउँने, अर्को अस्थायी शौचालय बनाउन सकिन्छ जसले गर्दा क्वारेन्टाइनमा बस्दाको १४ दिनको समय गएको थाहा नपाउने हुनुपर्छ ।
उनले क्वारेन्टाइनमा रहेका कोहीमा मानिसमा कुनै पनि लक्षण देखिएको छ । लक्षण देखिएको मानिसलाई छुटै राख्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनको मापदण्ड मात्र बनायो तर त्यसको कार्यान्वयन भए नभएको अनुगमन नगरेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य मन्त्रालयको नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिएन । सरकारले लकडाउन बढाउने मात्र गर्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा क्वारेन्टाइनमा सुरक्षा सामग्री सहितको चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोली हुनुपर्ने, २४ सै घण्टा एम्बुलेन्स हुनुपर्ने, किटको व्यवस्था गर्ने, क्वारेन्टाइन खाली भएपछि संक्रणरहित बनाउने, भौतिक दूरी कायम राख्ने, मनोपरामशसम्बन्धी अन्य क्रियाकलाप सञ्चालन गर्ने, मास्क लगायतका सुरक्षा अपनाउने, सररफाईको व्यवस्था, क्वारेन्टाइनबाट निस्केको फोहोर मापदण्डअनुसार व्यस्थापन गर्ने आदि उल्लेख छ । तर, सरकारले विभिन्न स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा माथिका कुनै पनि मापदण्ड पूरा गरेको देखिँदैन ।
प्रदेश र स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनको अनुगमन गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यदि मन्त्रालयले बनाएको मापदण्डअनुसार नबनेकालाई क्वारेन्टाइन मापदण्डअनुसार बनाउन निर्देशन दिने गरिएको उनले बताए ।
“क्वारेन्टाइन स्थानीय तहले निमार्ण गर्ने, खाने बस्नेको व्यवस्थापन पनि गर्ने, शैचालयको व्यस्था आदि गर्छ,” उनले भने, “कोरोना परीक्षण गर्ने, ट्रेसिङ गर्ने र बिरामी भएमा अस्पताल लैजाने आदि स्थानीय स्वास्थ्य संस्थाले गर्छन्, ।”
स्थानीय तहलाई एक जना मेडिकल अफिसर र स्वास्थ्यकर्मीहरू नभएमा जनशक्ति माग गर्ने र जनशक्ति भएमा व्यवस्थापनका लागि बजेट माग समेत नगरिएको उनले बताए ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइन अनुगमनको जिम्मा दिएको थियो ।