चितवन । पशुचौपायामा नश्ल सुधारका लागि कृत्रिम गर्भाधानबाट उन्नत जातको पशुचौपायको वंश विस्तार गर्ने विधि नौलो होइन । तर मौरीजस्ता कीरा प्रजातिको समेत कृत्रिम गर्भाधान हुन्छ भन्ने विषय नौलो लाग्न सक्छ । तर रानी मौरीमा कृत्रिम गर्भाधान गरी प्रमाणित गरेका छन् चितवनका एक मौरी विज्ञले । भरतपुर १, रामनगरका मौरीविज्ञ डा. खेमराज न्यौपानेले सम्भवतः पहिलोपटक नेपालमै रानी मौरीको कृत्रिम गर्भाधान गरी वंश विस्तार गर्न लागेका हुन् ।
विगत दुई वर्षदेखि आफ्नै गोर्खा मौरी फार्ममा अध्ययन अनुसन्धानबाट कृत्रिम गर्भाधान गर्न सफल भएको उनको दाबी छ । “मैले मौरीपालन सुरु गरेको ३० वर्ष भयो,” उनले भने, “अहिले रानी मौरीमा कृत्रिम गर्भाधान गर्न सफल भएको छु ।” उनका अनुसार यो विधि अन्य पशुचौपायमा जस्तो सजिलो नहुने र ल्याबमा माइक्रोस्कोप र अन्य स्रोतको सहायताले भाले मौरीको ‘बीज’ रानीमौरीसंँग मिलाउनुपर्ने हुन्छ । पछिल्लो समय मौरीपालक किसानको संख्या बढे पनि उत्पादनमा खासै वृद्धि नभएकाले मौरीपालन क्षेत्रमा नयांँ अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाइ छ ।
“क्लाइमेट चेन्ज, वातावरण प्रदूषण र चरन अभावका कारण नेपालमा मौरी पनि मर्दै गएका छन् । उत्पादनमा पनि ह्रास आएको छ,” उनले भने । यो कृत्रिम गर्भाधान विधि खर्चिलो र झन्झटिलो भए पनि उन्नत जातको मौरी र मह उत्पादनका लागि यसबाट गुणात्मक फड्को मार्न सकिनेछ ।
“रानी मौरीमा कृत्रिम गर्भाधान शायद भारतमा पनि हुन सकेको छैन,” उनी भन्छन, “यसको लागि धेरै रिसर्च, लामो समय र अनुभवको आवश्यकता पर्छ ।” कृत्रिम गर्भाधान गराउंँदा स्वच्छ भाले मौरीको बीजलाई परिपक्व रानी मौरीसंँग गर्भाधान गर्न सकिने हुनाले मौरीको वंश विस्तार राम्रो हुने र गुणस्तर महको उत्पादन हुने उनले बताए ।
उनका अनुसार मौरीको प्राकृतिक गर्भाधान आकाशमा मात्र हुने भएका कारण कमजोर तथा रोगी भाले मौरीको बीज पर्न सक्ने हुनाले कृत्रिम गर्भाधान आवश्यक रहनेछ । मौरीको गोलामा पनि रानी मौरीको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
आफू लामो समयसम्म यस क्षेत्रमा लागे पनि सरकारले महको उत्पादन बढाउन र विविधीकरण गर्न सरकारले कहिल्यै पहल नगरेकाले आफू निराश भएको न्यौपाने बताउँछन् । दशकअघि मौरी विज्ञानमा पोल्यान्डको डब्लू एम.. युनिभर्सिटीबाट विद्यावारिधि गरेका न्यौपानेले मौरीको महबाट विभिन्न आयुर्वेदेकि औषधि, पोषणयुक्त खाद्य पदार्थलगायत स्यानिटाइजरसमेत उत्पादन गर्दै आएका छन् ।
मौरीबाट दर्जन प्रकारका पोषणयुक्त खाद्य पदार्थ
अन्य जिल्लालगायत देशभरका किसानले मौरीबाट मह मात्रै उत्पादन गरी बेचे पनि मौरीविज्ञ न्यौपानेले मौरीको चाका, पोलन, कुट, खिल र महबाट एक दर्जनभन्दा बढी प्रकारका पोषणयुक्त खाद्य पदार्थ उत्पादन गर्दै विविधीकरण गर्न सफल भएका छन् ।
उनले मौरीबाट उत्पादन भएको वस्तुहरूबाट पोलन, रोयल जेली, बी–डाइट, एन्टी बी भेनम, स्यानिटाइजरलगायत उत्पादन गर्दै आएका छन् । मौरीबाट पौष्टिकयुक्त खाद्य पदार्थका साथै विभिन्न रोगका औषधिसमेत बनाउने गरेको उनले बताए । उनले गरेका उत्पादन देश–विदेशमा समेत जाने गरेको छ । मह प्रतिकेजी ५०० रुपैयांँमा बिक्री गरे पनि अन्य उत्पादन भने महँगो पर्छ । उनका अनुसार उनले उत्पादन गरेको रोयल जेली अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी एक लाख रुपैयाँ, अन्य उत्पादनको प्रतिकेजी दुई हजार रुपैयांँसम्म बिक्री हुँदै आएको छ ।
अहिले मौरीजन्य वस्तुबाट पर्पोलिस, टनिक, मैन मल्हम विभिन्न आयुर्वेदिक तेललगायत औषधि उत्पादन गर्दै आएको उनले जानकारी दिए । यी सबै उत्पादनबाट उनले वार्षिक ५० लाखबराबरको कारोबार गर्दै आएका छन् ।